काठमाडौं- नेपालबाटै विदेशी अनलाइन सेवा, सफ्टवेयर, सामाजिक सञ्जालमा विज्ञापन तथा अन्तर्राष्ट्रिय अनलाइन खरिदको भुक्तानी गर्न चाहने नेपालीका लागि प्रिपेड डलर कार्ड उपयोगी माध्यम बन्दै गएको छ। नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार नेपालका वाणिज्य बैंकहरूले यस्तो कार्ड जारी गर्दै आएका छन् ।
विशेषगरी फेसबुक तथा अन्य सामाजिक सञ्जालमा विज्ञापन गर्ने, विदेशी सफ्टवेयर तथा डिजिटल सेवा खरिद गर्ने, अनलाइन सब्सक्रिप्सनको भुक्तानी गर्ने र अन्तर्राष्ट्रिय वेबसाइटबाट सामान खरिद गर्ने प्रयोगकर्ताले डलर कार्ड प्रयोग गर्न सक्छन्।
कति डलर खर्च गर्न पाइन्छ ?
सामान्य व्यक्तिगत प्रयोगकर्ताले प्रिपेड डलर कार्डमार्फत वार्षिक अधिकतम ५०० अमेरिकी डलरसम्म खर्च गर्न पाउने व्यवस्था छ । विदेश भ्रमणमा जाने राहदानीबाहकका लागि भने छुट्टै विदेशी मुद्रा सटही तथा भुक्तानीसम्बन्धी सीमा लागू हुन्छ ।
त्यस्तै, आईटी कम्पनी तथा फ्रिलान्सरहरूका लागि विदेशी सेवा तथा व्यावसायिक प्रयोजनमा आवश्यकताअनुसार बढी रकमको सुविधा उपलब्ध हुने व्यवस्था छ । यस्तो सुविधा र सीमा सम्बन्धित प्रयोजन तथा नेपाल राष्ट्र बैंकका प्रचलित नियमअनुसार फरक हुन सक्छ ।
एक व्यक्तिले एउटा मात्र डलर कार्ड
नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार एक व्यक्तिले जुनसुकै बैंकबाट भए पनि एउटा मात्र प्रिपेड डलर कार्ड लिन पाउँछन् । त्यसैले अर्को बैंकबाट समेत डलर कार्ड लिनुअघि आफ्नो नाममा पहिले नै कार्ड जारी भएको छ वा छैन भन्ने कुरा ध्यान दिनुपर्छ ।
डलर कार्ड बनाउन के चाहिन्छ ?
डलर कार्ड लिनका लागि सम्बन्धित बैंकमा सक्रिय बचत खाता हुनु आवश्यक हुन्छ । त्यससँगै स्थायी लेखा नम्बर (प्यान) पनि आवश्यक पर्छ ।
ग्राहकको केवाईसी (KYC) विवरण पूर्ण रूपमा अद्यावधिक भएको हुनुपर्छ । बैंकले माग गरेका आवश्यक कागजात तथा विवरण उपलब्ध गराएपछि योग्य ग्राहकले डलर कार्डका लागि आवेदन दिन सक्छन् ।
मोबाइलबाटै आवेदन दिन सकिने
पहिले डलर कार्ड लिन बैंकको शाखामै पुग्नुपर्ने अवस्था भए पनि अहिले धेरै बैंकले प्रक्रिया सहज बनाएका छन् । अधिकांश वाणिज्य बैंकहरूले मोबाइल बैंकिङ एप वा अनलाइन पोर्टलबाटै डलर कार्डका लागि आवेदन दिने सुविधा उपलब्ध गराएका छन् ।
बैंकअनुसार प्रक्रिया फरक भए पनि सामान्यतया मोबाइल बैंकिङको‘Cards’, ‘Dollar Card’ वा ‘Apply Online’ जस्ता विकल्पमा गएर भर्चुअल अथवा फिजिकल कार्डका लागि आवेदन दिन सकिन्छ ।
भर्चुअल कार्ड मोबाइल एप वा ईमेलमार्फत उपलब्ध हुन्छ भने फिजिकल कार्ड प्लास्टिक कार्डका रूपमा प्राप्त गर्न सकिन्छ । तर केही बैंकमा पहिलोपटक कार्ड सक्रिय गर्न, आवश्यक स्वघोषणा फाराम भर्न वा डलर लोड गर्न शाखामा उपस्थित हुनुपर्ने अवस्था अझै हुन सक्छ ।
कति शुल्क लाग्छ ?
डलर कार्ड जारी गर्दा बैंकअनुसार फरक–फरक शुल्क लाग्न सक्छ। सामान्यतया भर्चुअल कार्डका लागि करिब ३०० देखि ५०० रुपैयाँसम्म तथा फिजिकल कार्डका लागि करिब ५०० देखि १,५०० रुपैयाँसम्म शुल्क लाग्न सक्ने देखिन्छ ।
त्यसैगरी कार्डमा रकम लोड गर्दा बैंकले रिलोड शुल्क समेत लिन सक्छन् । यस्तो शुल्क बैंकअनुसार फरक हुने भएकाले कार्ड लिनुअघि सम्बन्धित बैंकबाट कार्ड जारी शुल्क, वार्षिक शुल्क, रीलोड शुल्क तथा अन्य सम्भावित शुल्क बारे जानकारी लिनु उपयुक्त हुन्छ ।
विदेशी भुक्तानीका लागि उपयोगी माध्यम
नेपालबाट अन्तर्राष्ट्रिय डिजिटल सेवा प्रयोग गर्नेको संख्या बढेसँगै डलर कार्डको प्रयोग पनि बढिरहेको छ। डिजिटल विज्ञापन, विदेशी सफ्टवेयर, वेबसाइट होस्टिङ, डोमेन, विभिन्न अनलाइन टुल तथा सब्सक्रिप्सन सेवाको भुक्तानी गर्न चाहनेका लागि यो सहज विकल्प बनेको छ ।
यद्यपि डलर कार्ड प्रयोग गर्दा नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा खर्चसम्बन्धी सीमा र प्रयोजन पालना गर्नुपर्छ । बैंकअनुसार कार्डको आवेदन, सक्रियता, शुल्क र लोड गर्ने प्रक्रियामा केही फरक हुन सक्ने भएकाले सेवा लिनुअघि आफ्नो बैंकसँग आवश्यक जानकारी लिनु राम्रो हुन्छ ।