काठमाडौंं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मातहतमा सञ्चालित सार्वजनिक सवारी साधनका कर्मचारीलाई यात्रुसँग नम्र भाषा प्रयोग गर्न आग्रह गरेको छ।
आज (आइतबार) एक आह्वान सार्वजनिक गर्दै महासंघले भनेको छ, ‘सार्वजनिक यात्रुवहाक सवारी साधन चालक, परिचालक अनुशासित भई यात्रुसँग नम्र भाषा प्रयोग गर्ने । समय समयमा यात्रुलाई शौचालय भएको स्थानमा रोकी सफा, शुद्ध खानाको व्यवस्था मिलाउनु पर्नेछ।’
सार्वजनिक सवारी साधनमा कर्मचारीको अमानवीय व्यवहारको शिकार धेरै यात्रु बनिरहेका छन्। तीव्र आलोचना हुँदा पनि उनीहरूको व्यवहारमा परिवर्तन नआउँदा व्यवसायीमाथि नै आलोचना हुने गरेको छ।
महासंघले सञ्चालन गर्नुअघि सवारी साधनको चेकजाँच अनिवार्य गर्न, साधन सफा र आकर्षक बनाई चलाउन समेत भनेको छ। साथै यात्रुलाई पनि झ्यालबाट जथाभावी फोहोर नफाल्न र अपशब्द नबोल्न सचेत गराएको छ। सवारी साधनमा डस्टबिन राखी फोहोरको व्यवस्थापन गर्न महांसंघले सदस्य व्यवसायीलाई आग्रह गरेको छ। यात्रुवहाक सवारीसाधन र मालबाहक सवारी साधनलाई पार्किङ स्थलमा मात्र पार्किङ गर्न भनेको छ।
सार्वजनिक सवारी साधन सञ्चालन गर्दा सडक पुनर्निर्माण भएको स्थानमा पार्किङ, जथाभावी जाम गरी तछाडमछाड नगर्न महासंघले आग्रह गरेको छ । सार्वजनिक सवारीलाई ट्राफिक नियमको पूर्ण पालना गर्न भनिएको छ । गन्तब्यमा प्रस्थान गर्दा बाटोको अवस्थाबारे पूर्व जानकारी लिएर मात्र यात्रा गर्न समेत सचेत गराइएको छ । यात्रुलाई अनिवार्य टिकट लिएर यात्रा गर्न महासंघले आग्रह गरेको छ ।