उम्मेदवारको सूचीमा आफ्नो नाम जोडिएपछि गगनको स्पष्टीकरण, ‘आधिकारिक समर्थन नबुझ्नुहोला’ - Chaitanya News
  • 2026-10-09
  • 09:31:54
  • शुक्रबार,आश्विन २३, २०८३
  • उम्मेदवारको सूचीमा आफ्नो नाम जोडिएपछि गगनको स्पष्टीकरण, ‘आधिकारिक समर्थन नबुझ्नुहोला’

    उम्मेदवारको सूचीमा आफ्नो नाम जोडिएपछि गगनको स्पष्टीकरण, ‘आधिकारिक समर्थन नबुझ्नुहोला’

    काठमाडौँ– नेपाली काँग्रेसका नेता गगन थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीप्रति आपत्ति जनाउँदै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नलिन आग्रह गरेका छन्।

    पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि निर्वाचन भइरहेका बेला शुक्रबार बिहान फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले आफूलाई जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार भइरहेको विषयमा ध्यानाकर्षण गराएका हुन्।

    ‘मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहोला,’ थापाले भनेका छन्।

    उनले यस्ता सूचीका कारण भ्रममा नपर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। कुनै पनि अफवाह वा बाह्य प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै आफ्नो स्वतन्त्र विवेक, मूल्यांकन र विश्वासका आधारमा मतदान गर्न उनले अनुरोध गरेका छन्।

    थापाले निर्वाचन प्रक्रियामा मर्यादित, संयमित र उत्साहपूर्ण रूपमा सहभागी हुन पनि प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले निर्वाचनमा भएको ढिलाइका कारण प्रतिनिधिहरूलाई परेको असुविधाप्रति क्षमासमेत मागेका छन्।