काठमाडौँ: नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकका लागि इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा एक महिना बोनस तथा सहुलियत दरमा मोबाइल डाटा, भ्वाइस र सन्देश प्याकेज उपलब्ध गराउने भएको छ।
कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ फाइबर टु द होम (एफटिटीएच) प्याकेज जडान गर्ने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन्। त्यस्तै, मोबाइल सेवाका ग्राहकले विभिन्न दरका डाटा, भ्वाइस तथा सन्देश प्याकेज खरिद गरी अफरको लाभ लिन सक्नेछन्।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार असोज २५ गतेदेखि आगामी कात्तिक ३० गतेसम्म नयाँ एफटिटीएच प्याकेज जडान गर्ने ग्राहकलाई ५०० रुपैयाँ जडान शुल्क मिनाहा गरिनेछ।
त्यसैगरी, १००, १५० र २०० एमबिपिएस क्षमताका नयाँ वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सेवा पाउनेछन्। यसअनुसार ग्राहकले १२ महिनाको शुल्क तिरेर १३ महिनासम्म इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन्। बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न पाइने कम्पनीले जनाएको छ।
भर्चुअल सेट–टप बक्ससहितको प्याकेज खरिद गर्ने ग्राहकका लागि यसअघि उपलब्ध गराइएको एक हजार रुपैयाँ छुटको सुविधा पनि कायम रहेको कम्पनीले जनाएको छ।
४९९ र ६९९ रुपैयाँमा असीमित डाटा प्याकेज
नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाका ग्राहकका लागि ४९९ र ६९९ रुपैयाँका दुईवटा विशेष डाटा प्याकेज उपलब्ध गराउने भएको छ।
४९९ रुपैयाँमा पाँच जिबी दैनिक उच्चगतिको डाटासहितको ‘फेस्टिभल अनलिमिटेड’ प्याकेज खरिद गर्न सकिनेछ। उक्त प्याकेजमा दैनिक पाँच जिबी डाटा प्रयोग गरेपछि बाँकी समयावधिमा दुई एमबिपिएस गतिमा असीमित डाटा चलाउन सकिनेछ।
त्यस्तै, ६९९ रुपैयाँको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेजमा प्रतिदिन १० जिबी उच्चगतिको डाटा उपलब्ध हुनेछ। दैनिक १० जिबी डाटा खपत भएपछि बाँकी समयावधिमा तीन एमबिपिएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने प्रवक्ता लामिछानेले जानकारी दिए।
२०० रुपैयाँमा एक हजार मिनेट, ९९ रुपैयाँमा एक हजार सन्देश
कम्पनीले भ्वाइस तथा सन्देश सेवामा पनि सहुलियत दरका प्याकेज ल्याएको छ।
यसअन्तर्गत २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ। त्यस्तै, ९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज खरिद गर्न सकिनेछ। यी दुवै मोबाइल प्याकेजको समयावधि ३० दिनको हुनेछ।
मोबाइलबाटै खरिद गर्न सकिने
नेपाल टेलिकमका अनुसार कात्तिक ३० गतेसम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकले दसैँ–तिहार अफरअन्तर्गतका सुविधा प्राप्त गर्न सक्नेछन्।
ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।