नर्स भन्ने वित्तिकै हाम्रो मनमा सम्मान जागृत हुन्छ। हामी नर्स विना अस्पतालको परिकल्पना गर्न सक्दैनौं। बिरामीको सबैभन्दा नजिकका साथि हुन् नर्स। उनीहरू अधिकांश समय बिरामीकै आसपासमा हुनेगर्छन्। नर्सिङको नेपाली इतिहास वि.सं. २०१३ बाट सुरु भएको हो। विभिन्न कालखण्ड पुरा गर्दै आजसम्म आइपुग्दा नेपालमा स्वास्थ्य क्षेत्रले निकै फड्को मारेको छ। गाउँ-गाउँमा स्वास्थ्य संस्था पुगेका छन्। ती स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा नर्सको व्यवस्था छ। यसका साथै विद्यालयहरूमा समेत नर्सिङ शिक्षा प्रदान गर्न थालिएको छ। यस वर्ष चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा एमएन/एमएससी नर्सिङमा नेपाल सरकार कोटामा एक नम्बरमा नाम निकाल्न सफल भएको छन् इन्दु सुवेदी। आज हामीले उनको सफलताका विभिन्न आयाममा केन्द्रीत रहेर संवाद गरेका छौं।
सरकारी कोटामा एक नम्बरमा नाम निस्किँदाको खुसी सुनाइदिनु न?
एक नम्बरमै नाम निस्किँदा म एकदमै खुसी छु। मैले एक नम्बरमै नाम निकालौंला सोचेकै थिइन। स्वास्थ्यसेवातर्फ सातौं तहका लागि पनि तयारी गरिरहेकी थिए। यो सफलता प्राप्तिका लागि मलाई त्यसले पनि सहयोग गर्यो झैँ लागेको छ।
तपाईले कसरी समय व्यवस्थापन गर्नुहुन्थ्यो, कति समय अध्ययन गर्नुहुन्थ्यो?
म सधैँ बिहान ५ बजेदेखि ७ बजेसम्म अध्ययन गर्थे। दुई दिन मेरो रातिकालिन डिउटी हुन्थ्यो। हप्तामा दुई दिन मेरो बिहानको सेडुल प्रभावित हुन्थ्यो। मेरा दुई बच्चा छन्। उनीहरूको रेखदेखमा पनि समय वित्थ्यो। जेनतेन गरेर म मिलेको समय अध्ययनमा खर्चिन्थे। म पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छु।
तपाई कसरी प्रेरित हुनुभयो, कताबाट कस्तो सहयोग पाउनुभयो?
सबैभन्दा ठूलो आफ्नो लगाव चाहिन्छ। संघर्षभित्र नै भाग्यरेखा लुकेको हुन्छ। म केही गर्छु, मैले केही गर्नुपर्छ भन्ने भावना मनमा नहुँदासम्म केही पनि हुँदैन। मैले अहिले पनि सातौं तह नर्सिङका लागि नै तयारी गरिरहेकी छु। परिवारको साथ पनि चाहिने नै भयो। बालबालिकाको हेरचाहमा परिवारले ठूलो सहयोग गरेको छ। जसले मलाई अध्ययन गर्न सहज भयो। यसका साथै चैतन्यमा भर्ना भएर पनि मलाई ठूलो सहज भएको छ।
तपाई जस्तै तयारी गरिरहेकाहरूका लागि के सन्देश दिन चाहनुहुन्छ?
जीवनमा जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्नका लागि पनि समय महत्त्वपूर्ण हुन्छ। कहिले पढ्ने कहिले नपढ्ने गर्दा पढेको कुरा स्मरण गर्न पनि गाह्रो पर्छ। पढाइमा निरन्तरता दिँदै त्यसैमा फोकस हुनुपर्छ। पढ्दा मोबाइल चलाउने वा अन्य क्रियाकलाप गर्ने गर्नु हुँदैन। खाना पकाउँदै पढ्छु वा कुनै काम गर्दै पढ्छु भन्दा ध्यान एकीतृत हुन सक्दैन। त्यसैले एक मन भएर आफ्नो उदेश्यमा केन्द्रित हुँदै अध्ययन गर्नुपर्छ। यसका साथै रिभाइज गरिराख्नुपर्छ। पढेको कुरालाई तीन/चार पटक पढ्दा स्मरण गर्न सहज हुन्छ।
तपाई आफैँ सेवामा भएको मान्छे यस क्षेत्रमा के कस्ता समस्या देखिरहनु भएको छ?
यस क्षेत्रमा थुप्रै समस्या छन्। काम गर्न निकै गाह्रो छ। प्रायाप्त जनशक्ति नहुँदा काम गर्न गाह्रो भएको हो। नर्सका लागि प्रयाप्त दरबान्दी नै छैनन्। भएका दरबन्दी पनि प्रयाप्त छैनन्। नर्सको महत्त्व नै हामीले बुझेका छैनौं झैँ लाग्छ। प्रयाप्त नर्स नहुँदा हामीले गुणस्तरीय सेवा प्रदान गर्न सक्ने अवस्था नै छैन। हाम्रो अधिकांश समय नर्सिङ सेवा भन्दा पनि अन्य काममै वित्ने गरेको छ। त्यसैले हामीले बिरामीसँग अधिकांश समय बिताउन सकिरहेका हुँदैनौं। काम अनुसारको सेवा सुविधा छैन। सरकारीमा राम्रो भए पनि निजिमा त झनै समस्या छ। त्यसैले नेपाल भन्दा नर्सहरूले बाहिर जान खोजिरहेका हुन्छन्।