पोखरामा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १४ जना घाइते - Chaitanya News
  • 2026-10-09
  • 13:17:36
  • शुक्रबार,आश्विन २३, २०८३
  • पोखरामा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १४ जना घाइते

    पोखरामा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १४ जना घाइते

    पोखराः कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्।

    कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो।

    प्रहरीका अनुसार दुर्घटनामा परेका बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा पाँच जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा करिब १२ देखि १४ वर्ष उमेर समूहका चार बालबालिका र पोखरा महानगरपालिका–२८ का ६५ वर्षीय बाबुराम तिवारी रहेका छन्। तिवारी उपचारका लागि जान बसमा लिफ्ट मागेर चढेको बताइएको छ।

    दुर्घटनामा घाइते भएका १४ जनामध्ये तीन जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

    दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।