धनगढी: सुदूरपश्चिम प्रदेश सरकार गठन भएको करिब ५५ दिन पुगिसक्दा पनि प्रदेश बजेट शून्यताको अवस्थामा रहनु गम्भीर, चिन्ताजनक र गैरजिम्मेवार विषय भएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जनाएको छ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बजेट शून्यताका कारण प्रदेश सरकारका नियमित गतिविधि, विकास निर्माणका काम, अत्यावश्यक सेवा तथा कर्मचारीको तलबभत्तासमेत प्रभावित भइरहेको अवस्थामा प्रदेश सरकार गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाएका छन्।
प्रदेशलाई बजेट शून्यताको अवस्थाबाट तत्काल मुक्त गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पटक–पटक सरकारसँग छलफल तथा संवाद गरी यथाशीघ्र बजेट ल्याउन आग्रह गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको असोज ६ गते बसेको बैठकले असोज १५ गतेभित्र बजेट ल्याउन सरकारलाई आग्रह गरे पनि सरकारले त्यसको बेवास्ता गरेको काँग्रेसको आरोप छ।
यसैबीच प्रदेश सरकारले असोज २० गते कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत असोज २१ गते बजेट प्रस्तुत गर्ने निर्णय गरेको थियो। तर, आफ्नै निर्णयअनुसारसमेत बजेट प्रस्तुत गर्न नसक्नुले सरकारको बजेट तयारी पूर्ण नभएको र सरकारले आफ्नै निर्णय कार्यान्वयन गर्नसमेत असफल भएको स्पष्ट देखिएको काँग्रेसले जनाएको छ।
काँग्रेसका अनुसार असोज २१ गतेसम्म सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारको बजेटसम्बन्धी विषयमा जारी गरेको आदेशको बुँदा नम्बर ३ बमोजिम निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिएको भन्दै असोज २३ गते पेसी तोकिएको अवस्था छ।
त्यसैले बजेटसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको र अदालतले समेत दुवै पक्षलाई उपस्थित गराई छलफलका लागि पेसी तोकेको संवेदनशील अवस्थामा सर्वोच्च अदालतबाट स्पष्ट आदेश नआएसम्म बजेटसम्बन्धी प्रक्रिया अगाडि नबढाउन काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारसँग जोडदार माग गरेको छ।
काँग्रेसले प्रदेशसभालाई छलेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी भइरहेको भन्ने विषयप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रदेशसभा सञ्चालनमा रहेको अवस्थामा संसद्को संवैधानिक अधिकार र प्रक्रियालाई छलेर अध्यादेशको बाटो रोज्नु लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्मविपरीत हुने काँग्रेसको ठहर छ। त्यसैले सदनलाई छलेर अध्यादेशमार्फत बजेट ल्याउने कुनै पनि प्रयासको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले घोर आपत्ति तथा निन्दा गरेको छ।
काँग्रेसले एकातर्फ बजेटसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको र अर्कोतर्फ प्रदेशसभा सञ्चालनमा हुँदाहुँदै सदनको बाटो छलेर अध्यादेशको गलत बाटो अवलम्बन गर्न खोज्नु सरकारको गैरजिम्मेवार प्रवृत्तिको प्रमाण भएको आरोप लगाएको छ।
यस्तो संवेदनशील अवस्थामा सुदूरपश्चिम प्रदेशका अभिभावक, सालिन व्यक्तित्व तथा प्रदेश प्रमुखले बजेटको सन्दर्भमा अध्यादेशको बाटो रोज्नु संविधान, कानुन, संसदीय मर्यादा तथा सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्ने विश्वास नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले व्यक्त गरेको छ।
विज्ञप्तिमा नेपाली काँग्रेस प्रदेशको बजेट शून्यता अन्त्य गरी जनतालाई सहज सेवा प्रवाह गर्ने विषयमा जिम्मेवार र रचनात्मक भूमिका निर्वाह गर्न सदैव तयार रहेको उल्लेख गरिएको छ। तर संविधान र संसदीय प्रक्रियालाई मिचेर गरिने कुनै पनि कार्यको सशक्त प्रतिवाद गर्न काँग्रेस पछि नहट्ने चेतावनीसमेत दिइएको छ।
नेपाली काँग्रेस संसदीय दलले सबै विषयमा सरकारसँग संवाद, छलफल र निकासका लागि तयार रहेको जनाएको छ। विज्ञप्तिमा संसदीय दलका नेता कमलबहादुर शाहले हस्ताक्षर गरेका छन्।