धनगढीः महाकाली नदीमाथि बनेको कञ्चनपुरको दोधाराचाँदनी झोलुङ्गे पुल भत्किएपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले यसको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार भत्किएको पुलको अनुगमनमा पुगेका लेखकले पुलको अवस्थाप्रति दुःख व्यक्त गर्दै यथाशीघ्र पुनर्निर्माण गर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका हुन्। उनले पुलको संरक्षण र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउनसमेत ध्यानाकर्षण गराएका छन्।
लेखकले दोधाराचाँदनी झोलुङ्गे पुल स्थानीय बासिन्दाको आवागमन सहज बनाउने संरचना मात्र नभई सिंगो देशको ऐतिहासिक सम्पदा भएको बताए। उनका अनुसार कुनै समय दोधाराचाँदनीबाट नेपालको अन्य भूभागमा आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो।
महाकाली नदीमाथि पुल निर्माण भएपछि दोधाराचाँदनीलाई देशका अन्य भागसँग प्रत्यक्ष रूपमा जोड्न महत्त्वपूर्ण सहयोग पुगेको उनले उल्लेख गरे।
२०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आफूले महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरी दोधाराचाँदनीलाई जोड्ने प्रस्ताव अघि सारेको लेखकले स्मरण गरे। त्यसबेला कतिपयले उक्त योजनालाई असम्भव भन्दै ठट्टा गरेको उनले बताए।
तर, सरकारको बजेट तथा नेपाली प्राविधिक र निर्माणकर्ताको सहयोगमा पुल निर्माण सम्भव भएको उनको भनाइ छ। उक्त पुलको निर्माणले नेपालका अन्य स्थानमा पनि लामा झोलुङ्गे पुल निर्माण गर्ने प्रविधिको विकास र विस्तारमा योगदान पुर्याएको लेखकले उल्लेख गरे।
पुल भत्किएपछि स्थानीय बासिन्दाको आवागमनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै यसको पुनर्निर्माणसँगै दीर्घकालीन संरक्षण र नियमित मर्मतसम्भारको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन्।