वडा दशैंको दिव्यता : वैदिक, वैज्ञानिक र व्यावहारिक आयाम - Chaitanya News
  • 2026-05-23
  • 21:36:41
  • शनिबार,जेठ ०९, २०८३
  • वडा दशैंको दिव्यता : वैदिक, वैज्ञानिक र व्यावहारिक आयाम

    वडा दशैंको दिव्यता : वैदिक, वैज्ञानिक र व्यावहारिक आयाम

    नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विविध चाडपर्वहरू मनाइन्छन्, तीमध्ये वडा दशैं सबैभन्दा महत्वपूर्ण, विशाल र गहिरो अर्थ राख्ने चाड हो। यो केवल धार्मिक अनुष्ठानको रूपमा मात्रै सीमित छैन; यो पर्व वैदिक, वैज्ञानिक र व्यावहारिक आयामले उच्च गरिमा बोकेको, शिक्षामूलक र प्रेरणादायी उत्सव हो। समाज, संस्कृति, व्यक्तित्व, चरित्र निर्माण र जीवन मूल्यको विकासमा यस पर्वको विशिष्ट योगदान रहँदै आएको छ।

    १. वैदिक आयाम : धर्म र न्यायको पुनर्स्थापना

    दशैंको मूल आधार वैदिक धर्मशास्त्रमा पाइन्छ। वैदिक परम्परामा ‘धर्मको जय होस्, अधर्मको नाश होस्’ भन्ने मूल मन्त्र दशैंको सार हो।

    दशैंसँग जोडिएका मिथकहरूमा सबैभन्दा प्रमुख कथा हो — महिषासुर माथि देवी दुर्गाको विजय। महिषासुर नामक अत्याचारी दानवले स्वर्गदेखि पृथ्वीसम्म आतंक फैलाएपछि देवताहरूले ब्रह्मा, विष्णु र महेशको तेजबाट दुर्गा देवीको अवतार भयो र नवदुर्गा स्वरूपिणी देविले लगातार नौ रात (नवरात्र) युद्ध लडेर दशौँ दिन महिषासुरको वध गरी सत्य, धर्म र न्यायको विजय स्थापना गरिन्।

    यस्तै अर्को प्रमुख वैदिक–पौराणिक कथा हो — राम–रावण युद्ध। रामले रावणको अन्याय, अहंकार, अपहरण र अत्याचारको अन्त्य गरी धर्म र मर्यादाको पुनर्स्थापना गरे। यही दिनलाई ‘विजया दशमी’ को रूपमा मनाइन्छ।

    यी मिथकहरूले दर्शाउछ कि दशैं केवल परम्परा होइन, यो सत्य–असत्य, धर्म–अधर्म र न्याय–अन्यायबीचको द्वन्द्वमा सदैव धर्मको विजय हुने शाश्वत सत्यको पर्व हो।

    २. वैज्ञानिक आयाम : परम्पराको प्रयोगात्मक पक्ष

    कुनै पनि चाड केवल पूजापाठको विषयमा सीमित हुँदैन; दशैंले वैज्ञानिक दृष्टिले पनि हाम्रो जीवनशैलीमा सकारात्मक प्रभाव पार्दछ। यसका परम्परागत अभ्यासहरूमा गहिरो वैज्ञानिकता लुकेको पाइन्छ।

    २.१. जमरा राख्ने चलन

    नवरात्रको पहिलो दिन दुर्गा स्थापना गरेर जौ (जमरा) रोप्ने चलन छ। जौ जमाउनु भनेको जीवनको पुनर्जागरण र हरियालीको प्रतीक हो। घरको पूर्व वा उत्तर कोठामा स्वच्छ, अँध्यारो ठाउँमा राखिएको जमरा वातावरणीय स्वच्छता र आन्तरिक सकारात्मक ऊर्जा विकासका लागि अत्यन्त उपयोगी मानिन्छ।

    २.२. पिङ खेल्ने संस्कृति

    दशैंमा देखिने अर्को मौलिक चलन हो — पिङ खेल्ने। यो केवल रमाइलोको माध्यम होइन; यसले शारीरिक सन्तुलन, मांसपेशीको लचकता र मानसिक तनावको व्यवस्थापन गर्छ। ग्रामीण समाजमा विशेष गरी सामूहिक पिङ निर्माण र खेलमार्फत सामाजिक मेलमिलाप र सहकार्यको भावना पनि बढ्छ।

    २.३. खानपानको सन्तुलन

    दशैंमा मासुजन्य परिकारको प्रचलन छ। वैद्यक अनुसार वर्षायामपछिको शरद ऋतुमा शरीर कमजोर हुने भएकाले, प्रोटिनयुक्त खाना शरीरमा शक्ति दिने र रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले मासुको सेवन वैज्ञानिक दृष्टिले उपयुक्त मानिन्छ।

    २.४. शक्ति र विद्या पूजा

    नवरात्रमा दुर्गा (शक्ति), लक्ष्मी (समृद्धि) र सरस्वती (विद्या) को पूजा गरिन्छ। यिनले मानव जीवनका शारीरिक, भौतिक र मानसिक/बौद्धिक विकासका तीन आयामको प्रतिनिधित्व गर्छन्। यो क्रमशः शक्ति, सम्पत्ति र सुसंस्कारित चेतनाको सन्तुलन बनाउने अभ्यास हो, जुन वैज्ञानिक रूपमा अत्यन्त आवश्यक छ।

    ३. व्यावहारिक आयाम : जीवन उपयोगि शिक्षाको अनुपम अवसर

    दशैं व्यावहारिक जीवनशैलीमा अत्यन्त प्रभाव पार्ने पर्व हो। यसले संस्कार, अनुशासन, सहिष्णुता, कर्तव्यबोध र सामाजिक सम्बन्धलाई मजबुत पार्छ।

    ३.१. व्यक्तिगत स्तरमा

    दशैंले आन्तरिक आत्ममूल्यांकन गर्ने अवसर दिन्छ। दुर्गाले जस्तै, हामीले पनि आफ्ना दुष्प्रवृत्तिहरू (ईर्ष्या, अहंकार, घमण्ड, मोह आदि) सँग लड्नुपर्छ। यसरी हरेक व्यक्तिले आत्मशुद्धि र सुधारको मार्ग अपनाउन सक्दछ।

    ३.२. पारिवारिक स्तरमा

    दशैंमा टाढाटाढा रहेका परिवारजन, नातागोता, अभिभावक, छोराछोरी, दाजुभाइ, दिदीबहिनी सबैजना भेला हुन्छन्। एक–अर्कामा टीका र जमरा लगाएर आशिर्वादको आदानप्रदान, प्रेम, सम्मान र आत्मीयता व्यक्त गरिन्छ। यसले पारिवारिक सम्बन्ध बलियो बनाउँछ।

    ३.३. सामाजिक स्तरमा

    जात, धर्म, वर्ग, लिंगको भेदभावलाई भुलेर मनाइने दशैं सामाजिक समरसताको उत्कृष्ट उदाहरण हो। सहकार्य, सहानुभूति, परोपकार र सद्भावना बढाउने यो पर्व एक–आपसमा आत्मीयता, मेलमिलाप र समर्पणको भावना जागृत गर्छ।

    दशैं : शिक्षा र प्रेरणाको स्रोत

    दशैं केवल उत्सव होइन, यो पढाउने, वुझाउने र प्रेरित गर्ने पर्व हो।

    विद्यालयका लागि प्रेरणा:

    विद्यालयहरूले दशैंको सन्दर्भमा मिथक, वैदिक दर्शन, वैज्ञानिक पक्ष र व्यावहारिक मूल्यलाई पाठ्यक्रममा समेटेर सत्कर्म र सदाचारको शिक्षा दिन सक्छन्। विद्यार्थीहरूले दशैंलाई संस्कार निर्माणको अवसरको रूपमा बुझ्नुपर्छ।

    शिक्षकका लागि प्रेरणा:

    शिक्षकहरू दशैंको आदर्श प्रयोग गरेर सत्य, मर्यादा, संयम र नैतिकता सिकाउने प्रेरक पात्र बन्न सक्छन्। देवी–राम–सत्य–धर्मका दृष्टान्तहरू बालबालिकालाई जीवन दर्शन सिकाउन उत्कृष्ट माध्यम हुन सक्छन्।

    अभिभावकका लागि प्रेरणा:

    दशैंमा आशिर्वाद दिँदा केवल शब्दमा होइन, व्यवहारमै देखिने संस्कार दिने अभ्यास गर्नुपर्छ। अभिभावकले जस्तो जीवन दर्शन दिन्छन्, त्यस्तै जीवनशैली अपनाउनु पनि उत्तिकै आवश्यक हुन्छ।

    विद्यार्थीका लागि प्रेरणा:

    विद्यार्थीहरूले दशैंलाई विदाको समय मात्र नभई, आत्मविकास र चरित्र निर्माणको समयका रूपमा लिनुपर्छ। देवी दुर्गाको पराक्रम, भगवान रामको आदर्श, सत्यको विजयको सन्देश आत्मसात गर्दै आफ्नो जीवनलाई नैतिकता र साधनशीलताको बाटोमा डोर्याउने संकल्प गर्नुपर्छ।

    निष्कर्ष:

    वडा दशैं केवल एउटा चाड होइन, यो जीवनको मार्गदर्शक पर्व हो। वैदिक दृष्टिले धर्मको विजय र असत्यको अन्त्य, वैज्ञानिक दृष्टिले जीवन र स्वास्थ्यसँगको सहकार्य, र व्यावहारिक दृष्टिले समाज, संस्कृति र व्यक्तित्व निर्माण गर्ने माध्यम हो।

    आजको बदलिँदो समाजमा दशैंको वास्तविक दिव्यता बुझ्न र व्यवहारमा उतार्न सके मात्र यस पर्वको सार्थकता कायम रहन्छ। हामी सबैले यो पर्वलाई केवल परम्परा नभई सत्य, धर्म, शक्ति, विद्या, प्रेम र सदाचारको अभ्यास गर्ने अवसरका रूपमा ग्रहण गर्नुपर्छ।

    नवदुर्गा भवानीको कृपाले हामी सबैमा शक्ति, विवेक र सद्बुद्धिको विकास होस्।

    शुभ विजया दशमि-२०८२