काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरू, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डमा रिक्त रहेका पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको छ। आज (मंगलबार) मन्त्रालयले एक सूचना जारी गर्दै इच्छुक र योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो।
मन्त्रालयद्वारा प्रकाशित विवरण अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन खुला गरिएको छ।
यसैगरी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का लागि ७ जना सदस्य र १ जना सदस्य सचिव, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि कार्यकारी निर्देशक, तथा स्वास्थ्य बिमा बोर्डका लागि अध्यक्ष र कार्यकारी निर्देशक पदमा दरखास्त माग गरिएको छ। नेपाल नर्सिङ परिषद्को हकमा भने उपाध्यक्ष पदका लागि समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
सम्बन्धित ऐन तथा नियमावली बमोजिम तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले १० दिनभित्र आवेदन पेस गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।
![]()