काठमाडौँ– जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ।
आयोगले ओली र लेखकलाई पत्र पठाएर बयानमा बोलाउने तयारी गरेको हो। आयोगले उनीहरूलाई २–३ दिनको म्याद राखेर आजभोलि नै पत्र पठाउने तयारी भइरहेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।
‘दुई,तीन दिनको म्याद दिएर एक दुई दिनभित्रै पत्र पठाउँदैछौं’, शर्माले भने।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा आफू बयान दिन नजाने बताउँदै आएका छन्। ओलीले आफू बयान दिन नजाने बताइरहेको अवस्थामा आयोगले कसरी लिन्छ उनको बयान ? भन्ने प्रश्नमा प्रवक्ता शर्माले भने, ‘पत्र पठाएपछि आउनु भएन भने त्यसपछि आयोगले के निर्णय गर्नुपर्छ गर्छ।’
शर्माले काठमाडौँ महानगरका मेयर बालेन शाहबारे भने बयान लिनेनलिने भनेर कुनै निर्णय भैनसकेको बताए । ‘बालेनबारे अहिलेसम्म कुनै निर्णय भैसकेको छैन’, शर्माले भने, ‘हामी हेर्दैछौ।’
यसअघि राष्ट्रिय मानवअधिकार आयोगले समेत तत्कालीन गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी,पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, काठमाडौँ महानगरका प्रमुख बालेन शाहलगायत १४६ जनासँग सोधपुछ गरिसकेको छ।
ओलीलाई मानवअधिकार आयोगको पत्र
मानवअधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सोधपुछ गर्ने तयारी गरेको छ। यसअघि नै आयोगले ओलीलाई सोधपुछका लागि आयोगमा आउन आग्रसहितको पत्र पठाएको आयोग स्रोतले बताएको छ।
‘आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग पनि सोधपुछ गर्ने निर्णय गरेर उहाँलाई आयोगमा उपस्थित हुन पत्र पठाइसकेको छ’, आयोग स्रोतले भन्यो, ‘उहाँको पार्टीको महाधिवेशन सकिएपछि सम्पर्क गरौला भन्नुभएको छ। सायद अव उहाँसँग सम्पर्क हुन्छ र सोधपुछ गरिन्छ।’