धनगढीमा चैतन्य अन्तरविद्यालय शिक्षक फुटसल सुरु, २१ टोली सहभागी - Chaitanya News
  • 2026-10-10
  • 14:19:27
  • शनिबार,आश्विन २४, २०८३
  • धनगढीमा चैतन्य अन्तरविद्यालय शिक्षक फुटसल सुरु, २१ टोली सहभागी

    धनगढीमा चैतन्य अन्तरविद्यालय शिक्षक फुटसल सुरु, २१ टोली सहभागी

    धनगढीः चैतन्य स्पोर्ट्स एकेडेमीको आयोजनामा धनगढी उपमहानगरपालिका–५, शिवनगरस्थित फुटसल मैदानमा ‘चैतन्य अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता’ सुरु भएको छ। असोज २४ र २५ गते सञ्चालन हुने प्रतियोगितामा २१ टोली सहभागी भएका छन्। प्रतियोगिताअन्तर्गत लिग चरणमा २१ खेल हुने आयोजकले जनाएको छ। लिग चरणका खेल सकिएपछि नकआउट चरणका खेल हुने आयोजक चैतन्य स्पोर्टस् एकेडेमीले जनाएको छ।

    प्रतियोगिताको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले खेलकुदले आपसी भाइचारा, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने बताइन्। उनले चैतन्य पाठशालाले शिक्षा, खेलकुद तथा सामाजिक सेवाका क्षेत्रमा गर्दै आएका गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यमा उपमहानगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।

    चैतन्य पाठशालाका बोर्ड अफ डाइरेक्टर कटकबहादुर सिंहले शिक्षासँगै खेलकुदलाई जोडेर दक्ष खेलाडी, कलाकार तथा विभिन्न क्षेत्रमा सक्षम जनशक्ति उत्पादन गर्नु पाठशालाको मुख्य उद्देश्य रहेको बताए। विद्यार्थीलाई कक्षाकोठाको पढाइमा मात्र सीमित नराखी खेलकुद तथा अन्य सिर्जनात्मक गतिविधिमा समेत सहभागी गराउनुपर्नेमा उनले जोड दिए।

    कार्यक्रमका विशिष्ट अतिथि कैलाली बहुमुखी क्याम्पसका प्रमुख डाक्टर लोकबहादुर विष्टले चैतन्य पाठशालाले विगतदेखि नै शिक्षासँगै खेलकुद र सामाजिक सेवाका गतिविधिलाई अघि बढाउँदै आएको भन्दै प्रशंसा गरे। समाजसँग जोडिएर सञ्चालन गरिने यस्ता कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने उल्लेख गर्दै उनले प्रतियोगिताको सफलताको शुभकामना दिए।

    चैतन्य पाठशालाका पीटीए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, पत्रकार तथा सुरक्षाकर्मीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

    शिक्षकबीच आपसी सद्भाव, सहकार्य र खेलभावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताले शिक्षकहरूलाई कक्षाकोठाबाहिर खेलमैदानमा समेत एकअर्कासँग जोड्ने र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

    दुई दिनसम्म चल्ने प्रतियोगितामा विजेता टोलीलाई पचास हजार रुपैयाँ नगद, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले नगद २५ हजार तथा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी र गोल रक्षकलाई समेत जनही नगद तीन हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।