इन्धनको मूल्य घट्ने संकेत, अन्तर्राष्ट्रिय बजार सामान्य बन्दै गएको अर्थमन्त्री वाग्लेको भनाइ - Chaitanya News
  • 2026-06-28
  • 16:52:14
  • आइतबार,आषाढ १४, २०८३
  • इन्धनको मूल्य घट्ने संकेत, अन्तर्राष्ट्रिय बजार सामान्य बन्दै गएको अर्थमन्त्री वाग्लेको भनाइ

    इन्धनको मूल्य घट्ने संकेत, अन्तर्राष्ट्रिय बजार सामान्य बन्दै गएको अर्थमन्त्री वाग्लेको भनाइ

    काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय बजारको अवस्था क्रमशः सामान्य बन्दै गएकाले पेट्रोलियम पदार्थको मूल्य निकट भविष्यमा घट्ने अपेक्षा व्यक्त गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा त्यसको असर नेपाली उपभोक्ताले पनि बेहोर्नुपरेको उल्लेख गरे। उक्त प्रभाव न्यूनीकरण गर्न सरकारले तत्काल करसम्बन्धी राहतको व्यवस्था गरेको उनको भनाइ थियो।

    अर्थमन्त्रीका अनुसार पदभार ग्रहण गरेको करिब दुई साताभित्रै प्रचलित कानुनी व्यवस्थाअनुसार डिजेल, पेट्रोल र मट्टितेलको आयातमा लाग्ने भन्सार महसुलमा छुट प्रदान गरिएको थियो। साथै, डिजेल र पेट्रोलमा लागू हुने पूर्वाधार विकास करमा ५० प्रतिशत सहुलियत दिइएको उनले जानकारी दिए।

    उनले हाल मध्यपूर्वको परिस्थिति सुधारोन्मुख रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मूल्य समायोजनको प्रभाव नेपालमा देखिन केही समय लाग्ने बताए। नेपालले इन्धन भारतीय आयल निगममार्फत आयात गर्ने भएकाले मूल्य समायोजन प्रक्रियामा निश्चित समय लाग्ने भए पनि आगामी अवधिमा पेट्रोलियम पदार्थको मूल्य घट्ने अपेक्षा गर्न सकिने अर्थमन्त्री वाग्लेले बताए।