पोखरा– नेपाली कांग्रेसले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ। कांग्रेसले क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा मधु बास्तोला र क्षेत्र नम्बर ३ मा मनोज गुरुङलाई टिकट दिएको हो।
पछिल्लो परिस्थितिमा कांग्रेसबाट टिकट कसले पाउला भन्ने चासोका साथ हेरिएको थियो। शेरबहादुर देउवा समूहलाई समेत समावेश गरेर ढिला गरी उम्मेदवार टुंग्याएको छ।
क्षेत्र नम्बर १ मा पूर्व सभापति कृष्ण केसी अन्तिमसम्म टिकटका लागि सक्रिय रहे पनि कांग्रेसले रानाभाटलाई अघि सारेको हो। केसीलाई कास्की १ को बलियो उम्मेदवारका रूपमा हेरिएको थियो।
क्षेत्र नम्बर २ मा कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गराउन नेतृत्व गरेका देवराज चालिसे लोकप्रिय रहे पनि उनको सहमतिमा मधु बास्तोलाले टिकट पाए।
राजनीतिक रूपमा निकै चासोको क्षेत्र मानिने कास्की–२ मा यसअघि एमालेका रवीन्द्र अधिकारीले तीनपटक जित हासिल गरेका थिए। उनको निधनपछि उनकी पत्नी विद्या भट्टराई २ पटक विजयी भएकी थिइन्।
विषेश महाधिवेशन गराउन भूमिका खेल्दै केन्द्रीय सदस्य हुँदै प्रवक्तासमेत पाएका चालिसेले नै यसपटक कास्की २ मा मधुलाई अघि सारेका हुन्। मधु कांग्रेस गण्डकीको प्रवक्तासमेत हुन्।
कास्की–३ मा देउवा समूहका मनोज गुरुङ उम्मेदवार छन्। उनी देउवा समूहका हुन्। तरूण दलको नेता हुँदै पार्टी राजनीति गरिरहेका मनोज यसअघि पनि आकांक्षी थिए । त्यो बेला गठबन्धनमा माओवादीले टिकट पाएको थियो।
यसअघिको निर्वाचनमा कास्कीका तीनवटै क्षेत्रमा एमाले विजयी भएको पृष्ठभूमिमा यसपटक कांग्रेसको उम्मेदवार चयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।