राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन कहिले ? - Chaitanya News
  • 2026-05-07
  • 12:04:01
  • बिहिबार,बैशाख २४, २०८३
  • राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन कहिले ?

    राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन कहिले ?

    काठमाडौं –  २५ पुसमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको अधिवेशन आह्वान भएसँगै सभामुखको विषयमा चासो बढेको छ । संविधानतः माघ १० गतेभित्रै संसदले सभामुख पाउनेछ ।

    प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने हुन्छ । यस सम्बन्धी व्यवस्था संविधानको धारा ९१ मा छ । जहाँ भनिएको छ, ‘प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।’ सभामुख निर्वाचित नहुन्जेल प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।

    वर्तमान सात दलीय सत्ता गठबन्धनभित्र सभामुख पद नेकपा एमाले र माओवादी केन्द्रले आधा÷आधा कार्यकाल लिने सहमति छ । सहमति अनुसार प्रधानमन्त्रीमा पनि आलोपालो गर्दा सुरुमा माओवादीले प्रधानमन्त्री लिएका कारण सुरुको सभामुख पद एमालेले लिनेछ । अर्थात, मुलुकले प्रधानमन्त्री पाइसकेको छ । पुस २५ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान भएकाले त्यसको १५ दिन भित्र संसदले सभामुख पाउँछ । यससँगै आम चासो राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनतर्फ सोझिएको छ ।

    यसतर्फ ख्याल गरिएको निर्वाचन आयोगा अधिकारीहरु बताउँछन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन् । आयोगले निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ ।

    वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो । नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ ।

    संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभइ फरक÷फरक मितिमा निर्वाचन हुनेछ । यस निर्वाचनमा संघीय संसद् (३३४) र प्रदेशसभाका सदस्य (५५०) मतदाता हुनेछन् ।

    मुलुकको विद्यमान जनसंख्या अनुसार यी पदको निर्वाचनका लागि संघीय संसद्का प्रतिसदस्यको मतभार ८७ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ५३ हुनेछ ।