धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट भोलि साँझ ५ बजे प्रदेशसभामा पेश गर्ने भएको छ।
प्रदेशसभाको कार्यव्यवस्था तथा परामर्श समितिको मङ्गलवार बसेको बैठकले बजेट प्रस्तुत गर्न प्रदेशसभाको बैठक भोलि साँझ ५ बजे बोलाउने निर्णय गरेको हो।
बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गर्न सरकारले पत्र पठाइसकेको सरकारका प्रवक्ता एव् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दमनबहादुर भण्डारीले चैतन्य खबरलाई बताए। मन्त्री भण्डारीका अनुसार सरकारले भोलि ५ बजे प्रदेशसभा बैठकमा बजेट पेश गर्ने भएको हो।
गत असार १ गते कमलबहादुर शाह नेतृत्वको पूर्ववर्ती सरकारले प्रदेशसभामा प्रस्तुत गरिएको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार साउन १ गतेदेखि बजेट शून्यताको अवस्थामा छ।
बजेट शून्यताको असर प्रदेशका सम्पूर्ण कार्यालयमा परेको छ। प्रदेश सरकारका आयोजना कार्यान्वयन, कार्यालय सञ्चालन तथा प्रदेशका कर्मचारी र पदाधिकारीको तलबभत्ता वितरणसमेत बजेट पारित नहुँदा रोकिएको छ।