टियुमा स्ववियु जितेर प्राध्यापकले विद्यार्थी र विद्यार्थीले प्राध्यापकलाई ‘माक्स’ दिने प्रणाली विकास गर्न चाहन्छु : विष्णु बडैला - Chaitanya News
  • 2026-07-22
  • 17:11:12
  • बुधबार,साउन ०६, २०८३
  • टियुमा स्ववियु जितेर प्राध्यापकले विद्यार्थी र विद्यार्थीले प्राध्यापकलाई ‘माक्स’ दिने प्रणाली विकास गर्न चाहन्छु : विष्णु बडैला

    टियुमा स्ववियु जितेर प्राध्यापकले विद्यार्थी र विद्यार्थीले प्राध्यापकलाई ‘माक्स’ दिने प्रणाली विकास गर्न चाहन्छु : विष्णु बडैला

    विष्णु बडैला नेपाल विद्यार्थी संघका नेता हुन्। उनी त्रिभुवन विश्व विद्यालयको शिक्षा शास्त्र संकायमा अध्ययनरत छन्। उनी यतिवेला त्रिविमा नेविसंघबाट स्ववियु सभापतिको दाबेदारका रूपमा रहेका छन्। लामो समयदेखि त्रिविमा स्ववियु निर्वाचन हुन सकेको छैन। त्रिविले चैत ५ गते स्ववियु निर्वाचन गर्ने भन्दै मिति तय गरेसँगै बडैलाले आफ्ना गतिविधिलाई तीव्रता दिएका छन्। उनी स्ववियु सभापतिका किन उठ्न चाहन्छन् त? आज हामीले चैतन्यमा नेविसंघका नेता बडैलासँग यही विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं।

    नेपाल विद्यार्थी संघबाट त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापतिको तयारी गरिरहनु भएको छ, के यस पटक स्ववियु निर्वाचन हुनेमा विश्वस्त हुनुहुन्छ?

    स्ववियु निर्वाचन हुनेमा म विश्वस्त छु। २०६५ सालमा त्रिविमा स्ववियु निर्वाचन भएको थियो। अहिले स्ववियु निर्वाचन नभएको १४ वर्ष भयो। विधान अनुसार प्रत्येक दुई÷दुई वर्षमा स्ववियु निर्वाचन हुनुपर्ने हो। समयमै निर्वाचन भएको भए सात ब्याच गइसकेका हुनेथिए। यसले विश्व विद्यालयको शैक्षिक गुणस्तरमा टेवा पुर्‍याउनुका साथै मुलुकमा खारिएको दक्ष नेतृत्व पनि उत्पादन गर्नमा सहयोग पुग्थ्यो। त्यसैले स्ववियु निर्वाचन हुनुपर्छ। यसका साथै स्ववियु निर्वाचन हुन नसक्दा विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका समस्या समाधान हुन सकेनन्। आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरू सधैँ मारमा परे। पहुँच भएकाहरूले भने फाइदा लिइरहे। यी यावत समस्या समाधानका लागि पनि स्ववियु निर्वाचन आवश्यक छ। अहिले विश्व विद्यालयमा मौलाइरहेका समस्या सिर्जना हुनुको प्रमुख कारण पनि स्ववियु निर्वाचन नहुनु नै हो। कुनै पनि विश्व विद्यालय वा क्याम्पसहरूमा हुने विकास निर्माणका काम पनि पारदर्शी रूपमा हुन सकिरहेका छैनन्। मोनोपोली छ। यी सबै समस्याको समाधानका लागि स्ववियु निर्वाचन आवश्यक रहेकाले कुनै पनि बहानामा अब सार्ने प्रयत्न गर्नु हुँदैन।

    समयमै स्ववियु निर्वाचन हुन नसक्नुको प्रमुख कारण के हो जस्तो लाग्छ?

    स्ववियु निर्वाचन हुन नदिन त्रिविका पदाधिकारीहरूले खेलिरहेका हुन्छन्। विश्व विद्यालय आफैँमा स्वायत्त संस्था हो। तर, यहाँ प्रत्येक राजनीतिक दलले आफ्नो वर्चस्व कायम गर्न खोज्छन्। विद्यार्थी संगठन र राजनीतिक दलहरूको स्वार्थ पनि समयमै स्ववियु हुन नसक्नुको कारक हो लाग्छ। विद्यार्थी संगठनले आफू हार्ने परिस्थिति देख्दा चुनाव नरुचाउने तितो यथार्थलाई स्विकार्न मैले हिचकिचाउनु हुँदैन। देशको प्रधानमन्त्री विश्व विद्यालयको कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था छ। उहाँहरूले कुनै राजनीतिक दलको प्रतिनिधित्व गरिरहनु भएको हुन्छ। उहाँहरू निष्पक्ष रूपमा स्ववियु निर्वाचन गराउने भन्दा पनि आफू निकटको विद्यार्थी संगठन चुनाव जित्ने अवस्थामा छ वा छैन भनेर हेर्ने गर्नुहुन्छ। आफ्नो पक्षका विद्यार्थीले जित्ने माहौल देखेमात्रै उहाँहरू निर्वाचन गराउन चाहनुहुन्छ। यो प्रवृत्ति पनि समस्याको कारक हो। तर मलाई के लाग्छ भने, विश्व विद्यालय स्वतन्त्र ह्नुपर्छ। हरेक राजनीतिक दल र विद्यार्थी संगठनले स्वच्दा फराकिलो हृदयका साथ देशको भविष्य निर्माण गर्ने थलोका रूपमा विश्व विद्यालय र कलेजहरूलाई लिनुपर्छ। र, सोही अनुरूप व्यवहार पनि गर्नुपर्छ।

    समयमै स्ववियु नहुँदा के–कस्ता समस्या देखिएका छन्, थप प्रस्ट रूपमा भनिदिनुस् न?

    स्ववियु निर्वाचन हुँदा विद्यार्थीहरूले आफ्नो हृदयमा लागेको विद्यार्थी नेतालाई मतदान गरेर विजयी गराउने मौका पाउँछन्। र, उहाँहरू आफ्ना हरेक गुनासा, समस्या आफ्नो चुनेको प्रतिनिधिमार्फत समाधान गर्न अग्रसर हुन्छन्। त्यसैले पहिलो समस्या भनेको स्ववियुमा नेतृत्व अभाव नै हो। गरिब तथा जेहेन्दार विद्यार्थीले स्कलरसिप पाउने विषय छन्, क्याम्पसमा प्राध्यापकहरूले समयमा नपढाउने र पुरा कोर्स नपढाउने समस्या छ। आफ्नो वार्षिक क्यालेन्डर अनुसार विश्व विद्यालय र क्याम्पसहरू चल्न नै सकेका छैनन्। मैले माथि नै पनि भनिसके क्याम्पसमा हुने विकास निर्माणको कार्य पनि पारदर्शी छैन। समयमै नतिजा ननिकाल्ने तर विद्यार्थीलाई अनावश्यक पाठ्यक्रमको बोझ थुपारिएको छ। प्रयोगात्मक भन्दा पुरानै पाराको थेउरिटिकल शिक्षणपद्धती कायम छ। यी र यस्ता थुप्रै समस्याको समाधानका लागि स्ववियु निर्वाचन आवश्यक छ।

    तपाई आफै पनि सभापतिको उम्मेदवार हुनुहुन्छ, तपाईंका एजेन्डा के छन्?

    कुनै पनि देशको विकास, सभ्यता र संस्कृति बुझ्न त्यहाँको विश्व विद्यालय भ्रमण गरे पुग्छ भन्ने एउटा भनाई छ। म यो भनाइलाई कामका माध्यमबाट साबित गर्न चाहन्छु। सर्वप्रथम म विश्व विद्यालयमा एउटा शैक्षिक क्यालेन्डर निर्माण गरी उक्त क्यालेन्डरको तालिकामा एक मिनेट पनि तलमाथि नहुने गरी शतप्रतिशत कार्यान्वयन गराउन प्रतिबद्ध रहने छु। विश्व विद्यालयमा दुई वर्षमा चार सेमिष्टर पढ्न आउँछु भनेर जुम्ला, हुम्ला, बाजुरालगायत देशका विकट कुनाकन्दराबाट विद्यार्थी आउँछन्। तर, दुई वर्षमै प्राप्त गर्नुपर्ने शिक्षा प्राप्त गर्न पाँच वर्ष लाग्छ। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले दुई वर्षमै बढिसक्नु पर्ने विषय समयमै पढ्न नसक्दा पैसामात्र खर्च हुँदैन, अमूल्य समय पनि खर्च हुन्छ। उनीहरूका ठूला सपना सपनामाथि तुसारापात हुन्छ। त्यसैले दुई वर्षभित्रै हातमा ट्रान्सकिप्ट पुग्ने व्यवस्थाका लागि म हरदम प्रयत्नरत रहने छु। सेमिष्टर प्रणालीमा विद्यार्थी आफ्नो माक्स घट्ने डरले प्राध्यापकका कमीकमजोरी भन्न सक्दैनन्। उनीहरू सहेर बस्छन्। म यस्तो पद्धतिको विकास गर्न चाहन्छु कि, प्राध्यापकले विद्यार्थी र विद्यार्थीले प्राध्यापकलाई माक्स दिने प्रणालीको विकास गर्न चाहन्छु।

    विश्व विद्यालयलाई पूर्ण आवासीय व्यवस्था मिलाउनमा पनि मेरो जोड रहने छ। जहाँ २४ घण्टा प्राध्यापक र विद्यार्थीबीच अध्ययन, अनुसन्धान बारे छलफल होस्। जसको कारणले गर्दा हुनेखाले होस्टेलमा बस्ने र आर्थिक अवस्था न्यून भएका विद्यार्थी पैसा तिरेर कोठामा बस्ने परिपाटिको अन्त्यहोस् भन्ने मेरो चाहना छ। टियुमा बिहान ६ बजेबाट आजसम्म कहिले पनि कक्षा सञ्चालन भएको छैन। किनकि त्यो समयमा त्यहाँका प्राध्यापकहरू कुनै निजी क्याम्पसमा अध्यापनमा व्यस्त हुन्छन्। अब त्यो परिपाटी अन्त्य हुनुपर्छ। टियुमा पनि बिहानैबाट कक्षा सञ्चालन हुनुपर्छ। विद्यार्थी कक्षा कोठामा शतप्रतिशत हाजिर गर्दा पनि सोही कलेजमा पढाउने प्राध्यापकले पढाइरहेको टिउसन कक्षामा पनि जागिर हुनुपर्ने जस्तो बाध्यकारी अवस्था छ। त्यसको अन्त्यका लागि पनि मैले भूमिका निर्वाह गर्ने छु।

    आन्तरिक मूल्यांकन र थेसिसका नाममा छात्रामाथि हुने दुर्व्यवहार अन्त्य गर्नुका साथै विश्व विद्यालयमा सेनिटरी प्याडको सुलभ व्यवस्थाका लागि मैले पहल गर्ने छु। विश्व विद्यालयलाई सरकारले चलाउने परिपाटीको अन्त्य गरी सरकारलाई विश्व विद्यालयले चलाउने परिपाटीको विकास गर्न प्रयत्नशील रहने छु। देशमा २५ वर्षको निर्वाचित सांसद बहुमत पुर्‍याएर देशको प्रधानमन्त्री हुनसक्ने अवस्था छ। तर, विश्व विद्यालयमा रिटायर्ड प्रोफेसर उपकुलपति हुने प्रावधान छ। अब म एउटा युवा उपकुलपति हुने अवस्था गराउन चाहन्छु। बरु नियुक्तिका लागि हजारौं टेस्ट तथा मापदण्ड निर्माण गर्न परे पनि हामी त्यसका लागि तयार हुनुपर्छ। तर, सक्षम युवालाई ल्याउनुपर्छ। उमेरको हदबन्दी लगाएर रोक्नु हुँदैन। विश्व विद्यालयमा चार वटा रिसर्च सेन्टर छन्। सिनास, सेडा, रिकास्ट र सेरइड तर उहाँहरूले देशको समस्याको अध्ययन अनुसन्धान गरी सरकारलाई सुझाव दिनुको साटो एउटा नेतालाई प्रमुख अतिथि बनाएर वर्षमा एक पटक एउटा जर्नल निकाल्नु बाहेक अरू कुनै काम गरेका छैनन्। यही परिपाटीको अन्त्य गर्न चाहन्छु।

    परीक्षा नियन्त्रण कार्यालयलाई पूर्ण डिजिटल बनाई विद्यार्थीले ट्रान्सकिप्टको आवेदन गरेको २४ घण्टाभित्र ट्रान्सकिप्ट विद्यार्थीको हातमा पर्ने व्यवस्था गर्न पनि मेरो अग्रगामी भूमिका रहने छ। र, त्रिवि सेवा आयोग प्रत्येक ६/६ महिनामा भ्याकेन्सी खोलेर सक्षम र सबल जनशक्ति विश्व विद्यालयमा भित्र्याई नेताका आसेपासे करार र आंशिक नियुक्ति पूर्ण रूपमा निषेध हुनुपर्छ। विश्व विद्यालयको बेरुजु करिब २३/२४ सय अर्ब रहेको छ। र, विश्व विद्यालयले करोडौं भाडा उठान बाँकी छ। यो देशका ठूला–ठूला व्यापारी र नेताहरू विश्व विद्यालयको जमिन भाडामा लिई करोडौं कमाइरहेका छन्। यो परिपाटीको अन्यका लागि मेरो विशेष पहल रहने छ। विश्व विद्यालयमा पार्लियामेन्ट व्यवस्था गरी देशका हरेक नीति र समस्या बारे बहस पैरवी गरेर सरकारलाई ध्यानाकर्षण गराई कार्यान्वयनको अवस्था सिर्जना गर्न चाहन्छु। राम कुमार महतो र रामकुमार उपाध्यायमाथि हुने विभेद सदाका लागि अन्त्य गरी विश्व विद्यालय विभेद रहित, समतामूलक, समावेशी, आपाङ्गमैत्री बनाउन पहल गर्ने छु।