कुनै ट्युसन सेन्टर धाएनौँ। धैरेले घरको मात्र तयारीले त शाखा अधिकृत पास गर्ने कुरा त्यतिकै हो भनेर खिस्याए पनि ।
हामीले अरूका कुरा सुन्यौँ तर आफ्नो अठोटबाट कहिल्यै पछि हटेनौँ र आफ्नो लगातारको मेहनतलाई जारी राख्यौँ यही दृढ अठोटले अहिले हामी यो सफलता चुम्न सफल भयौँ । हालै लोक सेवा आयोगको एउटै विज्ञापनबाट शाखा अधिकृतमा सिफारिस हुनुभएका एकै परिवारका तीन जनामध्येका अग्रज एकराज कुलुङको भनाइ हो यो ।
सरकारी सेवा, अझ त्यसमा पनि निजामती सेवामा प्रवेश गर्ने प्रत्यक व्यक्तिको सपना हुन्छ। तर, त्यस्तो अवसर थोरै व्यक्तिले मात्र पाउँछन्। तयरी गरेर बसेका सबै व्यक्ति पनि सरकारी सेवामा प्रवेस गर्न सकिरहेका हुँदैनन्। कोही लामो समय तयारी गरेर पनि विभिन्न कारणले निजी क्षेत्रमा काम गरिरहेका हुन्छन्। कोही विदेश पलायन हुन बाध्य भएका छन्। यसै बाबजुत ‘मेहनतको फल मिठो हुन्छ’ भने झैँ अहिले सोलुखुम्बु जिल्लाको दुर्गम महाकुलुङ गाउँपालिका–३ का दुर्गाबहादुर कुलुङ र मनिकुमारी कुलुङका जेठा छोरा एकराज कुलुङ, जेठी बुहारी मनीषा कुलुङ राई र कान्छा छोरा बालकुमार कुलुङ टोल समाजमा मात्र होइन, निजामती वृत्तसँगै सबैतिर चर्चाको शिखरमा छन्।
कुनै समय सोलुखुम्बुको कर्णालीका रूपमा चिनिने तत्कालीन छेस्काम र हालको महाकुलुङ गापाको वडा नं ३ का वडाध्यक्षसमेत रहेका दुर्गाबहादुर कुलुङ आफ्ना छोराबुहारीको सफलताले दङ्ग परेको खबर गोरखापत्र दैनिकले छापेको छ। उनका चारै जना सन्तान सबै निजामती सेवामा छन् ।
ऐतिहासिक सफलता प्राप्त गर्ने तिनै जना केही समयअघिदेखि निजामती सेवामै छन् । राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) को पदमा विभिन्न कार्यालयमा कार्यरत उनीहरू यस पटक एकै पटक राजपत्राङ्कित तृतीय श्रेणीमा सिफारिस भएका हुन्। एकराज र बालकुमार महालेखा परीक्षकको कार्यालयमा र मनीषा राष्ट्रिय किताबखाना निजामतीमा कार्यरत छन् । एकराज र मनीषा श्रीमान श्रीमती हुन्।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले पछिल्लो समय धेरै पैसा कमाउनका लागि भन्दै वैदेशिक रोजगारमा युवा गइरहेको अवस्थामा परिवारका सबै सदस्य देशकै सेवा गर्न सरकारी सेवामा अधिकृत हुनु गाउँपालिका मात्र नभएर जिल्लाकै गौरवको कुरा भएको बताए।
भोजपुर र सङ्खुवासभाको सिमानामा रहेको छेस्कामबाट केही वर्ष पहिलासम्म सरकारी सेवामा सहभागिता शून्य जस्तै रहेकोमा पछिल्लो समय दर्जनौँ युवाले सरकारी सेवामा प्रवेश गरेका छन्।
उनिहरुको यो यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, यो हजारौँ युवा, विशेष गरी मध्य वर्गका परिवारका लागि प्रेरणाको उज्यालो किरण हो ।