काठमाडौँ– नेपाली काँग्रेसको सम्भावित विभाजन रोक्न अन्तिम कसरत जारी छ। यसैबीच महामन्त्री विश्वप्रकाश शर्माले पठाएका सम्भावित सहमतिका प्रस्तावहरू डा.शेखर कोइरालाले शेरबहादुर देउवालाई बुझाएका छन्।
नेता कोइराला उपसभापति धनराज गुरुङ र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित देउवा निवास पुगेर फर्किएका छन्। उनीहरूले विशेष महाधिवेशन पक्षधरहरूले न्यूनतम सहमतिका लागि बुझाएका प्रस्तावमा सकारात्मक बन्न र पार्टी एकता जोगाउन सभापति देउवालाई दबाब दिएका छन्।
‘सहमतिका लागि केही प्रस्ताव छन्। त्यो प्रस्ताव शेखरदाईले सभापतिलाई दिनुभएको छ। सभापतिले तत्काल छलफल गरेर के गर्न सकिन्छ भन्छु भन्नुभएको छ’, भेटमा सहभागी नेताले नेपाल भने। उनले सहमतिको वातावरण बिग्रन सक्ने भन्दै विशेष महाधिवेशन पक्षधरले पठाएको प्रस्ताव खुलाउन भने चाहेनन्। ‘प्रस्तावमा के छ नसोध्नुस्। ५–६ वटा बुँदा छ’, ती नेताले भने।
शेखरसँगको भेट लगत्तै देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल सुरु गरेका छन्।