चाडपर्वमा सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल, चिनी प्रतिकिलो १ सय रुपैयाँ - Chaitanya News
  • 2026-10-09
  • 14:29:17
  • शुक्रबार,आश्विन २३, २०८३
  • चाडपर्वमा सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल, चिनी प्रतिकिलो १ सय रुपैयाँ

    चाडपर्वमा सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल, चिनी प्रतिकिलो १ सय रुपैयाँ

    धनगढीः चाडपर्वलाई लक्षित गर्दै सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेसनले प्रदेशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालन गरेको हो।

    साल्ट ट्रेडिङका अनुसार कैलालीको धनगढी, टीकापुर र अत्तरियाका साथै कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा छन्।

    सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो १ सय रुपैयाँमा बिक्री भइरहेको छ। बजार मूल्यभन्दा प्रतिकिलो २५ रुपैयाँसम्म सस्तोमा चिनी पाइने भएपछि उपभोक्ताको चाप बढेको साल्ट ट्रेडिङले जनाएको छ।

    साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख तेजबहादुर कुँवरका अनुसार तराईका सुपथ मूल्य पसलबाट एक जना उपभोक्तालाई बढीमा पाँच किलो र पहाडी जिल्लामा तीन किलोसम्म चिनी बिक्री गर्ने व्यवस्था गरिएको छ। धनगढीस्थित कार्यालय परिसरबाट मात्रै दैनिक करिब २५ क्विन्टल चिनी बिक्री भइरहेको उनले बताए।

    यस्तै, नुन प्रतिकिलो २४ रुपैयाँका दरले बिक्री भइरहेको छ। एक जना उपभोक्तालाई बढीमा ५ किलोग्राम नुन उपलब्ध गराउने व्यवस्था गरिएको छ। सरकारले यो पटक नुनमा दुई रुपैयाँ सहुलियत दिएको छ। यस्तै, खानेतेल, दाल र चिउरामा भने प्रतिकिलो सात रुपैयाँ छुट दिइएको साल्ट ट्रेडिङले जनाएको छ।

    चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको माग बढ्दा बजार मूल्यसमेत बढ्न सक्ने भएकाले उपभोक्तालाई सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङले जनाएको छ।

    दसैं-तिहारका लागि यो पटक असोज १ गतेदेखि सुपथ पसल सञ्चालनमा ल्याइएकोमा छठ पर्वसम्म सञ्चालन हुने बताइएको छ। सुपथ मूल्य पसल बिहान ९ बजेदेखि साँझ ४ः३० बजेसम्म सञ्चालन भइरहेका छन्। उपभोक्ताले भने चाडपर्वमा मात्रै नभई वर्षभरि नै सुपथ मूल्य पसल सञ्चालन गर्न माग गरेका छन्।