“सही रणनीति र निरन्तरताले मात्र लोकसेवामा सफलता सम्भव हुन्छ” : उपसचिव घिमिरे - Chaitanya News
  • 2026-04-18
  • 19:25:42
  • शनिबार,बैशाख ०५, २०८३
  • “सही रणनीति र निरन्तरताले मात्र लोकसेवामा सफलता सम्भव हुन्छ” : उपसचिव घिमिरे

    “सही रणनीति र निरन्तरताले मात्र लोकसेवामा सफलता सम्भव हुन्छ” : उपसचिव घिमिरे

    नेपालका हजारौं युवाहरुको सपना, लक्ष्य र भविष्यसँग जोडिएको प्रतिस्पर्धा हो, लोक सेवा आयोगको परीक्षा । सरकारी सेवामा प्रवेश गरी देशको सेवा गर्ने चाहना राख्ने युवाहरुका लागि यो परीषा केवल एउटा अवसर मात्र नभई आफ्ने क्षमता, धैर्यता र प्रतिबद्धता प्रमाणित गर्ने माध्यम पनि हो ।

    तर सफलता केवल कडा मेहेनतले मात्र सम्भव हुँदैन । सही रणनीति, निरन्तरता र आत्मविश्वास अत्तिकै आवश्यक हन्छ । धेरै परीक्षार्थीहरु सुरुवातमै अलमलिन्छन्, कहाँबाट सुरु गर्ने, के पढ्ने र कसरी पढ्ने ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबर का लागि गणेश प्रशाद जोशीले सफल लेखक, प्रशिक्षक तथा नेपाल सरकारका उपसचिव मित्र प्रसाद घिमिरेसँग गरेको विशेष कुराकानी प्रस्तुत छ :

    १– यहाँले आफ्नो बाल्यकाल देखि आजसम्मको यात्रालाई कसरी स्मरण गर्नुहुन्छ ?
    मेरो जन्म गण्डकी प्रदेशको स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका (साविकको आरुचौर गाविस) मा भएको हो । म एक सामान्य र विकट क्षेत्रको मध्यमवर्गीय परिवारमा जन्मिएको हुँ । मैले ८ कक्षासम्मको शिक्षा गाउँकै घण्टे माध्यामिक विद्यालयबाट पुरा गरे र ९–१० कक्षा अन्तै पढेर एसएलसी चाहिँ सर्वोदय माध्यामिक विद्यालयबाट उत्तीर्ण गरे । बाल्उबालका ती संघर्षपूर्ण र सामान्य दिनहरु भैग्दै म आज यो स्थानसम्म आइपुगेको छु ।

    २– यहाँलाई विद्यार्थी कालदेखि नै म सार्वजनिक प्रशासनमा जान्छु भन्ने सोच थियो कि, कुनै विशेष मोडले यहाँलाई यतातर्फ आकर्षित गर्यो ?
    इमान्दार भएर भन्नुपर्दा, म प्रशासन सवामा आउँछु भनेर कहिल्यै सोकेकै थिइनँ । म गणित विषयमा निकै रुचि राख्ने र त्यसमा दख्खल राखने विद्यार्थी थिएँ । मेरो एक मात्र लक्ष्य एउटा सफल र कुशल गणित शिक्षक बन्ने थियो । मलाई लाग्थ्यो कि म गणितमै आफ्नो भविष्य बनाउँछु ।

    ३– त्यसो भए शिक्षक बन्ने लक्ष्य भएको व्यक्ति कसरी प्रशासन तिर लाग्नुभयो त ?
    जब मैले धौलागिरी बहुमुखी क्याम्पस, बागलुङबाट १२ कक्षाको अध्ययन सकेर घरमा बसेको थिएँ त्यतिबेला मलाई पढाउनुभएका एकजना गुरुले मलाई घरमा नबसी पढाउन जान सल्लाह दिनुभयोे । मैले ८ कक्षासम्म पढेको स्कुलमा म पढाउन गएँ, जहाँ मेरो सुरुवाथी तलब १५ सय रुपैयाँ थियो । त्यहाँ पढाउँदै गर्दा मले पढाई र लोक सेवाको बारेमा बुझ्ने मौका पाए, पछि मैले स्नातक पढेने र लोक सेवाको तयारी गर्ने निर्णय गरेर बागलुङ फर्किएँ । त्यसपछि मेरो लोकसेवाको यात्रा सुरु भयो ।

    ४– यहाँ उपसचिव मात्र हुनुहन्न, यहाँले त ४० भन्दा बढी पुस्तकहरु लेखिसक्नु भएको छ, जुन बजारमा निकै लोकप्रिय छन् । यति धेरै पुस्तक लेख्ने उर्जा र प्रेरणा कहाँबाट पाउनुहुन्छ ।
    इो क्षेत्रमा संघर्ष गनेृहरुले मात्र यसको मर्म र भावना बुझ्न सक्छन् । म स्याङ्जाको मान्छे, खोटाङ गएर खरिदारको परीषा दिएको थिएँ । त्यतिबेला धनकुटाबाट पनि फर्म भर्न मिल्छ भन्ने मलाई थाहाँ थिएन । म द्ुइ दिनसम्म हिँडेर दिक्तेल पुगेर फर्म भरेको थिएँ । यो क्षेत्रमा संघर्ष गर्नेहरूले मात्र यसको मर्म र भावना बुझ्न सक्छन्। म स्याङ्जाको मान्छे, खोटाङ गएर खरिदारको परीक्षा दिएको थिएँ। त्यतिबेला धनकुटाबाट पनि फर्म भर्न मिल्छ भन्ने मलाई थाहा थिएन। म दुई दिनसम्म हिँडेर दिक्तेल पुगेर फर्म भरेको थिएँ। त्यतिबेलाको त्यो दुःख र भोलि अन्तर्वार्ता दिन र सिफारिस लिन पनि यसरी नै हिँड्नुपर्छ भन्ने सोचले मलाई अझ बढी पढ्न प्रेरित गर्‍यो। मैले खरिदारमा चार ठाउँबाट फर्म भरेको थिएँ र चारै ठाउँमा नाम निकाल्न सफल भएँ। पछि सुब्बा हुँदा पनि अफिसको काम सँगसँगै मैले पढाउन र लेख्न सुरु गरेँ। त्यही निरन्तरताले आज मलाई यहाँसम्म ल्याएको हो।

    ५– यहाँको करियरको सुरुवात कसरी भयो ?

    मैले खरिदारबाट निजामती सेवा सुरु गरेँ। मेरो पहिलो पदस्थापना सिरहाको गढवा गाविसको सचिवको रूपमा भएको थियो, जहाँ मैले साढे दुई वर्ष काम गरेँ। त्यसपछि म राजस्व समूहमा सुब्बा भएँ। सुब्बा छँदाखेरि नै मैले पढाउने काम पनि सुरु गरेँ। उपसचिव र सहसचिवहरूबाट अनुमति लिएर मैले सामान्य ज्ञान पढाउन थालेँ। त्यहीँबाट मेरो पढाउने र लेख्ने यात्राले थप गति लियो।

    ६– लोकसेवा आयोगको तयारी गर्दा सबैभन्दा पहिले कुन कुरामा ध्यान दिनुपर्छ ?

    लोकसेवाको तयारी सुरु गर्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको पाठ्यक्रमको गहिरो अध्ययन हो। धेरै परीक्षार्थीहरू बजारमा उपलब्ध सबै किताबहरू बटुल्न थाल्छन्, तर के पढ्ने र के छोड्ने भन्नेमा स्पष्ट हुँदैनन्। तपाईंले आफ्नो पाठ्यक्रमलाई पूर्ण रूपमा बुझ्नुपर्छ र त्यसैका आधारमा आधिकारिक सामग्रीहरू संकलन गर्नुपर्छ। तयारीलाई केवल सूचना संकलन गर्ने माध्यम मात्र नबनाई, विषयवस्तुको अवधारणा बुझ्ने गरी अगाडि बढाउनुपर्छ।

    ७– लिखित परीक्षामा धेरै अंक ल्याउन उत्तर लेख्ने शैली कस्तो हुनुपर्छ ?

    लिखित परीक्षामा तपाईंको ज्ञानको परीक्षण तपाईंको उत्तरपुस्तिकाबाट हुन्छ। त्यसैले, प्रस्तुतीकरणमा विशेष जोड दिनुपर्छ। उत्तर लेख्दा जहिले पनि सटिक र स्पष्ट हुनुपर्छ। लामो अनुच्छेदमा लेख्नुभन्दा बुँदागत रूपमा लेख्दा परीक्षकलाई बुझ्न सजिलो हुन्छ र अंक पनि राम्रो आउँछ। उत्तरको सुरुमा राम्रो पृष्ठभूमि र अन्त्यमा ठोस तथा सकारात्मक निष्कर्ष हुनु अनिवार्य छ। साथै, उत्तरलाई पुष्टि गर्न आवश्यक तथ्याङ्क, संविधानका धारा, र समसामयिक उदाहरणहरू समावेश गर्दा उत्तर थप ओजनदार देखिन्छ।

    ८– अध्ययनका क्रममा नोट बनाउनु कत्तिको आवश्यक छ र नोट कसरी बनाउने ?

    नोट बनाउनु भनेको दोहोर्‍याएर पढ्नका लागि आधार तयार गर्नु हो। अरूले बनाएको नोटभन्दा आफैंले तयार पारेको नोट सधैं प्रभावकारी हुन्छ। नोट बनाउँदा किताबका सबै कुरा सार्नु हुँदैन् मुख्य बुँदाहरू, महत्वपूर्ण मितिहरू र आफ्नै मौलिक बुझाइलाई टिपोट गर्नुपर्छ। यसो गर्दा परीक्षाको अन्तिम समयमा छिटो रिभिजन गर्न सकिन्छ र आत्मविश्वास पनि बढ्छ।

    ९– लोकसेवामा समसामयिक घटनाक्रम को भूमिका कस्तो रहन्छ ?

    लोकसेवाको परीक्षामा समसामयिक विषयवस्तुको भूमिका निकै महत्वपूर्ण हुन्छ। प्रथम पत्रमा मात्र नभई दोस्रो र तेस्रो पत्रका उत्तरहरूलाई आधुनिक र सान्दर्भिक बनाउन पनि यसले मद्दत गर्छ। यसका लागि दैनिक रूपमा राष्ट्रिय पत्रपत्रिकाहरू पढ्ने, समाचार सुन्ने र महत्वपूर्ण घटनाहरूलाई टिपोट गर्ने बानी बसाल्नुपर्छ। नेपालको बजेट, आर्थिक सर्वेक्षण, र नयाँ ऐन कानुनहरूका बारेमा जहिले पनि अपडेट रहनुपर्छ।

    १०– परीक्षाको समयमा हुने मानसिक तनाव र समयलाई कसरी व्यवस्थापन गर्ने ?

    समय व्यवस्थापन नै सफलताको मुख्य कडी हो। पढ्नका लागि निश्चित तालिका बनाउनुहोस् र त्यसलाई कडाइका साथ पालना गर्नुहोस्। परीक्षा हलमा पनि हरेक प्रश्नका लागि समय बाँडफाँड पहिले नै गर्नुहोस् ताकि कुनै प्रश्न नछुटोस्। मानसिक तनाव कम गर्नका लागि सकारात्मक सोच राख्ने, पर्याप्त निद्रा लिने र बेलाबेलामा विश्राम गर्दै पढ्ने गर्नुपर्छ। निरन्तरको मेहनत र म सक्छु भन्ने दृढ इच्छाशक्ति भएमा सफलता अवश्य मिल्छ।

    ११– अन्त्यमा, लोकसेवाको तयारी गरिरहेका युवाहरूलाई यहाँको सन्देश के छ ?

    लोकसेवाको यात्रा धैर्यता र अनुशासनको यात्रा हो। एकपटक असफल हुँदैमा निराश हुनु हुँदैन। आफ्ना कमजोरीहरू पहिचान गर्नुहोस् र त्यसलाई सुधार्दै अगाडि बढ्नुहोस्। बजारका अनावश्यक हल्लाका पछि नलागी आफ्नो तयारीमा केन्द्रित हुनुहोस्। मेहनतको कुनै विकल्प छैन, र सहि दिशामा गरिएको मेहनतले ढिलो वा चाँडो परिणाम दिन्छ नै। सफलता रातारात मिल्दैन। म आफैँ पनि एउटा सामान्य शिक्षकबाट खरिदार, सुब्बा हुँदै आज उपसचिवसम्म आइपुगेको हुँ। आफ्नो पृष्ठभूमि कस्तो छ भन्दा पनि आफ्नो मिहिनेत कस्तो छ भन्ने कुराले फरक पार्छ। दुःख र अभावलाई ऊर्जा बनाउनुहोस्, निरन्तर अध्ययन गर्नुहोस्, सफलता अवश्य मिल्छ।