सिन्दूरको युद्ध - Chaitanya News
  • 2026-05-25
  • 03:05:19
  • आइतबार,जेठ १०, २०८३
  • तोमनाथ उप्रेती:

    उपसचिव, नेपाल सरकार:

    “हेर्नुस्, हजुर!
    यो रगत होइन, राष्ट्रको सिन्दूर हो!”
    टीभी च्यानल चिच्याउँछन्,
    ट्रिपल एक्स्ट्रा ब्रेकिङ नारीवाद!
    जब टाउको छुटेका जवानहरूको गन्धमा
    राष्ट्रवाद फूल्छ।
    “२६ जनाको लाशसँग
    एक महिलाको सिन्दूर फर्काइयो!”
    यो सम्झौतामा
    लिंग–न्यायको रिभन काटियो,
    अहिले युद्ध नै फेमिनिज्म भएको छ!
    “अब महिलाहरू पनि बम फ्याँक्छन्,
    हेर्नुस्, कस्तो प्रगति!”
    रातो सिन्दूर छर्केर,
    लाल रक्तपातमा कविता लेखिन्छ,
    जुन कविता
    मातृभूमिको ‘इज्जत’ जोगाउँछ
    लाशको शय्यामाथि।
    राष्ट्रमाता दुर्गा बनेर,
    बन्दूक बोकेर,
    महिला अधिकृत ‘हास्छिन्’ टीभीमा,
    किनकि उनको ‘मुक्ति’
    ट्रिगर थिचेपछि मात्रै मानिन्छ।
    कसैले सोध्दैन–
    “महिला युद्ध गर्छिन्,
    तर के उनीहरू युद्ध चाहन्छिन्?”
    किनकि युद्ध चाहिन्छ राष्ट्रलाई,
    नारीवादको पोस्टर राख्न।
    मुसलमान महिला अधिकृत पनि राखियो,
    वाह, कस्तो बहुलता!
    अब हिन्दु राष्ट्रवाद पनि
    ‘इन्क्लुसिभ’ देखियो,
    तर मुसलमान महिलाको समुदायमाथि
    बम पर्न छोडेन।
    “सिन्दूर फिर्ता ल्यायौं!”
    राष्ट्र चिच्याउँछ,
    “मुक्ति ल्यायौं!”
    राष्ट्र हाँस्छ,
    तर ती महिलाहरूको अनुहारमा
    सवालहरू छन्,
    जो राष्ट्रियता नामक स्प्रेले पोतिन्छन्।
    “सैन्यवाद नै प्रगति!”
    “युद्ध नै मुक्ति!”
    “हत्या नै सम्मान!”
    “बलिदान नै राष्ट्रिय गौरव!”
    यी नारामा,
    फाटेका कपडाको टुक्रा उड्छ,
    अनि त्यो कपडालाई ‘झण्डा’ बनाइन्छ।
    युद्धका ठेकेदारहरू,
    जो देशभक्तिका भाषण दिन्छन्,
    त्यसैको बीचमा
    टीभीमा स्पेशल बुलेटिन आउँछ–
    “महिला सशक्तिकरण!”
    बम वर्षाएर।