दशकौँ पुराना अपराधका फाइल बन्द भएका छैनन् : महानिरीक्षक कार्की - Chaitanya News
  • 2026-08-24
  • 19:56:54
  • सोमबार,भाद्र ०८, २०८३
  • दशकौँ पुराना अपराधका फाइल बन्द भएका छैनन् : महानिरीक्षक कार्की

    दशकौँ पुराना अपराधका फाइल बन्द भएका छैनन् : महानिरीक्षक कार्की

    काठमाडौँ– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पुराना आपराधिक घटना प्रहरी संगठनले नबिर्सने भन्दै दशकौँअघि भएका अपराधमा संलग्न व्यक्तिलाई समेत अनुसन्धानको दायरामा ल्याएर कानुनी कारबाही गरिने बताएका छन्।

    समाजमा घटेका आपराधिक घटनाको अभिलेख प्रहरी संगठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा सुरक्षित रहने उल्लेख गर्दै उनले अपराधी जतिसुकै समयपछि पनि कानुनी कठघरामा आउन सक्ने बताए।

    उनका अनुसार व्यक्तिको स्मरण समयसँगै कमजोर हुँदै गए पनि प्रहरी संगठनले न्यायका लागि निरन्तर काम गर्ने भएकाले पुराना अपराधका घटनाको अनुसन्धानलाई पनि प्राथमिकतामा राखिएको छ। यद्यपि, सबै पुराना घटनामा अपेक्षित सफलता हासिल हुन नसकेको उनले स्वीकार गरे।

    पुराना चर्चित तथा जघन्य प्रकृतिका घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको जानकारी दिँदै महानिरीक्षक कार्कीले केही घटनामा अनुसन्धानबाट सकारात्मक परिणाम प्राप्त भएको बताए। केन्द्रीय अनुसन्धान ब्युरोमार्फत पुराना मुद्दाको अनुसन्धान जारी रहेको उनको भनाइ छ।

    ‘नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ’, उनले भने।

    महानिरीक्षक कार्कीले पछिल्लो समय प्रविधि, बदलिँदो सामाजिक परिवेश र अपराधको स्वरूपमा आएको परिवर्तनले प्रहरी अनुसन्धानसामु नयाँ चुनौती थपिएको बताए। परम्परागत अनुसन्धान पद्धतिले मात्रै आधुनिक अपराध नियन्त्रण गर्न कठिन हुने भएकाले प्रहरीलाई प्रविधिमैत्री र दक्ष बनाउने काम भइरहेको उनको भनाइ छ।

    प्रहरी कर्मचारीको कार्यसम्पादन सुधारका लागि कार्यसम्पादन सूचक तयार गरिएको जानकारी दिँदै उनले कामका आधारमा मूल्यांकन गर्ने प्रणालीले कर्मचारीलाई आफ्नो कार्यशैली सुधार्ने अवसर प्रदान गर्ने बताए।

    प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै नागरिकले प्रहरी कार्यालय धाउनुपर्ने अवस्थासमेत घटाउँदै लगिएको उनले बताए। घरबाटै आवेदन तथा निवेदन दिन र त्यसको अवस्थाबारे जानकारी लिन सकिने प्रणाली विकास गरिएको उनको भनाइ छ।

    पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराध बढ्दै गएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले यस्ता अपराधको अनुसन्धानका लागि आवश्यक जनशक्ति उत्पादन तथा परिचालनमा जोड दिनुपर्ने बताए।

    अपराधको सञ्जाल अन्तरदेशीय बन्दै गएकाले नेपाल प्रहरीले विभिन्न देशका प्रहरी संगठन, इन्टरपोल तथा विशिष्टीकृत अनुसन्धान इकाइसँग समन्वय गरिरहेको उनले जानकारी दिए। आधुनिक ‘पुलिसिङ’का मापदण्ड अवलम्बन गर्दै अन्तर्राष्ट्रिय अभ्यास र अनुभवलाई समेत अनुसन्धानमा उपयोग गरिरहेको उनको भनाइ छ।

    प्रविधिको दुरुपयोगबाट हुने अपराध नियन्त्रण गर्न प्रहरी संगठन सक्षम बन्दै गएको दाबी गर्दै उनले नेपाल प्रहरी नागरिकको सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने संस्था भएको बताए।

    शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्दै नागरिकको जीउधनको सुरक्षा गर्ने प्रहरीको जिम्मेवारी पूरा गर्न आम नागरिकको सहयोग आवश्यक रहेको महानिरीक्षक कार्कीले बताए। उनले आपराधिक गतिविधिमा संलग्न व्यक्तिबारे प्रहरीलाई समयमै सूचना उपलब्ध गराउन समेत नागरिकसँग आग्रह गरे।