चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा स्वामी देवराज आचार्यलाई ‘धार्मिक सेवा उत्कृष्टता सम्मान’ प्रदान - Chaitanya News
  • 2026-04-27
  • 19:29:54
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा स्वामी देवराज आचार्यलाई ‘धार्मिक सेवा उत्कृष्टता सम्मान’ प्रदान

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा स्वामी देवराज आचार्यलाई ‘धार्मिक सेवा उत्कृष्टता सम्मान’ प्रदान

    धनगढी-चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा लक्ष्मी नारायण मन्दिर, धनगढीका मठाधीश अनन्त विभूषित श्रद्धेय श्री १००८ स्वामी देवराज आचार्यज्यू महाराजलाई ‘धार्मिक सेवा उत्कृष्टता सम्मान’ प्रदान गरिएको छ।

    धार्मिक सेवा, समाजसेवा तथा आध्यात्मिक मार्गदर्शनमार्फत समाजमा शान्ति, सद्भाव र धार्मिक चेतना फैलाउन पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको आयोजक चैतन्य पाठशालाले जनाएको छ । विशेषतः पूजा–पाठ, धार्मिक शिक्षा र संस्कार निर्माणमा निरन्तर सक्रिय रहँदै समुदायमा सकारात्मक आध्यात्मिक वातावरण सिर्जना गर्न उहाँले निर्वाह गर्नु भएको भूमिकालाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

    महोत्सवको छैटौँ दिन चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र र दोसल्ला सहित सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिस्टार प्रा.डा. हेमराज पन्त, नेपाल पतञ्जलि योग समितिका मुख्य केन्द्रिय प्रभारी गुरु लवदेव मिश्र र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले संयुक्त रूपमा स्वामी देवराज आचार्यज्यूलाई सम्मान गरिएको हो।

    स्वामी देवराज आचार्यज्यूले धार्मिक अनुष्ठान मात्र नभई युवा पुस्तालाई संस्कार, नैतिकता र सदाचारतर्फ उन्मुख गराउन धार्मिक शिक्षामार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको चैतन्य पाठशालाका अध्यक्ष गणेश जोशीले बताए। उहाँका प्रवचन, साधना र सेवा कार्यले समाजमा सहिष्णुता, करुणा र सद्भावको भावना विस्तार गर्न सहयोग पुगेको समेत जोशीको भनाई रहेको छ ।

    सम्मान ग्रहण गर्दै स्वामी देवराज आचार्यज्यू महाराजज्यूले यस्तो सम्मानले धर्म र सेवाको मार्गमा अझ दृढ सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरूलाई अनुशासन, श्रद्धा र नैतिक मूल्यलाई जीवनको आधार बनाउन समेत आग्रह गर्नुभयो ।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, सांस्कृतिक, खेलकुद, विज्ञान तथा प्रविधि प्रदर्शनी, विभिन्न प्रतियोगिता तथा सम्मान कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन् । आयोजकका अनुसार आगामी दिनहरूमा पनि समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।