इच्छाशक्ति, कल्पना र नवप्रवर्तन : समाज रूपान्तरणको आधार - Chaitanya News
  • 2025-11-08
  • 16:11:53
  • शनिबार,कार्तिक २३, २०८२
  • इच्छाशक्ति, कल्पना र नवप्रवर्तन : समाज रूपान्तरणको आधार

    इच्छाशक्ति, कल्पना र नवप्रवर्तन : समाज रूपान्तरणको आधार

    तोमनाथ उप्रेती:

    उपसचिव, नेपाल सरकार

    मानव मन अत्यन्तै चञ्चल र अस्थिर हुन्छ । यही चञ्चलता लक्ष्यप्राप्तिको बाटोमा मुख्य अवरोधका रूपमा उभिन्छ । यसको मूल कारण इच्छा हो, जसले विचार र भावनालाई विचलित पार्छ । इच्छा नियन्त्रणमा रह्यो भने मन स्थिर हुन्छ, तर अनियन्त्रित रह्यो भने मानिसलाई अशान्त र दिशाहीन बनाउँछ । यसैले मनलाई स्थिर राख्न, इच्छालाई नियन्त्रण गर्नु नै जीवनको पहिलो पाठ हो ।

    मनको चञ्चलता त मानवीय स्वभाव हो, तर यसलाई नियन्त्रण गर्न सक्नु दिव्य स्वभाव हो । शारीरिक व्यायाम, योग, ध्यान र सकारात्मक विचारहरूले मनलाई शान्त बनाउन सहयोग गर्छन् । जबसम्म भौतिक शरीर रहन्छ, तबसम्म पदार्थसँग मनको सम्बन्ध रहन्छ । तर त्यो सम्बन्ध केवल इन्द्रिय तृप्तिका लागि सीमित हुन हुँदैन । सकारात्मक र स्थिर चिन्तनका माध्यमबाट इच्छालाई नियन्त्रण गर्न सकियो भने जीवन आत्मिक उत्थानतर्फ मोडिन्छ ।

    स्वामी विवेकानन्दले पनि भनेका छन्—अनियन्त्रित मन नकारात्मक दिशामा लैजान्छ, तर नियन्त्रणमा राखिएको मन सकारात्मक प्रकाश फैलाउँछ । बिहान र साँझ ध्यान गर्ने उनको सल्लाह आज पनि अत्यन्त प्रासंगिक छ । श्रीमद्भागवतले जीवनलाई केवल विषयभोगमा सीमित नगरी पुरुषार्थमार्फत कल्याणतर्फ लगाउन सिकाउँछ भने गीता अनुसार इच्छा र त्यसबाट जन्मिने क्रोध, लोभ र ईर्ष्या आध्यात्मिक जीवनका शत्रु हुन् । ध्यान नै ती शत्रुहरूलाई हटाउने श्रेष्ठ उपाय हो, जसले आत्मालाई परमात्मासँग पुनर्मिलन गराउँछ ।

    अशान्त मनलाई शान्त पार्नु कठिन होइन, तर त्यसका लागि अनुशासन र अभ्यास आवश्यक छ । योगले मनलाई स्थिर पार्छ, ध्यानले आत्मालाई गहिराइमा डुबाउँछ, र सकारात्मक सोचले जीवनलाई उज्यालो बनाउँछ । हामी सकारात्मक सोच्यौँ भने जीवनमा आश्चर्यजनक परिवर्तन आउँछ । तर यदि नकारात्मक सोच्यौँ भने त्यो अन्धकारले जीवनलाई ढाक्छ । त्यसैले मनलाई सदैव सकारात्मक चिन्तनतर्फ मोड्नु, इन्द्रियको आकर्षणबाट हटाएर परमेश्वरमा केन्द्रित गर्नु नै शान्ति, आत्मसाक्षात्कार र मोक्षतर्फको सच्चा यात्रा हो ।

    मानव सभ्यताको सम्पूर्ण यात्रा एउटा अदृश्य तर शक्तिशाली त्रिवेणीमा अडिएको छ—इच्छाशक्ति, कल्पना र नवप्रवर्तन । यी तीन शक्ति नै मानवीय प्रगतिका मूल आधार हुन्, जसले निरन्तर नयाँ क्षितिजहरू खोलेका छन् । जब इच्छाशक्ति दृढ हुन्छ, कल्पनाले पंख फिजाउँछ, अनि नवप्रवर्तनले त्यसलाई भौतिक जगतमा मूर्त रूप दिन्छ । यही प्रक्रिया नै समाज रूपान्तरणको आधारभूत सूत्र हो, जसले प्राचीन कालदेखि आधुनिक युगसम्म मानवलाई अन्धकारबाट प्रकाशतर्फ, दासत्वबाट स्वतन्त्रताप्रति, र स्थिरताबाट गतिशीलताप्रति अघि बढाएको छ ।

    इच्छाशक्ति मानवीय चेतनाको ऊर्जायुक्त अभिव्यक्ति हो । शरीरको कमजोरी, विपत्ति वा सामाजिक अवरोधभन्दा माथि उठेर लक्ष्यप्रति अडिग रहन सक्ने शक्ति नै इच्छाशक्ति हो । यो न त आँखाले देख्न सकिन्छ, न त तराजुमा तोल्न सकिन्छ, तर यसको प्रभाव अमूल्य हुन्छ ।इतिहासले देखाएको छ—महात्मा गान्धीको अहिंसात्मक संघर्ष, नेल्सन मण्डेलाको दृढ प्रतिरोध, वा अरनिकोले निर्माण गरेको कला—सबै इच्छाशक्तिको अदम्य प्रमाण हुन् । यदि इच्छाशक्ति नहुने हो भने कल्पना केवल स्वप्नमै सिमित रहन्छ र नवप्रवर्तन केवल पुस्तकका पानामा कैद हुन्छ ।

    मानव मस्तिष्कले सिर्जना गर्ने सबैभन्दा महान् शक्ति हो—कल्पना । यो नै विचारको गर्भ हो, जसबाट नवीनता जन्मिन्छ । कल्पना बिना सभ्यता न उदाउँथ्यो, न त कला र साहित्य फुल्थ्यो ।जसरी अन्धकारको गर्भबाट बिहानको सूर्य उदाउँछ, त्यसरी नै मानव चेतनाको गहिराइबाट कल्पनाको ज्योति प्रकट हुन्छ । न्यूटनको गुरुत्वाकर्षण, आइन्स्टाइनको सापेक्षता सिद्धान्त, वा लियोनार्डो दा भिन्चीको चित्र—यी सबै कल्पनाको अमर उपहार हुन् । कल्पनाले मानवीय आत्मालाई उडान दिन्छ, जसले सम्भावनाहरूलाई वास्तविकतामा रूपान्तरण गर्न प्रेरणा दिन्छ ।

    इच्छाशक्ति र कल्पनाको सहयात्राबाट जन्मिएको फल हो—नवप्रवर्तन । नवप्रवर्तनले मात्र विचारलाई भौतिक स्वरूप दिन्छ र समाजमा प्रत्यक्ष प्रभाव पार्छ ।आगोको प्रयोगदेखि लिएर बिजुलीको खोज, कम्प्युटर, इन्टरनेट, कृत्रिम बुद्धिमत्ता र अन्तरिक्ष अनुसन्धानसम्म—सबै नवप्रवर्तनले मानव जीवनको स्वरूप बदलिदिएका छन् । नवप्रवर्तनले केवल साधन मात्र दिएको छैन, यसले मानव सोच, मूल्य र समाजको संरचनासमेत परिवर्तन गरेको छ ।

    समाज स्थिर रहँदैन, यसले निरन्तर परिवर्तनको बाटो खोज्छ । परिवर्तनको यात्रामा इच्छाशक्ति, कल्पना र नवप्रवर्तन त्रिवेणी नदीझैँ प्रवाहित हुन्छन् । इच्छाशक्ति भनेको समाजलाई कठिनाइ र अवरोधबाट पार लगाउने ऊर्जा हो । इच्छाशक्ति बिना समाज स्थिर, निष्क्रिय र जड अवस्थामा बाँधिन्छ, जसले विकासलाई अवरुद्ध गर्छ । त्यस्तै, कल्पना समाजलाई दिशा दिने प्रकाश हो । कल्पना बिना समाज अन्धो हुन्छ, नयाँ सम्भावनाको क्षितिज देख्न सक्दैन, केवल परम्पराको साखोमा अड्किएर बस्छ । नवप्रवर्तन भनेको कल्पना र इच्छाशक्तिको मूर्त रूप हो, जसले व्यवहारमा परिवर्तन ल्याउँछ । यदि नवप्रवर्तनको मार्ग बन्द हुन्छ भने समाज पुरानो र जर्जर संरचनामा कैद रहन्छ, प्रगतिका नयाँ ढोका खोल्न सक्दैन ।

    यसरी हेर्दा, इच्छाशक्ति, कल्पना र नवप्रवर्तनको त्रिवेणीले मात्र समाजलाई गतिशीलता दिन्छ । जब इच्छाशक्ति दृढ हुन्छ, कल्पनाले उज्यालो दिन्छ, र नवप्रवर्तनले त्यसलाई मूर्त स्वरूप दिन्छ, तब मात्र समाजले रूपान्तरणको यात्रा तय गर्न सक्छ । यही त्रिवेणी समाजलाई इतिहासका अन्धकारबाट निकालेर भविष्यको उज्यालोतर्फ अघि बढाउने प्रमुख शक्ति हो ।

    जब यी तीन तत्व मिल्छन्, तब समाजमा क्रान्ति हुन्छ । उदाहरणका लागि, औद्योगिक क्रान्ति केवल प्रविधिक उपलब्धि मात्र थिएन; त्यो इच्छाशक्ति, कल्पना र नवप्रवर्तनको संयुक्त परिणाम थियो जसले समाजलाई कृषिप्रधान अवस्थाबाट औद्योगिक समाजमा रूपान्तरण गरिदियो ।व्यक्तिगत जीवनमा इच्छाशक्ति र कल्पनाले लक्ष्यतर्फ प्रेरित गर्छ भने नवप्रवर्तनले उसको जीवनशैलीलाई बदल्छ । तर यसको प्रभाव केवल व्यक्तिगत मात्र होइन, सामूहिक हुन्छ ।एक जना वैज्ञानिकको खोजले सम्पूर्ण मानव जाति लाभान्वित हुन्छ, एक जना कविको कल्पनाले लाखौँ मानिसको आत्मा उज्यालो पार्छ, र एक जना सुधारकको इच्छाशक्तिले समाजको नियति परिवर्तन गर्छ । यसरी व्यक्तिगत शक्ति सामूहिक चेतनाको धरोहरमा परिणत हुन्छ ।जब इच्छाशक्ति दृढ रहन्छ, कल्पना सकारात्मक हुन्छ, र नवप्रवर्तन नैतिक मूल्यमा आधारित हुन्छ—तब समाजले सन्तुलित प्रगति गर्छ ।

    मन प्रायः आफ्नै संसारमा रमाउँछ । कसको मन कतिबेला कहाँ पुगेको छ भनेर नापजाँच गर्ने यन्त्र हुँदो हो त मानिसहरू आफू रहेको ठाउँमा कमै भेटिन्थे होलान् । मनलाई दुई भागमा बाँडेर चर्चा गर्ने गरिएको छ, चेतन मन र अवचेतन मन । मान्छेले नचाहँदा–नचाहँदै पनि अवचेतन मनको कुरा कहिलेकाहीँ बाहिर आइदिन्छ । अनि कहिलेकाहीँचाहिँ मुखले बोल्ने र मनले सोच्ने कुरा फरक हुन सक्छ । मनमा जे छ बाहिर त्यही बोल्ने र गर्ने मानिसहरूको सङ्ख्या त्यति ठूलो हुँदैन भन्ने छ । मनले विचार उत्पन्न गर्छ । प्रेम र घृणा दुवै मनबाटै उत्पन्न हुने हुन् । आफ्नो मनलाई ‘कन्ट्रोल गर, नियन्त्रणमा राख भनेर सानैदेखि सुनिएको भए पनि मनलाई नियन्त्रण गर्ने रिमोटकन्ट्रोलचाहिँ अहिलेसम्म बनेको छैन । भविष्यमा बन्ने सम्भावना पनि देखिँदैन । मनलाई वशमा राख्ने काम व्यक्ति स्वयम्को हो । मनमा उत्पन्न हुने भावना र मस्तिष्कमा उत्पन्न हुने विचारको जिम्मेवार मानिस स्वयम् हो । अरूले यी कुराको जिम्मेवारी लिन सक्दैन । भगवान् गौतम बुद्धले जीवनमा सुखदुःखको कारण मन भएकाले मनलाई शत्रु नबनाउ भन्नुभएको छ ।

    मनलाई शान्त राख्नको लागि गहिरो सास लिनु एक प्रभावकारी उपाय हो। श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्दा मस्तिष्कमा सकारात्मक रसायनहरू निस्कन्छ, जसले दिमागलाई शान्त र खुसी राख्न मद्दत गर्छ। नियमित रूपमा गहिरो सास लिँदा मन र मस्तिष्कमा भावनात्मक उतारचढाव कम हुन्छ र तुरुन्त शान्ति प्राप्त गर्न सकिन्छ। गीता अनुसार, काम, क्रोध, मोह र लोभ जस्ता नकरात्मक भावनाहरू मनसँग सम्बन्धित छन् र यी भावनाहरूले जीवनलाई नष्ट गर्न सक्छन्। यसका लागि मनको नियन्त्रण आफ्नै हातमा राख्नु पर्छ, बाह्य शक्तिहरूले होइन। मनको तरंग पृथ्वीको तरंगभन्दा शक्तिशाली छ र यसलाई बुझ्न र नियन्त्रण गर्न आफैंको आन्तरिक यात्रामा ध्यान दिनु आवश्यक छ।हामिले आहारलाई शुद्ध र सात्विक बनाउन सफल भयौं भने मनमा विजय पाउने दिशामा एक कदम अघि बढ्नेछौं। ‘जस्तो खान्छौं अन्न, त्यस्तै हुन्छ मन यो भनाइ निरर्थक छैन। विविध प्रकारका आसन–प्राणायाम–व्यायाम आदिको विधान कायालाई साध्नको लागि नै बनाइएको हो। यसबाट शरीरको चंचलता कम हुन्छ, यसको असर मनमा पर्नेछ। काया भन्दा सूक्ष्म छ वाणी या वचन र यो भन्दा सूक्ष्म छ हाम्रो मन। वाणीमा नियंत्रण भयो भने त मन स्वतः वशमा हुनेछ। तर हामीले विपरीत क्रमले पुरुषार्थ गर्ने गर्दछौं– सर्वप्रथम मनलाई जित्ने प्रयत्न गर्दछौं र यहीं नेर मात खान्छौं। यदि अर्को ढंगले कोशिश गरियो भने मन दुर्जेय रहदैन। उसको शत्रुभाव पनि समाप्त हुनेछ, उसले हामीसंग मित्रवत व्यवहार गर्नेछ ।

    मानव जीवनलाई अर्थपूर्ण बनाउन र समाजलाई प्रगतिशील बनाउन इच्छाशक्ति, कल्पना र नवप्रवर्तन अपरिहार्य छन् । इच्छाशक्ति आत्मिक दृढताको प्रतीक हो, कल्पना सृष्टिको गर्भ हो, र नवप्रवर्तन भविष्यको खाका हो । जब यी तीन तत्वहरू एकै ठाउँमा मिल्छन्, तब समाज केवल परिवर्तन मात्र गर्दैन, रूपान्तरणको महान् यात्रामा अघि बढ्छ ।
    आजको युगमा, जहाँ प्रविधि र ज्ञानले संसारलाई छोट्याइदिएको छ, हामीले यी शक्तिलाई केवल व्यक्तिगत लाभका लागि मात्र होइन, सामूहिक उत्थानका लागि प्रयोग गर्नुपर्छ ।यसरी भन्न सकिन्छ—इच्छाशक्ति, कल्पना र नवप्रवर्तन नै समाज रूपान्तरणको अविनाशी आधार हुन्, जसले मानवतालाई उज्यालोतर्फ डोर्याउने दिव्य ज्योति बनिरहन्छ ।

    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङमा कार्यरत छन्)