आज नागको पूजा–आराधना गरी नागपञ्चमी पर्व मनाइँदै - Chaitanya News
  • 2026-08-17
  • 09:32:05
  • सोमबार,भाद्र ०१, २०८३
  • आज नागको पूजा–आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    आज नागको पूजा–आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ– नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन परेको हो।

    नागपञ्चमीका अवसरमा घरको मूलढोकामाथि विधिपूर्वक नागको तस्वीर टाँस्ने चलन छ। नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवबाट दुःख नहुने तथा अग्नि, मेघ र चट्याङको भयबाट समेत बच्न सकिने धार्मिक विश्वास छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार नागपूजाको परम्परा वैदिककालदेखि नै चलिआएको मानिन्छ।

    वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए पानीको अभाव हुने विश्वासका कारण वर्षाका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको मान्यता छ। वराहपुराणमा श्रावण शुक्ल पञ्चमीका दिन नागराज र ब्रह्माबीच संवाद भएको उल्लेख भएकाले पनि यो दिन नागपूजाका लागि विशेष मानिन्छ।

    घरको जगमुनि नाग बस्ने र नाग रिसाएर गएमा घरको जग नै कमजोर हुने धार्मिक विश्वासका कारण पनि नागपूजा गर्ने परम्परा रहिआएको छ। नागलाई भगवान् विष्णु र शिवसँग समेत जोडेर हेर्ने गरिन्छ। भगवान् शिवले नागको माला धारण गर्ने तथा भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्ने भएकाले नागलाई दैवी शक्तिका रूपमा पूजा गर्ने परम्परा रहेको हो।

    भगवान् गणेशको एक हातमा नाग रहेको, लक्ष्मण र बलरामलाई शेषनागको अवतारका रूपमा मानिने तथा श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसंग विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ। बुद्धको मूर्तिमा समेत सर्पाकार मुकुट देखिन्छ। त्यस्तै, मत्स्येन्द्रनाथसँग कर्कोटक नागको सम्बन्ध जोडिएको पाइन्छ।

    नागपञ्चमी मनाउनुको कारणसँग जोडिएका विभिन्न किंवदन्तीमध्ये किसान र नागिनीको कथा प्रचलित छ। किंवदन्तीअनुसार एक किसानले खेत खन्ने क्रममा नागका तीनवटा बच्चा मारेपछि आमा नागिनी क्रुद्ध भइन्। उनले किसान र उनका परिवारका सदस्यलाई मारिन्। पछि किसानकी छोरीले नागिनीलाई पूजा गरी दूध चढाउँदै परिवारलाई जीवनदान दिन आग्रह गरेपछि नागिनी प्रसन्न भई परिवारलाई पुनर्जीवन दिएको विश्वास गरिन्छ। यही घटनाको सम्झनामा श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने परम्परा सुरु भएको जनविश्वास छ।

    त्यस्तै, गुरु गोरखनाथले नौ नागको आसनमा बसेर १२ वर्षसम्म तपस्या गर्दा पानी नपरेको र उनका गुरु मत्स्येन्द्रनाथ नेपाल आएपछि गोरखनाथ उठ्दा नाग मुक्त भएर वर्षा भएको प्रसंग पनि धार्मिक ग्रन्थमा उल्लेख छ।

    नागका १२ नाममध्ये आठ कूलका आठ नागको पूजा गर्ने वैदिक परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको आज विशेष पूजा गरिन्छ। ब्राह्मण पुरोहितबाट पूजा गराई नागको तस्वीर घरको ढोकामाथि टाँस्ने चलन छ। नागपञ्चमीका दिन खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घिस्रने जीवलाई नमार्ने धार्मिक मान्यता पनि छ।

    आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा विशेष पूजाआजा गरिँदैछ। श्रद्धालुले नागलाई गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायत प्रसाद चढाउने गर्छन्।

    नागपञ्चमीसँग प्रकृति संरक्षणको पक्षसमेत जोडिएको छ। नाग, सर्पलगायतका जीवले पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यिनको संरक्षण र सम्मानको सन्देशसमेत यस पर्वले दिने गर्दछ। नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका प्रमुख चाडपर्वको याम सुरु हुने मान्यता छ।