धनगढी– २१३औँ भानु जयन्तीको अवसरमा चैतन्य पाठशालामा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता–२०८३ सम्पन्न भएको छ ।
कैलाली कञ्चनपुर क्षेत्रका १६ विद्यालयको सहभागिता रहेको थियो । चैतन्य पाठशालाको सभा हलमा आयोजित कार्यक्रममा चैतन्य पाठशालाका शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरी सभापति रहेका थिए । सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तथा साहित्यकार रामलाल जोशी प्रमुख अतिथि रहेका थिए ।
कैलाली कञ्चनपुरका १६ विद्यालयका २९ जना विद्यार्थी सहभागिता रहेको कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । अन्तर विद्यालय कविता प्रतियोगितामा चैतन्य पाठशालाकी छात्रा सन्ध्या अवस्थी प्रथम, डिस्कोभरि स्कुलबाट शिशिर ओझा द्वितीय, माइल स्टोन स्कुलकी अनुजा चौधरी तृतीय , र पञ्चोदय मा।बि बाट अञ्जली धानुकले सान्त्वना स्थान हात पारेका छन् ।
प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना स्थान हात पार्नेलाई क्रमशः ५१०५, ३५०५,२००५,१००५ रुपैयाँ र प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको थियो। साथै, सहभागिता जनाएका सम्पूर्ण २९ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक डा।वासुदेव बिष्ट, सह प्राध्यापक गणेश राज जोशी र साहित्यकार कोपिला शर्मा ९कल्प० निर्णायकको रूपमा रहेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक कटक ब। सिंहले नेपाली भाषा र साहित्य हाम्रो राष्ट्रिय सम्पदा भएको भन्दै यसको संरक्षण र प्रवर्धन सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे । उनले यस्ता प्रतियोगिताहरूले विद्यार्थीमा भाषिक क्षमता विकास गर्ने र साहित्यिक अभिरुचि बढाउने भएकाले चैतन्यले यस्ता कार्यक्रमलाई अझ आयोजना गर्दै जाने बताए ।
आँखाले नदेखेको कुरा समेत साहित्यले प्रकाश पार्ने कार्यक्रममा प्रमुख अतिथि रहनु भएका साहित्यकार रामलाल जोशीको भनाई रहेको थियो । उनले “आजको कार्यक्रमको उपस्थिति र कार्यक्रममा प्रस्तुत भएका रचनाले अहिलेको युवा पुस्तामा साहित्य प्रतिको मोह झल्काएको र विद्यालय स्तरमा यतिको प्रस्तुतिले आफूलाई खुसी लागेको बताए ।
कार्यक्रममा धन्यावाद ज्ञापन गर्दै पाठशालाका शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरीले आज पाठशालाले कवि भानुभक्त आचार्यको योगदानको कदर र उहाँको बिचारको उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । भानुभक्तको देश प्रेम र समाज प्रेमको बिचार र बाटोमा हिन्न सकेमा देशलाई समेत योगदान पुग्ने बताए ।
भानुभक्तको समाजप्रतिको योगदान उदाहरणीय रहेको व्यक्त गरे । एउटा घाँसीबाट सिकेको शिक्षाले भानुभक्त आदिकवि बन्न सक्छन् भने हामीले समेत सिक्ने कुरामा हरदम तत्पर रहनुपर्ने शिक्षा भानुभक्तले दिएको उनको भनाइ रहेको थियो ।
चैतन्य पाठशालाले समेत यस्ता कार्यक्रमहरू मार्फत समाजमा सकारात्मक सन्देश दिनुहुने अग्रज व्यक्तित्वहरूको बारेमा जानकारी गराउने र उनीहरू जस्तै सचेत नागरिक बन्न अभिप्रेरित गर्ने लक्ष्य राखेको उनले बताए ।