३ महिनाको अवधिमा ६१४ ले त्यागे नेपाली नागरिकता - Chaitanya News
  • 2026-04-26
  • 19:39:05
  • आइतबार,बैशाख १३, २०८३
  • ३ महिनाको अवधिमा ६१४ ले त्यागे नेपाली नागरिकता

    ३ महिनाको अवधिमा ६१४ ले त्यागे नेपाली नागरिकता

    काठमाडौं– पछिल्लो तीन महिनामा ६१४ जनाले नेपाली नागरिकता त्यागेका छन्।

    गृह मन्त्रालयले हालै सार्वजनिक गरेको दोस्रो प्रगतिविवरण अनुसार ६१४ जनाले नागरिकता त्याग गरेका छन्। यस अवधिमा ५६ हजार १३४ जनाले आफ्नो नागरिकतामा रहेको डाटा सुधार वा विवरण संशोधन गरेका छन्।

    गृह मन्त्रालयका अनुसार विदेशमा स्थायी रुपमा नै बसोबास गर्नेगरी विदेश गएका र विदेशको नागरिकता लिन नेपालको नागरिकता त्याग गर्नेहरू छन्। वैदेशिक रोजगारी, उच्च शिक्षा र विकसित मुलुकमा स्थायी बसोबास गर्ने उद्देश्यले नेपाली नागरिकता त्याग्नेहरू छन्। एनआरएन (गैरआवासीय नेपाली) नागरिकता लिने प्रक्रिया र विदेशी नागरिकसँगको विवाहले गर्दा पनि नागरिकता परित्याग गर्नेहरू छन्।

    अमेरिका, क्यानडा, युरोप जस्ता देशहरूमा बस्न र त्यहाँको नागरिकतारसुविधा लिनका लागि आफ्नो देशको नागरिकता त्याग्नुपर्ने हुन्छ। विदेशी नागरिकसँग विवाह गरी विदेशमा बस्नेहरूले पनि आफ्नो देशको नागरिकता त्याग्ने गर्छन्।

    अध्ययन तथा रोजगारीको अवसरका लागि विकसित देशहरूमा स्थायी बस्ने योजना बनाएर पनि नेपालको नागरिकता त्याग गर्नेहरू छन्। नेपालको कानुनले दोहोरो नागरिकताको मान्यता नदिने भएकाले विदेशी नागरिकता लिने प्रक्रियामा नेपाली नागरिकता त्याग्नु अनिवार्य हुन्छ।

    तथ्यांकअनुसार तीन महिनाको अवधिमा कूल दुई लाख दुई हजार ९५६ वटा नागरिकता जारी भएको छ। वंशजको नागरिकता प्राप्त गर्नेको संख्या एक लाख १९ हजार १२ छ। २६ जनाले अंगीकृत नागरिकता लिएका छन् भने वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या तीन हजार ३४० रहेको छ ।