कवि डाक्टर अमृत थापा पिता क्षेत्रबहादुर थापा र माता सानु थापाको कोखबाट ललितपुरको लेलेमा जन्मिए। बढाइमा सधैँ अब्बल थापाले बुझकी परिवार पाएकै कारण सानैदेखि जीवनमा एकपछि अर्को सफलता हासिल गर्दै गए। गुरुहरूको साथ र सत्मार्गले उनी पढाइमामात्र नभइ अध्यात्ममा पनि आकर्षित भए। जीवन, जगत र प्रकृतिप्रति उनमा अगाध प्रेम पलायो। हृदयमा सिञ्चित त्यही भावले उनको मन कोमल भयो। र, कोमल मनले साहित्य सिर्जना गर्न थाल्यो। शिक्षा र अर्थशास्त्रमा कोलम्बिया विश्वविद्यालय अमेरिकाबाट पीएचडी गरेका थापाले हालसालै ऐश्वर्य प्रकाशन प्रालिबाट कविताञ्जली कृति बजारमा ल्याएका छन्। आज हामीले यही कृतिको पेरिफेरिमा रहेकार कवि थापासँग चैतन्य संवाद गरेका छौं।
भरखरै बजारमा कविताञ्जली कृति ल्याउनु भएको छ, यसको बारेमा बताइदिनुस् न?
स्कुले जीवनमा लेखेका कविताहरूलाई कृतिको रूपमा पाठकमाझ ल्याउन पाउँदा निकै खुसी लागेको छ। यसमा प्रकृति, जीवन र जागरणका कविता छन्। मलाई प्रकृति साह्रै मन पर्छ। म आफूलाई प्रकृतिप्रेमी भन्न रुचाउँछु। मैले बाल्यकालमा देखेको जीवन, जगत र समाजका कुरा यस कृतिमा समावेश गरेको छु। आफूले भोगेको जीवनलाई कवितामा कोरेर मैले समाजसामू ल्याएको छु। सानो हुँदा पनि म कविता औधी मन पराउँथे। माधव घिमिरे, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटाका कविताले मलाई सानोमा निकै तान्थ्यो। लक्ष्मीप्रसाद देवकोटाको कुनमन्दीरमा जान्छौं यात्री भन्ने कविताले खुव छोएको थियो। जानी नजानी म यसरी कविताप्रति आकर्षित हुँदै गए र कविता कोर्न थाले। नारिमाथि हुने गरेको दुव्र्यवहार र पशु हिंसाले मलाई निकै पीडा दिन्थ्यो। ईश्वरले आफ्ना सन्तानलाई कहिले पनि बलि माग्दैन भन्ने मलाई लाग्थ्यो। आफ्नो स्वादका लागि मानिसले अहिले पनि बलि दिन्छन्।
अर्को कुरा हाम्रो देश सुन्दर छ। यहाँ हिमाल छ, पहाड छ, खोला छ, नदी छ, तराईको सम्म फाँट छ। यहाँ विकास नभएको देख्दा मन छुन्छ। नेताहरूले अपेक्षीत रुपमा काम गर्न नसकेको देख्दा चित्त दुख्छ। यी यस्ता भावनालाई जीवनको आँखीझ्यालबाट देख्दा मैले कविता कोरे। मैले ५० ओटा कविता कोरेको भए पनि यस सङ्ग्रहमा ४५ कविता समाविष्ट गरेको छु।
तपाईंले बाल्यकालीन कविता भन्नुभयो, थोरै आफ्नो बाल्यकाल पनि स्मरण गरिदिनु न?
म ललितपुरको लेलेमा जन्मिएको हुँ। मेरो बुवाआमाले हामीलाई यहाँसम्म ल्याउन निकै मिहिनेत गर्नुभएको छ। आफूले ठूलो संघर्ष गरेर हामीलाई पढाउँदै यो स्थानसम्म पुर्याउनु भएको छ। मेरो बुवाले हिन्दू विद्यापिठ स्कुलमा ल्याएर होस्टेलमा राख्नुभयो। त्यहाँ प्रधानाध्यापक गुरु चिन्तामणि योगी, विष्णुसरसँगको सानिध्यताले राष्ट्र प्रेम, धर्मप्रति आस्था, अध्यात्मप्रति ईच्छा जागृत भयो। हामी त्यतिबेलै रामायण महाभारतका कथा सुन्थ्यौं। योगा, ध्यान गर्यौं। यसरी हामी सबैसँग बसेर सद्भाव जुटाउने मौका पाउँथ्यौं। त्यसपछि म लालीगुरास माध्यामिक विद्यालय कलंकी गए। त्यहाँ पनि मैले गुरु वा गुरु आमाबाट साह्रै राम्रो शिक्षा लिने मौका पाए। त्यसपछि मैले ११ र १२ धुलिखेलबाट गरे। त्यहाँ पनि मोमिला म्यामलगायतको सानिध्यताले मलाई थुप्रै कुरामा प्रेरित गर्यो। म अध्यात्ममा साह्रै विश्वास गर्छु। मलाई संस्कार पूर्वजन्मदेखि ल्याउँछ भन्ने विश्वास लाग्छ। मेरो एकजना गुरु हुनुहुन्थ्यो, इन्द्र पाण्डे। कोरोना महामारीका कारण दुई वर्षअघि उहाँको निधन भयो। उहाँले मलाई अंग्रेजी, गणित, नेपाली विषयको टिउसन पढाउनुहुन्थ्यो। उहाँसँग हाम्रो निकै घनिष्ट सम्बन्ध भयो। उहाँले अध्यात्मको धेरै कुरा गर्नु हुन्थ्यो। उहाँसँगको प्रेरणाले नै म शाकाहारी बने। यो लगभग कक्षा सात/अठ पढ्दाको कुरा हो। उहाँले जीवनको दर्शन बुझ्न म र मेरो भाइ डाक्टर अमृश थापालाई गीता पढ्न प्रेरित गर्नुभयो। हामी गीताका स्लोक पढ्थ्यौं। अध्यात्मका पुस्तक पढ्थ्यौं। त्यसले हामीलाई जीवन र जगतको बारेमा निकै प्रेरणा दिन्थ्यो। मेरो साहित्य सिर्जनामा बुवा आमाको मिहिनेत, गुरुहरुको सत्मार्ग र गुरु इन्द्र पाण्डेको ठूलो प्रेरणा छ। मेरो साहित्य सिर्जनामा मलाई भगवान् श्री सत्य साई बाबाको धेरै हौसला, कृषा र आशिर्वाद छ।
केबाट प्रेरित भएर तपाईं साहित्य सिर्जना गर्नुहुन्छ?
मैले कविताको बाहिरी गातामै प्रकृति, जीवन र जागरण भनेर राखेको छु। म प्रकृतिप्रेमी ठान्छु। हिमाल, पहाड, उकालीओराली निकै हुन्छ। जीवन एक हिसावले सरल छ। अर्को हिसावले जटिल छ। त्यसमा मानवता आउँछ। मानवताभित्र राम्रा कुरा छन्। दया, सद्भाव, प्रेम। हामीमा लोभ, अहंकार र घृणा पनि छन्। परिवारमा इश्र्या र अहंकारको कारण परिवार विगृन्छ। राष्ट्रको कुरा गर्दा नेताहरुले भ्रष्टाचार गरेर, लोभ गरेर देश प्रेम छोडेर स्वार्थपूर्तिमा लाग्दा हाम्रो गरिवी घटेन। साहित्यमा डोर्याउन यस्ता जीवन जगतका कुराले पनि प्रेरित गर्छ। साहित्य सिर्जना गर्दा मन हलुका हुनुका साथै कसैले पढेर जीवन दर्शन बुझेर त्यसबाट प्रेरित भए ठूलो उपलब्धि हुन्थ्यो लाग्छ।
पहिलो कृति प्रकाशन गर्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ?
यो कृति प्रकाशन भइसकेपछि मलाई निकै खुसी महसुस भएको छ। यसलाई धेरैले नपढे पनि प्रकाशन गर्नुपर्छ भन्ने लाग्यो। मलाई मेरो सपना साकार भएको महसुस भएको छ। सानैमा कोरेको भए पनि यी सिर्जना दराजमा थन्किएका थिए। मेरो भाइ अमृशको पनि यसका ठूलो योगदान छ। दुई वर्षअघि भाइले मेरा कवितालाई स्क्यान गरेर पठाइदियो। त्यसपछि मभित्र मेरा यस्ता भावना छन् भन्ने महसुस भयो। र, यसलाई धेरैले नपढे पनि प्रकाशन गर्नुपर्छ भन्ने लाग्यो। त्यसपछि एक वर्षदेखि यसलाई परिमार्जन गर्न थालेको थिए। मलाई लामो समयदेखि कविता नकोरेकोमा अब कविता कोर्नुपर्छ भन्ने लागेको छ। म यस क्षेत्रबाट अब टाढिन चाहँदिन। प्रकाशनका लागि डा. चिन्तामणी योगी र वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले मलाई धेरै हौसला र सहयोग दिनुभएको छ। त्यसको लागि उहाँहरूप्रति म हृदयदेखि धेरै आभारी छु।
तपाईं त दक्ष जनशक्ति, यतिबेला अमेरिकामा रहेर प्रोफेसन गरिरहनु भएको छ, स्वदेशमै केही गरौं लाग्दैन?
जीवनका खुड्किला चढ्ने क्रममा मानिस कहाँबाट कहाँ पुग्दो रहेछ। उच्च शिक्षा अध्ययनका क्रममा म अमेरिका पुगे। मैले कोलम्बिया विश्व विद्यालयबाट शिक्षा र अर्थशास्त्रमा पीएचडी गरे। सोही क्रममा म पेन्सलभेनिया विश्वविद्यालयमा प्राध्यापनरत छु। यो पनि मेरो अनुभवको लागि ठूलो बरदान हो। मलाई आफ्नो देशको ठूलो माया लाग्छ। त्यसैले नौ महिना म विदेशमा भए पनि बचेको समय देशमा आएर केही गर्न सकुँ भनेर शिक्षा क्षेत्र रोजेको हुँ। २०१७ मा हामीले उन्नत नेपाल नामक गैर नाफामुलक संस्था स्थापना गर्यौं। यसमार्फत धादिङ्गमा हामीले एक विपन्न विद्यालय र काठमाडौंमा असहाय युवाहरूलाई सहयोग गरिरहेका छौं। अनि अर्को कुरा हामीले हाम्रो देश, भाषा, धर्म र संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्नुपर्छ। यसका लागि मेरो सधै अटुट र सत्प्रयास रहने छ। नमस्कार। जयनेपाल।