धनगढीः सुदूरपश्चिमको डडेल्धुरा पुर्ख्यौली घर भएका दीपक भट्टका पिता चतुर्भुज भट्टले छोराको मानव अधिकार र संविधानप्रदत्त मौलिक हक संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्।
चतुर्भुजले शुक्रबार आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै दीपकलाई सिन्धुपाल्चोक कारागारबाट नख्खु कारागारमै फिर्ता ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिन माग गरेका हुन्।
विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा दीपकलाई दोषीका रूपमा चित्रण गर्ने, चरित्रहत्या गर्ने र निष्पक्ष न्याय पाउने अधिकारमा अवरोध पुग्ने प्रकृतिका सामग्री प्रकाशित तथा प्रसारित भइरहेको चतुर्भुजको आरोप छ।
विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति उनले आपत्ति जनाएका छन्। आफूले गर्दै नगरेको कार्यलाई सत्यझैँ प्रस्तुत गरेर समाचार प्रकाशन गरिएको उनको दाबी छ।
चतुर्भुजका अनुसार असोज १७ गते दीपकलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सरुवा गरिएको थियो। तर, सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे आफूहरूलाई जानकारी नदिइएको उनले बताएका छन्।
काठमाडौं जिल्ला अदालत, विशेष अदालत र उच्च अदालत पाटनमा मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दा नै दायर नभएको जिल्लाको कारागारमा सरुवा गरिनुले त्यसको औचित्य र आवश्यकतामाथि प्रश्न उठाएको उनको भनाइ छ। कारागार सरुवाले विचाराधीन मुद्दाको न्यायिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न सक्ने र परिवारले भोगिरहेको मानसिक पीडा थप बढाउने अवस्था सिर्जना भएको उनले निवेदनमा उल्लेख गरेका छन्।
दीपकलाई सिन्धुपाल्चोक कारागारमा सार्नुको आधार तथा नख्खु कारागारमा रहँदा उनको आचरण कस्तो थियो भन्ने विषयमा जानकारी माग गर्दै नख्खु कारागार र कारागार व्यवस्थापन विभागमा समेत निवेदन दिएको चतुर्भुजले बताएका छन्। तर, हालसम्म कुनै जानकारी प्राप्त नभएको उनको भनाइ छ।
कारागारबाट फोन गरेकोलगायतका विषयमा प्रकाशित समाचारबारे पनि उनले प्रेस काउन्सिल नेपालमा निवेदन दिएका छन्। नेपालको संविधानको धारा १९, प्रेस काउन्सिल ऐन, २०४८ र पत्रकार आचारसंहिता, २०७३ (संशोधनसहित २०७६) अनुसार आवश्यक कारबाही गर्न उनले आग्रह गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगमा दिएको निवेदनमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न, कारागार सरुवासम्बन्धी निर्णय, आधार, कारण र कागजात अध्ययन गर्न तथा आवश्यकताअनुसार स्थलगत अनुगमन गर्न माग गरिएको छ।
चतुर्भुजले छोराको मानव अधिकार र मौलिक हक संरक्षणका लागि आवश्यक पहल गर्न तथा कारागार सरुवाको औचित्यसमेत विचार गरी दीपकलाई नख्खु कारागारमा फिर्ता ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिन आयोगसँग आग्रह गरेका छन्।
उनले आफूले कुनै पनि निकायको निष्पक्ष अनुसन्धान वा न्यायिक प्रक्रियामा अवरोध गर्न नखोजेको स्पष्ट पारेका छन्। सत्यतथ्यको निष्पक्ष छानबिन, कानुनी प्रक्रियाको सम्मान, भ्रामक समाचारबाट हुने चरित्रहत्या रोकथाम तथा छोराको मानव अधिकार र मौलिक हकको संरक्षणका लागि निवेदन दिएको उनको भनाइ छ।ilovepdf_pages-to-jpg 
