म को हुँ? मेरो जीवनको उद्देश्य के हो? आध्यात्मिकता र आधुनिकताको संगम ।
परिचय:
“म” अर्थात् हाम्रो आत्मा, हाम्रो अस्तित्व, हामीले आफैंलाई बुझ्ने त्यो मूल पहिचान हो।
यो प्रश्न: “म को हुँ?”
हजारौं वर्षदेखि मानव मनमा अन्वेषणको विषय रहँदै आएको छ।
धार्मिक ग्रन्थदेखि लिएर दर्शन, विज्ञान, प्रबिधि र व्यवस्थापनका आधुनिक सिद्धान्तसम्म यो प्रश्नको उत्तर खोजिने प्रयास भइरहेछ।
लेखकको प्रयालमा हामी “म” को पहिचान, जीवनको अर्थ र उद्देश्य, अनि सफलताको मार्गदर्शन प्राचीन र आधुनिक ज्ञानका आयामहरूबाट खोज्ने कोशिस गर्नेछौं।
१. म को हुँ? आत्मा र व्यक्तित्वको अन्वेषण
प्राचीन वेदहरूले आत्मालाई “अहं ब्रह्मास्मि” (म ब्रह्म हुँ) भनेर व्याख्या गरेका छन्।यसले जनाउँछ कि मेरो वास्तविक अस्तित्व ब्रह्म (सर्वव्यापी चेतना) सँग एकाकार छ।
वेदान्त दर्शन अनुसार, शरीर–मस्तिष्क मात्र मेरो ठेगाना होइन। मेरो साँचो रूप भनेको अमर, अनन्त र अविनाशी आत्मा हो।
पुराणहरूमा आत्माको यात्रालाई वर्णन गरिएको छ, जहाँ यो आत्मा सतयुगदेखि कलियुगसम्म विभिन्न अवस्थाबाट गुज्रिन्छ।
यो प्रवाह हाम्रो जीवनमा आएका चुनौतीहरू र अनुभवहरूको प्रतीक हो।
बुद्ध दर्शनमा आत्माको निरन्तर पुनर्जन्म र कर्मका आधारमा यसको पुनरुत्पत्ति हुन्छ भन्ने मान्यता छ।तर “म” त्यो निरन्तर चेतनाको स्वरूप हो, जसले सबै दुःख–सुख पार गर्छ।
ओशोले भनेका छन्: “जबसम्म तिमी आफैंलाई खोज्दैनौ, तबसम्म तिमी अरूलाई खोज्दैछौ।”
२. म किन जन्मिए? जीवनको उद्धेश्य के हो?
जीवनको उद्देश्यको प्रश्नमा सबै धर्म र दर्शनले अलग–अलग तर गहिरा जवाफ दिएका छन्।
गीतामा श्रीकृष्णले अर्जुनलाई भने: “म यो संसारमा कर्म गर्न आएको हुँ।”यस संसारमा मेरो धर्म, कर्म र धर्मपालन नै मेरो उद्देश्य हो।जीवनको वास्तविक लक्ष्य भनेको धर्म पालन, कर्तव्य निर्वाह, तथा मोक्ष प्राप्ति हो।मोक्ष भनेको संसारका सबै बन्धनबाट मुक्त भएर वास्तविक आत्मामा पुनः एकाकार हुनु हो।
बुद्ध धर्मले जीवनलाई दुःखमुक्ति र समभाव अपनाउने संकेत गरेको छ।ध्यान, सम्यक दृष्टि र कर्ममार्फत मुक्ति प्राप्त गर्ने लक्ष्य राखिएको छ।
ओशो र सद्गुरुहरूका अनुसार जीवनको अर्थ आत्म–अन्वेषण, प्रेममा विलीन हुने र चेतनाको विस्तार गर्नु हो।
३. म कसरी सफल हुन सक्छु? सम्भावना र आवश्यकता के हुन?
सफलता को अर्थ व्यक्ति अनुसार फरक हुन्छ—धार्मिक दृष्टिले सफलताको मर्म र वैज्ञानिक दृष्टिले सफलताको मार्ग फरक हुन सक्छ।
आध्यात्मिक दृष्टि:
•वेद र गीता अनुसार सफलता भनेको आत्म–प्राप्ति, धर्म पालन र मनको शुद्धता हो।
•कर्मयोगमार्फत शुद्ध मनले कर्म गर्नुपर्छ, फलप्रति आसक्ति राख्नु हुदैन।
आधुनिक विज्ञान र व्यवस्थापन:
•लक्ष्य निर्धारण, योजनाबद्ध कार्य, समय व्यवस्थापन र निरन्तर सुधारले सफलता सुनिश्चित हुन्छ।
•सकारात्मक सोच, आत्म–नियन्त्रण र सहकार्य आवश्यक छ।
प्रविधि र कृत्रिम बुद्धिमत्ता:
•आधुनिक प्रविधिले जीवन सजिलो बनाएको छ, तर सफलता मानवीय मूल्य र नैतिकतासँग जोडिएको हुनुपर्छ।
•कृत्रिम बुद्धिमत्ताले मानिसको क्षमतामा वृद्धि गर्न सक्छ, तर मानव चेतना, सृजनशिलता र आत्माज्ञानको स्थान लिन सक्दैन।
४. मेरो आवश्यकता र प्राथमिकता के हो?
आत्मिक दृष्टिले हाम्रो आवश्यकता भनेको स्वयं–ज्ञान, सच्चा प्रेम, र चेतना जागरण हो।
यो आवश्यकताले मानिसलाई भौतिक सुखभन्दा माथि उठाउछ।
आधुनिक जीवनशैलीमा प्राथमिकता भनेको सन्तुलित जीवन–शैली, स्वास्थ्य, सम्बन्ध र पेशागत, सामाजिक सेवा र जिम्मेवारिको समन्वय हो।
गीता अनुसार: “अध्यात्म र कर्मले सन्तुलित जीवन नै मानवको मूल आवश्यकता हो।”
५. मेरो धर्म र कर्तव्य के हो?
धर्म शब्दले केवल धार्मिक कर्म होइन, जीवनको सदाचार नियम र नैतिकता मुल्यहरू जनाउँछ।
हाम्रो धर्म भनेको सत्य, करुणा, न्याय र कर्तव्य पालन हो।
श्रीकृष्णले गीता में भनेझैं, “तिमी आफ्नो कर्म गर , नतिजाको विषयमा चिन्ता नगर।” यसले हामीलाई प्रेरित गर्छ कि धर्मको पालना गर्ने मनोभाव नै जीवनको मूल आधार हो।
६. मेरो चरित्र कस्तो हुनु पर्छ?
चरित्र भनेको हाम्रो नैतिक मूल्य र व्यक्तित्व हो। यो हाम्रो जीवनशैली, सोचाइ र व्यवहारमा झल्किन्छ।
ओशोले भनेका छन्: “चरित्रको निर्माण नै जीवनको सच्चा सफलता हो।” त्यसैले सत्य, धैर्य, सहिष्णुता, प्रेम, कर्तव्यपरायणता, इमानदारीता जस्ता मूल्यहरू हाम्रो चरित्रमा झल्किनु हुनुपर्छ।
७. प्रेम, ज्ञान, चेतना, चिन्तन के हो?
•प्रेम: सन्देहविहीन भावनात्मक र आध्यात्मिक सम्बन्ध, सबैलाई सच्चा प्रेम गर्ने भावना।
•ज्ञान: केवल पुस्तकीय शिक्षा होइन, जीवनका अनुभव र आत्म–साक्षात्कारबाट प्राप्त चेतना।
•चेतना: आफू र वरिपरि भएका सबै कुराहरूको पूर्ण जागरूकता।
•चिन्तन: गहिरो मनन, विचार र आत्म–विश्लेषण।
यी चारै गुणहरूले जीवनलाई सार्थक बनाउँछन्।
८. भक्ति र मुक्ति के हुन्?
•भक्ति: परमप्रति अनन्य समर्पण।
•मुक्ति: संसारिक मोह–माया र दुःखबाट मुक्त भएर आत्माको वास्तविक स्वरूपमा प्रवेश।
सदगुरूका अनुसार, भक्ति नै मुक्ति प्राप्तिको मार्ग हो।
९. विज्ञान र प्रविधि संग आध्यात्मिकता: चुनौती र सम्भावना
विज्ञानले मानवलाई प्रकृतिका रहस्य बुझ्न मद्दत गर्यो।
प्रविधिले जीवन सरल बनायो। तर मानव चेतना र आत्माको गहिराइलाई केवल विज्ञानले मात्रै समेट्न सक्दैन।
प्रविधिको सदुपयोग गरी हामीले हाम्रो चेतनालाई अझ विकसित गर्न सक्नु पर्छ। कृत्रिम बुद्धिमत्ताले अनेक ज्ञान र क्षमता दिन्छ, तर मन र आत्मा बीचको सम्बन्धलाई समन्वय गर्न सक्दैन।
१०. निष्कर्ष: “म” को अन्वेषण निरन्तर यात्रा
“म” को खोज केवल आत्म–ज्ञानमा सीमित छैन। यो हाम्रो जीवन दर्शन, सामाजिक मूल्य र आध्यात्मिक अनुसरणको संगम हो।
जीवनको उद्देश्य बुझ्न, सफल हुन र सन्तुलित जीवन बिताउन प्राचीन दर्शन र आधुनिक ज्ञान दुवैको अध्ययन र प्रयोग आवश्यक छ।जीवन केवल भौतिक उपलब्धि होइन, चेतना, प्रेम र धर्म सहितको सार्थक यात्रा हो। म भन्ने आत्मा, जुन ब्रह्मसँग जोडिएको छ, सधैं विकसित हुँदै जान्छ। हामीले आफ्नो मर्म बुझेर मात्र साँचो जीवन पाउन सक्छौं।
“म” लाई वुझे संसार वुझिन्छ — अन्तिम बिन्दु तर अनन्त आरम्भ
“म” भन्ने शब्द सामान्य लाग्छ — तर यही “म” सबै रहस्यहरूको मूल कुञ्जी हो। यो “म” केवल नाम, शरीर, सामाजिक हैसियत, वा विचार होइन। यो आत्मा, चेतना, अस्तित्व, अनि अन्तर्मनको आवाज हो।
जब हामी बाहिरी संसार बुझ्ने प्रयास गर्छौं — हामी विज्ञान, धर्म, राजनीति, समाजशास्त्र, प्रविधि, इतिहास सबै अध्ययन गर्छौं।
तर जबसम्म हामी आफ्नो आन्तरिक संसार, अर्थात् “म” लाई बुझ्दैनौं, त्यो अध्ययन अधुरो हुन्छ।
“म” लाई वुझ्नु भनेको के हो?
•यो आफूभित्रको चेतनालाई साक्षात्कार गर्नु हो।
•यो आफूभित्रको सत्य, कर्तव्य र प्रेमलाई अनुभूत गर्नु हो।
•यो आफ्नो ईगो (अहं) त्यागेर शुद्ध अस्तित्वलाई महसुस गर्नु हो।
जब मानिसले “म” को साँचो अर्थ बुझ्छ उसले संसारमा भएका सबै सम्बन्ध, समस्या, समाधान, धर्म, दर्शन, जीवन, मृत्यु—सबैको साँचो प्रकृति बुझ्न थाल्छ।
संसार वास्तवमा हाम्रो दृष्टिकोणको प्रतिबिम्ब हो। दृष्टिकोणको जड भनेको हाम्रो “म” हो।
वेदान्त भन्छ:
“यो जगत् ब्रह्मको लीला हो, तर यो लीला बुझ्न प्राणीले पहिले आफ्नो चेतना जागृत गर्नु पर्छ । आफूलाई जान्नुपर्छ।”
गीता भन्छ:
“आत्मज्ञान बिना परमज्ञान सम्भव छैन।”
बुद्ध भन्छन्:
“आफूलाई वुझ : तिमी संसारलाई बुझ्नेछौं।”
ओशो भन्छन्:
“तिमीभित्र सबै ब्रह्माण्ड समाहित छ — तिमीले आफु बुझ्यौ भने ब्रह्माण्ड बुझेको जस्तै हो।”
निष्कर्ष:
👉 संसारका हरेक प्रश्नको उत्तर “म” भित्र लुकेको छ।
👉 “म” लाई वुझ्नु भनेको चेतनाको ढोका खोल्नु हो।
👉 आत्म–बोध बिना कुनै ज्ञान पूर्ण हुँदैन।
👉 “म” लाई वुझेपछि न त ईश्वर टाढा रहन्छ, न त सत्य अपारदर्शी हुन्छ।
अतः ”‘म’ लाई वुझे संसार वुझिन्छ”
यो केवल एउटा विचार होइन, एक जीवन दर्शन हो ।
जुन आत्मसाक्षात्कारबाट शुरु हुन्छ, र मुक्ति, प्रेम, ज्ञान र सत्यतर्फको अन्नत दिव्य यात्रा बन्न पुग्छ।
अन्तमाः लेखक कुनै ज्ञानि वा दार्शनिक व्यक्ति होईन। आत्म जागरणाको प्रारम्भिक यात्राम शिशु कक्षाको विद्यार्थी सरह भएको कारण यो लेखनमा थुप्रै विचारहरू अधुरा अपुरा हुन सक्छन। कृपया सिकाई अवसरका लागि प्रोत्साहन दिनु हुनेछ भन्ने अपेक्षा सहित विद्वान पाठकहरूको प्रेमपूर्ण प्रतिक्रयाका लागि सहृदय नमन🙏
-गणेश जोशी, चैतन्य एकेडेमि, चैतन्य पाठशाला र चैतन्य शैक्षिक जागरण अभियानमा सक्रिय हुनु हुन्छ
Post Views: 798