काठमाडौँ– आज (बिहिबार) संघीय संसद्का दुवै सदनको बैठक बस्ने भएका छन्।
जसअनुसार, अपराह्न १ बजे बस्ने प्रतिनिधि सभाको सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन( विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ। यस्तै, अर्थमन्त्री डा. वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। यसैगरी, बैठकमा सभामुखले राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज संयोजकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने छन्।
यस्तै, राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०–८१ र २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गर्ने छन्।
यस्तै, राष्ट्रिय सभामा प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ ।