चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 44 of 1104
  • 2026-10-07
  • 04:36:56
  • मंगलबार,आश्विन २०, २०८३

About Author

ब्याटिङ सुधार्दै फाइनल पुग्ने लक्ष्यमा नेपाल, सेमिफाइनलमा ओमान चुनौती

काठमाडौँ– एसिसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपाली पुरुष क्रिकेट टोलीले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनल पुगेको नेपालका लागि फाइनलको यात्रा तय गर्न ब्याटिङमा सुधार गर्नु मुख्य चुनौती बनेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने खेल बिहान ७ः१५ बजे सुरु हुनेछ। समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग फाइनल प्रवेशका लागि भिड्न लागेको हो। नेपालले समूह चरणमा तीन खेलमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो। नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो भने हङकङसँग पराजित भएको थियो। समूह चरणमा नतिजा आफ्नो पक्षमा पार्न सफल भए पनि नेपाली टोलीको ब्याटिङ भने अपेक्षाअनुसार चल्न सकेन। त्यसैले ओमानविरुद्धको निर्णायक खेलमा ब्याटिङ पक्षमा सुधार ल्याउनु नेपालका लागि महत्वपूर्ण हुने क्रिकेट विश्लेषक रवि तिमिल्सिनाको भनाइ छ। “नेपालले समूह चरणमा आशा गरेअनुसार ब्याटिङ गर्न सकेको थिएन। अब त्यसमा सुधार गर्दै सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्नुपर्छ,” उनले भने। नेपालका लागि ओमान परिचित प्रतिद्वन्द्वी पनि हो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच हालसम्म १० पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपालले चार खेल जित्दा ओमानले ६ खेल आफ्नो पक्षमा पारेको छ। तर पछिल्लो भेटमा भने नेपालले ओमानमाथि शानदार जित निकालेको थियो। गत मे महिनामा भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको थियो। त्यही जितबाट आत्मविश्वास लिएको नेपाल आजको सेमिफाइनलमा पनि ओमानलाई पराजित गर्दै फाइनलको टिकट काट्ने लक्ष्यमा हुनेछ। समूह चरणमा देखिएको ब्याटिङ कमजोरी सुधार्दै बलिङ र समग्र टोली प्रदर्शनलाई बलियो बनाउनु नेपालका लागि जितको आधार बन्नेछ।

News by ब्याटिङ सुधार्दै फाइनल पुग्ने लक्ष्यमा नेपाल, सेमिफाइनलमा ओमान चुनौती :