मेरी आमाः मनकी साथी, सपनाको आदर्श र जीवनकी गुरु - Chaitanya News
  • 2026-04-19
  • 19:23:39
  • आइतबार,बैशाख ०६, २०८३
  • मेरी आमाः मनकी साथी, सपनाको आदर्श र जीवनकी गुरु

    मेरी आमाः मनकी साथी, सपनाको आदर्श र जीवनकी गुरु

    आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँशी, हो। हुन त मेरा लागि सधै आमा औंशी नै हो । तर आजको दिन मेरो लागि सबैभन्दा विशेष दिन हुो। बिहान सबेरै उठेर आमाको अनुहार हेर्ने, उनको खुट्टा छोएर आशिर्वाद लिने, अनि दिनभरि उनको वरिपरि घुमिरहने, यिनै साना–साना खुशीहरूले मेरो संसार बनेको थियो। तर आज, समयले मलाई शहरको एउटा कोठामा ल्याएर उभ्याएको छ, र मेरी आमा टाढा गाउँमा संघर्ष गरिरहनु भएको छ। हामीबीच दूरी बढेको छ, तर हाम्रो सम्बन्ध, आमा र छोरीको त्यो ममतामयी नाता, झन् गहिरो बनेको छ।

    ‘आमा’—यो शब्द उच्चारण गर्दा मात्र पनि मनभित्र एउटा अनौठो न्यानोपन फैलिन्छ। सम्मान, श्रद्धा, माया र सुरक्षाको अनुभूति एकैपटक हुन्छ। मेरी आमा केवल मलाई जन्म दिने स्त्री मात्र होइनन्, उनी त गुण, कर्म र संस्कारकी जननी हुन्। सत्य, प्रेम, करुणा, धैर्यता र त्याग जस्ता जीवनका अमूल्य पाठहरू सिकाउने मेरो पहिलो गुरु पनि मेरी आमा नै हुन्।

    म सानो हुँदा, म मेरो आमालाई हेरेर नै आफ्नो भविष्यको कल्पना गर्थेँ। आमाले जस्तै लुगा लगाउन मन लाग्थ्यो, आमाले जस्तै कपाल कोर्न, आमाले जस्तै भान्सामा काम गर्न। कहिलेकाहीँ त म ऐनाअगाडि उभिएर आमाको नक्कल गर्थेँ, मलाई लाग्थ्यो, म पनि एकदिन मेरी आमा जस्तै बन्नेछु।

    म बिस्तारै हुर्कँदै गएँ। समयसँगै मेरो शरीरमा परिवर्तन आउन थाल्यो, मनमा नयाँ–नयाँ जिज्ञासा जन्मिन थाले। ती सबै अप्ठ्यारा क्षणहरूमा म कसैलाई होइन, आमालाई नै सम्झन्थेँ। आमाले कहिल्यै मलाई झर्को मानेर टार्नुभएन। उनले धैर्यतापूर्वक मेरा प्रश्नहरू सुन्नुभयो, बुझाउनुभयो, र मलाई सान्त्वना दिनुभयो। त्यो समयमा मैले बुझेँ—आमा केवल माया गर्ने व्यक्ति मात्र होइनन्, उनी त मेरी सबैभन्दा नजिककी, विश्वासिलो साथी हुन्।

    म ठूली हुँदै जाँदा, आमाको कामको बोझ पनि बाँड्न थालेँ। बिहान उठेर चिया बनाउने, घर सफा गर्ने, भाँडा माझ्ने, लुगा धुने—यी सबै काममा म आमाको साथ दिन्थेँ। त्यो बेला मलाई काम जस्तो लाग्दैनथ्यो, बरु आमासँग बिताएको समय जस्तो लाग्थ्यो। म उनकी छोरी मात्र होइन, उनकी सानो सहयोगी पनि बनेकी थिएँ।

    आमा मेरो लागि केवल आमा मात्र होइनन्, उनी मेरी पहिलो साथी पनि हुन्। म दुखी हुँदा, खुशी हुँदा, डराउँदा, हरेक अवस्थामा म आमाकै अगाडी रुन्छु, हास्छु । उनीसँग मैले कुनै कुरा लुकाउनु पदैन। मेरो सानो संसारका साना–ठूला सबै कुरा मैले मेरी आमालाई नै सुनाउँछु।

    तर समय सधैं उस्तै रहँदैन। मेरा सपनाहरू पनि बढ्दै गए। गाउँको सानो संसारबाट बाहिर निस्केर केही ठूलो गर्ने चाहना मनभित्र बलियो हुँदै गयो। अन्ततः मैले शहर पस्ने निर्णय लिएँ।

    यो निर्णय मेरो लागि मात्र होइन, आमाका लागि पनि कठिन थियो। मैले पहिलो पटक गाउँ छोड्दा, आमाको आँखामा आँसु थियो। तर उनले त्यो आँसु लुकाएर मलाई मुस्कान दिइन्। उनले भनिन्, “छोरी, तिमी आफ्ने खुट्टामा उभिन चाहान्छौं भने, यो बाटो हिँड्नै पर्छ।”

    त्यो दिन मैले आमाको अर्को रूप देखें,उनी मेरी आदर्श थिइन्। आफ्नो मनको पीडा लुकाएर, छोरीको भविष्यका लागि हिम्मत दिने आमा संसारकै सबैभन्दा बलियो व्यक्ति हुन् भन्ने मैले त्यही दिन महसुस गरेँ।

    शहरमा जीवन सजिलो छैन। कामको तनाव, भविष्यो चिन्ता र सोचेको जस्तो सफलता हात पार्न नसक्दा कहिलेकही म आफुले आफैलाई निकै कमजोर भएको महसुस गर्छु । कहिलेकाहीँ म निकै एक्लो महसुस गर्छु। राति अबेरसम्म पनि निन्द्र आउँदैन, अचानक आँखा रसाउँछन् । त्यतिबेला म आमालाई फोन गर्छु।

    “आमा, गाह्रो भइरहेको छ‘”
    फोनको अर्को छेउबाट आउने आमाको आवाज सधैं उस्तै हुन्छ, ममताले भरिएको, तर दृढ।

    “छोरी, गाह्रो त हुन्छ। तर तिमी सक्छौ। म तिम्रो साथमा छु।”

    त्यो सानो वाक्यले मलाई फेरि उभिन सक्ने शक्ति दिन्छ। त्यो बेला मैले बुझछ, आमा मेरी गुरु पनि हुन्। जीवनका कठिन पाठहरू सिकाउने, हार नमान्न सिकाउने गुरु।

    उता गाउँमा, आमा अझै पनि उस्तै संघर्ष गरिरहनु भएको छ। घर सम्हाल्नुहुन्छ, समाजका जिम्मेवारी निभाउनुहुन्छ। कहिलेकाहीँ म सोच्छु, म यहाँ आफ्नो भविष्य बनाउँदैछु, तर आमाले आफ्नो वर्तमान त्यागेर मेरो भविष्य बनाइरहनु भएको छ।

    आमाले कहिल्यै गुनासो गर्नुहुन्न। फोनमा सधैं सोध्नुहुन्छ, “खाना खायौ ? तिमि सन्चे छौं नि १ काम क र पढाई कस्तो भइरहेको छ ?” तर कहिल्यै भन्नुहुन्न,“म थाकेको छु।”

    तर म बुझ्छु। आमाको थकान, आमाको संघर्ष, आमाको मौन त्याग, यी सबै मैले महसुस गर्न थालेकी छु।

    मेरी आमाले मलाई केवल जन्म मात्र दिनुभएन, जीवन जीउने कला पनि सिकाउनुभयो। उनले मलाई केवल पढ्न मात्र सिकाउनुभएन, संघर्ष गर्न पनि सिकाउनुभयो।

    आमा र छोरीको सम्बन्ध साँच्चिकै अनौठो हुन्छ। हामी जति टाढा भए पनि, हाम्रो माया कहिल्यै टाढा हुँदैन। म दुःखी हुँदा, पहिलो सम्झना आमा नै हुन्छ। म खुशी हुँदा, त्यो खुशी सबैभन्दा पहिले आमासँगै बाँड्न मन लाग्छ।

    आज आमा औँशी हो। म आमाको सामुन्ने छैन। उनको अनुहार हेरेर आशिर्वाद लिन सक्दिनँ। तर मेरो मन, मेरो भावना, मेरो माया, सबै आमासँगै छन्।

    मेरी आमा, मेरो पहिलो साथी
    मेरी आमा, मेरो आदर्श
    मेरी आमा, मेरो गुरु

    म टाढा छु, तर तपाईंबाट टाढा छैन। तपाईंले सिकाएको हरेक कुरा मेरो जीवनमा साथमा छ। तपाईंको संघर्ष मेरो प्रेरणा हो, तपाईंको माया मेरो शक्ति हो।

    आमा र छोरीको सम्बन्ध कहिल्यै टुट्दैन। यो समयसँगै अझ गहिरो बन्दै जान्छ। दूरीले शरीर टाढा बनाउँछ, तर मनलाई अझ नजिक ल्याउँछ। यो नाता ममताको हो, विश्वासको हो, त्यागको हो, र सबैभन्दा ठूलो कुरा, यो नाता कहिल्यै नटुट्ने मायाको हो।