लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-24
  • 02:25:04
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    भौगोलिक अवस्था/स्वरुप : किसिम र विशेषताहरु

    नमुना प्रश्न : नेपालको भौगोलिक अवस्थाबारे संक्षेपमा उल्लेख गर्नुहोस् । (५)

    नेपाल दक्षिण एसियामा अवस्थित ईटको आकारमा रहेको भूपरिवेष्ठित मुलुक हो । नेपालको भौगोलिक अवस्थालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • अक्षांश : यो २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशसम्म फैलिएको छ।
    • देशान्तर : यो ८० डिग्री ४ मिनेट पूर्वी देशान्तर देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ ।
    • क्षेत्रफल : नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर रहेको छ ।
    • विश्वमा ओगटेको भू-भाग : नेपालले विश्वको कूल भू-भागको ०.०३% र एशियाको ०.३% भू-भाग ओगटेको छ ।
    • प्रमाणिक समय : नेपालको प्रमाणित समय दोलखा जिल्लामा पर्ने गौरीशंखर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ । यो ग्रिनविच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय वि.सं २०४२ साल बैशाख १ गतेबाट लागू गरिएको हो ।
    • सामुद्रिक दुरता : नेपाल समुद्री किनाराबाट ११२७ कि.मि. टाढा छ ।
    • पूर्व पश्चिम लम्बाई : नेपालको पूर्व पश्चिम लम्बाई ८८५ कि.मि रहेको छ ।
    • उत्तर दक्षिण लम्बाई : नेपालको उत्तर दक्षिण लम्बाई सरदर १९३ कि.मि रहेको छ ।
    • छिमेकी देश : नेपालको पूर्व, पश्चिम र दक्षिणमा भारत पर्दछ भने उत्तरमा चीन पर्दछ।
    • चुचुरा : विश्वका १४ वटा आठहजार भन्दा अग्ला चुचुरा मध्ये नेपालमा ८ वटा पर्दछन्।
    • नदीनाला : नेपालमा ६,००० भन्दा बढी नदिनाला रहेका छन् ।

    अत : नेपाल एसिया महादेशको मध्य भागमा अवस्थित विविधतायुक्त एक सुन्दर मुलुक हो ।

      

    नमुना प्रश्न : धरातलीय स्वरुपको आधारमा नेपाललाई के कसरी विभाजन गर्न सकिन्छ उल्लेख गर्नुहोस् ।(१०)

    नेपाल समुद्री सतहबाट करिब ५९ मि. देखि ८,८४८ मिटर सम्मको उचाईमा अवस्थित छ । धरातलीय स्वरुपको आधारमा नेपाललाई हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजन गर्न सकिन्छ । जसका विशेषताहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।

    • तराई प्रदेश
    • भौगोलिक अवस्थिति : उत्तरमा पहाडी प्रदेश र दक्षिणमा भारतको सीमासम्म पूर्व पश्चिम फैलिएको नेपालको समथर भू-भाग तराई प्रदेश हो।
    • उचाई : समुद्री सतहबाट ५९ मि. देखि ६०० मि. सम्मको उचाईमा रहेको छ।
    • ओगटेको भू-भाग : नेपालको कुल भू-भागको करिब १७ प्रतिशत भू-भाग ओगटेको छ ।
    • चौडाई : यस प्रदेशको चौडाई २५- ३० कि.मि रहेको छ ।
    • वर्गिकरण : यसलाई खास तराई, भावर प्रदेश र भित्री मधेश गरी तीन भागमा वर्गिकरण गरिएको छ ।
    • जनसंख्या : वि.सं २०६८ सालको जनगणना अनुसार यस प्रदेशमा ५०.२५ % जनसंख्याको बसोबास रहेको छ । वि. सं २०७८ सालको जनगणनाको नतिजा अनुसार यस प्रदेशमा नेपालको कुल जनसंख्याको ५३.६१ % मानिसहरु बसोबास गर्दछन् ।
    • जातजाति : यस प्रदेशमा मैथिली, भोजपुरी, अवधि बोल्ले भाषा समुदायको मुख्य बसोबास रहेको छ ।
    • पेशा : यस प्रदेशका कृषी, व्यापार तथा नोकरी मुख्य पेशा हुन् ।
    • धर्म : यस प्रदेशमा हिन्दु, मुस्लिम जस्ता मुख्य धर्म मानिन्छन् ।
    • चाडबाड : छठ, दिपावली जस्ता चाडपर्वहरु यस प्रदेशका मुख्य चाड हुन् ।
    • अन्य विशेषता : उर्बर भुमी, गर्मी वातावरण यस प्रदेशका मुख्य विशेषता हुन्।

     

    • पहाडी प्रदेश

    भौगोलिक अवस्थिति : उत्तरमा हिमाली भू-भाग र दक्षिणमा तराई प्रदेशको बीचमा अवस्थित नेपालको भू-भाग पडाडी प्रदेश हो ।

    • उचाई : समुद्री सतहबाट करिब ६०१ मि. देखि करिब ३००० मि. सम्मको उचाईमा रहेको छ ।
    • ओगटेको भू-भाग : नेपालको कुल भू-भागको करिब ६८ प्रतिशत भू-भाग ओगटेको छ ।
    • चौडाई : यस प्रदेशको चौडाई ७५-१२५ कि.मि रहेको छ ।
    • वर्गिकरण : यसलाई चुरे पर्वत श्रेणी, महाभारत श्रेणी र मध्यभूमि श्रेणी गरी तीन भागमा वर्गिकरण गरिएको छ ।
    • जनसंख्या : वि.सं २०६८ सालको जनगणना अनुसार यस प्रदेशमा ४३.०१ % जनसंख्याको बसोबास रहेको छ । वि. सं २०७८ सालको जनगणनाको नतिजा अनुसार यस प्रदेशमा नेपालको कुल जनसंख्याको ४०.३१% मानिसहरु बसोबास गर्दछन् ।
    • जातजाति : यस प्रदेशमा ब्राम्हण, क्षेत्री, नेवार, तामाङ्ग लगायतका जाती समुदायको मुख्य बसोबास रहेको छ ।
    • पेशा : यस प्रदेशका कृषी, व्यापार तथा नोकरी मुख्य पेशा हुन् ।
    • धर्म : यस प्रदेशमा हिन्दु, बौद्ध, ईसाई जस्ता मुख्य धर्म मानिन्छन् ।
    • चाडबाड : दशै, तिहार,ल्होसार जस्ता चाडपर्वहरु यस प्रदेशका मुख्य चाड हुन् ।
    • अन्य विशेषता : शीतल हावापानी, सुन्दर पहाडी दृष्य यस प्रदेशका मुख्य विशेषता हुन् ।

     

    • हिमाली प्रदेश
    • भौगोलिक अवस्थिति : उत्तरमा चिन र दक्षिणमा पहाडी प्रदेशको बीचमा फैलिएको नेपालको सुन्दर भू-भाग नै हिमाली प्रदेश हो ।
    • उचाई : यो प्रदेश समुद्री सतहबाट करिब ३००० मि. देखि ८,८४८ मि. सम्मको उचाईमा रहेको छ ।
    • ओगटेको भू-भाग : यस प्रदेशले नेपालको कुल भू-भागको करिब १५ प्रतिशत भू-भाग ओगटेको छ ।
    • चौडाई : यस प्रदेशको चौडाई करिब २५- ५० कि.मि रहेको छ ।
    • वर्गिकरण : यसलाई मुख्य हिमालय क्षेत्र, भित्रि हिमाली क्षेत्र र सीमान्त हिमाली क्षेत्र गरी तीन भागमा वर्गिकरण गरिएको छ ।
    • जनसंख्या : वि.सं २०६८ सालको जनगणना अनुसार यस प्रदेशमा ६.७३ % जनसंख्याको बसोबास रहेको छ । वि. सं २०७८ सालको जनगणनाको नतिजा अनुसार यस प्रदेशमा नेपालको कुल जनसंख्याको ६.०८% मानिसहरु बसोबास गर्दछन् ।
    • जातजाति : यस प्रदेशमा शेर्पा, भोटे लगायतका भाषा बोल्ले भाषा समुदायको मुख्य बसोबास रहेको छ ।
    • पेशा : यस प्रदेशका पर्वतारोहण, पर्यटन व्यवसाय, पशुपालन, जडिबुटी संकलन लगायतका मुख्य पेशा हुन् ।
    • धर्म : यस प्रदेशमा हिन्दु, बौद्ध जस्ता मुख्य धर्म मानिन्छन् ।
    • चाडबाड: यस प्रदेशमा बुद्ध जयन्ती, ल्होसार लगायतका चाडपर्वहरु मनाईन्छन् ।
    • अन्य विशेषता : अत्यन्तै चिसो हावापानी, कम उर्बर भूमि, कष्टकर जीवन शैली यस प्रदेशका अन्य मूख्य विशेषता हुन् ।

    अत : नेपाललाई हिमाल, पहाड र तराई गरी तीन भागमा भौगोलिक आधारमा विभाजन गर्न सकिन्छ । यी तीन भागहरुका विशेषता भौगोलिक उचाई र  वातावरण अनुसार फरक- फरक रहेको पाईन्छ ।

     

    नमुना प्रश्न : हिमालीपहाडी र तराई प्रदेशबीचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस्।

    हिमालीपहाडी र तराई प्रदेशबीचको अन्तरसम्बन्ध

    नेपाल दक्षिण एसियामा अवस्थित विश्वकै एक सुन्दर र विविधताले भरिपूर्ण मुलुक हो । यहाँको भौगोलिक स्वरुपलाई हिमाल, पहाड र तराई गरी तीन भागमा छुट्याउन सकिन्छ । भौगोलिक स्वरुप अनुसार यहाँ उपोष्ण, समशितोष्ण र लेकाली एवं टुन्ड्रा हावापानी पाईन्छ । यहाँ रहेको हिमाल, पहाड र तराई बीचको अन्तरसम्बन्धलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • हिमालबाट उत्पन्न भएका नदीहरुले तराई तथा पहाडी उपत्यकाका फाँटहरु सिंचित गरी प्रशस्त खाद्यन्न उत्पादन हुन्छ । तराई तथा पहाडी उपत्यकामा उत्पादन गरिएको खाद्यन्न हिमाली तथा उच्च पहाडी क्षेत्रमा आपूर्ति गरिन्छ ।
    • हिमाली प्रदेशबाट अटुट रुपमा बगेका नदीहरुबाट पहाडमा बिजुली उत्पादन गरी देशैभर बिजुली वितरण गरिएको छ ।
    • तराईमा रहेका उद्योगहरुबाट उत्पादित बस्तुहरु देशैभर उपभोग गरिन्छ ।
    • तराईको गर्मि छल्न तराईका मानिस पहाडी तथा हिमाली क्षेत्रमा जानसक्छन् भने हिमालको जाडो छल्न त्यहाँका मानिसहरु पहाड तथा तराई झर्न सक्छन् ।
    • हिमाली क्षेत्रमा पर्वतारोहण गरी मनोरञ्जन लिन पहाडी तथा तराईका मानिसहरु हिमाली प्रदेश जान्छन् ।
    • तराईमा रहेको लुम्बिनी तथा जानकी मन्दिर लगायतको दर्शन गर्न हिमाली र पहाडी क्षेत्रका मानिसहरु जान्छन् ।
    • त्यस्तै पहाडी क्षेत्रमा रहेको पशुपतिनाथ लगायतका मन्दिरको दर्शन गर्न हिमाल र तराईबाट मानिसहरु आउँदछन् ।

    अत : प्रकृतिले नै नेपालमा रहेको हिमालपहाड र तराई क्षेत्रलाई मानिसको शरीर जस्तै एकढिक्का बनाएको छजसरी मानव शरिरका अंगहरु एक-आपसमा अन्तरनिर्भर छन् उसैगरी हिमालपहाड र तराई पनि आपसमा अन्तरनिर्भर एवं अन्तर सम्बन्धित रहेका छन् ।

     

    मध्यवर्ती मुलुक भन्नाले के बुझ्नुहुन्छ यस्ता मुलुकले भोग्नुपर्ने समस्याहरु उल्लेख गर्नुहोस् । (२+३)

    मध्यवर्ती मुलुक

    • ठूला राज्यहरुको बीचमा अवस्थित सानो राज्यलाई मध्यवर्ती मुलुक भनिन्छ।
    • नेपाल विश्वका दुईवटा ठूला मुलुकहरु चीन र भारतको बीचमा रहेको छ ।
    • नेपाल विश्वका दुई शक्तिशाली एवं भौगोलिक रुपमा ठूला मुलुकको बीचमा रहेकाले यसलाई मध्यवर्ती मुलुकको रुपमा लिईन्छ ।
    • मध्यवर्ती मुलुकका चुनौती र अवसर दुई रहन्छन् ।
    • पर्यटन, वैदेशिक लगानी र व्यापार लगायतका क्षेत्रमा बृद्धिको सम्भावनालाई मध्यवर्ती मुलुकका अवसरको रुपमा लिन सकिन्छ ।

    मध्यवर्ती मुलुकले भोग्नुपर्ने समस्याहरु

    मध्यवर्ती मुलुकले भोग्नुपर्ने समस्याहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • छिमेकी मुलुकबाट समय –समयमा हुने गरेका अनुचित हस्तक्षेप
    • अन्य मुलुकबीचमा नेपालको बढ्दो परनिर्भरता
    • छिमेकी मुलुकमा उच्च व्यापार घाटा रहेको
    • छिमेकी मुलुकबाट सीमा अतिक्रमण हुने गरेको
    • संगठित अपराधमा बृद्धि भएको
    • मुलुकको औद्योगिक उत्पादनमा वाधा सिर्जना भएको

    अत : मध्यवर्ति राज्यमा अवसर र चुनौती दुवै समान रुपमा रहन्छन्।

     

    नमुना प्रश्न : नेपालमा पाईने माटोका प्रकारका बारेमा संक्षेपमा उल्लेख गर्नुहोस् ।

    विभिन्न प्रकृतिक र जैविक तत्वहरु मिलेर बनेको पदार्थ नै माटो हो । यो ठोस तत्व हो । माटोमा उर्वराशक्ति रहेको हुन्छ। पृथ्वीमा एक सेन्टिमिटर माटोको तह बन्न करिब ४०० बर्ष लाग्दछ । नेपालमा विभिन्न प्रकारक माटोहरु रहेको पाईन्छ । जसलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • पाँगो माटो
    • बर्षामा नदीले बगाई ल्याएर थुपारी झारपात कुहिएर बनेको माटो पाँगो माटो हो ।
    • यस्तो माटो तराई प्रदेश र नदी किनाराका अन्य स्थानहरुमा पाईन्छ ।
    • यस्तो माटोमा चुन, फोस्फरस, पोटास आदि पाईन्छ ।
    • यो माटो धान, तोरी, मकै, सनपाट, उखु, सुर्ती आदिको उत्पादनको लागी उपयोगी मानिन्छ ।
    • यो माटो अत्यन्तै उत्पादनशील माटो हो ।
    • बलौटे पत्थरिलो माटो
    • बालुवा, कंकड, पत्थर आदि मिलेर बनेको माटो नै बलौटे पत्थरिलो माटो हो ।
    • यो माटो भावर क्षेत्र, भित्री मधेश र चुरे पहाडमा पाईन्छ ।
    • यस्तो माटोमा कम उब्जाउ हुँन्छ ।
    • यो माटोमा पानी नअडिने हुँदा साल, सिसौ, चाँप जस्ता रुखका लागि उपयोगी हुन्छ।
    • रातो फुस्रो माटो
    • नेपालको महाभारत क्षेत्रमा पाईने माटोलाई रातो फुस्रो माटो भनिन्छ ।
    • यस्तो माटोमा चुन, फोस्फरस, नाईट्रोजन जस्ता खनिज तत्व कम हुन्छ ।
    • यो माटो कोदो, फापर, उखु जस्ता खाद्यन्नका लागि उपयोगी मानिन्छ।
    • यो माटोमा माटोको तह र जैविक पदार्थ कम हुने हुँदा उत्पादन कम हुन्छ ।
    • तलैया माटो
    • ताल सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ ।
    • नेपालका उपत्यकाहरुमा यस्तो माटो पाईन्छ ।
    • यो माटो अत्यन्तै उर्बर माटो हो ।
    • यो माटोमा धान, गहुँ, सागपात, तरकारी आदि अत्याधिक उत्पादन हुन्छ ।
    • हिमाली माटो
    • हिमनदीले थुपारेको बालुवा, कंकड, पत्थर आदि मिलेर बनेको माटो नै हिमाली माटो हो ।
    • यो माटोमा माटोको तह कम हुने हुँदा यसलाई कम उत्पादनशील माटो मानिन्छ।
    • यो माटो हिमाली क्षेत्रमा पाईन्छ ।
    • यो माटोमा फापर, आलु, जौ आदि उत्पादन हुन्छ।

    अत: नेपालको भौगोलिक स्वरुपमा विविधता रहेको पाईन्छ । भौगोलिक स्वरुपको प्रकृतिअनुरुप नेपालको माटोलाई विभिन्न पाँच प्रकारमा विभाजन गर्न सकिन्छ ।

    नमुना प्रश्न : नेपालमा ८ हजार भन्दा बढी उचाई भएका हिमालहरु नामहिमश्रृंखलाउचाई र जिल्ला लेख्नुहोस् । (१०)

    क्र.सं हिमाल नाम हिमश्रृंखला उचाई(मि.) जिल्ला
    १. सगरमाथा खुम्बु/ महालंगुर ८,८४८.८६ सोलुखुम्बु
    २. कञ्चनजंघा कञ्चनजंघा ८,५८६ ताम्लेजुङ्ग
    ३. ल्होत्से खुम्बु/महालंगुर ८,५१६ सोलुखुम्बु
    ४. मकालु कुम्भकर्ण ८,४६३ संखुवासभा
    ५. चोयु खुम्बु ८,२०१ सोलुखुम्बु
    ६. धवलागिरी धवलागिरी ८,१६७ म्याग्दी, मुस्ताङ
    ७. मनास्लु मनास्लु ८,१६३ गोरखा
    ८. अन्नपूर्ण प्रथम अन्नपूर्ण ८,०९१ कास्की

    अत: आठ हजार उचाई माथिका विश्वका ८ वटा उच्च हिमालहरु नेपालमा पर्दछन् ।

     

    नमुना भूपरिबेष्ठित मुलुक भन्नाले के बुझिन्छ भुपरिवेष्ठित मुलुकले भोग्नुपर्ने समस्या र भूपरिवेष्ठित मुलुकका अधिकारहरु उल्लेख गर्नुहोस्। (२+४+४)

    भूपरिवेश्ठित मुलुक

    समुद्रसँग पहुँच नरहेको अर्थात चारै सिमानामा जमिने जमिनले घेरिएको मुलुक नै भूपरिबेष्ठित मुलुक हो ।

    • नेपालमा एक भूपरिवेष्ठित मुलुक हो ।
    • विश्वमा ४४ वटा भूपरिवेष्ठित मुलुकहरु रहेका छन् ।
    • विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित मुलुक कजकस्तान हो भने सबैभन्दा सानो भूपरिवेष्ठित मुलुक भ्याटिकन सिटी हो ।

    भूपरिवेश्ठित मुलुकले भोग्नुपर्ने समस्या

    भूपरिवेश्ठित मुलुकले भोग्नुपर्ने समस्याहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • पारवाहन खर्चिलो हुने
    • बैदेशिक हस्तक्षेप बढ्ने
    • बैदेशिक व्यापारमा समस्या सिर्जना हुने
    • अनावश्यक बैदेशिक दबाबहरु सिर्जना हुने
    • मुलुकको औद्योगिकीकरणमा समस्या हुने
    • आर्थिक विकासको गति मन्द हुने
    • छिमेकी मुलुकले नाकाबन्दी गर्दा समस्या सिर्जना हुने
    • कच्चा पदार्थको अभाव हुने

    भूपरिबेष्ठित मुलुकका अधिकार

    भूपरिवेष्ठित मुलुकका अधिकारहरु देहायबमोजिमका रहेका छन् ।

    • सञ्चारका लाईन तथा पाईपलाईन विस्तार गर्ने अधिकार
    • समुन्द्रसम्म स्वतन्त्रपूर्वक आवागमन गर्न पाउने अधिकार
    • सामुन्द्रिक प्रतिनिधित्वको अधिकार
    • समुन्द्रमा अन्वेषण गर्न पाउने अधिकार
    • राष्ट्रिय झण्डा सहितको सामुन्द्रिक यातायात सञ्चालन गर्न पाउने अधिकार
    • विशेष यात्राको अधिकार
    • कर विशेष सहुलियत पाउने अधिकार

    अत: भूपरिवेष्ठि राष्ट्रको समुन्द्रसम्म पहुँच रहेको हुँदैन । यस्ता राष्ट्रलाई विविध समस्याहरु सिर्जना हुन्छन् । यस्ता राष्ट्रहरुलाई विशेष अधिकारको व्यवस्था विभिन्न अन्तर्राष्ट्रिय अभिसन्धिहरुले गरेका छन्।

     

    नमुना प्रश्न : प्रमाणिक समय भनेको के हो नेपालको प्रमाणिक समयको बारेमा उल्लेख गर्नुहोस् ।(५)

    प्रमाणिक समय

    बेलायतको ग्रीनवीच रेखालाई छोएर गएको ०० देशान्तर रेखालाई आधार मानी निर्धारण गरिएको समयलाई प्रमाणिक समय भनिन्छ ।

    • यो समय १८८४ नोभेम्बर १ शुरु भएको हो ।
    • कुनै पनि क्षेत्रमा लागू हुने आधिकारिक एवं एकल समयलाई प्रमाणिक समयको रुपमा बुझिन्छ ।
    • प्रत्येक राष्ट्रले आफ्नो भौगोलिक बनोटअनुसार अलग-अलग प्रमाणिक समयको निर्धारण गर्दछन् ।

    नेपालको प्रमाणिक समय

    • यो नेपालभर लागु हुने गरी तय गरिएको एकल एवं आधिकारिक समय हो ।
    • दोलखा जिल्लाको गौरीशंकर हिमाल नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय तय गरिएको छ ।
    • नेपालमा प्रमाणिक समय बि.सं २०४२/०१/०१ देखि लागू गरिएको हो ।
    • यो ग्रीनवीच मिनटाईम भन्दा ५ घण्टा ४५ मिनेट छिटो छ ।

    अत: प्रमाणिक समयले कुनै पनि क्षेत्रको एकल एवं आधिकारिक समयलाई जनाउँदछ ।

     

    नमुना प्रश्न : हिमाली प्रदेशलाई के-कसरी विभाजन गर्न सकिन्छ उल्लेख गर्नुहोस् ।(५)

    नेपालको सबैभन्दा उत्तरी भागमा अवस्थित भू-भाग हिमाली प्रदेश हो ।  हिमाली प्रदेशलाई देहायबमोजिम बिभाजन गर्न सकिन्छ ।

    • मुख्य हिमाली क्षेत्र
    • यस क्षेत्रमा आठ हजार भन्दा अग्ला हिमालहरु पर्दछन् ।
    • यस क्षेत्रमा मुख्य हिमालहरु रहेका छन् ।
    • यो क्षेत्र सधै हिउँले ढाकिने क्षेत्र हो ।
    • भित्री हिमाली क्षेत्र
    • यो क्षेत्र मुख्य हिमालयबाट भित्र र तिब्बतको तटबर्ती क्षेत्रबाट दक्षिणतिर रहेको छ ।
    • यो क्षेत्रमा चिसो शीतोष्ण कोणधारी बन पाईन्छ ।
    • जौ, कोदो, आलु जस्ता खाद्यन्न यस क्षेत्रमा पाईन्छन् ।
    • सीमान्त हिमाली क्षेत्र
    • यो तिब्बतको सीमानमा अवस्थित क्षेत्र हो ।
    • यो क्षेत्र हिमाली मरभूमिको रुपमा रहेको क्षेत्र हो ।

    अत: हिमाली प्रदेशलाई मुख्य, भित्री र सिमान्त हिमाली क्षेत्र गरी तीन भागमा विभाजन गर्न सकिन्छ ।

     

    नमुना प्रश्न : पहाडी प्रदेशलाई के-कसरी विभाजन गर्न सकिन्छ उल्लेख गर्नुहोस् । (५)

    उत्तरमा हिमाल र दक्षिणमा तराईबीचमा रहेको नेपालको मध्य भाग पहाडी प्रदेश हो । पहाडी प्रदेशलाई देहायबमोजिम बिभाजन गर्न सकिन्छ ।

    • चुरे पर्वत श्रेणी
    • पहाडी प्रदेशको दक्षिणमा रहेको समुन्द्र सतहबाट ६१० मि. देखि १८७३ मि. सम्मको उचाईमा अवस्थित क्षेत्र चुरे पर्वत श्रेणी हो ।
    • यसलाई चुरिया वा चुरे पर्वत भनिन्छ ।
    • यो क्षेत्रले १२.७ प्रतिशत भूभाग ढाकेको छ ।
    • महाभारत श्रेणी
    • पूर्व पश्चिम फैलिएको समुन्द्र सतहबाट करिब १२००० फिट उचाईमा रहेको क्षेत्र महाभारत श्रेणी हो ।
    • यहाँको हावापानी रमणीय र स्वस्थकर रहने हुँदा यसलाई Hill station पनि भनिन्छ ।
    • यो क्षेत्र होचो हिमालयको नामले समेत परिचित छ ।
    • मध्यभूमि श्रेणी
    • महाभारत पर्वत श्रेणी र हिमालय पर्वत बीचमा रहेका ठुला- ठुला टार, बेंसी र उपत्यकालाई मध्यभूमि भनिन्छ ।
    • यस क्षेत्रले नेपालको करीब २९.५% भूभाग ढाकेको छ ।
    • यस अन्तर्गत काठमाण्डौ तथा पोखरा जस्ता उपत्यकाहरु पर्दछन् ।

    अत: चुरे पर्वत श्रेणी, महाभारत श्रेणी र मध्यभूमि गरी तीन भागमा विभाजन गर्न सकिन्छ ।

     

    नमुना प्रश्न: तराई प्रदेशलाई के-कसरी विभाजन गर्न सकिन्छ उल्लेख गर्नुहोस् । (५)

    नेपालको सबैभन्दा दक्षिणमा अवस्थित क्षेत्र तराई प्रदेश हो । तराई प्रदेशलाई देहायबमोजिम विभाजन गर्न सकिन्छ ।

    • खास तराई
    • देशको सबैभन्दा दक्षिणमा अवस्थित क्षेत्र खास तराई हो ।
    • यो क्षेत्र उर्वर रहेको छ ।
    • यो क्षेत्र भारतसँग जोडिएको छ ।
    • भावर क्षेत्र
    • चुरेमालको दक्षिण र खास तराईको उत्तरमा अवस्थित क्षेत्र भावर क्षेत्र हो ।
    • सो समुन्द्र सतहबाट ३८० मिटर सम्मको उचाईमा अवस्थित छ ।
    • यस क्षेत्रको मुलुकको कुल क्षेत्रफलको ४.५% भू-भाग ओगटेको छ ।
    • भित्रि मधेश
    • चुरे र महाभारत पर्वत श्रेणीको बीचमा समुन्द्र सतहदेखि ६१० मि. उचाईमा रहेको क्षेत्र भित्रि मधेश हो ।
    • यसलाई दून क्षेत्र समेत भनिन्छ ।
    • यसले मुलुकको कूल क्षेत्रफलको ८.५ प्रतिशत भूभाग ओगटेको छ ।
    • यस अन्तर्गत उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी( बर्दघाट सुस्ता पूर्व), दाङ र सुर्खेत जिल्लाहरु पर्दछन् ।

    अत: तराई प्रदेशलाई खास तराई, भावर क्षेत्र र भित्री मधेश गरी तीन भागमा विभाजन गरिन्छ ।

     

    नमुना प्रश्न: नेपालको जनजीवनमा यहाँको भौगोलिक अवस्थाले के-कस्तो प्रभाव पारेको छ उल्लेख गर्नुहोस् । (१०)

    नेपालको भौगोलिक बनोट हिमाली, पहाडी र तराई गरी तीन किसिमको रहेको छ । प्रत्येक भौगोलिक क्षेत्रमा हावापानीको पनि विविधता रहेको छ । यहाँको भौगोलिक अवस्थाले जनजीवनमा पारेको प्रभावलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • हिमाली प्रदेश र जनजीवन
    • यहाँको हावापानी अत्यन्तै शुष्क र ठण्डा रहेकाले जनजीवन कष्ठकर रहेको छ ।
    • यहाँ माटोको तह पातलो रहेकाले कम उब्जाउ हुन्छ । साथै अत्यन्तै चिसो हावापानी रहेकाले खेतिपातीबाट मानिसले जीवन निर्वाह गर्न गार्‍यो हुन्छ ।
    • यहाँ फराकिलो चरण क्षेत्र रहेकाले यहाँका मानिसहरु भेडा, च्याङ्ग्रा, चौरी आदि घरपालुवा जनावरहरु पाल्ने गर्दछन् ।
    • यो क्षेत्र अत्यन्तै सुन्दर रहेको र विश्वका अग्ला हिमशिखर यही क्षेत्रमा रहेकादर् यहाँ ठूलो मात्रामा पर्यटक आउँदछन । र, यहाँका मानिसहरु पर्वतारोहण र पर्यटन व्यवसायमा समेत संलग्न रहेका छन ।
    • यो क्षेत्र अत्यन्तै विकट रहेकाले विकासका क्रियाकलापहरु सञ्चालन गर्न कठिनाई रहेको छ ।
    • विकट क्षेत्र, चिसो हावापानी, विकासको कमी रहेकाले यस क्षेत्रमा जनघनत्व कम रहेको छ ।
    • पहाडी प्रदेश र जनजीवन
    • यहाँ मनोरम हावापानी रहेको छ ।
    • यस क्षेत्रमा धान, मकै, तरकारी प्रशस्त उत्पादन हुँन्छ ।
    • काठ्माण्डौ, पोखरा जस्ता उपत्यकामा तलैया माटो पाईन्छ । जसमा प्रशस्त खाद्यान्न उत्पादन गर्न सकिन्छ ।
    • यहाँको जनजीवन हिमाली प्रदेशभन्दा सहज र सरल छ ।
    • यहाँ खेतीपाती, पशुपालन, व्यापार र नोकरी जस्ता पेशा अपनाईन्छ ।
    • शितल हावापानी, सहज जीवनयापन र यथेष्ट स्रोतसाधनका कारण यहाँ हिमाली प्रदेशको तुलनमा उच्च जनघनत्व रहेको छ ।
    • तराई प्रदेश र जनजीवन
    • तराई प्रदेशमा उर्वर भूमि रहेको छ ।उर्वर भूमिका कारण ठूलो जनसंख्याले कृषि पेशा अंगालेको छ ।
    • यहाँ धान, मकै, गहुँ, उखु, सनपाट जस्ता कृषी उपजहरु उत्पादन गरिन्छन् ।
    • समथर भूमि र उद्योगका लागि कच्चापदार्थको उपलब्धता हुने भएकाले मुलुकका अधिकांश उद्योगहरु यही प्रदेशमा अवस्थित छन् ।
    • यहाँ उष्ण मनसुनी हावापानी पाईन्छ ।
    • यो क्षेत्र अन्नको भण्डार रहेको, समथर भूभाग भएको र यस क्षेत्रमा सहज जीवनयापन रहेकाले यहाँ मुलुककै उच्च जनघनत्व रहेको छ ।

    अत: नेपालमा भौगोलिक विविधता रहेको छ । भौगोलिक विविधता अनुरुप यहाँको जीवनशैली पनि फरक-फरक रहेको छ ।

    नमुना प्रश्न : सगरमाथाको बारेमा संक्षेपमा लेख्नुहोस् । (५)

    • सगरमाथा विश्वको सर्वोच्च शिखर हो ।
    • यसको उचाई समुन्द्री सतहबाट ८८४८.८६ मि. रहेको छ ।
    • सगरमाथा नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित छ ।
    • यो खुम्बु हिमश्रृंखलामा रहेको छ ।
    • यो शिखरमा सर्वप्रथम सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ्ग नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एममण्ड हिलारीले सफल आरोहण गरेका थिए ।
    • सन् १९५६ मा १५ औं चुली नाम रहेको यो शिखरलाई नेपालका ईतिहास शिरोमणी बाबुराम आचार्यले “सगरमाथा” नामाकरण गरेका थिए ।
    • बेलायका सर्भेयर जर्ज एभरेष्टको नाममा सन् १८६५ मा यसलाई माउण्ट एभरेष्ट नामाकरण गरिएको हो ।
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100