आज सरस्वती पूजा, किन र कसरी मनाउने ? - Chaitanya News
  • 2026-05-03
  • 09:19:41
  • आइतबार,बैशाख २०, २०८३
  • आज सरस्वती पूजा, किन र कसरी मनाउने ?

    आज सरस्वती पूजा, किन र कसरी मनाउने ?

    काठमाडौं– हामी सरस्वती पूजा मनाउँछौं । पूजआजा गर्छौं । सरस्वतीको तस्विर पनि देखेका छौं। त्यसको अर्थ के होला रु सरस्वती स्वरुपले के अर्थ राख्छ ?

    श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ ।

    उनको प्रतिकात्मक चित्र, वहान, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ बोक्छ ।

    जीवनको माधुर्य:

    उनले हातमा लिएको विणाबाट के पनि बुझिन्छ भने, जीवन धुन हो । यो मधुर हुनुपर्छ । लयवद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय बनाउँछ ।
    पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ ।

    जीवनको सौन्दर्य:

    सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वहान हुन् । मयुरालाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । विद्यानै मानिसको सौन्दर्य हो ।

    आज सरस्वतीपूजा:

    मौसमी चक्र अनुसार बर्षभर नै विभिन्न चाडपर्व आउने गर्छ। यी पर्वले हाम्रो जीवनमा उल्लास मात्र ल्याउँदैन, खास अर्थ पनि राख्छ। कुनै न कुनै पर्व मनाउनुको पछाडि त्यसको सामाजिक तथा वैज्ञानिक महत्व हुन्छ।

    आज पनि देशभरका विद्ययालय, मन्दिर र घरघरमा सरस्वती पुजा धुमधामकासाथ मनाईँदैछ। यसलाई हामी ‘बसन्त पञ्चमी’ भन्छौं। ‘श्रीपञ्चमी’ भन्छौं। ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो। त्यसैले यस दिन राम्रो काम प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनुपर्दैन।

    त्यसैले त, यस दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ। अर्थात अक्षराम्भको उपयुक्त अवसर मानिन्छ, सरस्वती पूजालाई ।

    किन मनाउने ?
    हामीकहाँ बर्षभर मूख्य तीन देवीको पूजा मनाइन्छ। लक्ष्मी, दुर्गा र सरस्वती । लक्ष्मी धनकी देवी। दुर्गा शक्तिकी। सरस्वती विद्याकी।

    वास्तवमा यी प्रतिकात्मक देवी हुन्। अर्थात जीवनमा पूर्णता हासिल गर्नका लागि हामीसँग तीन चिजको खास महत्व हुन्छ, धन, विद्या र शक्ति।

    आज विद्याकी देवीको पूजा गरिने दिन। विद्या–ज्ञान–शिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँछ।
    संगीत, कला, साहित्य एवं विद्याकी देवी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरिन्छ। आजको दिन साना बालबालिकालाई अक्षराम्भ गराइन्छ।

    बोधिसत्व मञ्जुश्री:

    आजको दिनलाई बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीको रुपमा ज्ञानको प्रतिक मानेर पूजाआजा गर्छन्।

    वसन्त आगमनको उल्लास:

    आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त अर्थात ऋतुहरुको राजा। वसन्तको सुरुवात हुने भएकाले आजनको दिनलाई वसन्त पञ्चमी भनिएको हो।

    कसरी पूजा गर्ने ?
    यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ। सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाइन्छ।