रारा: नीलो मौनभित्र हराएको आत्माको यात्रा - Chaitanya News
  • 2026-06-25
  • 20:12:49
  • बिहिबार,आषाढ ११, २०८३
  • रारा: नीलो मौनभित्र हराएको आत्माको यात्रा

    रारा: नीलो मौनभित्र हराएको आत्माको यात्रा

    (नियात्रा)

     तोमनाथ उप्रेती:

    काठमाडौँ कहिल्यै पूर्ण रूपमा शान्त हुँदैन। त्यहाँ रात पनि बोलिरहन्छ। सडकहरू कराउँछन्। मानिसहरू दौडिरहन्छन्। र  मन थाकिरहन्छ। सायद त्यसैले मानिस कहिलेकाहीँ शहरबाट भाग्छ। प्रकृतितर्फ। आफ्नै हराएको स्वर खोज्न। मेरो रारा यात्रा पनि त्यस्तै एउटा पलायन थियो। तर त्यो केवल पर्यटन थिएन। त्यो आत्मासँगको पुनर्मिलन थियो।

    बिहान सबेरै त्रिभुवन विमानस्थल पुग्दा आकाश अझै पूर्ण रूपमा उज्यालिएको थिएन। मानिसहरूको भीड थियो। तर प्रत्येक अनुहारमा फरक गन्तव्य थियो। कसैले व्यापार बोकेको थियो। कसैले भेटघाट। कसैले बाध्यता। म भने एउटा सपना बोकेर हिंडिरहेको थिएँ रारा। नेपालगञ्ज जाने विमान आकाशमा उड्नासाथ काठमाडौँ बिस्तारै तल हराउन थाल्यो। सिमेन्टका घरहरू साना देखिन थाले। मानिसका अहंकारहरू झन् साना। मलाई अचानक लाग्यो उचाइले केवल भूगोल बदल्दैन, दृष्टि पनि बदल्छ।

    बादलमाथि पुगेपछि पृथ्वी अत्यन्त शान्त देखिन्थ्यो। त्यहाँ कुनै राजनीति थिएन। कुनै प्रतिस्पर्धा थिएन। कुनै घृणा थिएन। केवल सेतो मौन थियो। त्यो मौनले मलाई गहिरोसँग छोयो। शहरमा मानिसहरू एकअर्कालाई जित्न दौडिरहेका हुन्छन्, तर आकाशमाथि पुग्दा जित र हार दुवै अर्थहीन लाग्छन्। प्रकृतिको विशालता अगाडि मानवको अहंकार अत्यन्त सानो देखिन्छ। सायद त्यसैले पहाडहरूले मानिसलाई नम्र बनाउँछन्।

    नेपालगञ्ज पुग्दा मौसम फरक थियो। तातो। धूलो। चलायमान। तर त्यो शहरमा पनि एउटा जीवन थियो। तराईको लय थियो। मसला मिसिएको हावाजस्तो। होटल पुगेर झोला राखेपछि साँझतिर शहर घुम्न निस्कियौं। गल्लीहरूमा मानिसहरू थिए। ठेला थिए। पसलहरू थिए। तर ती भीडहरूभित्र पनि एउटा अदृश्य एकान्त थियो। मानिसहरू हिँडिरहेका थिए, बोलिरहेका थिए, व्यापार गरिरहेका थिए, तर प्रत्येक अनुहारभित्र एउटा मौन थकान लुकेको देखिन्थ्यो। आधुनिक जीवनले मानिसलाई सुविधा दिएको छ, तर शान्ति खोसेको छ। मानिसहरू समय बचाउन दौडिरहेका छन्, तर जीवन भने कतै छुटिरहेको छ।

    नेपालगञ्जको तातो हावामा पनि एउटा  यथार्थ मिसिएको थियो। रिक्सा तानिरहेका हातहरू, पसलमा ग्राहक कुरिरहेका आँखाहरू, साँझपख थकाइ बोकेर घर फर्किरहेका मजदुरहरू यी सबैले मलाई एउटा कुरा सम्झाइरहेका थिए, जीवन वास्तवमा निरन्तर संघर्षको अर्को नाम हो। मानिस खुशीको खोजीमा बाँच्छ, तर धेरैजसो समय उसले  बाँचिरहनकै लागि संघर्ष गरिरहेको हुन्छ। मलाई बुद्धका शब्दहरू सम्झना आए दुःख जीवनको सत्य हो। तर त्यो निराशाको सत्य होइन, चेतनाको सत्य हो। जब मानिसले जीवनको अपूर्णतालाई स्वीकार गर्न सिक्छ, तब ऊ भित्रबाट शान्त हुन थाल्छ।

    शहरभित्र हिंड्दै गर्दा मैले महसुस गरिरहेको थिएँ मानिसले संसार जित्न खोज्यो, तर आफूलाई जित्न सकेन। अग्ला भवन बनाए, विशाल सडक बनाए, प्रविधिमा चमत्कार गरे, तर मनको शून्यता भने उस्तै रह्यो। त्यसैले मानिस प्रकृतितर्फ फर्कन्छ। किनकि प्रकृतिले कुनै प्रश्न गर्दिन। कुनै प्रमाण माग्दिन। ऊ केवल अँगालो दिन्छ। सायद रारातर्फको मेरो यात्रा पनि त्यही खोज थियो।शहरको कोलाहलबाट भाग्ने मात्र होइन, आफ्नै हराएको मौनलाई भेट्ने खोज। किनभने मानिस संसारका हजारौँ ठाउँ घुम्न सक्छ, तर अन्ततः उसले खोजिरहेको ठाउँ आफ्नै आत्माभित्र लुकेको हुन्छ।

    चिया पसलहरू थिए। र प्रत्येक पसलभित्र आफ्नै संघर्ष थियो। एउटा कुनामा धुवाँ उडिरहेको थियो। अर्को कुनामा मानिसहरू चिया पिउँदै देशको राजनीति र आफ्नै जीवनका कठिनाइहरूबारे कुरा गरिरहेका थिए। त्यही भीडको बीचमा एक वृद्ध चिया बेचिरहेका थिए। उनको अनुहार चाउरी परेका थिए। समयले कोरेका रेखाहरू। संघर्षले लेखेका इतिहासहरू। तर आँखामा थकानभन्दा बढी सहनशीलता थियो। एउटा अनौठो धैर्य। यस्तो धैर्य, जुन केवल जीवनसँग लामो समय लडेकाहरूमा हुन्छ। उनलाई हेर्दा मलाई अचानक लाग्यो नेपाल वास्तवमा सहरहरूले होइन, सहने मानिसहरूले टिकेको देश हो। यहाँ व्यवस्था कमजोर हुन सक्छ, बाटो अप्ठ्यारो हुन सक्छ, अवसर सीमित हुन सक्छन्, तर मानिसहरू अझै बाँचेका छन्। मुस्कुराइरहेका छन्। आशा गरिरहेका छन्। यही नै नेपालको वास्तविक शक्ति हो।

    भोलिपल्ट बिहान ताल्चा जाने तयारी थियो। तर पहाडको मौसम र जीवनको नियति दुवै कहिल्यै निश्चित हुँदैनन्। उडान समय फेरिएको खबर आयो। हामी हतारिँदै विमानस्थल पुग्यौं। त्यहाँ मानिसहरूको अनुहारमा उत्सुकता र डर दुवै मिसिएको थियो। कोही पहिलोपटक हिमालतर्फ जाँदै थिए। कोही नियमित यात्रुजस्ता देखिन्थे। तर सानो ट्विनअटर विमानलाई देख्दा सबैको मनभित्र हल्का कम्पन अवश्य थियो। त्यो विमानभन्दा बढी एउटा साहस जस्तो देखिन्थ्यो। मानौँ मानिसले आफ्नो सीमित शरीर लिएर विशाल प्रकृतिलाई चुनौती दिन खोजिरहेको हो।

    विमान उड्नासाथ पश्चिम नेपालका पहाडहरू खुल्न थाले। हरिया तहहरू। गहिरा खोँचहरू। बादलभित्र हराएका गाउँहरू। पृथ्वी अचानक कुनै पुरानो चित्रकारको विशाल क्यानभास जस्तो देखिन थाल्यो। कहिलेकाहीँ विमान दुई पहाडको बीचबाट यति नजिक जान्थ्यो कि लाग्थ्यो प्रकृतिले हामीलाई आफ्नो हृदयभित्र प्रवेश गराइरहेकी छ। त्यो क्षणमा एउटा अनुभूति जन्मियो मानिस पृथ्वीको मालिक होइन। ऊ एउटा यात्रु मात्र हो। पहाडहरूको अगाडि मानव सभ्यता अत्यन्त सानो लाग्छ। हाम्रा शहरहरू, हाम्रा उपलब्धिहरू, हाम्रा अहंकारहरू सबै बादलमुनिका क्षणिक रेखाजस्ता।

    ताल्चा विमानस्थलमा ओर्लँदा हावा अचानक चिसो भयो। त्यो चिसोपनले शरीर मात्र होइन, मनलाई पनि छोयो। त्यहाँको मौन फरक थियो। त्यो मौन मृत थिएन। जीवित थियो। सल्लाघारीबाट बगिरहेको हावा संगीतजस्तो सुनिन्थ्यो। चराहरूको आवाज टाढासम्म फैलिएको थियो। शहरमा मौनता प्रायः खालीपन हुन्छ, तर पहाडमा मौनता पूर्णता हुन्छ। त्यहाँ शब्दहरू आवश्यक पर्दैनन्। प्रकृतिले आफैँ संवाद गरिरहेकी हुन्छ।

    एयरपोर्टबाट हिंड्न सुरु गरेपछि जंगलले हामीलाई बिस्तारै आफ्नो संसारमा तान्न थाल्यो। भुइँमा खसेका सल्लाका पातहरू थिए। चिरबिर गरिरहेका चराहरू। रूखहरूबीचबाट छिर्दै गरेका घामका किरणहरू। त्यो बाटो केवल पदमार्ग थिएन। त्यो ध्यान थियो। शहरमा मानिस घडीसँग बाँच्छ। जंगलमा मानिस श्वाससँग बाँच्छ। यहाँ समय मापन हुँदैन, महसुस हुन्छ। प्रत्येक पाइला शरीरले होइन, चेतनाले चालिरहेको जस्तो लाग्थ्यो।

    हामी हिंडिरह्यौं। उकालो थियो। थकाइ थियो। तर त्यो थकाइमा पनि आनन्द थियो। किनभने प्रकृतिसँगको यात्रा कहिल्यै  शरीरको मात्र यात्रा हुँदैन। त्यो आत्माको विस्तार हो। मानिस जति प्रकृतिनजिक पुग्छ, उति आफ्नो वास्तविक स्वरूपनजिक पुग्छ। सायद त्यसैले ऋषिहरू जंगलतिर जान्थे। पहाडहरूमा तपस्या गर्थे। किनकि प्रकृतिभित्र मानिसले आफूलाई सुन्न सक्छ।

    अचानक एउटा मोडपछि पहिलोपटक रारा देखियो। म केही क्षण रोकिएँ। शब्द हराए। त्यो केवल ताल थिएन। त्यो आकाशको नीलो सपना थियो, जसलाई पृथ्वीले आफ्नो काखमा सुरक्षित राखेकी थिई। ताल यति शान्त थियो कि लाग्थ्यो समय स्वयं पानी बनेर बसेको छ। हावाले हल्का छाल उठाउँथ्यो  र ती छालहरूमा आकाश टुक्रिएर नाच्थ्यो। त्यो दृश्य हेर्दा लाग्थ्यो, प्रकृतिले आफ्नो सम्पूर्ण सौन्दर्य एकै ठाउँमा राखेर संसारलाई मौनताको अर्थ बुझाइरहेकी छ।

    मलाई अचानक पूर्वीय दर्शन सम्झना आयो। उपनिषदले भनेको “तत्त्वमसि”—तिमी नै त्यो हौ। त्यो वाक्य अस्तित्वको गहिरो अनुभूति हो। राराको किनारमा उभिँदा त्यसको अर्थ झन् स्पष्ट हुँदै गयो। सायद प्रकृतिलाई हेर्दा मानिस आफूलाई नै भेट्छ। हामी बाहिर संसार खोज्दै हिंड्छौं, तर वास्तविक यात्रा भित्रतिरको हुन्छ। हिमाल, नदी, जंगल र तालहरू मानिसको अन्तरचेतनाका ऐना हुन्। जब मन शान्त हुन्छ, तब प्रकृतिले शब्दबिनै धेरै कुरा सिकाउँछ।

    हामी तालको किनारैकिनार हिंड्न थाल्यौं। सल्लाघारीले रारालाई घेरेर राखेको थियो, जस्तो कुनै ऋषिले ध्यानरत चेतनालाई सुरक्षा दिइरहेको हो। हावाले सल्लाका रूखहरू हल्का हल्लाउँथ्यो र त्यसबाट निस्किने सुस्केरा कुनै प्राचीन मन्त्रजस्तो सुनिन्थ्यो। ताल कहिले नीलो देखिन्थ्यो। कहिले हरियो। कहिले चाँदीजस्तो। रारा स्थिर भएर पनि बदलिरहन्थ्यो। मानिस पनि त्यस्तै होइन र ? बाहिर उही। भित्र हरेक क्षण बदलिँदै। जीवन पनि एउटा तालजस्तै हो—सतहमा शान्त, गहिराइमा अनगिन्ती तरंगहरू बोकेर।

    बाटोमा साना खोलाहरू थिए। चिसो पानी। निर्मल। ती खोलाहरू हिमालको मुटुबाट बगेका स्वच्छ श्वासजस्ता लाग्थे। मैले हात डुबाएँ। त्यो पानीको चिसोपन  शरीरमा होइन, चेतनामा  पुगेको अनुभूति भयो। त्यो पानी छुँदा मलाई लाग्यो प्रकृति कहिल्यै कृत्रिम हुँदैन। कृत्रिमता त मानिसको आविष्कार हो। प्रकृतिमा कुनै प्रदर्शन छैन। कुनै बनावटीपन छैन। फूल फुल्दा कसैको प्रशंसा खोज्दैन। नदी बग्दा कुनै पुरस्कार चाहँदैन। हिमाल अग्लिँदा कुनै घमण्ड गर्दैन। तर मानिस भने आफूलाई प्रमाणित गर्न जीवनभर संघर्ष गरिरहन्छ। शायद त्यसैले मानिस प्रकृतिनजिक पुग्दा हलुका महसुस गर्छ, किनकि यहाँ उसले पहिलोपटक निष्कपट अस्तित्व देख्छ।

    होटल पुग्दा साँझ पर्न लागेको थियो। सूर्य पहाडपछाडि हराउँदै थियो। र राराको पानीमा सुनौलो आगो बलिरहेको जस्तो देखिन्थ्यो। पानीमाथि फैलिएको त्यो सुनौलोपनले समयलाई केही क्षण रोकिदिएको अनुभूति हुन्थ्यो। संसारका सबै हतारहरू त्यहीँ आएर थामिएका जस्ता। त्यो दृश्यले मनलाई अनौठो शान्त बनायो। यस्तो शान्ति, जुन शब्दले बयान गर्न सकिँदैन। केवल महसुस गर्न सकिन्छ। मलाई लाग्यो सुख सायद ठूलो उपलब्धिमा होइन, यस्तै क्षणहरूमा लुकेको हुन्छ। जहाँ मानिस केही समयका लागि आफूलाई बिर्सेर केवल अस्तित्वलाई महसुस गर्न थाल्छ।

    रात परेपछि चिसो बढ्न थाल्यो। हामी आगो वरिपरि बस्यौं। आगोको रापले शरीर तताइरहेको थियो, तर वरिपरिको मौनले आत्मालाई। स्थानीय मानिसहरू थिए। उनीहरूको बोलीमा कर्णालीको मिठास थियो। उनीहरूका शब्दहरूमा बनावटी शिष्टता थिएन, जीवनको सरलता थियो। उनीहरूको हाँसो खुला थियो। आँखाहरू पारदर्शी। त्यहाँ शहरको जस्तो कृत्रिम औपचारिकता थिएन। कठिन जीवनले उनीहरूलाई कठोर होइन, अझ मानवीय बनाएको थियो। मलाई लाग्यो सभ्यता आधुनिक भवनले मापन हुँदैन। वास्तविक सभ्यता त मानिसभित्र बाँचेको आत्मीयतामा हुन्छ। कर्णाली अझै त्यस अर्थमा धनी छ। यहाँ अभाव छन्, कठिनाइ छन्, तर मानवीयता अझै बाँचेकी छ।

    त्यहाँ कुनै कृत्रिम औपचारिकता थिएन। केवल आत्मीयता थियो। आगोको उज्यालोमा अनुहारहरू खुला थिए, शब्दहरू सरल थिए र मौनता पनि आफ्नै भाषा बोलिरहेको थियो। मार्सी चामलको भात आयो। दाल आयो। स्थानीय तरकारी। त्यो खाना पाँचतारे होटलभन्दा स्वादिलो थियो। किनभने स्वाद  जिब्रोले होइन, वातावरणले पनि बनाउँछ। त्यो माटोको गन्ध, त्यो आगोको तातोपन, त्यो थकित तर सन्तुष्ट अनुहारहरूको साथ सबै मिलेर खानालाई जीवनको उत्सव बनाइरहेका थिए।

    आगोको वरिपरि गीत बजिरहेको थियो। कसैले हल्का स्वरमा गाइरहेको थियो। स्वर स्पष्ट थिएन, तर भाव गहिरो थियो। त्यो स्वर पहाडमा ठोक्किँदै गइरहेको थियो र पहाडले त्यसलाई समातेर टाढा-टाढासम्म पुर्याइरहेको थियो, जस्तो प्रकृतिले आफैं कुनै प्रार्थना दोहोर्याइरहेकी हो। त्यो रात मैले एउटा कुरा महसुस गरेँ सभ्यता विकसित हुँदै जाँदा मानिस सुविधा नजिक पुग्यो, तर आत्मीयताबाट टाढा। शहरले हामीलाई गति दियो, तर सम्बन्धहरूलाई कमजोर बनायो। मानिससँग साधन बढ्यो, तर संवेदना घट्यो।

    तर कर्णाली अझै आत्मीय छ। किनभने त्यहाँ जीवन कठिन छ। र कठिन जीवनले मानिसलाई अझ मानवीय बनाउँछ। जहाँ संघर्ष हुन्छ, त्यहाँ सहानुभूति बाँच्छ। जहाँ अभाव हुन्छ, त्यहाँ बाँड्ने संस्कार बाँच्छ। सायद यही कारणले यहाँका मानिसहरू एकअर्कासँग अझ नजिक छन्, अझ सच्चा छन्। उनीहरूको सम्बन्धमा कुनै प्रदर्शन छैन, छ त केवल आवश्यकता र प्रेमको सादगी।

    भोलिपल्ट मुर्मा टप जाने योजना थियो। बिहान चाँडै उठ्दा आकाश सुनौलो हुँदै थियो। सल्लाका रूखहरू हावासँग बिस्तारै हल्लिरहेका थिए। चराहरूको आवाज थियो। र ताल… ताल बिहान कालो नीलो देखिन्थ्यो, जस्तो कुनै गहिरो मौनता पानी बनेर बसेको हो। त्यो दृश्यले मलाई बुद्ध सम्झायो। सायद उनले पनि प्रकृतिको यस्तै मौनबाट निर्वाणको अनुभूति गरेका थिए। किनभने यहाँ कुनै शब्द आवश्यक थिएन, केवल उपस्थित हुनु पर्याप्त थियो।

    मुर्मा टपको यात्रा सुरु भयो। उकालो चढ्दै जाँदा सास गह्रौं हुन्थ्यो, तर दृश्यहरू झन् खुल्दै जान्थे। शरीर थकित हुँदै थियो, तर मन हलुका हुँदै थियो। बाटोमा एउटा सानो गाउँ आयो। ढुंगाका घरहरू, धुवाँ निस्किरहेका चुल्हाहरू, र खेतमा काम गरिरहेका मानिसहरू देखिए। उनीहरूको अनुहारमा आधुनिक शहरको चमक थिएन, तर जीवन थियो। वास्तविक जीवन। जसमा कठिनाइ थियो, तर साँचो अनुभूति पनि थियो।

    मलाई लाग्यो विकास भनेको  अग्ला भवन मात्र होइन, मानिसको अनुहारमा बाँचेको आशा पनि हो। यदि आशा हरायो भने भवनहरू  खाली संरचना मात्र रहन्छन्। गाउँ पार गरेपछि जंगल बाक्लियो। हावा चिसो हुँदै गयो। रारा तल झन् विशाल देखिन थाल्यो। ऊ एउटा तालभन्दा बढी एउटा जीवित चेतनाजस्तो लाग्थ्यो शान्त, तर गहिरो रूपमा बोलिरहेकी। जस्तो प्रकृतिले आफैंलाई देखाइरहेकी हो र मानिसलाई सम्झाइरहेकी हो तिमी पनि यसैको हिस्सा हौ।

    जति माथि पुगिन्थ्यो, त्यति संसार सानो देखिन्थ्यो। त्यति नै अहंकार पनि। सायद त्यसैले ऋषिहरू पहाडमा जान्थे। उचाइले मानिसलाई नम्र बनाउँछ। त्यहाँ पुग्दा  शरीर उचाइमा मात्र पुग्दैन, मन पनि हलुका हुँदै जान्छ।

    घण्टौंको उकालोपछि मुर्मा टप पुगियो। त्यहाँ पुगेर म स्तब्ध भएँ। तल विशाल रारा थियो। वरिपरि हरिया पहाड। टाढा सेता हिमाल। र माथि अनन्त आकाश। त्यो दृश्य कुनै भूगोल थिएन। त्यो कविता थियो चलिरहेको, सास फेइरहेको र मौन रूपमा बोलिरहेको कविता। हावा तीव्र थियो, तर मन अत्यन्त शान्त। शरीर चिसोले काँपिरहेको थियो, तर चेतना भित्र कतै स्थिर थियो।

    म चुपचाप बसिरहेँ। त्यो मौनमा मैले आफ्नै जीवन सम्झिएँ। मानिस किन यति धेरै दौडिन्छ? किन यति धेरै संग्रह गर्छ? किन यति धेरै प्रमाणित गर्न खोज्छ? सायद बाहिर जित्ने दौडभित्र हामी आफैंलाई हारिरहेका हुन्छौं। अन्ततः हामी सबैलाई चाहिने कुरा त एउटा शान्त मन मात्र होइन र? बाँकी सबै त त्यस शान्तिको वरिपरि बनाइएका बहाना मात्र हुन्।

    रारा त्यस क्षण एउटा ताल थिएन। ऊ एउटा उत्तर थियो शब्दबिनाको। जसले कुनै प्रश्न सोध्दैन, तर सबै प्रश्नहरूको अन्त्य गरिदिन्छ। हिमालहरूलाई हेर्दा मलाई नेपाल सम्झना आयो। यो देश गरिब हुन सक्छ, तर यसको आत्मा गरिब छैन। यहाँको धैर्य भूगोलभन्दा पुरानो छ। यहाँको सहनशीलता इतिहासभन्दा गहिरो छ।

    हाम्रो संस्कृति पहाडजस्तै धैर्यवान छ। हाम्रा नदीहरूजस्तै निरन्तर। हाम्रा गाउँहरूजस्तै सहनशील। कर्णाली नेपालको पीडा पनि हो र गर्व पनि। पीडा किनभने त्यहाँ अवसर कम छ। गर्व किनभने त्यहाँ मानवीयता अझै जीवित छ। विकासका नाममा धेरै कुरा हराएका छन्, तर यहाँ अझै मानिस बाँचेका छन्—सरल रूपमा, साँचो रूपमा।

    त्यहाँ विकास कम छ, तर प्रकृति अझै बाँचेकी छ। संस्कृति अझै बाँचेको छ। मानिसको सरलता अझै बाँचेको छ। आज शहरहरूमा मानिससँग समय छैन, तर कर्णालीमा अझै मानिसहरू आँखामा हेरेर बोल्छन्। त्यहाँको संवादमा मोबाइलभन्दा धेरै मौनता हुन्छ, र त्यो मौनता नै सम्बन्धको गहिराइ हो।

    मुर्मा टपमा चिया पियौं। तातो कालो चिया। चिसो हावामा त्यो चिया जीवनजस्तो लागिरहेको थियो सरल, तर आवश्यक। केही पर्यटक फोटो खिचिरहेका थिए। कोही चुपचाप दृश्य हेरिरहेका। कोही आफ्नो संसारमा हराइरहेका। सबैको रारा एउटै थियो, तर अनुभूति फरक।

    मलाई लाग्यो यात्राले मानिसलाई फरक तरिकाले छुन्छ। कसैलाई दृश्य याद रहन्छ। कसैलाई बाटो। कसैलाई थकाइ। तर  यात्रामा केही मानिसलाई केवल मौन याद रहन्छ। र त्यो मौन नै सबैभन्दा ठूलो सम्झना बन्छ।

    फर्किने बेला रारा बिस्तारै तल हराउन थाल्यो, तर मनभित्र झन् गहिरिँदै गयो। शरीर फर्किरहेको थियो, तर चेतना अझै त्यहीँ अडिएको थियो। होटल फर्किएपछि थकाइ थियो, तर त्यो मीठो थकाइ थियो—जसमा गुनासो हुँदैन, केवल सन्तोष हुन्छ।

    साँझ फेरि आगो बल्यो। गीत बज्यो। आकाश ताराले भरियो। रारा रातमा झन् रहस्यमय देखिन्थ्यो जस्तो कुनै पुरानो मिथक, जसलाई समयले होइन, अनुभूतिले मात्र पढ्न सक्छ। मलाई किराँत सभ्यताका कथाहरू सम्झिए। हिमाली संस्कृतिका देवकथाहरू। प्रकृतिलाई देवता मान्ने परम्परा। त्यहाँ पहाड केवल ढुंगा होइन, चेतना थियो। नदी केवल पानी होइन, जीवन थियो। र सायद त्यही दृष्टिले नै यो भूमि अझै जीवित छ आध्यात्मिक रूपमा, गहिरो रूपमा र मौन रूपमा।

    हामीले नदीलाई माता भन्यौं। पहाडलाई देवता। वनलाई पवित्र। किनभने पूर्वीय चेतनाले प्रकृतिलाई कहिल्यै वस्तु मात्र मानेन। त्यो चेतनाले प्रकृतिलाई सम्बन्ध बनायो जीवित, संवेदनशील र आत्मीय सम्बन्ध। यहाँ पानी केवल पानी थिएन, आशीर्वाद थियो। पहाड केवल उचाइ थिएन, साधना थियो। र वन केवल हरियाली थिएन, चेतनाको विस्तार थियो।

    तर आज आधुनिकता प्रकृतिलाई स्रोत भन्छ। उपयोगका लागि वस्तु भन्छ। नापिन्छ, काटिन्छ, बाँडिन्छ। सम्बन्ध हराउँदै गएपछि संसार अझ व्यवस्थित त देखिन्छ, तर भित्री रूपमा खाली हुँदै जान्छ। सायद त्यसैले हाम्रो संस्कृति अझै पनि प्रकृतिलाई सम्झाइरहन्छ उसलाई उपभोग होइन, सम्मान गर्नुपर्छ।सायद त्यसैले राराजस्तो ठाउँमा पुग्दा मानिस केवल घुम्दैन ऊ पुनर्जन्म हुन्छ।

    भोलिपल्ट फर्किने दिन थियो। बिहान अझै अँध्यारो थियो। तालमाथि कुहिरो तैरिरहेको थियो, जस्तो प्रकृतिले आफ्नो अनुहार ढाकेर केही क्षण मौन बस्न चाहेको हो। हावा चिसो थियो र त्यो चिसोपनमा एक प्रकारको विदाई लुकेको थियो। हामी र्‍याफ्टमा ताल पार गर्दै थियौं। त्यो क्षण अत्यन्त अविस्मरणीय थियो। पानीको बीचमा पुग्दा चारैतिर  नीलोपन थियो। हावा अनुहारमा ठोक्किन्थ्यो र तालको छालले सानो संगीत बनाइरहेको थियो न त पूर्ण गीत, न त पूर्ण मौन, बीचको कुनै गहिरो अनुभूति।

    त्यो दृश्य हेर्दा मलाई जीवन सम्झना आयो। जीवन पनि यस्तै तालजस्तो होइन र? कहिले शान्त, कहिले आँधीपूर्ण, कहिले गहिरो र बुझ्न नसकिने। तर सतहभन्दा तल सधैं एउटा मौन रहन्छ जसले सबै उतारचढावलाई सम्हालेर राख्छ।

    ताल पार गर्दा मैले अन्तिमपटक रारालाई हेरेँ। मन भारी भयो। केही ठाउँहरू केवल ठाउँ हुँदैनन्। तिनीहरू स्मृति बन्छन् र बिस्तारै चेतना बन्छन्। शरीर त्यहाँबाट निस्किन्छ, तर मन त्यहीँ कतै अड्किन्छ।

    ताल्चा फर्कंदा बाटो ओरालो थियो, तर मनभित्र एउटा उकालो सुरु भइरहेको थियो। किनभने राराले प्रश्न छोडेको थियो मानिस प्रकृतिबाट किन टाढिँदै छ? किन आफ्नै आत्माबाट भागिरहेको छ? किन यति धेरै शोरमा बाँचेको छ? यी प्रश्नहरूको उत्तर कुनै पुस्तकमा होइन, शायद कुनै मौन ठाउँमा लुकेको हुन्छ।

    सायद उत्तर फेरि प्रकृतिमै छ। किनभने प्रकृतिले प्रश्न गर्दैन, तर बुझाउँछ।

    एयरपोर्ट पुगेर विमानको प्रतीक्षा गर्दा मैले वरिपरि मानिसहरू हेरेँ। कसैले स्याउ किनिरहेका थिए। कसैले फोटो हेर्दै थिए। कसैले फोनमा शहरसँग फेरि जोडिन थालेका थिए। म भने अझै राराभित्रै थिएँ शरीरले बाहिर, तर चेतनाले भित्र।

    विमान उड्यो। रारा तल सानो हुँदै गयो। तर केही चीजहरू दूरीले साना हुँदैनन्। ती मनभित्र झन् विशाल बन्छन्।

    नेपालगञ्ज पुग्दा फेरि गर्मीले स्वागत गर्‍यो धूलो, भीड, गाडीहरूको आवाज। र अचानक राराको मौन सम्झना झन् गहिरो भयो। शहरको कोलाहलमा मौन झन् मूल्यवान लाग्यो।

    त्यसपछि साँझ काठमाडौं फर्किने उडान भयो। विमानको झ्यालबाट रातको शहर चम्किरहेको थियो। तर ती बत्तीहरूभित्र पनि मानिसहरू थाकेका थिए, आफ्नै दौडमा हराइरहेका थिए। म भने राराबाट एउटा मौन बोकेर फर्किरहेको थिएँ भारी होइन, शान्त, तर गहिरो।

    यो यात्रा केवल पर्यटन थिएन। यो आत्माको संवाद थियो। राराले मलाई एउटा कुरा सिकायो प्रकृति हाम्रो मूल हो। हामी पहाडबाट टाढा जान सक्छौं, तर पहाड हाम्रो चेतनाबाट कहिल्यै टाढा जाँदैन।

    रारा अझै त्यहीँ छ सल्लाघारीको काखमा, हिमालहरूको छायाँमा, नीलो मौनभित्र। ऊ हरेक बिहान रंग बदलिरहेकी छ, हावासँग कुरा गरिरहेकी छ, आकाशलाई आफ्नो पानीमा राखिरहेकी छ। र सायद… हामीजस्ता थाकेका मानिसहरूको आत्मालाई फेरि ब्यूँझाइरहेकी छ।