जम्मा एउटा अक्षर पढेर अथाह ज्ञान बटुलेका बुल्ले शाह - Chaitanya News
  • 2026-07-17
  • 01:54:52
  • बिहिबार,आषाढ ३२, २०८३
  • जम्मा एउटा अक्षर पढेर अथाह ज्ञान बटुलेका बुल्ले शाह

    जम्मा एउटा अक्षर पढेर अथाह ज्ञान बटुलेका बुल्ले शाह

    १७औँ शताब्दीको अन्तिम दशकमा पन्जाबको एक धार्मिक विद्यालयमा भर्ना भएका धेरै विद्यार्थीमा एकजना अनौठा विद्यार्थी आइपुगे। गुरुहरूले उनलाई अरबी वर्णमालाको पहिलो अक्षर ‘अलिफ’ (أ) बाट सिकाउन सुरु गरे। उनको कक्षाका अन्य सबै साथीले पूरै वर्णमाला सिक्ने काम सफलताका साथ पूरा गरे। तर उनी जम्मा त्यही ‘अलिफ’मै अड्किए।

    हप्ता बित्यो, वर्ष बित्यो तर उक्त विद्यार्थीमा कुनै प्रगति देखिएन। शिक्षकले थाहा पाए कि उक्त बच्चा पहिलो अक्षर ‘अलिफ’भन्दा अगाडि बढ्नै सकेन। उनीहरूले त्यो बच्चाको मानसिक विकासमै शंका गरे। उसलाई आफ्नो आमाबाबुलाई सुम्मेर घर फर्काइयो। बा–आमासामु उनीहरूले भनेका थिए, ‘तपाईंको छोरा असाध्यै कमजोर छ । हामी उसलाई सिकाउन सक्दैनौँ।’

    फेरि पनि आमाबाबुले उनलाई उचित शिक्षा दिन सक्दो प्रयास गरे। उनीहरूले उनलाई पटक–पटक गरेर विभिन्न शिक्षकको रेखदेखमा राखे, परन्तु उनले कुनै प्रगति गरेनन्। उनीहरू धेरै निराश थिए। उनीहरूको छोरा नै घरबाट भागेर हिँडे। आफ्नै परिवारका लागि बोझ हुनु नपरोस् भन्ने मनसायका साथ उनी भागेका थिए। घर छाडेपछि उनी केही समय जङ्गलमा बसे। यस क्रममा उनले जंगलका बोट–बिरुवा, घाँसपात, रूखका हाँगा, फलफूल र फूलहरू सबैमा त्यही उनले पढेको जम्मा एक अक्षर अनुभव गर्न थाले। बिस्तारै उनले कीटाणु, कीरा फट्याङ्ग्रा, चरा र जनावरमा पनि उही अलिफ देखेको अनुभव गर्न थाले। उनलाई यो समस्त चराचर नै त्यही अलिफबाटै बुझ्न सकिने लाग्न थाल्यो।

    यस्तो अनौठो र रहस्यमय अनुभूति भएपछि उनी आफ्नो गाउँ फर्किए। आफूलाई विद्यालयबाट निष्कासन गर्ने शिक्षकलाई सम्मान व्यक्त गर्न उनको घरमै गए। उनले आफ्नो पुरानो सन्दर्भ सम्झाएर आफूलाई चिनाए। साथै आफूले थाहा पाएको कुरा सुनाउन अनुमति मागे। ती वृद्ध शिक्षकले अनुमति दिए।

    आफ्नो मन्दबुद्धि भएको विद्यार्थीको चर्तिकला देखेर शिक्षकलाई मनमनै हाँसो उठिरहेको थियो। विद्यार्थीले शिक्षकसँग आफूले जानेका कुरा लेख्न अनुमति मागे। शिक्षकले मजाकमा आफ्नो छेउमा रहेको भित्तामा लेख्न भने। लगत्तै विद्यार्थीले भित्तामा अलिफको ठुलो चिह्न बनाए र विभिन्न भागमा बाँडेर यसको व्याख्या गर्न थाले। अद्भुत चमत्कार देखेर शिक्षक छक्क परे। शिक्षकले भने ‘ओहो’ जम्मा एउटै अक्षरबाट तिमीले यस्तो अद्भुत कुरा सिकेछौ। मेरा सारा किताबको अध्ययनभन्दा धेरै त एउटै अक्षरले बतायो। अब मलाई पनि सिकाउ !’

    त्यसपछि त्यी विद्यार्थीले यो गीत गाए :

    अरे साथी ! अब पढ्न छाडिदेउ यार !
    जम्मा एक अक्षर ‘अलिफ’ भए तिमीलाई पुग्छ ।

    पढ्दा–पढ्दा, लेख्दा–लेख्दा मेरो दिमाग भरिइसक्यो,
    यी अनेक किताबले मेरो कोठा भरिइसक्यो ।

    यी अनेक झुटा कुराले ज्ञानलाई छोपिसक्यो
    हद भयो ! सही ज्ञानका लागि तिम्रो झुटो पढाइ अब त्याग यार ।

    यो कथा प्रख्यात सुफी सन्त कवि, रहस्यवादी दार्शनिक बुल्ले शाहको हो।

    यो कथा ३०० वर्षभन्दा पुरानो हो। १७औँ शताब्दीको अन्त्य तथा १८औँ शताब्दीको सुरुवातमा उत्तर पश्चिमी भारतीय भूगोलमा धर्म र संस्कृतिको भेदका आधारमा हिंसात्मक घटना सामान्यजस्तै हुन थालिसकेका थिए। मुगल साम्राज्य कमजोर बन्दै गएको त्यस समयमा क्षेत्रीय राजनीतिक शक्तिहरू टाउको उठाउन थालिसकेका थिए।

    पन्जाबी गीतमा प्रेम, जीवन र शान्तिको सन्दर्भ आउँदा बुल्ले शाहको नाम असाध्यै सम्मानका साथ प्रयोग गर्ने गरिन्छ। पन्जाबी समाजका क्रान्तिकारी दार्शनिक, समाज सुधारक, धर्ममा विद्यमान गलत तत्त्वका प्रखर आलोचक, लोक शैलीमा साहित्य रचना गर्ने शाहलाई ‘जनताको कवि’ भनेर समेत सम्बोधन गर्ने गरिन्छ।

    दक्षिणमा मराठा, पश्चिममा शिख तथा राजपुतहरूले आफ्नो स्वतन्त्रताको दाबी गर्न थालिसकेका थिए। पर्सियाली शासक नादिर शाह तथा दुरानीले हिन्दुस्तानमा हमला गर्ने गरेका थिए। अफगानी शासकको नजर पनि कमजोर हुँदै गरेको दिल्लीदरबार नियन्त्रित क्षेत्रमा पर्न सुरु भएको थियो। अंग्रेजहरू भारतको उत्पादन, सुन र जनसंख्याको महत्त्व ठम्याएर आफ्नो पन्जा फैलाउन थालिसकेका थिए।

    उनको जन्म सन् १६८० मा हाल पाकिस्तानको पन्जाबमा पर्ने तत्कालीन मुगल पन्जाबको उच भन्ने ठाउँमा बस्ने सैयद परिवारमा भएको थियो। उनको परिवारले आफूलाई पैगम्बर मोहम्मदको वंशकै निरन्तरता भएको दाबी गथ्र्याे। तत्कालीन समाजमा सैयदहरूको सामाजिक हैसियत अरु समुदायको तुलनामा माथिल्लोमा गनिन्थ्यो । पन्जाबको कुनै अर्काे ठाउँ पान्डोकेस्थित मस्जिदमा धर्मगुरुका रूपमा उनका बाबु जानुपर्ने भयो। उनी पनि सँगै नयाँ ठाउँमा पुगे । उनको हुर्काइ त्यही नयाँ ठाउँमा भयो।

    आफ्नो ज्ञानको खोजका क्रममा घरबाट भागेर गएको केही समयपछि फर्केका उनी फेरि लाहोर गए र प्रख्यात आध्यात्मिक गुरु इनायत शाहको शिष्य बने। इनायत शाह तत्कालीन सामाजिक प्रबन्ध अनुसार तल्लो समुदायका मानिन्थे। निम्न जातिका भनिने व्यक्तिको बुद्धिको पछाडि दौडिएको भनी आफन्तले बुल्लेलाई रोक्न खोजेका थिए। तर बुल्लेले आफ्ना आफन्तको कुरालाई खासै ध्यान दिएनन् तथा पूर्ण रूपमा इनायत शाहको उपदेशमा डुब्न थाले। यिनै गुरुको निर्देशनमा बुल्लेले शब्दहरूमार्फत सत्य खोज्ने आफ्नो पुरानो प्रयास त्यागे। अब उनलाई साँचो प्रेमको अनुभव हुन थाल्यो। उनको आफ्नै शब्दमा उनी एकताको सागरमा प्रवेश गरे।

    बुल्ले शाहले यो अवधिमा धेरै कविता लेखे। कवितामा उनले परम ईश्वरीय तत्त्वसँग एकाकार भएको, प्रेमले भरिपूर्ण भएको तथा चरम शान्तिको अनुभवलाई लेखेका छन्। धेरै कवितामा उनले भगवानप्रतिको प्रेमले आफूलाई यति आमूल परिवर्तन गरेको तथा उसको व्यक्तिगत अहंकार पूर्ण रूपमा समाप्त भएको घोषणा गरेका छन्। धर्मको विवाद तथा राम्रो र खराबको सबै विवाद एकपटक र सदाका लागि गायब भएको बोध उनले गरेका थिए।

    उनले आफ्नो एउटा कवितामा लेखेका छन् :

    तिमी आफ्नो द्वैधता हटाऊ र सबै झमेलाबाट बाहिर निस्क, 

    हिन्दू र मुस्लिम भन्नु पनि त्यही एउटैको फरक नाम हो ।

    सबैलाई असल सोच, त्यहाँ कोही पनि फटाहा छैनन् । 

    यी प्रत्येकको शरीरमा उहाँ स्वयं बास गर्नुहुन्छ ।

    जादुगरले जस्तो मखुन्डो लगाएको मात्रै हो !

    उनका प्रायः कृति मौखिक परम्पराद्वारा संकलन गरिएका हुन्। जुन पछि उनका अनुयायीले लिपिबद्ध गरेका हुन्। तत्कालीन समयमा कविता, काफी, सिहरफी, दोहा र बारहमाहाजस्ता रचनामार्फत उनले धेरै शक्तिशाली अभिव्यक्ति दिएको भेटिन्छ। उनका धेरै कवितामा धेरै प्रतीकको प्रयोग गरिएको छ। ‘राँझा र हीर’को सम्बन्धलाई आत्मा र भगवानको मिलनको प्रतीकका रूपमा प्रयोग गरिएको छ।

    कवितामार्फत उनले धार्मिक गुरुहरू तथा प्रभुत्वशाली सामाजिक मान्यताको ढोँगलाई प्रश्न गर्ने गरेका छन्। उनका कवितामा धार्मिक अतिवादको गहिरो खण्डन भेटिन्छ। जस्तै : उनले एक कवितामा लेखेका छन् :

    मन्दिर भत्काउ, मस्जिद भत्काउ, भत्काउन सकिने जति सबै भत्काउ,

    तर कसैको मन कहिल्यै नभत्काउ, त्यहाँ ईश्वर बसेका हुन्छन्। 

    उनका काफीहरू पनि उत्तिकै प्रसिद्ध छन्। काफी भनेको परम्परागत शैलीको पन्जाबी र सुुफी कविता हो। उनका लोकप्रिय काफीहरूमा ‘बुल्ला की जाना मैन कौण’ (बुल्ला, म को हुँ भन्ने कुरा म आफैँलाई थाहा छैन), ‘राँझा राँझा गर्दी नी, मैन आपे राँझा होई’ (राँझाको नाम जप्दाजप्दै म आफैँ राँझा भएँछु), ‘अलिफ अल्लाह चमबे दी बुटी’ (मेरो हृदयमा ईश्वरको नामको बिउ रोपिएको छ) जस्ता पर्छन्।

    सुफी संगीत, बलिउडका गीत वा हिन्दुस्तानी संगीतमा रुचि हुने हर–कोहीले बुल्ले शाहको नाम सुनेका हुन्छन्। खास गरेर पन्जाबी गीतमा प्रेम, जीवन र शान्तिको सन्दर्भ आउँदा बुल्ले शाहको नाम असाध्यै सम्मानका साथ प्रयोग गर्ने गरिन्छ। पन्जाबी समाजका क्रान्तिकारी दार्शनिक, समाज सुधारक, धर्ममा विद्यमान गलत तत्त्वका प्रखर आलोचक, लोक शैलीमा साहित्य रचना गर्ने शाहलाई ‘जनताको कवि’ भनेर समेत सम्बोधन गर्ने गरिन्छ। आजपर्यन्त उनका रचना, उनका वैचारिक पक्षधरता र साहित्यको चर्चा कम भएको छैन।

    उनका रचनालाई आवाज दिने व्यक्तिहरूको सूचीमा नुसरत फतेह अलि खान, अबिदा प्रविन, नुर जहाँजस्ता विश्वविख्यात कलाकार पर्छन्। बुल्ले शाहलाई भारतको इतिहासमा पुनर्जागरणको प्रतीकका रूपमा पनि सम्मान गर्ने गरिन्छ।

    त्यो समय एक–अर्कासँग लडिरहेका विविध धार्मिक समुदाय र शासकलाई धर्मको आधारभूत सारबारे उनका कविताले बुझाउँथे; प्रेम र एकताको बाटोमा लाग्न प्रेरित गर्थे। भाषागत रूपमा उर्दु र पन्जाबी तथा धार्मिक समुदायका रूपमा हिन्दु, शिख र इस्लाम सबै समुदायमा उनका शक्तिशाली रचनाले ठुलो प्रभाव पार्‍यो। यस्तो प्रभाव आजपर्यन्त कायम छ। उनका कविता र अन्य रचना कब्बाली गायकहरूले असाध्यै श्रद्धासाथ गाउने गर्छन्। दक्षिण एसियाका हिन्दी, पन्जाबी, उर्दु लगायत भाषामा हुने गीतमा प्रेम, शान्ति र एकताको भाव व्यक्त गर्न बुल्ले शाहलाई सम्मानित विम्बकै रूपमा प्रयोग गर्ने चलन छ।

    धार्मिक अतिवाद, ध्रुवीकरण र उदाउँदो फासीवादको आजको युगमा धार्मिक कट्टरता र पाखण्डविरुद्ध सिर्जना गर्ने, प्रेम र स्वतन्त्रताको गीत गाउने बुल्ले शाह पक्कै सान्दर्भिक हुन सक्छन्। समाचार एजेन्सीबाट सावार