निर्वाचन आयोगद्वारा आजदेखि कल सेन्टर स्थापना - Chaitanya News
  • 2026-11-21
  • 15:14:33
  • शनिबार,मंसिर ०६, २०८३
  • निर्वाचन आयोगद्वारा आजदेखि कल सेन्टर स्थापना

    निर्वाचन आयोगद्वारा आजदेखि कल सेन्टर स्थापना

    काठमाडौँ– आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ। आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो।

    निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। ‘कल सेन्टर’ मा छवटा डेस्क स्थापना गरिएको छ। ती डेस्कबाट एकसाथ मतदाताको जिज्ञासाको समाधान गरिने उनले सुनाए। कामको चापअनुसार डेस्क बढाउन पनि सकिने जनाइएको छ।

    ‘कल सेन्टर’ मा गण्डकी प्रदेशबाट फोन गरेका पहिलो व्यक्तिले यसअघि प्रकाशित भइसकेको लोकसेवा आयोगको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित हुन्छ कि हुन्न भनी प्रश्न गरेका थिए। ‘कल सेन्टर’ का अधिकारीहरूले यसअघि नै तय भइसकेको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित नहुने जवाफ दिएका थिए।

    बिहान ९ देखि ६ बजेसम्म ‘कल सेन्टर’ सञ्चालन हुने आयोगले जनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कुनै जानकारी चाहिएमा वा जिज्ञासा राख्न चाहेमा आजदेखि उम्मेदवार विजयी भएर प्रमाणपत्र नदिँदासम्म सञ्चालनमा आउने छ।