लोकसेवा तयारीमा देखासिकी होइन, आफ्नो रुचि र क्षमता पहिचान गर्नुपर्छ : डा. सुरेन्द्र अर्याल - Chaitanya News
  • 2026-09-16
  • 14:28:52
  • बुधबार,भाद्र ३१, २०८३
  • लोकसेवा तयारीमा देखासिकी होइन, आफ्नो रुचि र क्षमता पहिचान गर्नुपर्छ : डा. सुरेन्द्र अर्याल

    लोकसेवा तयारीमा देखासिकी होइन, आफ्नो रुचि र क्षमता पहिचान गर्नुपर्छ : डा. सुरेन्द्र अर्याल

    ग्रामीण परिवेशबाट संघर्षपूर्ण यात्रा सुरु गरी शिक्षण हुँदै निजामती सेवामा प्रवेश गरेर नेपाल सरकारको सचिवसम्मको जिम्मेवारी सम्हाल्नुभएका डा.सुरेन्द्र अर्यालसँग चैतन्य खबरले विशेष ‘चैतन्य संवाद’ गरेको छ। दुई दशकभन्दा लामो प्रशासनिक अनुभव, संसदीय सेवा र प्राज्ञिक यात्राका क्रममा हासिल गरेका अनुभवलाई उहाँले संवादमा खुलस्त पार्नुभएको छ। साथै, लोकसेवा तयारीमा रहेका युवाका लागि सफलताको सूत्र, निरन्तर मेहनत, अनुशासन, आत्ममूल्याङ्कन र उत्तर लेखनको अभ्यासबारे उहाँले महत्वपूर्ण सुझाव दिनुभएको छ। प्रस्तुत छ लोकसेवा केवल परीक्षा उत्तीर्ण गर्ने यात्रा नभई आफूलाई चिन्ने, निरन्तर मेहनत गर्ने र राष्ट्रसेवाका लागि तयार हुने अवसर हो भन्ने उहाँको अनुभव र दृष्टिकोणसहित उहाँसँगको विशेष चैतन्य संवाद।

    १– सरको जीवन बाल्यकालदेखि प्रशासनिक नेतृत्व र शैक्षिक क्षेत्रमा समेत निकै सक्रिय र विविधतापूर्ण रह्यो। सचिव पदबाट निवृत्त भएपछि आफ्नो जीवनयात्रालाई फर्केर हेर्दा कसरी सम्झनुहुन्छ ?

    मेरो जीवनका बारेमा यहाँले गर्नुभएको उच्च मूल्यांकनप्रति आभार व्यक्त गर्छु। तर यहाँले भन्नुभएजस्तो ठूलो व्यक्तित्व भने म आफूलाई ठान्दिनँ। सामान्य ग्रामीण परिवेशबाट सुरु भएको मेरो जीवनयात्रालाई फर्केर हेर्दा धेरै उतारचढाव र संघर्षहरू पार गर्दै यहाँसम्म आइपुगेको महसुस हुन्छ।

    मेरो जन्म वि.सं.२०२९ सालमा अर्घाखाँची जिल्लाको तत्कालीन चिडिका गाविसमा भएको हो। म ग्रामीण परिवेशमा हुर्किएँ। प्राथमिक शिक्षा गाउँकै विद्यालयबाट लिएँ। माध्यमिक शिक्षा पढ्न भने दैनिक करिब दुई घण्टा जाने र दुई घण्टा आउने गरी चार घण्टा पैदल हिँड्नुपर्थ्यो। त्यसबेला यातायातका साधनको सुविधा थिएन, त्यसैले पैदल यात्रा नै हाम्रो दैनिकी थियो।

    मेरो पारिवारिक पृष्ठभूमि मुख्यतः कृषि हो। बिहान–बेलुका कृषिकर्म गरेर जीवन चल्थ्यो। मेरो बुवा प्राथमिक तहका शिक्षक हुनुहुन्थ्यो, जसले मलाई शिक्षाको महत्त्व बुझ्न ठूलो प्रेरणा दिनुभयो। हामी ६ जना दाजुभाइ–दिदीबहिनी थियौँ र म जेठो भएकाले सानाहरूको जिम्मेवारी पनि मेरो काँधमा थियो। आर्थिक रूपमा हामी मध्यम वा निम्न–मध्यम वर्गीय परिवारमा थियौँ।

    मैले वि.सं. २०४४ सालमा गाउँकै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेँ। त्यसपछि पाल्पा आएर त्रिभुवन बहुमुखी क्याम्पसबाट पीसीएल पूरा गरेँ। मेरो औपचारिक रूपमा नियमित कक्षामा उपस्थित भएर अध्ययन गरेको तह त्यही नै हो। त्यसपछि रोजगारी तथा आयआर्जनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने भएकाले ब्याचलर र मास्टर्स तहमा नियमित कक्षा लिन सकिनँ। तर त्रिभुवन विश्वविद्यालयबाट विभिन्न विषयमा दुई–तीनवटा स्नातकोत्तर तह पूरा गरेँ। पछि केही समय काठमाडौं विश्वविद्यालयमा नियमित अध्ययन गर्ने अवसर पाएँ र अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) पनि पूरा गरेँ।

    मेरो करियरको यात्रा पनि निकै नागबेली किसिमको रह्यो। सरकारी सेवामा प्रवेश गर्नुअघि करिब ८–१० वर्ष शिक्षा क्षेत्रमा काम गरेँ। नेपाल कमर्स क्याम्पसमा करिब ५–६ वर्ष अध्यापन गरेँ। त्यसैगरी युनाइटेड एकेडेमीमा करिब २–३ वर्ष प्लस टु तहमा पढाएँ।

    त्यस अवधिमा कलंकीस्थित रिप्स स्कुलमा पनि करिब ७–८ वर्ष भाइस–प्रिन्सिपलका रूपमा काम गरेँ। त्यो समय काठमाडौंका चर्चित विद्यालयमध्ये रिप्स स्कुल पनि एउटा थियो। बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका रूपमा त्यसको छुट्टै पहिचान थियो।

    शिक्षा क्षेत्रमा काम गर्दा आर्थिक रूपमा मेरो अवस्था ठीकै थियो। तर त्यतिबेलाको नेपाली समाजमा शिक्षक तथा शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण आजको जस्तो सम्मानजनक थिएन। शिक्षा क्षेत्रमा लामो समय काम गरे पनि समाजले शिक्षकलाई दोस्रो–तेस्रो दर्जाको पेसाजस्तो व्यवहार गर्ने अवस्था थियो। त्यसले पनि मलाई आफ्नो करियरका विषयमा थप सोच्न बाध्य बनायो। यही क्रममा मेरो जीवनले अर्को मोड लियो र म सरकारी सेवातर्फ प्रवेश गरेँ।

    २– शिक्षा क्षेत्रमा लामो समय काम गरिसकेपछि सरकारी सेवामा जानुपर्ने व्यक्ति भनेर समाज र परिवारबाट प्रश्न उठ्न थाले भन्नु भो, तेसपछि लोकसेवाप्रतिको तपाईंको सोच कसरी परिवर्तन भयो ?

    सुरुवातमा मलाई लोकसेवाप्रति खासै रुचि, प्रेरणा वा आकर्षण थिएन। तर निजामती सेवामा प्रवेश गरेका समकालीन साथीहरूको अवस्था हेर्दा र शिक्षा क्षेत्रमा लामो समय योगदान दिँदा पनि समाज तथा परिवारले आफूलाई हेर्ने दृष्टिकोण फरक महसुस गरेँ। सरकारी सेवाको आफ्नै सामाजिक प्रतिष्ठा र आकर्षण हुने रहेछ भन्ने लाग्न थाल्यो।

    त्यसपछि अलि उमेर ढल्किसकेको अवस्थामा, करिब ३२–३३ वर्षको उमेरमा मैले शाखा अधिकृतको तयारी सुरु गरेँ। वि.सं. २०६१ सालमा निजामती सेवामा प्रवेश गरेँ। सरकारी सेवामा करिब २०–२१ वर्ष योगदान गरेँ। निजामती सेवामा प्रवेश गर्नुअघि करिब ५–६ महिना नेपाल बैंक लिमिटेडमा सहायक प्रबन्धकका रूपमा पनि काम गरेको थिएँ।

    लोकसेवाको तयारी गर्दा विभिन्न क्षेत्र समेटिने भएकाले वि.सं. २०६१ सालमा राजस्व, लेखा र प्रशासनलगायतका विभिन्न समूहमा नाम निकाल्न सफल भएँ। अन्ततः मेरो सिफारिस राजस्व प्रशासनतर्फ भयो र त्यसपछि अर्थ मन्त्रालयमा करिब साढे पाँच वर्ष काम गरेँ।

    त्यस अवधिमा आन्तरिक प्रतिस्पर्धाको अवसर नहुँदा पनि निजी क्षेत्रको अनुभव र अन्य योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट परीक्षा दिँदै गएँ। चार–पाँच पटक लिखित परीक्षामा नाम निकाल्न सफल भएँ। तर अन्तर्वार्ताका क्रममा केही तिक्त अनुभवहरू पनि भोग्नुपर्‍यो। यही क्रममा वि.सं. २०६७ सालमा संसद् सेवामा प्रवेश गरेँ।

    संसद् सेवामा प्रवेश गरेपछि अवकाश नलिँदासम्म निरन्तर त्यहीँ रहेर काम गरेँ। त्यहाँको करियरका क्रममा करिब सात वर्ष सार्वजनिक लेखा समितिको समिति सचिवका रूपमा काम गरेँ। त्यसपछि करिब छ–सात वर्ष अर्थ समितिको समिति सचिवका रूपमा जिम्मेवारी सम्हालेँ। सेवाको पछिल्लो चरणमा करिब साढे दुई वर्ष राष्ट्रिय सभाको सचिवका रूपमा पनि काम गर्ने अवसर पाएँ।

    अर्को महत्वपूर्ण कुरा के हो भने, अध्यापनप्रतिको मेरो लगाव सरकारी सेवामा प्रवेश गरेपछि पनि कहिल्यै घटेन। वि.सं. २०६१ सालमा पहिलोपटक धनगढीस्थित आन्तरिक राजस्व कार्यालयमा पदस्थापन हुँदा पनि सरकारी काममा असर नपर्ने गरी बिहानको समयमा सुदूरपश्चिम क्याम्पसमा प्लस टू तहका कक्षा लिने गर्थेँ।

    आफ्नो मुख्य जिम्मेवारीमा असर नपर्ने गरी अध्यापनलाई निरन्तरता दिँदै आएँ। अध्यापन मेरो लागि केवल पेसा मात्र थिएन, यसले मलाई सधैँ ऊर्जा र आत्मसन्तुष्टि दिने काम गर्‍यो।

    अहिले ऐच्छिक अवकाश लिएपछि पनि मेरो अध्यापनप्रतिको लगाव कायमै छ। हाल काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गत जनप्रशासन क्याम्पसमा कक्षा सहजकर्ताका रूपमा अध्यापन गर्दै आफ्नो दैनिकी बिताइरहेको छु। यसरी हेर्दा मेरो जीवनमा प्रशासनिक सेवा र अध्यापन दुवै एकअर्कासँग जोडिँदै आएका छन्।

    ३– अहिलेको युवापुस्तामा धैर्यता, प्रतिबद्धता र दृढ संकल्प केही कमजोर भएको हो कि जस्तो देखिन्छ। लोकसेवा तयारी गर्ने हजारौँ विद्यार्थीले तपाईंलाई पछ्याउँछन्, तपाईंका पुस्तक र लेख पढ्छन् तथा कक्षामा सहभागी हुन्छन्। यसरी हेर्दा पनि अहिले स्रोत–साधन र सूचनाको पहुँच व्यापक भएको समयमा युवामा विचलन र निराशा किन देखिन्छरु तपाईंको अनुभव के छ ?

    मेरो अनुभवको अवधि धेरै लामो त होइन। मैले वि.सं. २०६१ सालतिर निजामती सेवाको अध्ययन सुरु गरेर त्यसपछि सेवामा प्रवेश गरेँ। करिब दुई दशकभन्दा बढी समयको यो अवधिमा पढ्ने र पढाउने दुवै क्षेत्रमा निकै ठूलो परिवर्तन आएको छ।

    हामीले अध्ययन सुरु गर्दाको समयमा निजी क्षेत्रको तुलनामा सामुदायिक तथा सरकारी शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको संख्या धेरै थियो। त्यसपछि विस्तारै निजी क्षेत्रको शिक्षा पनि व्यापक हुँदै गयो। त्यतिबेला अध्ययन सामग्री, प्रेरणाका स्रोत र परामर्शका अवसरहरू निकै सीमित थिए। लोकसेवा वा कुनै तयारी कक्षामा विद्यार्थी बनेर सहभागी हुने अवसर पनि धेरै थिएन। सीमित कक्षाबाट सुरु भएको त्यो अभ्यास अहिले आएर धेरै संस्थाहरू र विभिन्न माध्यमसम्म विस्तार भएको छ।

    तर हिजो र आजको युवापुस्ताबीच केही महत्वपूर्ण अन्तर देखिन्छ। त्यसलाई म मुख्यतः केही पक्षबाट हेर्छु।

    पहिलो, तत्काल परिणाम खोज्ने प्रवृत्ति बढेको छ।
    अहिले धेरै युवामा ठूलो मेहनत, त्याग, रुचि र समर्पणबिना नै तत्काल परिणाम प्राप्त गर्न खोज्ने प्रवृत्ति देखिन्छ। सामाजिक सञ्जाल, विश्वव्यापी सूचना प्रवाह र बाह्य प्रभावका कारण धैर्यता कम हुँदै गएको छ। कुनै काममा केही समय लगानी गरेर त्यसको परिणाम पर्खनुभन्दा छिटो सफलता प्राप्त गर्न खोज्ने प्रवृत्ति बढेको देखिन्छ।

    दोस्रो, संघर्ष र मेहनतप्रतिको लगाव कमजोर भएको छ।
    म आफ्नो अनुभव सम्झन्छु। मैले शाखा अधिकृतको तयारी गर्दा पढेका पुस्तकका कुन पृष्ठमा कुन विषयमा के लेखिएको थियो भन्नेसम्म पनि अहिले सम्झन सक्छु। त्यसबेला अध्ययनप्रतिको लगाव र मेहनत निकै गहिरो थियो। अहिलेका सबै युवामा यस्तो छैन भन्न खोजेको होइन, धेरैले असाध्यै राम्रो मेहनत गरिरहेका छन्। तर समग्रमा हेर्दा लामो समयसम्म निरन्तर संघर्ष गर्ने धैर्य र लगाव केही कमजोर भएको महसुस हुन्छ।

    तेस्रो, हाम्रो शिक्षा प्रणालीले व्यावहारिक ज्ञान र सही मार्गदर्शन दिन सकेन।
    हाम्रो औपचारिक शिक्षा प्रणालीले प्रभावकारी रूपमा भविष्यको बाटो देखाउने काम गर्न सकेन। देशभित्र र बाहिर उपलब्ध अवसर के हुन्, विदेश जाँदा के सम्भावना र चुनौती हुन्छन्, नेपालमै बसेर के गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीलाई पर्याप्त जानकारी दिन सकेनौँ।

    हामीले विद्यार्थीलाई पाठ्यक्रम पढायौँ, राम्रो अंक ल्याउन सिकायौँ, उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्‍यौँ। तर जीवन उपयोगी सीप, व्यावहारिक ज्ञान, नैतिक शिक्षा र भविष्यको सही छनोट गर्न सक्ने क्षमता विकास गर्ने पक्षमा पर्याप्त ध्यान दिन सकेनौँ।

    चौथो, हामीले विद्यार्थीलाई ‘म’ सिकायौँ तर ‘हामी’ सिकाउन सकेनौँ।
    विद्यार्थीलाई आफ्नो भविष्य, आफ्नो सफलता र आफ्नो करियरबारे सोच्न त सिकायौँ। तर मेरो जिम्मेवारी के हो, मेरो कर्तव्य के हो, परिवार, समाज र राष्ट्रप्रति मेरो भूमिका के हो भन्ने कुरा पर्याप्त रूपमा सिकाउन सकेनौँ।

    शिक्षा केवल व्यक्तिगत सफलता हासिल गर्ने माध्यम मात्र होइन। शिक्षाले असल चरित्र, जिम्मेवारीबोध र सामाजिक उत्तरदायित्व पनि विकास गर्नुपर्छ। तर नैतिक शिक्षा र चरित्र निर्माणको पक्ष कमजोर हुँदै गएको देखिन्छ।

    पाँचौँ, अत्यधिक निर्भरताले पनि युवाको आत्मबल कमजोर बनाएको छ।
    मेरो आफ्नै बाल्यकालको कुरा गर्दा, विद्यालय पढ्दै गर्दा बिहान–बेलुका दुई–दुई घण्टा घाँस काट्ने, गाईभैँसीको हेरचाह गर्ने, उकाली–ओराली गर्ने र विभिन्न काममा संघर्ष गर्ने अवस्था थियो। ती अनुभवले मलाई जीवन बुझ्न र ‘मैले केही गर्नुपर्छ’ भन्ने आत्मबल विकास गर्न सहयोग गर्‍यो। त्यसले आत्मनिर्भर बन्न सिकायो।

    तर अहिलेका धेरै बालबालिकालाई हामीले आवश्यकताभन्दा बढी सुविधासम्पन्न र अरूमाथि निर्भर बनाएका छौँ। त्यसका कारण उनीहरूमा कठिनाइ सामना गर्ने क्षमता, धैर्यता र लगाव केही कम भएको हुन सक्छ। आफूले सोचेअनुसारको परिणाम नआउँदा चाँडै निराश हुने अवस्था पनि देखिन्छ।

    त्यसैले यसमा युवालाई मात्र दोष दिएर हुँदैन। राज्य, समाज, परिवार, शैक्षिक संस्था र हामीजस्ता सहजीकर्ताहरू सबैको भूमिका हुन्छ। हामीले युवालाई सही दिशा देखाउने, उनीहरूको क्षमता पहिचान गर्ने, संघर्ष गर्न सिकाउने र जीवनका वास्तविक चुनौतीबारे बुझाउने काम पर्याप्त रूपमा गर्न सकेका छौँ कि छैनौँ भन्ने प्रश्न पनि उठ्छ।

    अवश्य पनि धेरैले आफ्नो ठाउँबाट राम्रो काम गरिरहेका छन्। तर जहाँ कमजोरी छन्, त्यहाँ सुधार आवश्यक छ। आजको आवश्यकता भनेको युवालाई केवल परीक्षा उत्तीर्ण गराउने होइन, जीवनका चुनौती सामना गर्न सक्ने, आत्मनिर्भर, जिम्मेवार र दृढ नागरिकका रूपमा तयार गर्नु हो।

    ४– अर्घाखाँचीको सामान्य ग्रामीण परिवेशबाट संघर्ष गर्दै विद्यावारिधिसम्मको अध्ययन पूरा गर्नुभयो, सार्वजनिक प्रशासनको सचिव पदसम्म पुग्नुभयो र अहिले पनि प्राज्ञिक तथा बौद्धिक क्षेत्रमा सक्रिय हुनुहुन्छ। नयाँ पुस्तालाई क्षमता विकास र करियर निर्माणमा समेत मार्गदर्शन गरिरहनुभएको छ। यी सबैका पछाडि तपाईंको जीवनलाई निर्देशित गर्ने मुख्य दर्शन के हो ?

    सबैभन्दा पहिलो कुरा, मैले आफूलाई चिन्न कोसिस गरेँ। म भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने व्यक्ति हुँ। स्वास्थ्यले साथ दिँदासम्म केही न केही काम नगरी दिन बिताउन सक्दिनँ। समयको प्रत्येक मिनेटलाई सकेसम्म सदुपयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ। आफूलाई ठूलो मान्छे ठान्दिनँ, तर कर्मशील व्यक्ति हुँ। कर्मबाट नै भाग्यको निर्माण हुन्छ भन्ने कुरामा मेरो दृढ विश्वास छ।

    मेरो जीवनको अर्को महत्वपूर्ण सिद्धान्त इमानदारिता हो। मैले कहिल्यै बेइमानी गर्न जानेको छैन। राष्ट्रसेवकका रूपमा काम गर्दा अनैतिक काम नगर्ने र आफ्नो पेसागत मर्यादासँग कहिल्यै सम्झौता नगर्ने कुरालाई सधैँ प्राथमिकतामा राखेँ। अतिरिक्त काम गर्दा पनि आफ्नो मुख्य जिम्मेवारीमा कुनै असर नपरोस् भन्नेमा सचेत रहेँ।

    अध्यापन र सहजीकरणका क्रममा पनि मेरो उद्देश्य विद्यार्थीलाई सही मार्गदर्शन गर्दै सफलतातर्फ अघि बढाउनु हो। सुरुमा कक्षामा म केही कठोर देखिन सक्छु, तर त्यो अनुशासन र सही दिशाका लागि हो। पछि विद्यार्थीहरूले मेरो त्यो कठोरताभित्रको अभिभावकीय भावना र उनीहरूलाई सफल बनाउने उद्देश्य बुझ्नुहुन्छ।

    समग्रमा भन्नुपर्दा, आफूलाई चिन्नु, कर्ममा विश्वास गर्नु, इमानदारिता, निष्ठा, सदाचार र नैतिकतालाई कायम राख्नु नै मेरो जीवनका मुख्य मार्गदर्शक सिद्धान्त हुन्। यही सोचले मलाई निरन्तर सक्रिय रहन र आफूले जानेका तथा सिकेका कुरा नयाँ पुस्तासँग बाँड्न प्रेरित गरिरहेको छ।

    ५– यहाँले लोकसेवा आयोगको तयारी गरिरहेका हजारौँ विद्यार्थीलाई सहजीकरण र मार्गदर्शन गर्नुभएको छ। तीमध्ये धेरै अहिले विभिन्न तहमा रहेर राष्ट्रसेवा गरिरहेका छन्। विद्यार्थीलाई अभिभावकत्व, मार्गदर्शन, अनुशासन र प्रतिबद्धताका माध्यमबाट अघि बढाउँदै आउनुभएको छ। लोकसेवामा सफल हुन चाहनेहरूका लागि तपाईंको सफलताको मुख्य सूत्र के हो ?

    यसका धेरै सूत्र हुन सक्छन्। मैले सहजीकरण गरेका हजारौँ साथीहरू अहिले विभिन्न जिम्मेवारीमा हुनुहुन्छ। उहाँहरू आफ्नो ठाउँबाट मैले निर्वाह गर्दै आएको भूमिका निर्वाह गरिरहनुभएको देख्दा मलाई निकै खुसी लाग्छ। उहाँहरू विभिन्न ओहोदामा रहेर राष्ट्रसेवामा योगदान दिइरहनुभएको छ, यही नै मेरो लागि ठूलो सन्तुष्टिको विषय हो।

    लोकसेवामा सफलताको एउटै सूत्र हुँदैन। तर मेरा अनुभवका आधारमा मुख्यतः चारवटा कुरा महत्वपूर्ण छन्।

    पहिलो, आफूलाई चिन्नुपर्छ र वास्तविक रुचि हुनुपर्छ।
    अरूले शाखा अधिकृत वा उपसचिव भएको देखेर, ईर्ष्या वा देखासिकीका कारण लोकसेवाको तयारीमा लाग्नु हुँदैन। परिवार वा समाजलाई देखाउनका लागि गरिएको प्रयास लामो समय टिक्दैन। आफू कुन क्षेत्रमा जान चाहन्छु, मेरो क्षमता र रुचि कुन क्षेत्रमा छ र कुन बाटोबाट आफ्नो लक्ष्यमा पुग्न सक्छु भन्ने कुरा आफैँले पहिचान गर्नुपर्छ।

    दोस्रो, निरन्तर लगाव र समर्पण आवश्यक हुन्छ।
    रुचि भएर मात्र हुँदैन, त्यसलाई सफलतामा बदल्न निरन्तर मेहनत गर्नुपर्छ। केही महिना कडा मिहिनेत गर्ने र त्यसपछि छाड्ने प्रवृत्तिले सफलता दिँदैन। निजामती सेवा होस्, बैंकिङ, संस्थान वा शिक्षा सेवा होस्, निरन्तर प्रयास गर्ने व्यक्तिले कुनै न कुनै समयमा सफलता प्राप्त गर्छ।

    तेस्रो, आफ्नो क्षमता र कमजोरीको मूल्याङ्कन गर्नुपर्छ।
    पाठ्यक्रमअनुसार आफ्ना सबल र कमजोर पक्ष पहिचान गर्नुपर्छ। कुन विषयमा आफू बलियो छु, कुन विषयमा कमजोर छु, उपलब्ध अवसर के छन् र चुनौतीहरू के छन् भन्ने विश्लेषण गरेर कमजोर पक्षमा बढी मेहनत गर्नुपर्छ। यसरी आफ्नो अवस्थाको सही मूल्याङ्कन गरेर तयारी अघि बढाउनुपर्छ।

    चौथो, निरन्तर लेखन अभ्यास गर्नुपर्छ।
    अहिले धेरैले पढ्छन्, सुन्छन् र विषय बुझेको जस्तो लाग्छ। तर परीक्षामा कापी र कलम लिएर उत्तर लेख्न बस्दा कहाँबाट सुरु गर्ने र कसरी व्यवस्थित रूपमा प्रस्तुत गर्ने भन्ने समस्या हुन्छ। परीक्षामा ज्ञान मात्र भएर पुग्दैन, आफूले जानेको विषयलाई प्रभावकारी रूपमा लेखेर प्रस्तुत गर्न सक्ने क्षमता पनि चाहिन्छ। त्यसैले विज्ञापन खुल्ने वा नखुल्ने कुराको प्रतीक्षा नगरी आगामी परीक्षालाई लक्षित गरेर निरन्तर पढ्ने, लेख्ने र प्रश्न समाधान गर्ने अभ्यास गर्नुपर्छ।

    विशेषगरी अहिलेको पुस्तामा छिट्टै परिणाम खोज्ने प्रवृत्ति देखिन्छ। तर लोकसेवा तयारी केही महिनामै परिणाम खोज्ने विषय होइन। आफूलाई चिन्नु, रुचिका साथ निरन्तर मेहनत गर्नु, आफ्नो कमजोरी सुधार्नु र नियमित लेखन अभ्यास गर्नु नै लोकसेवामा सफलताको मुख्य आधार हो।

    ६– लोकसेवा परीक्षामा प्रश्नलाई सही रूपमा बुझ्ने, प्रश्नले मागेको विषयलाई न्याय गर्ने र उत्तरपुस्तिकामा प्रभावकारी रूपमा प्रस्तुत गर्ने गरी प्रतिस्पर्धीहरूले कसरी तयारी गर्नुपर्छ ?

    लोकसेवा आयोगको परीक्षा अहिले विभिन्न चरणमा हुन्छ। पहिलो चरणलाई पहिलेको जस्तो अन्तिम प्राप्ताङ्कमा जोडिनेभन्दा पनि प्रवेश परीक्षाका रूपमा लिइन्छ। त्यसैले पहिलो चरण उत्तीर्ण नगरेसम्म दोस्रो चरणमा पुग्न नसकिने भएकाले सुरुदेखि नै त्यसको तयारीलाई उत्तिकै महत्व दिनुपर्छ।

    दोस्रो चरणको लिखित परीक्षामा प्रवेश गरेपछि प्रश्नको प्रकृति र त्यसले मागेको विषयलाई बुझ्नु सबैभन्दा महत्वपूर्ण हुन्छ। विशेषगरी अधिकृत र माथिल्लो तहका प्रश्न केवल सैद्धान्तिक ज्ञानमा आधारित हुँदैनन्। नेपालको अवस्था, नीति, समस्या र त्यसका व्यावहारिक समाधानसँग जोडिएका प्रश्न आउँछन्। त्यसैले कुनै एउटा निश्चित ढाँचामै मात्र भर पर्नु हुँदैन।

    कुनै प्रश्नमा पाठांश दिएर सोध्न सकिन्छ भने कुनैमा एउटै विषयका विभिन्न पक्ष समेटेर उत्तर माग्न सकिन्छ। यस्तो अवस्थामा घोक्नेभन्दा विषयलाई बुझेर विश्लेषण गर्ने क्षमता विकास गर्नुपर्छ।

    कुनै समस्या वा विषयमा अध्ययन गर्दा त्यसको नीतिगत, संस्थागत, व्यवस्थापकीय र प्रक्रियागत कमजोरी के छन् भन्ने पहिचान गर्न सक्नुपर्छ। उदाहरणका लागि बजेट कार्यान्वयन कमजोर हुनुका कारण के हुन् भन्ने प्रश्न आएमा केवल समस्या उल्लेख नगरी त्यसका नीतिगत तथा संस्थागत कारण पहिचान गरेर उत्तर दिनुपर्छ।

    त्यस्तै, उत्तर लेख्दा लामो भूमिका र अनावश्यक व्याख्या गर्नुभन्दा छोटो, छरितो र बुँदागत रूपमा विषय प्रस्तुत गर्नु प्रभावकारी हुन्छ। यसले समय व्यवस्थापन गर्न र प्रश्नले मागेको विषयमा केन्द्रित हुन सहयोग गर्छ।

    उत्तरलाई सकेसम्म तथ्य, नीति, कानुन र सिद्धान्तले पुष्टि गर्नुपर्छ। उदाहरणका लागि घाटा बजेटबारे लेख्दा परिभाषा मात्र होइन, नेपालको पछिल्लो बजेटको अवस्था र सम्बन्धित तथ्याङ्क पनि समेट्नुपर्छ। बेरुजुका विषयमा लेख्दा महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित तथ्यलाई आधार बनाउन सकिन्छ।

    सबैभन्दा महत्वपूर्ण कुरा भनेको प्रश्नले के मागेको छ भन्ने बुझ्नु हो। धेरै परीक्षार्थीलाई आफूलाई आएको कुरा सबै लेख्नुपर्छ भन्ने लाग्छ। तर परीक्षामा धेरै कुरा जानेको भन्दा प्रश्नले खोजेको कुरा सही, सान्दर्भिक र तथ्यपरक रूपमा प्रस्तुत गर्न सक्ने व्यक्ति सफल हुन्छ।

    त्यसका लागि नियमित लेखन अभ्यास अत्यन्त आवश्यक छ। पढेको विषयलाई आफ्नै शब्दमा समय तोकेर लेख्ने, विगतका प्रश्न समाधान गर्ने र लेखेको उत्तरको समीक्षा गर्ने बानी बसाल्नुपर्छ। विषय बुझ्ने, प्रश्नको माग पहिचान गर्ने, तथ्यसहित छोटो र बुँदागत उत्तर लेख्ने तथा निरन्तर अभ्यास गर्ने—यी नै प्रभावकारी लेखनका मुख्य आधार हुन्।

    ७– अन्त्यमा सार्वजनिक लेखा समिति, अर्थ समिति हुँदै राष्ट्रिय सभाको सचिवसम्मको जिम्मेवारी सम्हाल्नुभयो। संसद् कानुन निर्माण, सुशासन र विकासका लागि महत्वपूर्ण थलो हो। प्रतिनिधि सभाबाट आएका विषयलाई राष्ट्रिय सभाले थप परिपक्व र संवेदनशील ढङ्गले हेर्ने संवैधानिक मर्म पनि छ। तपाईंले संसदीय सेवामा रहँदा यो मर्मअनुसार काम गर्ने अवसर र अनुभूति कत्तिको पाउनुभयो ?

    म आफूलाई यस अर्थमा भाग्यमानी ठान्छु। राजस्व प्रशासनबाट संसद् सेवामा जाँदा पनि मलाई ‘राजस्व प्रशासन छोडेर संसद् किन जानेरु’ भनेर प्रश्न गरिएको थियो। मैले त्यतिबेला मुलुकको सर्वोच्च नीति निर्माण गर्ने थलोमा हामीजस्ता कर्मचारी नपुगे त्यहाँका कानुन निर्माता र नीति निर्मातालाई आवश्यक विषयगत इनपुट कसले दिने भन्ने कुरा राखेको थिएँ।

    संसद् सेवामा प्रवेश गरेपछि मेरो पहिलो जिम्मेवारी सार्वजनिक लेखा समितिमा भयो। संसदीय समितिहरूको काम फरक–फरक हुन्छ। सार्वजनिक लेखा समिति विधेयक निर्माण गर्नेभन्दा पनि मन्त्रालय तथा सरकारी निकायको आर्थिक अनुशासन र वित्तीय पारदर्शिताको अनुगमन गर्ने महत्वपूर्ण समिति हो।

    सुरुमा कर्मचारीको भूमिका व्यवस्थापकीय तथा सहजीकरणमा मात्र सीमित भएको महसुस गरेँ। त्यसैले कर्मचारीले आफ्नो क्षमता विकास गरेर सांसदलाई विषयगत र नीतिगत रूपमा पनि बलियो इनपुट दिनुपर्छ भन्ने मान्यताका साथ काम गरेँ। सार्वजनिक लेखा समितिमा करिब सात वर्ष रहँदा विभिन्न महत्वपूर्ण विषयमा अनुसन्धान र निर्णय प्रक्रियामा योगदान गर्ने अवसर पाएँ। एनसेलको पुँजीगत लाभकरको विषयमा समितिले निरन्तर छलफल र निर्देशन गरेपछि राज्यले ठूलो परिमाणमा राजस्व प्राप्त गर्न सक्नु पनि त्यसको एउटा उदाहरण हो।

    त्यसपछि वि।सं। २०७४ सालको निर्वाचनपछि अर्थ समितिमा काम गर्ने अवसर पाएँ। त्यहाँ सङ्घीयता अनुकूलका आर्थिक तथा वित्तीय कानुन निर्माण र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयकमा काम गरियो। विशेषगरी राजनीतिक क्षेत्रलाई पनि वित्तीय रूपमा उत्तरदायी बनाउने कानुनी व्यवस्था राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर पाएँ। पूर्वअर्थमन्त्रीहरू तथा अनुभवी सांसदहरूसँग सहकार्य गरेर परिपक्व कानुन निर्माणमा कर्मचारीको तर्फबाट आवश्यक विषयगत सहयोग गर्न सकियो।

    पछिल्लो चरणमा राष्ट्रिय सभाको सचिवका रूपमा काम गर्दा नियमावली संशोधनमार्फत केही महत्वपूर्ण सुधार गर्न सकियो। सरकारले जारी गर्ने राष्ट्रिय तथा क्षेत्रगत नीतिलाई संसद्मा प्रस्तुत गरी संसदीय समिति र सभामा छलफल गराउने व्यवस्था गरियो। राष्ट्रिय सभामा नीतिगत बहसका लागि सार्वजनिक नीति समितिको व्यवस्था भयो। त्यस्तै, राष्ट्रिय सभाबाट बजेट संशोधन गराउने नजिर पनि कायम भयो।

    सङ्घीयतालाई बलियो बनाउन ‘प्रादेशिक सरोकार समय’को व्यवस्था पनि महत्वपूर्ण थियो। यसमार्फत सांसदहरूले आफ्ना प्रदेशका समस्या र सरोकार सभामा प्रस्तुत गर्ने तथा त्यसबारे सरकारलाई आवश्यक निर्देशन दिने अभ्यास सुरु भयो।

    त्यसैले मेरो अनुभवमा संसदीय कर्मचारीको भूमिका केवल सभा सञ्चालनको व्यवस्थापन र सहजीकरणमा सीमित हुनु हुँदैन। कर्मचारीले आफ्नो क्षमता विकास गरेर नीति, कानुन र विषयवस्तुका आधारमा सांसदलाई गुणस्तरीय सुझाव र सहयोग दिन सक्नुपर्छ। आफूले काम गरेका समितिहरू र राष्ट्रिय सभामा यस प्रकारको योगदान गर्न पाएकोमा म सन्तुष्ट छु।