दशैँ नेपाली समाजमा सबैभन्दा ठूलो चाडको रूपमा मनाइन्छ। यो पर्वले आध्यात्मिक चेतना, पारिवारिक एकता, सामाजिक सद्भाव, सांस्कृतिक सम्पदा र मूल्य–मान्यताको गहिरो बोध गराउँछ। यिनै मूल्यमान्यता र जीवन दर्शनसँग जोडेर यदि दशैँको अवधिमा बालबालिकालाई गृहकार्य दिइयो भने त्यो केवल किताबी ज्ञानको पुनरावृत्ति नभई जीवनसँग जोडिएको जीवित शिक्षा बन्न सक्छ। यस लेखमा दशैँको गृहकार्यलाई आध्यात्मिक, वैज्ञानिक, सामाजिक, व्यावहारिक दृष्टिकोणले समेट्दै वर्तमान शैक्षिक प्रणालीको पुनर्विचार गर्ने प्रयास गरिएको छ।
१. दशैँको आध्यात्मिक सन्देश र शिक्षा;
दशैंको मूल सन्देश नै सद्गुणको विजय र दुर्गुणको पराजय हो। देवी दुर्गाले महिषासुर र नरकासुर जस्ता अहंकारी, अधर्मी शक्तिहरूलाई पराजित गरेको प्रसंगले मानव जीवनमा आत्मशुद्धि, आत्मबल र धर्ममार्गको महत्त्व देखाउँछ। यस्ता शिक्षालाई बालबालिकाको कोमल मस्तिष्कमा रोप्न सक्ने उपयुक्त संयोग दशैँ हो।
गृहकार्यको स्वरूप यस्तो हुनुपर्छ जसले बालबालिकालाई आफूसँग संवाद गर्न प्रेरित गरोस्। जस्तै:
•“मैले आफूभित्र पाएको राम र रावण के–के हुन्?”
•“दशैंले मलाई कुन मूल्य सिकायो?”
•“म माता दुर्गाबाट के–के गुण सिक्न सक्छु?”
यस्ता गृहकार्यहरूले बालबालिकालाई आत्मचिन्तन, मूल्य–बोध र आध्यात्मिक विकासको दिशामा लैजान सहयोग गर्छ।
२. वैज्ञानिक दृष्टिकोण: सिकाइलाई जीवनसँग जोडौँ ।
शिक्षा प्रणाली अझै पनि पाठ्यपुस्तक केन्द्रित, परीक्षामुखी र अङ्कको जोडमा केन्द्रित छ,तर वर्तमान समयको आवश्यकता भनेको अनुसन्धान, अन्वेषण र अनुभूतिम आधारित शिक्षण हो। बालबालिकाले यथार्थ जीवनमा भोग्नसक्ने प्रयोगात्मक ज्ञान नै स्थायी हुन्छ।
दशैँको समय, बालबालिकालाई यस्ता गृहकार्य दिन सकिन्छ;
•घरमा हुने पूजा सामग्रीको वैज्ञानिक आधार खोज्ने।
•टीका, जमरा, दुर्गा पूजा आदिका प्रतीकात्मक अर्थ र स्वास्थ्य–सम्बन्धी पक्ष अध्ययन गर्ने।
•“Why do we put tika? What is the scientific importance of barley (jamara)?”
यस्ता गृहकार्यले बालबालिकाको वैज्ञानिक सोच, जिज्ञासा र अनुसन्धानशीलता बढाउँछ। यसले पाठ्यक्रममा दिइएका कुराहरू जीवनसङ्गत बनाउँछ।
३. सामाजिक र सांस्कृतिक पक्ष: समाज बुझ्ने अवसर
दशैँ केवल धार्मिक पर्व होइन, सामाजिक–सांस्कृतिक चेतनाको प्रतिबिम्ब पनि हो। परिवारमा पुनर्मिलन, पुराना सम्बन्धको पुनर्स्थापना, गाउँ फर्किने अवसर र सहकार्यको भाव दशैंको मौलिकता हो। तर पछिल्ला वर्षहरूमा पर्वको यो पक्ष भौतिक प्रदर्शन, अस्वस्थ प्रतिस्पर्धा र वैश्वीकरणको प्रभाव ले विस्थापित गर्दैछ।
यसैले गृहकार्य यस्तो दिनुपर्छ जसले बालबालिकालाई संस्कृति बुझ्न र जोगाउन प्रेरित गरोस्:
•हजुरबा–हजुरआमासँग बसेर दशैँको पुरानो कथा, परम्परा र अनुभव लेख्ने।
•“हाम्रो घरको दशैं” – फोटो र अनुभूति सहितको परियोजना।
•गाउँ र सहरको दशैँको तुलना – सामाजिक अन्तर विश्लेषण।
यस्ता अभ्यासले बालबालिकाको सामाजिक दृष्टिकोण, सहृदयता र संस्कृति–प्रेम विकास गर्छ। यस्तो सिकाइ केवल किताबमा हुँदैन, जीवनमै देखिन्छ।
४. व्यावहारिक ज्ञान र सृजनात्मकता: शिक्षालाई रमाइलो बनाऔं
आजको बालबालिकालाई किताब पढ्नभन्दा प्रविधिमा रुचि छ। तर यसको सही प्रयोग गर्न सिकाउने हो भने प्रविधि सिकाइको सशक्त माध्यम बन्छ। गृहकार्य यस्तो हुनुपर्छ जसमा विद्यार्थी आफै सहभागी हुने, सिर्जना गर्ने र रमाउने अवसर पाओस्।
जस्तै:
•“मेरो दशैं” विषयमा छोटो भिडियो बनाउने।
•“Dashain traditions of Nepal” शीर्षकमा PPT तयार गर्ने।
•शुभकामना कार्ड बनाउने, चित्र कोर्ने, कवितामा दशैंको भाव उतार्ने।
यी अभ्यासहरूले विद्यार्थीको सृजनात्मकता, आत्मविश्वास र प्रस्तुतीकरण सीप मा अभूतपूर्व सुधार ल्याउँछ।
५. वर्तमान शिक्षा प्रणाली र नयाँ सोच
आजको शिक्षा प्रणाली अझै पनि औपनिवेशिक सोचको अवशेषजस्तो देखिन्छ – जहाँ विद्यार्थीलाई कंठगान, परीक्षा पास र कक्षा सिढि चढ्ने यन्त्र जस्तो बनाइएको छ। यस्तो प्रणालीले बालबालिकाको आन्तरिक सम्भावना, स्वाभाविक रुचि र अद्वितीयता लाई दवाउने काम गर्छ।
हाम्रो परम्परागत शिक्षामा गुरुकुल पद्धति, साक्षात्कार, जीवन्त शिक्षण को अभ्यास थियो। त्यो ज्ञान केवल पुस्तकमा सीमित थिएन, व्यवहारमा लागू गरिन्थ्यो। दशैंजस्ता पर्वहरू यस्ता जीवन्त शिक्षाका उपयुक्त माध्यम हुन्।
यदि हामीले दशैंको गृहकार्यलाई सृजनात्मक, अनुसन्धानात्मक, जीवनमूल्यमा आधारित र प्रविधिसँग जोडिएको बनायौं भने आजको शिक्षामा आवश्यक रूपान्तरणको बीउ रोप्न सक्छौं।
६. संकल्प : शिक्षा, संस्कृति र चैतन्य जीवनका लागि
आज आवश्यकता– हामी बालबालिकालाई केवल सूचना दिइरहेका छौं, तर ज्ञान र चेतनामा रूपान्तरण गरिरहेका छैनौं। यसका लागि शिक्षा प्रणालीले जीवनसँग जोडिनै पर्छ।
•ज्ञान सँगै आचरण र चरित्र विकास मा जोड दिनुपर्छ।
•सक्षमता मात्र होइन, सचेतनाको विकास मुख्य उद्देश्य हुनुपर्छ।
•शिक्षा बालबालिकालाई प्रेम, सहिष्णुता, आत्म–बोध र समाजिक उत्तरदायित्व मा प्रशिक्षित गर्न सक्षम हुनुपर्छ।
दशैंको गृहकार्य यस्ता सोचको आरम्भिक बिन्दु हुनसक्छ – जुन संस्कार, संस्कृति, विज्ञान र मानव चेतनासँग गहिरो सम्बन्ध राख्छ।
निष्कर्ष: शिक्षा पुनः परिभाषित गरौं
दशैँ केवल पूजाआजा गर्ने चाड होइन। यो जीवन–दर्शन सिकाउने पाठशाला हो। बालबालिकालाई यदि हामीले यस अवसरमा मौलिक गृहकार्य दिएर सोच्ने, महसुस गर्ने, सिर्जना गर्ने र बुझ्ने वातावरण बनायौँ भने त्यो सिकाइ जीवनभर रहनेछ।
हामीले जन्म दिएका सन्तानलाई कम्पनीको प्रोडक्ट बनाउने मुर्खता छोडेर, उनीहरूलाई जीवन र जगत बुझ्ने स्वतन्त्र चेतनशील प्राणी को रूपमा हेर्न थाल्नुपर्छ।
आउनुस्, यस दशैँमा हामी नयाँ सङ्कल्प गरौँ
•शिक्षा केवल किताबी ज्ञानमा सिमित नहोस्, जीवन्त होस्।
•गृहकार्य केवल लेखाईमा सिमित नहोस्, महसुस गर्न सकियोस् ।
•चाडपर्व केवल रमाइलो नहोस्, जीवनदर्शनको अभ्यास बनोस्।
माता दुर्गाभवानिले हामी सबैमा विवेक, चैतन्य र आत्म–जागरणको प्रकाश फैलाउन्🙏
चैतन्य नमस्कार 🙏
Post Views: 737