तोमनाथ उप्रेती:
माहाकालीको क्रुद्ध किनारमा, जहाँ ढुंगाहरू समयको काँधमा थचक्क बसेका थिए, त्यहाँ एउटा गाउँ बाँचिरहेको थियो—जसको प्राण भँगेराको चिरबिर स्वरमा हराइसकेको थियो। त्यो गाउँका आँगन अब ओइलिएका सपना थिए—रङ्गहीन घर, उडेका छाना, जीर्ण बरण्डा, र तिनका भित्तामा उम्रिएका गहिरा चिसा सुस्केरा।
कहिल्यै नचिनेको थकानजस्तो लाग्ने समय त्यहाँ थामिएको देखिन्थ्यो। समय चलेको थियो, तर जीवन त्यहीँ कतै जमेर बसेको थियो—एक सास रोकेर, एक स्वर खोजेर।
भाद्रको साँझ थियो—उदास र उथलपुथलयुक्त। हावाको स्पर्श चिसो थियो, तर चिसोपनको कारण जलवायु थिएन—त्यो त भावको वितृष्णा थियो। माहाकाली नदी बगर च्यात्दै, चैतमा छायाको कथा लेखिरहेझैँ कराउँदै बगिरहेको थियो।
पहरू दहित, सात दशकको सन्तप्त आत्मा, आफ्नो पुरानो ढुंगाको चौकीमा बसेका थिए। उनका आँखामा समयको सिन्दूर थियो, अनि दृष्टिमा हारेका सपनाहरू। उनी टोलाएर हेर्थे—त्यो ढिस्को, जहाँ कुनै दिन उनले आफ्ना छोराछोरीसँग बिस्कुन राखेका थिए, र भँगेराहरूलाई भोक मेटाउने पूजा गरेका थिए।
तर अहिले त्यो चोक पनि प्रतीक्षा गर्न थालिसकेको थिएन। प्रतीक्षा पनि थकित थियो।
“हामीले उज्यालो खोज्यौं,” उनले मन्द मुस्कुराउँदै भुनभुनाए, “तर उज्यालोले हामीलाई अँध्यारोमा फ्याँक्यो।”
त्यो भनाइ नदीले बगाएर लग्यो, महाकालीका छालले जस्तै समयले पनि बगाउँदै लगेको एक स्थिर पीडा।
भँगेराको चिरबिर अब गाथा थियो—ध्वनि होइन, केवल सम्झनाको लय। पहरूलाई लाग्थ्यो—चिरबिर मात्र नभई सम्पूर्ण प्रकृति नै टुक्रिएको छ। गुँड बनाउने र भत्काउने प्रकृया अब प्रविधिले हडपेको छ।
छाना टिनका भए, भित्ताहरू सिमेन्टले च्यातिए, र मोबाइल टावरहरूले आकाशको दिशासूचक कम्पास भँग्याए। ध्वनि प्रदूषणको अराजकता, विकिरणको विष, र विषादीको विनाश—यी त्रयी दानवले भँगेराको नश्वर अस्तित्वलाई लोपतिर धकेलिदिएको थियो।
भँगेराले गुँड बनाउने ठाउँ हरायो। कीराहरू, जुन उनीहरूको मुख्य आहार थिए, विषादीले मरे। आकाशमा उड्ने बाटोमा ध्वनि र विकिरणको जाल थियो। अनि जमिनमा, मानिसको अविवेकी जाल।
यिनै मौनताका मध्यमा, एक दिन चराविद् हिरूलाल डगौरा गाउँ आइपुगे। टपरीभरि चिनी नभएझैँ, उनको काँधमा शब्द नभएको सन्देश थियो—कविता नभएको कवि, गीत नभएको गायक। उनका आँखामा आकाश च्यातिएको थियो। उनी कहाँबाट आएका थिए भन्ने कसैलाई थाहा थिएन—शायद चराहरूको अन्तिम थकानबाट, शायद हराएको चिरबिरको खोजीमा।
“भँगेरा केवल चरा होइन,” उनले विद्यालयको आँगनमा बालबालिकासँग अन्तरक्रिया गर्दै भने, “त्यो चेतनाको चैतन्य हो। जब त्यो चुप हुन्छ, तब प्रकृति अज्ञानी बन्छ। जब त्यो मर्छ, तब हामी पनि मर्छौं—एक गुम्सिएको मृत्युमा।”
त्यो दिन एक बालिका—मीनु, भर्खरै कक्षा ७ मा पुगेकी—उनको आँखामा प्रश्न लिएर हेरेकी थिई: “के भँगेरा फर्कन सक्छ?” उसका आँखामा केही थियो—शायद आशा, शायद अन्तिम सम्भावना। हिरूलालले उसलाई एउटा सानो गुँड बनाउन सिकाए—पुरानो पत्रिकाको रोल, घाँस, र तुन्तुरीको टुप्पो।
मीनुका हात गुँडमा व्यस्त थिए, तर मुटुमा कविता गुञ्जिरहेको थियो। “एकदिन, त्यो चिरबिर मेरो झ्यालबाट आउँछ, अनि म थाहा पाउँछु—प्रकृति फेरि फर्किएको छ,” उसले आफ्नो डायरीमा लेखी।
हिरूलालले गाउँमा गुँड राख्ने अभियान सुरु गरे। बरण्डा, रूख, अनि छानाका कुनामा कागजका गुँड टाँसिन थाले। विद्यार्थीहरू उठे, पक्की घरभित्र भँगेराका लागि सानो ठाउँ बनाउन। “सिमेन्टको समुद्रमा सानो टापु बचाऔँ,” उनीहरू चिच्याउँथे।
नारा लेखिए—
“म भँगेरालाई माया गर्छु।”
“चिरबिर बिना बिहान अधुरो।”
“विकिरणको जंगलमा जीवनको झ्याल खोलौं।”
चराप्रेमी सुभन चौधरीले गुँड गने, गुँड बाँधे, अनि गुँडहरूमा दाना राखे। यो काम त्यत्तिकै थिएन—यो त अस्तित्वको पूजा थियो।
तीन हप्तापछि—एक बिहान, माहाकालीको किनारमा, आकाश अलिकति खुल्ला थियो। हावाले शान्त सन्देश बोकेको थियो। अनि त्यही क्षण, पहरूको घरको पुरानो झ्यालबाट…
चिरबिर… चिरबिर…
त्यो आवाज उनको कानमा पर्यो, तर विश्वास भएन। आँखा मिचे, सुने, र दौडिए—जुन गति उनले कयौं वर्षदेखि बिर्सेका थिए।
त्यो चिरबिर सायद एउटा मात्रै थियो, तर त्यो चिरबिर एक समग्र गाउँको आत्मा थियो। त्यो चिरबिरले घोषणा गर्यो—म मरेको छैन, म त केवल प्रतीक्षारत थिएँ।
त्यो साँझ पहरू दहित ढुंगाको चौकीमा फेरि बसे। माहाकाली अझै बगिरहेकी थिई—तर आज शान्त, एक किसिमको कृतज्ञतापूर्ण बगावटझैँ।
उनी आफ्ना सासहरू गन्न थाले—सासमात्र होइन, चिरबिरका लयहरू पनि। उनले डायरी खोले र लेखे:
“हामीले उज्यालो खोज्यौं, तर त्यो उज्यालो तबमात्र आयो, जब चिरबिरको पङ्ख झुल्कियो। भँगेरा कुनै चरा थिएन—त्यो त हाम्रो भूगोलमा हराएको चेतनाको प्यास थियो।”
साँझ बिस्तारै झर्दै थियो। तर यो साँझ अँध्यारोको अन्त्य होइन, उज्यालोको आरम्भ थियो। चराचरको मौनता भङ्ग साँझ, माहाकाली नदीको किनार साँच्चै मौन देखिन्थ्यो, तर त्यो मौनता अब भत्किएको थिएन—त्यो साक्षी बन्ने मौनता थियो, जस्तै वृद्धको आँखाभित्र झल्किने आँशुहरू बोल्दैनन् तर भन्छन्। पहरू दहित, जीवनका धेरै साँझहरू साक्षी बसेका वृद्ध, चिहानघारीको पुरानो पीपलमुनि बसेका थिए।
त्यो रूख, जहाँ उनले एकदिन आफ्नी पत्नीको स्मृतिमा माटो छरेका थिए, आज फेरि जीवनको गन्धसहित बोटिएको थियो। उनले हातमा पुरानो कापी खोले—त्यही कापी, जसमा उनी कहिले काँडाहरू गन्तथे, कहिले समयका पातहरू टिप्थे।
उनले लेखे,
“जब प्रकृतिको सानो आवाज हराउँछ, तब हामी आफूलाई हराउँछौँ।”
पात झर्थे, महाकाली सुनिरहन्थी। तर आज त्यो लेखाइमा एक किसिमको पुनर्जागरण थियो—भँगेराको स्वर सायद टुहुरो थियो, तर त्यो टुहुरोपन जीवनको आह्वान थियो।
त्यो रात गाउँमा केही भिन्न भयो। सहरबाट पक्की घर फर्केर आएका युवाहरूले पहिलोपटक बिर्सिएको गाउँको आवाज सम्झे। सुभन चौधरीले अर्को दिनदेखि विद्यार्थीहरूलाई ‘चिरबिर पाठशाला’ को उद्घोष गरे। सबैले आफ्नो गुँड हेर्ने, पानी राख्ने, र गनन गर्ने कामलाई आफ्नै जिम्मेवारी माने।
हिरूलाल डगौरा हरेक बिहान एउटै झोला बोकेर निस्कन्थे—त्यो झोलामा दूरबिन थियो, केही गहुँका दाना, अनि पुराना गुँडको चित्र। उनले केटाकेटीहरूलाई भने—“हेर् तिमीहरूले सानो चरा देख्यौ भने त्यसलाई तिमीहरूको घर सम्झ।”
गाउँको आकाश फेरि हल्का चिरबिरले छुन थाल्यो। न पूर्ण, न पवित्र—तर साँच्चै, जीवित।
हिजोका दिनमा भँगेरालाई देख्नु सामान्य थियो, तर अब त्यो एक चमत्कार बन्न पुगेको थियो। एक भँगेरा देखिएपछि, गाउँलेहरू झुण्डिएर हेर्थे, आकाशतिर औँला देखाएर हाँस्थे, अनि मोबाइलको क्यामेरामा कैद गर्ने कोसिस गर्थे—तर क्यामेराले त्यो अनुभूति कहिल्यै समात्न सक्दैनथ्यो, जुन अनुभूति मुटुमा हल्लिएको थियो।
बालकहरूले बनाएको गुँडमा फेरि एउटा जोडी बस्न थाल्यो। मीनु, जसको आँखाले भँगेराको स्वर कल्पनामा सुनेकी थिई, त्यो दिन आँखा खोल्दा साँचिकै गुँडमा चरा देखेकी थिई। उसले ढुकढुकी समाउँदै भनेकी थिई, “यो त… त्यो चिरबिर हो, हैन?”
गाउँमा उत्सवजस्तै वातावरण बन्यो। त्यो चिरबिर अब केवल भँगेराको आवाज थिएन—त्यो त प्रकृतिको पुनरागमन थियो, चेतनाको पुनर्जन्म थियो। अब त्यो चिरबिरले बिहान सुरु मात्र गर्दैनथ्यो, त्यो गाउँलाई फेरि बाँच्ने मार्ग दिन्थ्यो।
तर सबै कुरा सुध्रिएको थिएन। मोबाइल टावर उस्तै उभिएका थिए, खेतमा विषादी अझै छरिन्थे। तर चेतनाको आँधी सुरु भइसकेको थियो। स्कूलमा ‘चरा संरक्षण सप्ताह’ सुरु भयो, रेडियोमा ‘भँगेरा संवाद’ कार्यक्रम गुञ्जिन थाल्यो।
सबैले बुझिसकेका थिए—भँगेराको संरक्षण, केवल चराको होइन, जीवनको, सुन्दरताको, संवेदनाको र आवाजको संरक्षण हो।
त्यो साँझ फेरि आयो—जसरी प्रत्येक दिन सकिन्छ। पहरू दहितले फेरि कापी खोल्दै चिहानघारीको पीपल हेरे, त्यो रूख जुन अब मौन थिएन। हावा गुञ्जिरहेको थियो, र तिनै पातहरू चलिरहेका थिए, जसले भँगेराको स्वागत गरिरहेथिए।
उनले लेखे:
“हामी अघिल्ला पिँढीका गल्ती बिर्सन सक्छौँ, तर पछिल्लो पुस्ताको चिरबिर खोजी एक उत्तर हो—हामी अझै हराएका छैनौँ। जबसम्म एउटा चिरबिर बाँकी छ, तबसम्म गाउँ बाँचिरहेको छ।”
र त्यो बेलुकी, माहाकाली फेरि बगिरहेकी थिई—तर अब शोकको स्वरमा होइन, आशाको सन्देशमा। अनि त्यो चिरबिर… फेरि आयो—हावामा मिसिएको, समयसँग समर्पित, एक सानो पङ्ख, तर विशाल सत्य।
चिरबिर… चिरबिर… जीवन फेरि आयो।