चाडपर्व सुरक्षामा सशस्त्र प्रहरीका २८ हजारभन्दा बढी जनशक्ति परिचालन, ४ हजार ५ सय तयारी अवस्थामा - Chaitanya News
  • 2026-10-09
  • 12:45:43
  • शुक्रबार,आश्विन २३, २०८३
  • चाडपर्व सुरक्षामा सशस्त्र प्रहरीका २८ हजारभन्दा बढी जनशक्ति परिचालन, ४ हजार ५ सय तयारी अवस्थामा

    चाडपर्व सुरक्षामा सशस्त्र प्रहरीका २८ हजारभन्दा बढी जनशक्ति परिचालन, ४ हजार ५ सय तयारी अवस्थामा

    काठमाडौँः सशस्त्र प्रहरी बल, नेपालले बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ। चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि तथा अप्रिय घटना नियन्त्रण गर्न सशस्त्र प्रहरीले देशभर २८ हजार १२६ जना जनशक्ति परिचालन गरेको छ।

    सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने गरी थप ४ हजार ५०० जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ।

    चाडपर्वका समयमा सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउनुका साथै नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन भारत र चीनका समकक्षी सुरक्षा निकायसँग समन्वय गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यसअन्तर्गत देशका विभिन्न स्थानमा १४१ वटा नागरिक सहायता कक्ष, १६ वटा नागरिक स्वास्थ्य कक्ष र १३ वटा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।

    सीमावर्ती क्षेत्रमा समकक्षी सुरक्षा निकायसँगको समन्वयमा संयुक्त गस्तीसमेत सञ्चालन गरिएको छ। झापाको काँकडभिट्टा, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागूऔषध पहिचान गर्न तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रवक्ता कार्कीले बताए।

    चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, मुख्य राजमार्गमा दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा शीघ्र उद्धार गर्ने उद्देश्यले ३७ स्थानमा एम्बुलेन्ससहितका टोली परिचालन गरिएको छ। ठूला दुर्घटना भएमा एकैपटक ठूलो संख्यामा घाइतेलाई अस्पताल पुर्‍याउन सकिने सवारीसाधनसमेत उपत्यकासहित सातै प्रदेशमा तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

    विपद् उद्धारका लागि ५५ अस्थायी र १६ स्थायी बेस तयारी अवस्थामा
    चाडपर्वका समयमा हुनसक्ने विपद्का घटनामा तत्काल उद्धार तथा प्रतिकार्य गर्न सशस्त्र प्रहरीले देशभरका विभिन्न स्थानमा आवश्यक स्रोतसाधनसहित तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखेको छ।

    यसअन्तर्गत धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेल्धुराको अमरगढी र सिन्धुलीको खुर्कोटलगायतका स्थानमा गरी देशभर ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य बेस तथा १६ वटा स्थायी विपद् बेस तयारी अवस्थामा राखिएका छन्।

    सुरक्षा योजनाअन्तर्गत दैनिक पिकेट, चेक प्वाइन्ट, पैदल तथा मोबाइल गस्ती, लामो दूरीको गस्ती, विस्फोटक पदार्थ निष्क्रिय पार्ने टोली र गोताखोरसहितका विपद् उद्धार टोलीलाई २४सै घण्टा परिचालन गरिएको छ।

    सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै समकक्षी सुरक्षा संगठनसँगको समन्वयमा ९२४ वटा संयुक्त सीमा गस्ती गर्ने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ।

    यसैगरी, संवेदनशील स्थानको निगरानीका लागि २१ वटा ड्रोन परिचालन गरिएको छ। सीमा नाकाका महत्त्वपूर्ण स्थानमा जडान गरिएका ४१२ वटा सीसीटीभी क्यामेरामार्फत २४सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता कार्कीले जानकारी दिए।

    चाडपर्वका समयमा हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जनशक्ति परिचालन, सीमामा निगरानी, राजमार्ग सुरक्षा, विपद् प्रतिकार्य तथा नागरिक सहायताका माध्यमबाट शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ।