बझाङमा लाग्ने विरिजातको महत्व र किम्बादन्ती - Chaitanya News
  • 2026-05-25
  • 04:45:25
  • आइतबार,जेठ १०, २०८३
  • बझाङमा लाग्ने विरिजातको महत्व र किम्बादन्ती

    बझाङमा लाग्ने विरिजातको महत्व र किम्बादन्ती

    निर्मला कडायत:

    बझाङ सांस्कृतिक रुपमा धनी जिल्ला हो। यहाँ थुप्रै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल छन्। बझाङको काखमा १४ हजार १०० फिट उचाइमा सुर्मा सरोवर चन्दन पर्वत रहेको छ। यो बझाङ र दार्चुलाको सीमाना साविकको सुर्मा  गाउँपालिकाको हिमाली वन क्षेत्रमा निर्जन, शान्त र रमणीय रुपमा रहेको छ। सरोवरलाई प्रायः कुहिरो र बादलले ढाकेको हुन्छ। यो सरोवर एकान्तप्रिय छिपिली, शिखरवासिनी वैष्णवी सुर्मादेवीको वासस्थान हो। यो क्षेत्र ऋषिमुनीको सघन पुण्य तपोभूमि भएकाले ठूलो र प्रसिद्ध तीर्थस्थल मानिएको छ। यहाँ तिर्थालु भक्तजन गएर स्नान गरे सुर्मादेवी माताले मनमा चिताएको इच्छा पूरा गर्ने निसन्तान सन्तान प्राप्ति हुने नविश्वास आएको छ।

    यहाँ अत्रि ऋषिले ४८ वर्ष चन्दनाद्री तथा सुन्दर वनमा तपस्या गर्दा ब्रह्मा प्रसन्न भइ यो सरोवर सृष्टि गरेर त्यसको बीचमा चतुर्भुज शूल र मुद्गर धारण गरेकी गायत्री रुपकी सुवणर्मयी कान्तियुक्त सुर्मादेवीको मूर्ति ब्रह्मा स्वयम्ले प्रतिष्ठापित गरेकाले यो सरोवरको नाम सुर्मा सरोवर रहन गएको पूर्खाहरु बताउँछन्। यो चन्दनाद्री वन भएकाले सुगन्धित हरियो वन अनेकौं रङ्गीबिरङ्गी फूलहरु, जङ्गली लसुन, जङ्गली कालो धान, (गौरी धान) यार्सागुम्बाजस्ता विभिन्न जडीबुटीले सुशोभित छ।

    यहाँ प्रत्यक पर्व एकादशीदेखि पूर्णिमा सम्म बिरिजात मेला लाग्ने गर्दछ। खास गरि यो मेलामा सुर्मादेवी माताको पूजा आराधाना गर्ने प्रचलन छ। मेलामा भक्तजनले मागेको बर सुर्मादेवीले पूरा गर्छन् भन्ने मान्यता रही आएको छ। यहाँ मान्छेको निकै ठूलो भीडभाड हुन्छ। सुर्मादेवीका धामी झाँक्रीसहितको सुर्मा मन्दिर र हिमालको सुर्मा सरोवरसम्मको यात्रा गरिने हुँदा यो मेला पाँच दिनसम्म चल्ने गर्दछ।

    सुर्मा गाउँपालिकाको ठगुन्नाडा भन्ने गाउँमा लाग्ने बिरी जात्रामा एकादशीदेखि पूर्णिमासम्म आलि पालिका गाउँमा बाधा सुरु हुने र बाधा सुरु भएकै दिनबाट जात्रा नसकिएसम्म व्रत बस्नु पर्ने, खाली खुट्टा हिँड्नु पर्ने धार्मिक मान्यता रहेको छ। यहाँ जाने भक्तजन मेला अवधिमा खाली खुट्टा नै हिँड्ने गर्छन्।

    सुर्मादेवीको आस्था गर्ने जिल्लाका भक्तजन यो मेलामा घरबाटै खाली खुट्टा हिँडेर मेला जाने गर्दछन्। सुर्मादेवीका पवरपरका मान्छे एकादशीदेखी जात्रा नसकिएसम्म मासु, माछा, लसुन खाँदैनन्। कादशीदेखी जात्रा नसकिएसम्म मान्छेले छाउछुत गर्दैनन्। यदि यो जात्रामा गएका भक्तजनले मासु, माछा, लसुन र छाउछुत गरे देवी रिसाएर सजाय दिने हुँदा स्वथ्यमा समस्या देखापर्ने स्थानीय बद्री बहाद्र कडायत बताउँछन्। कतिपय पुरुष भक्तजन ४३ सय मिटरमाथि हिमाली क्षेत्रमा रहेको सुर्मासरोवर ताल कुण्डमा पुगेर फिर्ता हुने गर्दछन्। तर, महिलाहरुले त्यो सुर्मा सरोवर कुण्ड जान मिल्दैन। महिला आधा बाटो लोड्नी भन्ने ठाउँसम्म मात्रै जान्छन्। यो समयमा दार्चुलामा पनि पर्व लाग्ने हुँदा दार्चुलाका भक्तजनहरू पनि सुर्मासरोवर तालमा भेटिने गरेको भक्तजनहरू बताउँछन्।

    महिलाहरूले सुर्मा सरोबरबाट स्नान गरेर फर्केका पुरुषहरुलाई उनीहरुले सुर्मा सरोवरबाट ल्याएको दुवो लगाइ दिर्ने , जल खुवाउने, तालको माटोको टिका लगाइ दिने र कालो धान अर्थात गौरी धान लगाई दिने गर्छन्।

    यस यात्रामा ठूलठूला टाँगामा ध्वजा नेजा प्रगला लिएर देवी र धामी पूजारी यात्रुसहित बाटाभरी शङ्खघण्ट बजाउँदै आशागुर्जा लिएर चाँचाँगर्दै ९अर्थात० सुर्मा देविको भजन जप्दै प्रस्थान गर्छन्। थपाली, घोगाडा, दौलीचौर, थगुन्नाडाका देउपाँड हुँदै पडछो गर्दै जाँदा–आउँदा ठाकू भन्ने बाजा बजाउँदै वीरपानी, नाचनी, मधुखर्क, बूढा विनायक, जलजला, ठेलठेलो आदि सुर्मादेवी हिमशिखर यात्रा गर्दाका क्रिडास्थल हुँदै तीन दिनमा सुर्मा सरोवर पुगिन्छ। यहाँ पुगेर श्रावण एकादशीदेखि त्रयोदशी तीनदेखि पाँच दिनसम्म मेला लागी स्मितहासिनी देवीको पूजा हुन्छ। यहाँ आगो बाल्न नपाइने, छाता ओढ्न नपाइने, पाल हाल्न नपाइने, परम्परा छ।

    बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले मेला भर्न आउँदा यहाँ पाल राखेर बस्दा राति नै छल भइ त्यो रात हुरी बतासले हैरान गर्दा बिहान राजाले सरोवरमा गइ सुर्मादेवीसँग क्षमा याचना गर्दै आफ्नो हातको सुनको औंठी सरोवरमा चढाएका थिए। तर फर्की आउँदा थगुन्नाडा देउपाडमा वास बसी पागरजडी रुखको धारामा गई स्नान गर्दा राजाको बाहुलीमा सो औंठी धाराबाट प्राप्त भइ सुर्मादेवी प्रसन्न भएको किम्बादन्ती छ।

    कसरी सुरु हुन्छ सुर्मादेवी बिरिजात मेला ?

    साउन महिनाको औंसीमा सुर्मादेवीका वरपरका गाउँका सबै करियाहरू धामीझाँक्री नाइक जाग्री पुजारी सुर्मा देवीको मन्दिरमा जाने गर्दछन्। मन्दिरमा गएर पूजापाठ गर्ने धामीझाँक्री काप्ने परम्परागत चलन रहेको छ । मन्दिरमा गई पूजाआराधना गरिसकेपछि बाँधा सुरु भएको मान्ने प्रचलन रहेको छबिस पाथिभेरा गाउँपालिका २ मुम्लाका सर्मादेवीका पुजारी हरिकृष्ण कडायतले बताए।

    बाँधा सुरुभएपछि १० दिनसम्म तिर्थालु भक्तजन त्यहाँ रहेको सुर्मादेवी मन्दिरमा पूजाआराधना गरि बाँधा मान्ने गर्दछन्। बाँधा मानिएको समयमा साँझ पख दैपाण भनिने देउघरमा गाउँका सबै जम्मा हुने ढाँका नाच नाच्ने ढुस्का गीतहरू गाउने तथा धामीझाँक्री काप्ने गर्दछन्।

    सुर्मा देवी बिरिजात मेला एक वर्ष सानो बिराइ र एक वर्ष ठुलो बिराइ मानिने गरेको छ । सानो बिराइमा सुर्मा सरोवर मान्छे कम जाने गरेको स्थानीयहरूले बताएका छन् । भने ठूलो बिराइमा कहिले सुर्मा सरोवर नगएकाहरू बालबिर जाने गरेको पाइएको छ । बाँधा सुरु भएयता पाँच बाँधा भइसकेपछि बालबिर जानेहरूले शुद्ध रहने व्रत बस्ने सुर्मा देवीको पूजाआराधाना गर्ने चलन रहिआएको छ ।

    १० दिन बाँधा मानिसकेपछि एकदासिका दिन उबासु पर्व माग्ने गरेका छन् । उबासुका दिन बिहानै उठेर स्नान गर्ने त्यसपछि मिठा मिठा खाने परिकारहरू पकाउने गरेको स्थानीय जगत बहादुर बोहोरा बताउँछन्। उनका अनुसार उबासुका दिन करियाहरू सबै सुर्मा देवीको मन्दिर जाने पूजाआराधाना गर्ने र सुर्मा सरोवर जानेलाई धामीझाँक्री कापेर बोलाउने परम्परागत चलन रहेको छ । त्यसपछि घर फर्किने र बिहान पकाएको परिकारहरू खाने गरेका छन् ।

    त्यसपछि भोलिपल्ट बिहानै उठेर सुर्मा सरोवर जाने तीर्थालु भक्तजनहरू सुर्मा देवीको मन्दिरमा गई पूजाआराधना गरेर सुर्मा सरोवरको यात्रा शुभारम्भ हुने उनले बताए । यसपाली पनि यो मेला गए साता सुरु भएर सकिसकेको छ । यसपाली ठुलो मेला परेकाले अघिल्लो वर्ष भन्दा यो वर्ष भक्तजनहरु धेरैआएको सुर्मा देवी मन्दिरका पुरारी धर्मराज पुजाराले बताए । मेलामा देवता चल्ने, चाँभाइ खेल्ने, ढाँकी बाजा बजाउने, फाग गाउने गर्दछन् । साथै भलिबल खेल, डेउडा खेल्ने आदी खेलहरुको आयोजना गरिएको थियो।

    सुर्मादेवी भगवतीको उत्पति कसरी भयो ?

    सर्मादेवीको उत्पत्ति दुर्गाथलि गाउँपालिका स्थितित थलिजिउलामा रहेको दुर्गा भगवती मन्दिरबाट भएको जनविश्वास रहेको छ। पैराणिक कथा अनुसार थलि मन्दिरमा जेठी दुर्गादेवी र कान्छी सुर्मादेवी दुई वटै बहिनी श्रीमतीसँग भगवान् माहालिंग बस्दथे । माहालिंग भगवानलाई कुष्ट रोग लागेपछि रोग निको पार्न लसुन पिसेर लगाउने सल्लाह अनुसार जेठी बहिनी दुर्गादेवीले कान्छी बहिनी सुर्मादेवीलाई लसुन पिस्न आग्रह गरिन्। सुर्मादेवीले नाकथुनेर लसुन पिस्न थालेपछि दुर्गादेवीले त्यत्तिको छिपिलि भए सुर्मा सरोवर बस्न भनेकी थिइन्। बचन सहन नसकि सुर्मादेवीले थार भनिने जंगली जनावरको भेषमा बुडखोरीमा रहेको सुर्मा मन्दिरमा गएर बसिन् ।

    जंगली जनावरको भेषमा रहेकी सर्मादेवीले खोरी र घट्टे गाउँका बासिन्दाले घाममा सुकाउँदै गरेको अन्न बाली बिस्कुन चोरेर खान थालिन्। सर्मादेवीले दिनहुँ बिस्कुन खानथालेपछि खोरी घट्टे गाउँकी एक महिलाले आफ्नो श्रीमानलाई सिकार गर्न भनिन्। त्यसपछि पुरुषले तिखा हतियार भालाले थारलाई लखेट्दै गए। तर, मार्न सकेनन्। त्यसपछि ती थारको भेषमा रहेकी सुर्मादेवी मुम्ला, मतैका विभिन्न गाउँहुँदै अन्तमा सुर्मा सरोवर तालमा पुगेर सुर्मादेवीको औतार भएको भन्ने जनविश्वास रहेको छ।

    हेर्नूहोस् फोटोहरु: