उपसचिव,नेपाल सरकार
विषय प्रवेश:
दर्शन वास्तविक र सत्य ज्ञानको महत्त्वपूर्ण सिद्धान्त हो, जसले समग्र जीवन र जगतको व्याख्या गर्दछ । दर्शन अनुसन्धानहरूको पनि अनुसन्धान हो, जसले प्रमाण र सत्य तथ्यको मात्रै व्याख्या गर्दछ र मनमा उत्पन्न हुने विभिन्न जिज्ञासा र तर्कहरूको समाधान दिन्छ । यसले कुनै पनि विषयवस्तुको व्याख्या र विश्लेषण गर्ने, समस्यामाथि चिन्तन मनन गर्ने र सप्रमाण सिद्धान्त जारी गर्ने जस्ता कार्यहरू गर्दछ। सत्यको सिद्धान्तको व्याख्या गर्ने, ज्ञानका स्रोतको बारेमा व्याख्या गर्ने, मूल्यका सिद्धान्त र तर्कहरू पुष्टि गर्ने कार्य दर्शनले गर्दछ । जसलाई तत्व मिमांसा वा मेटाफिजिक्स, ज्ञान शास्त्र वा एपिस्टेमियोलोजी, मूल्यशास्त्र वा एक्जियोलोजी र तर्कशास्त्र वा लजिक पनि भनिन्छ । यी क्षेत्रका पनि अनेक उपक्षेत्र पनि छन्, जसले सृष्टि विज्ञान, धर्मशास्त्र, मानिसको स्वरूप, वास्तविकता र पहिलो पदार्थका बारेमा अनेक व्याख्या गरेको छ । त्यस्तै, मानिसको ज्ञान ईश्वरीय वाणीबाट र धर्मग्रन्थबाट, आधिकारिक विज्ञबाट, अन्तरमनले देखेर, तर्क र अनुभव जस्ता माध्यमले प्राप्त हुन्छ भनी दर्शनशास्त्रले व्याख्या गर्दछ ।दर्शनलाई सरसर्ती अध्ययन गर्दा पूर्वीय र पाश्चात्य दर्शन भनी वर्गीकरण गरेर अध्ययन गर्न सकिन्छ । पाश्चात्य दर्शन युरोप तथा पश्चिमी क्षेत्रबाट प्रतिपादित दर्शन हो भने एसिया तथा महाभारत क्षेत्र (भारतवर्ष वा पाकिस्तान, नेपाल, बंगलादेश र भारत) बाट प्रतिपादित र विकसित गरिएको दर्शन पूर्वीय दर्शन हो भनेर मानिएको छ ।संस्कृतमा दर्शनलाई दृश्यते अनेन इति दर्शनम् भनिएको छ । यसको अर्थ देखिएको वस्तुको अर्थ निकाल्नु वा त्यस्तो हेराई, जसले सम्पूर्णताको अध्ययन गरी साकार परिणाम दिन्छ भने त्यो दर्शन हो भन्ने बुझिन्छ । यस लेखमा पर्वीय दर्शनको दार्शनीक पक्ष ,पूर्वीय दर्शन तथा सभ्यताको आधारभुत सिद्धान्त, शासन प्रकृयामा पुर्वीय दर्शनका मुल्य मान्यताको वारेमा विश्लेषणत्मक प्रस्तुती गरिएको छ ।
वेद र वैदिक संस्कृति:
वेद शब्दको उत्पत्ति संस्कृत भाषाको ‘विद मूलबाट भएको हो, जसको अर्थ ‘ज्ञान प्राप्ति वा ‘जान्ने प्रक्रिया हो। वेद कुनै साधारण पुस्तक होइन, यो वैदिक संस्कृतिको प्राचीनतम ग्रन्थ हो र यसमा मानवता र जीवनका बारेमा गहिरो दार्शनिक र आध्यात्मिक विचारहरू पाइन्छ। वेदको शिक्षा र सन्देश समाजको प्रत्येक क्षेत्रसँग गहिरो सम्बन्धित छ । मानव समाजको आदर्श र संस्कृतिको दर्शन वैदिक साहित्यम पाइन्छ वेद शब्दको मूल अर्थ ज्ञानसँग सम्बन्धित छ। यसको अध्ययनले समग्र जीवनको अवधारणा र सामाजिक संरचनाबारे पनि गहिरो जानकारी प्राप्त हुन्छ। वैदिक संस्कृतिमा जीवनका वेदमा मानव जीवनका समस्याहरूको समाधान, व्यक्तिगत विकास, र सामाजिक समृद्धिको मार्गदर्शन गरिएका छन्। वेदमा जीवनका विविध पक्षहरूको वर्णन गरिएको छ। व्यक्ति र समाज बीचको सम्बन्ध, सृष्टिका आदि र अन्त्य, नैतिकता र नैतिक आचार, सामाजिक न्याय र समरसता, र आध्यात्मिक उन्नति आदि विषयहरू वेदका रचनामा समाहित गरिएको छ। यस दृष्टिकोणबाट, वेद केवल धार्मिक शिक्षा मात्र होइन, समग्र समाजका लागि जीवनको सम्पूर्ण मार्गदर्शन समेत हो।
वैदिक समाजको संरचना:
वैदिक समाज अत्यन्त विकसित र सुसंस्कृत थियो। समाजका प्रत्येक सदस्यको भूमिका र कर्तव्य प्रष्ट थियो। ऋग्वेदमा समाजको आधारभूत संरचना र कर्तव्यका बारेमा उल्लेख छ। वैदिक समाजमा चार प्रमुख वर्णहरू थिएः ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र। यी वर्णहरू समाजको विभिन्न भागलाई प्रतिनिधित्व गर्थे, र प्रत्येकका आफ्ना जिम्मेवारीहरू थिए।
ब्राह्मणः धार्मिक र शिक्षण कार्यमा संलग्न ब्राह्मणहरू वेदको अध्ययन र साधनामा प्रवीण थिए। उनीहरू समाजलाई धर्म र नैतिकताका शिक्षाहरू दिन्थे।
क्षत्रियः युद्ध र सुरक्षा प्रदान गर्ने कार्यमा लागेका क्षत्रिय समाजको रक्षाकर्मी थिए। उनका मुख्य कर्तव्य राज्यको रक्षा गर्नु र समाजको सुरक्षा गर्नु रहेको थियो ।
वैश्यः कृषि, व्यापार, र धनसंग्रहमा लागेका वैश्यहरूले समाजको आर्थिक पक्षको मजबुती प्रदान गर्थे।
शूद्रः शूद्रहरू अन्य वर्णका सेवा गर्ने कार्यमा संलग्न थिए। यद्यपि उनीहरूको जीवन कष्टमय थियो, तर वेदिक समाजमा उनको महत्वपूर्ण भूमिका रहेको थियो।
वेदिक समाजमा प्रत्येक सदस्यको कर्तव्य र अधिकारका बारेमा प्रष्ट निर्देशिका पाइन्छ। समाजका प्रत्येक सदस्यको आफ्नो कर्तव्य निर्वाह गर्दा समाजको समृद्धि र विकास सुनिश्चित गर्न सकिन्छ भन्ने विश्वास थियो। यसले समाजमा शान्ति र समरसता ल्याउँथ्यो।
प्रत्येक वैदिक शिक्षाले भनेको छ कि मानिस जन्मदेखि मृत्युसम्म समाजमा आफ्नो कर्तव्य पालन गर्दै समाजको अंगको रूपमा काम गर्छ । सामाजिक जीवनका पक्षहरू – परिवार, समाज, र राष्ट्र – परस्पर निर्भर छन् र एक अर्कालाई सहयोग गर्ने आधारमा काम गर्छन्। यदि व्यक्तिगत र सामाजिक पक्षबीच मेलमिलाप हुन्छ भने मात्र समाजको समृद्धि र शान्ति सम्भव छ। व्यक्तिगत जीवनको परिपूर्णता भनेको मानवका नैतिक र आध्यात्मिक कर्तव्यहरूको पालन गर्नु हो, जुन वेदमा प्रष्ट उल्लेख गरिएको छ । व्यक्तिगत जीवन र समाजिक जीवन बीचको समानता, मेलमिलाप र सहयोगको आवश्यकता वेदमा विशेष गरी उल्लेखित छ। समाजमा हर व्यक्ति आफ्नो कार्यमा उत्कृष्टता प्राप्त गर्ने उद्देश्य राख्दै आफ्नो धर्मपालन गर्दछ।
समाजमा प्रत्येक व्यक्तिको कर्तव्य हुन्छ र व्यक्तिले पालना गर्नुपर्ने यी कर्तव्यहरू वेदमा विशेष रुपमा व्यक्त गरिएका छन्। त्यस्ता कर्तव्यहरूले समाजलाई उन्नति र समृद्धिको मार्गमा डोहरयाएर आफ्नो व्यक्तिगत र सामाजिक जीवनमा परिपूर्णता प्राप्त गर्न मद्दत गर्दछ । यसका अतिरिक्त, वेदमा शान्ति, प्रेम र सहयोगको शिक्षा वोध छ । यस प्रकार, वेद व्यक्तिगत र समाजिक जीवनको समन्वय र सामंजस्यको मार्गदर्शक हो।
ऋग्वैदिक समाजको समृद्धि र सुसंस्कृतता
ऋग्वेद, जो वेदको प्रमुख ग्रन्थ हो, जसले वैदिक समाजका विभिन्न पक्षहरूको वर्णन गर्दछ । ऋग्वैदिक समाज अत्यन्त सुसंस्कृत र समानता आधारित थियो। समाजका विभिन्न वर्गहरूको सहअस्तित्व थियो र प्रत्येक वर्गको सम्मान गरिएको थियो। धार्मिक अनुष्ठानहरू, संस्कारहरू र कृत्यहरूको पालन गर्दा समाजमा एकता र सहिष्णुता कायम थियो। ऋग्वेदका मन्त्रहरू एकतावाद र समुदायको महत्वमा आधारित थिए। यसमा व्यक्तिको व्यक्तिगत उन्नति र समाजको सामूहिक समृद्धि दुवैको समन्वय गरिएको थियो। उदाहरणका लागि, ऋग्वेदका मन्त्रहरूमा प्रार्थना गरिएको छ कि समग्र समुदायले समृद्धि प्राप्त गरोस् र प्रत्येक व्यक्ति आफ्नो जीवनमा नैतिकता र उच्च उद्देश्यको पालन गरोस्।
समाजमा धर्म र नैतिकताको पालन गर्दा मात्र व्यक्तिगत र सामाजिक जीवनमा शान्ति र समृद्धि सम्भव हुन्छ भन्ने विचार वेदमा प्रकट गरिएको छ। यस प्रकार, वेदिक समाजले मात्र भौतिक सुखका कुरा गरेन, बरु यसले आध्यात्मिक विकास र समाजिक न्यायको पनि समर्थन गर्यो। वेद र वैदिक समाज हाम्रो इतिहास र संस्कृति को महत्वपूर्ण अंश हो। यसले जीवनका प्रत्येक पक्षको गहिरो ढंगले बुझ्न मदत गर्छ। व्यक्तिगत र सामाजिक जीवन बीचको समन्वय, धार्मिक र नैतिक शिक्षाहरू, र समाजको प्रत्येक सदस्यको कर्तव्यको पालन गर्दा मात्रै समाजको समृद्धि र शान्ति सम्भव हुन्छ । वैदिक समाज अत्यन्त सुसंस्कृत र आदर्श समाज थियो, जसले अहिलेको समाजलाई मार्गदर्शन दिने श्रोतको रूपमा कार्य गर्दछ। वेदको शिक्षाले हामीलाई यो सिकाउँछ कि यदि हामी समाजमा सामूहिकता र एकता कायम राख्न चाहन्छौं भने, हामीले व्यक्तिको आत्मनिर्भरता र सामूहिक हितलाई समान रूपमा महत्त्व दिनुपर्छ।
पर्वीय दर्शनको आधारभुत मुल्यहरु
पूर्वीय दर्शनले पूर्वी तथा दक्षिण एसियामा उत्पत्ति भएका दर्शनहरूलाई जनाउँदछ । खासगरेर हिमवत्खण्ड तथा यसका दक्षिणी भेगका दार्शनिक चिन्तन नै पूर्वीय दर्शनका रूपमा स्थापित भएका हुन्छ। पूर्वीय दर्शनमा नास्तिक र आस्तिक दर्शन भनी विभाजन गर्ने गरिन्छ । भारतवर्ष भनेर चिनिने दक्षिण एसिया क्षेत्रमा उत्पत्ति भएका हिन्दु दर्शन, जैन दर्शन र बौद्ध दर्शन बढी प्रभाव भएका पूर्वीय दर्शन हुन्, जसको ठूलो प्रभाव दक्षिण एसियाका अलावा दक्षिणपूर्वी एसिया, तिब्बत र मंगोलियामा समेत छ । भारत वर्षमा विकसित भएको वा भारतीय दर्शनलाई नै पूर्वीय दर्शन भनिन्छ । पूर्वीय दर्शन अन्तर्गतको मुख्य दर्शन नै हिन्दू दर्शन हो । यस दर्शनले कर्म सदाचारयुक्त बनाउनमा सहयोग गर्दछ । पूर्वीय जीवन पद्धतिमा सदाचार मानिसको वैयक्तिक, पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनको अंग हो ।नेपाल परापूर्वकालदेखि नै एक धार्मिक तपोभूमिको रूपमा स्थापित भएकाले नेपाली समाजमा संस्कार र संस्कृतिको बढी प्रभाव रहेको पाइन्छ । आजपनि पूर्वीय परम्परा अनुसार पूजापाठ, धर्मकर्म, सामाजिक सहकार्य र आत्मज्ञानका लागि ईश्वरीय शक्तिको उपासना गर्ने जस्ता कार्यहरु नेपाली समाजमा जीवन्त छन् । स्वालम्बी बन्ने, परोपकार गर्ने,सबै प्राणीलाई दया गर्ने, उपयुक्त आहारको मात्र खानपिन गर्ने र अचारविचार असल बनाउने जस्ता वैदिक दर्शनका उपदेशहरू अभ्यास भइरहेको पाइन्छ। हिन्दु र बौद्ध धर्म एवम् दर्शनलाई प्राथमिकता दिएर सोही अनुसार नै चाडपर्व मनाउने, योग ध्यान गर्ने, सत्यको अवलम्बन गर्ने र बौद्ध परम्परा अनुरूप आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलमा आधारित भएर विभिन्न क्रियाकलापहरु गरिन्छन् । आयुर्वेद, योग, विपश्यना, शाकाहारी जीवनशैलीप्रति जनचासो वर्षहरूमा बढ्दो क्रममा देखिन्छन् ।
दर्शन जगत् र जीवनलाई डो¥याउने एक वैज्ञानिक बाटो हो । जति पनि सांसारिक क्रियाकलाप र पूर्ण वा अपूर्ण ज्ञानहरू अस्तित्वमा छन्, ती सबैको उद्गमस्थल र समस्या समाधानको बाटो नै दर्शन हो । व्यक्तिले यस संसारमा जे जति क्रियाकलाप गर्छ र आफ्नो ज्ञानको सदुपयोग गरी स्थापित हुन खोज्छ, त्यो कुनै न कुनै दर्शनमा आधारित भएरै गरेको हुन्छ । अझ शिक्षा क्षेत्रमा दर्शन नै मुख्य मियो र शैक्षिक गतिविधि त्यसमा घुम्ने वस्तु हुन् भनेर बुझ्न सकिन्छ ।यद्यपि विभिन्न प्रणालीहरूले आफ्नो–आफ्नो ज्ञानमीमांसाका अनुसार मोक्षको अलग अलग कल्पनाको छ, तथापि अज्ञान, दुःखबाट मुक्त हुन सक्छ। दर्शनमा टेकेर नै शैक्षिक उन्नति, प्रगति र विकास सम्भव भएको हो ।
युरोपीय महाद्वीपदेखि पूर्वतर्फका दार्शनिकहरूको चिन्तन भएको हुनाले यस क्षेत्रका दार्शनिक चिन्तनलाई पूर्वीय दर्शन भनिएको हो । पूर्वीय दर्शनलाई जुनसुकै नामले विश्लेषण गरिए पनि यसले जीवन र जगत सत्य छ, शक्ति नै सर्वोपरि छ, जीवन र जगतमा संसार अडेको छ, हामी मानव भगवानका सिर्जना हौं, शरीर मरणशील छ, आत्मा अमर छ, मानवीय असल कर्मले नै उसलाई जीवन र जगतको नजिक पु–याउँछ भन्ने मान्यता लिएको छ । धर्म, संस्कार, संस्कृतिक सभ्यता, कला, वेद, प्रकृतिमा आधारित चिन्तन परम्परालाई पूर्वीय चिन्तन भनिन्छ ।
वास्तवमा मानवीय जीवन अत्यन्तै सुन्दर छ । अरु जीवहरुले बुझ्न, देख्न र भोग्न नपाएको जीवन मानव मात्रले पाएको छ । यस्तो अनुपम जीवनलाई सार्थक बनाउनका लागि आफूले गर्ने कर्मलाई स्वमूल्यांकन, स्वनियन्त्रण र स्वअनुशासित बनाउनुपर्दछ भन्ने मान्यता र यसका लागि अवलम्बन गर्नुपर्ने मार्गहरुलाई पूर्वीय दर्शनले स्पष्ट पारेको छ । अनेकौँ दर्शन शास्त्र र धर्म शास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अङ्क हो। मानव प्राणी जुन अलौकिक छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। विज्ञानले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौँ मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै जसो दार्शनिक, आध्यात्मिक, पौराणिक परम्परा अनुसार परमात्मा भन्नाले त्यो अदृश्य र विशाल चेतना हो, जुन यो भौतिक सन्सारमा चेतनाको विकासको लागि निरन्तर चलायमान छ, जसलाई भगवान भनेर जानिन्छ जसको जन्म अनन्त स्वरूपमा अनन्त प्रकृतिमा बारम्बार लगातार हुन्छ, जसको एक स्वरुप मानब रुप पनि हो र सबै मानव सबै जीव सबै जन्म मृत्यु पछि परमात्मा मै फर्कन्छन । हाम्रो आत्मा पनि परमात्माको नै सानो अंश हो ।परमेश्वर त्यो सर्वोच्च परालौकिक शक्ति छ जसलाई यस संसारको स्रष्टा र शासक मानिन्छ भनी पर्वीय दर्शनको दार्शनीक पक्ष रहेको छ ।
पूर्वीय संस्कृति, साहित्य, कला, भाषा र दर्शनको पृष्ठभूमि भनेर ‘‘ऋग्वेदलाई मानिदै आएको पाइन्छ । ‘वेद समावेशात्मक अर्थयुक्त शब्द रहेको पाइन्छ । जस अन्तर्गत संहिता, ब्राह्मण, आरण्यक, उपनिषद् आदि समावेश भएको पाइन्छ । वैदिक कालीन ऋषिहरूले आफ्ना विचार र व्यवहारलाई मानिसको कल्याणका लागि सुखवादी सोच अँगाल्दै अघि बढाएको पाइन्छ। मानवीय सभ्यताको विकासमा पूर्वीय आर्यहरूको इतिहास, समाजिक नीति, चालचलन, मूल्य र मान्यता, सदाचार, दर्शन र धर्मको पूर्वाधार वेद रहेको बुझिन्छ। वेद, ब्राह्मण र आरण्यक आदि ग्रन्थहरूमा दार्शनिक विचारधाराको प्रवाह पाइए पनि तिनीहरू दर्शनका पृष्ठभूमि रहेको देखिन्छ । दर्शन हुनका लागि चाहिने आवश्यक मापदण्डहरू वैदिक कालमा कम मात्रामा प्रयोग गरिएको पाइन्छ । पूर्वीय दर्शन र नीति मानव सभ्यता, सामाजिक व्यवस्था र राज्य प्रणालीलाई मार्गदर्शन गर्ने आदर्श आधार हो तर पश्चात्य जस्तो प्रचारमा यो छैन। पूर्वीय दर्शन हिन्दु नीतिव्यवस्थामा आधारित छ। अर्को अर्थमा यो पुराणमा आधारित सामाजिक व्यवस्था हो जो धर्म, संस्कृति, जातीयता, वर्ण परम्परा, आदरभाव, कर्तव्य र नैतिकतालाई जोड दिन्छ। हिन्दु शास्त्रव्यवस्थाको उल्लेख संस्कृत साहित्य, जस्तो कि वेद, पुराण, गीता, रामायण, प्राचीन स्मृति तथा श्रुति हुन्। मर्यादा पुरुष भगवान रामका सद्व्यवहार र अभिव्यक्तिलाई पूर्वीय परम्परामा आदर्शका रूपमा लिइन्छ। श्रीकृष्णले गीतामा दिएका उपदेशले समाज, राज्य, परिवार, सम्बन्ध, संगठन र अर्थतन्त्र सञ्चालनमा मार्गदर्शन गर्छ। उनले भनेका थिए– ठूलाका वाणी नीति बन्छ। यसको मतलव ठूला व्यक्तिहरु स्वभावैले समाज व्यवस्थालाई प्रभाव पार्ने हैसियतमा हुन्छन् र उसको अभिव्यक्तिले समाजको प्रतिनिधित्व गर्नुपर्छ भन्ने हो। गीतामार्फत भगवानले शास्त्र (नीति), कर्म (काम) र धर्म (आचरण) लाई महत्व दिएका थिए जो मानव समाजका आधारमूल्य हुन्। गीताका वाणीहरु सर्वकालीन छन्।
पूर्वीय नीतिशास्त्रका प्रकाण्ड विद्वत् व्यक्तित्व चाणक्य पूर्वीय राज्यदर्शनका स्रोत हुन्। कार्यक्षेत्रअनुसार नाम र पहिचान भएका विष्णु गुप्तलाई आर्थिक दर्शनमा कौटिल्य, नीतिशास्त्रमा चाणक्य र न्याय अनि कामशास्त्रमा वात्सायन भनेर पनि चिनिन्छन्। प्राचीन तक्षशीलाका अर्थशास्त्रका मेघावी प्राध्यापक र मगध सम्राट चन्द्रगुप्त मौर्यका महामन्त्री चाणक्य शास्त्रशक्ति र शस्त्रशक्तिलाई राज्यकौशल मान्थे, असम्भव भन्ने शब्दलाई कातरको शब्द मान्थे अनि वीर र बुद्धिमानले आफ्नो मार्ग आफैँ बनाउँछ भन्ने मान्यता राख्थे। उनका विचार र दर्शनबाट आधुनिक संगठन र समाजले थुप्रै कुरा सिक्न सक्छ। जस्तो कि खास पदहरुमा त्यस्ता मानिसलाई नियुक्त गर्नुपर्छ जसले राजकीय कार्यहरु विशेष योग्यतापूर्वक सम्पन्न गर्न सक्तछ। त्यस्तै कुनै पनि पुरुषको सामर्थ्यको स्थिति उसका कार्यको सफलतामाथि निर्भर गर्छ अनि उसको त्यो कार्यक्षमता उनको विद्याबुद्धिका बलमा मापन गर्न सकिन्छ। नियुक्त गर्नुभन्दा पहिला राजाले उनीहरुको प्रामाणिकता, सत्यवादिता जाँच्नुपर्छ।जुन मानिस सन्तुष्ट छन्, तिनीहरुलाई अरु धन, मान आदिले सत्कार गरिरहनुपर्छ तर असन्तुष्ट व्यक्तिहरुलाई साम, दान, दण्ड र भेद जस्ता जुन नीति अपनाउँदा काम बन्न सजिलो हुन्छ, तिनैलाई प्र्रयोग गर्दै आफ्ना नियन्त्रणमा राख्नुपर्छ।यसर्थ आचार्य कौटिल्यका नीति सूत्रहरु आज पनि व्यवस्थापनका हरेक क्षेत्रमा उपयोग गर्न सकिन्छ।
मानिसको कर्म गर्नैमात्र अधिकार छ, के प्राप्त गरिन्छ भन्ने आशा गरेर काम गर्नुहुन्न। कर्म नगरे सिद्धि प्राप्त हुँदैन तर आशक्तिमा लिप्त भएर काम गर्नुहँुदैन। आधुनिक संगठन विज्ञानमा कामप्रतिको निष्ठा र समर्पणको स्रोत गीताका श्लोक हुन्। अर्को प्रसंगमा भगवानले भनेका थिए– इन्द्रियहरु शरीरभन्दा बलवान हुन्छन्। इन्द्रियभन्दा मन बलवान हुन्छ, मनभन्दा बुद्धि बलवान हुन्छ, फेरि बुद्धिभन्दा पनि अत्यन्त बलवान आत्मा हो। त्यसैले आत्मिक अनुशासन सबैभन्दा ठूलो आचरण हो र सार्वजनिक जीवनमा यो अझै महत्वपूर्ण हुन्छ।
सत्य, अहिंसा र सदाचारिताका पुजाारी मोहनदास कर्मचन्द गान्धी आफ्ना महान् मानवतावादी कार्यका कारण महात्मा गान्धी बन्न पुगे। पूर्वीय दर्शन र बुद्ध आदर्शका अनुयायी गान्धीले आत्मिक र नैतिक मूल्य आचरण, सत्य, निष्ठा, संयमता र स्वतन्त्रताका लागि जीवन उत्सर्ग गरे। उनले स्थापित गरेका कतिपय कुरामध्ये जीवनका सात पाप कर्मविनाको सम्पत्ति, चरित्रविनाको ज्ञान , नैतिकताबिनाको व्यापार , मानवताबिनाको विज्ञान , सिद्धान्तबिनाको राजनीति , मानवताबिनाको धर्म र विवेकबिनाको सुखलाई प्रमुखरूपमा लिन सकिन्छ, जसले जीवन व्यवस्थाका सबै पक्षलाई मार्गदर्शन गर्छ। गान्धीका अनुसार चरित्रबिनाको ज्ञान खराबीको शक्ति बन्न जान्छ, चरित्रको शुद्धि नै सारा ज्ञानको ध्येय हुनुपर्छ। गान्धीको जीवन दर्शनबाट सरल र क्रियाशील जीवन, निस्वार्थता, उदाहरणीयता, साद्गीपना, क्षमाशीलता, लगन जस्ता पक्षहरु जो कुनैले सिक्न सक्छ, जुन वैयक्तिक जीवन र कतिपय सार्वजनिक व्यवहारमा आवश्यक मानिन्छन्।
पूर्विय दर्शन अन्तर्गत चीनियाँ, भारतीय, कोरियन, थाइल्यान्ड, म्यान्मारका दर्शनहरु पर्दछ्न् । हाम्रो हावा पानी र आधार सुहाउँदो दर्शन पुर्वोय दर्शन नै हो । त्यसमा पनि हाम्रो नेपाल र भारतीय दर्शन अन्तर्गत हिन्दुवाद र हिन्दु दर्शनका न्याय, योग, मिमाङ्सा, साख्य, वेदान्तजस्ता आस्तिक र जैन, चार्वक, आजिविक, श्रवण, अबिध्या जस्ता नास्तिक प्राचिन भारतिय दर्शनको जगमा छौ ।मानव जीवनमा चरित्रलाई निकै महत्व दिने धर्म, संस्कार, संस्कृतिक सभ्यता, कला, वेद, प्रकृतिमा आधारित चिन्तन परम्परालाई पूर्वीय चिन्तन भनिन्छ । हिन्दु र बौद्ध दर्शन पुर्वीया दर्शनका उदाहरण हुन। मानव जीवनमा चरित्रलाई निकै महत्व दिने जैन, कन्फुसियस, ताओ, मोहि, कोरियन, चाइनिजजस्ता छिमेकी दर्शनको ठूलो झुकाव छ हामीमा । बुद्धको जन्मभूमि नेपालमा हरेकको कण कणमा बुद्ध दर्शनका अहिंसा र शान्ति हाम्रो पर्याय हुन् । मनको शान्ती हाम्रो जीवनशैलीको उपज हो । जुन बिकसित भनिएका राष्ट्रमा अत्यन्त कम मात्रमा पाइन्छ। भनिन्छ, त्यहाँ आधा भन्दा बढी मानिसाहरु डिप्रेसनमा छन् । सबै थोक भएर पनि मनमा अशान्ति हुदा आहात छ्न् । भौतारिदै हामीकहाँ आउछ्न् । जुन हामीसँग पहिल्यै देखि सुरक्षीत छन् । हाम्रो दर्शन कला जीवनपद्द्ती हाम्रो अमुल्य निधि हुन् ।
एशियाका ज्योति गौतम बुद्ध अहिंसा र सत्कर्म शिक्षाका अद्वितीय दार्शनिक, साधक र सिद्धात्मा हुन्। उनले मानव समाजका लागिमात्र अहिंसा सिद्धान्त प्रतिपादन गरेनन्, समस्त प्राणीका पुजारी बने। चार सत्य, अष्ठ मार्ग, पञ्चशील बुद्ध दर्शनका निष्कर्ष हुन्। खराब नगर्नु, सत्य गर्नु, मन स्वच्छ राख्नु बुद्ध वाणी हो जसले मानव सभ्यता सम्बर्द्धन गर्न बल दिन्छ। गौतम बुद्धका अनुसार यदि वाणी सही र दयालु छ भने यसले विश्व बदल्न सक्छ। आफ्नो दियो (प्रकाश) आफैँ बन्नुपर्छ। बुद्ध दया, सत्य र अहिंसाका प्रचारक र प्रयोक्ता पनि बने। त्यसैले बुद्धवाणीहरु दया र सत्यका खानी हुन्, ती व्यावहारिकमात्र होइनन्, शाश्वत पनि छन्। पूर्वीय दर्शनभित्रकै बुद्ध दर्शन आज विश्वभर फैलिएको छ । यस दर्शनको भाव पनि कर्मको कारण र प्रभावबीचको सम्बन्ध के हो ? कर्मको प्रभावका कारण पुनर्जन्म हुन्छ वा हुँदैन । कर्मको निवारण कसरी गर्ने ? भन्ने लगायतका विषयमा केन्द्रित रहेको छ । जति भए पनि नपुग्ने तृष्णा नै दुःखको मुख्य कारक हो । दुःखबाट छुटकारा पाउन असल कर्म गर्नुपर्दछ र कर्मको निवारण अष्टमार्गको ज्ञान र सोको अवलम्बनबाट मात्र सम्भव छ । व्यक्तिको असल कर्म, सोच, बानी, व्यवहार, वचन, सम्बन्ध र स्मृतिले मानव जीवनलाई सार्थक बनाउनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।मानिस जीवनयापनका लागि व्यक्तिगत रुपमा सदाचारी हुनुपर्दछ । व्यक्तिगत जीवन बनाउन आफ्नो शरीर र मनसँग सम्बन्धित विषय, आहार, विहार तथा गर्न हुने वा नहुने काम, कुरा र व्यवहारमा ध्यान दिन सकेमा यसले पारिवारिक जीवन सहज र माधुर्यमय बनाउँछ । यसरी सिर्जना भएको पारिवारिक माधुर्यताले व्यक्तिको सामाजिक जीवनलाई समेत मर्यादित बनाउँछ । पूर्वीय दर्शनले मानिसको हरेक गतिविधिलाई परिवारसँगको सम्बन्ध, समाजसँगको सम्बन्ध र कर्तव्य, राष्ट्रसँगको सम्बन्ध र कर्तव्य तथा प्रकृतिसँगको सम्बन्ध र कर्तव्यसँग जोडेर हेरेको छ । दर्शनका अनुसार मानिसले कुनै पनि कर्म गर्दा यी उल्लेखित सम्बन्ध र कर्तव्यबाट टाढा हुनु हुँदैन । जुन व्यक्तिले आफ्नो अधिकार, कर्तव्य र सम्बन्धबीच त्रिकोणात्मक सन्तुलन कायम गर्न सक्छ, ऊ सदाचारको पथमा सजिलै हिँड्न सक्छ ।
वेदलाई पूर्वीय साहित्यको प्रचीनतम ग्रन्थ मानिन्छ । प्राचीन मानवका धार्मिक र दार्शनिक विचारलाई मानवीय भाषामा सर्वप्रथम लिपिबद्ध गर्ने श्रेय वेदलाई प्राप्त छ । वैदिक कालमा आर्यहरूले संस्कृति र सभ्यताको विस्तारै विस्तारै विकास गरेको पाइन्छ । यही कालमा अरण्य विद्यालय अर्थात् ऋषिकुल अध्ययनको थालनी भएको पाइन्छ । यो समय वास्तविक दार्शनिक विचार विनिमयको समय नरहे पनि अन्धकारबाट उज्यालोतर्फको एउटा प्रभाती किरण देखिएको पाइन्छ । यस समयमा ‘ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद जस्ता महत्त्वपूर्ण रचना निर्माण भएको पाइन्छ उपनिषद्भन्दा पछिका रचना मानिने वेदका छ अङ्कलाई सम्बन्धका आधारमा वैदिक साहित्य अन्तर्गत राखिएको पाइन्छ । जसमा शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष पर्दछन् । दार्शनिक साहित्यसँग तिनीहरूको कम सम्बन्ध रहेको पाइन्छ । वैदिक संहिताको उत्कर्षका रूपमा उपनिषद्लाई लिइन्छ । पूर्वीय विचार धाराको परिपाक उपनिषद्मा पुगेर भएको पाइन्छ । उपनिषद्लाई वेदान्त दर्शन र अन्य अवैदिक दर्शनका पृष्ठभूमि पनि मानिएको पाइन्छ ।
वैदिक कालमा उपनिषद्को प्रवेशले नयाँ शिराबाट चिन्तनको सुरुवात भएको पाइन्छ । उपनिषद् र यस पूर्वका वैदिक ग्रन्थमा के भिन्नता रहेको पाइन्छ भने वैदिक संहितामा कर्म र ज्ञानको व्याख्या गरिएको पाइन्छ भने उपनिषद्मा ज्ञानको मात्र व्याख्या गरिएको पाइन्छ । उपनिषद् ज्ञानकाण्ड रहेको बुझिन्छ । यसमा जन्म र मृत्युभन्दा पनि शाश्वत आनन्दका लागि विवेकात्मक ज्ञानको आलोक रहेको बुझिन्छ । उपनिषद्मा दार्शनिक विचारको व्याख्या गरिएको पाइन्छ । आत्मा र परमात्माको विवेचना गरिएको पाइन्छ ।वेदमा धर्मको व्यापकता, ब्राह्मणमा धर्मको स्थूलता र उपनिषद्मा सूक्ष्म पदार्थको विवेचना गरिएको पाइन्छ । उपनिषद् पूर्वका रचनामा प्रवृत्ति मार्गलाई अवलम्बन गरिएको पाइन्छ भने उपनिषद्मा निवृत्ति मार्ग अवलम्बन गरिएको देखिन्छ । यसमा आत्म ज्ञान, मोक्ष ज्ञान, ब्रह्म ज्ञानको प्रधानता रहेको पाइन्छ । यही कारण ब्रह्म विद्या, मोक्ष विद्या र आत्म विद्या पनि भनिएको पाइन्छ । उपनिषद् वेदका अन्त्य भएको हुनाले वेदान्त पनि भनिएको पाइन्छ । वेदान्तका तिन बाटाहरू रहेको पाइन्छ ‘उपनिषद्, ‘गीता र ‘ब्रह्मसूत्र । उपनिषद्लाई श्रवण प्रधान, ब्रह्म सूत्रलाई मनन प्रधान र गीतालाई निदिध्यासन (निरन्तर चिन्तन) प्रधान मानिएको पाइन्छ । श्रवण, मनन, निदिध्यासनजस्ता दार्शनिक पक्षका माध्यमबाट परमतत्त्वको साक्षात्कार हुन्छ भन्ने उपनिषद्को धारणा रहेको पाइन्छ ।
चौधौं शताब्दीको माधवाचार्यको ‘सर्वदर्शन संग्रहपछि पूर्वीय दर्शनमा आधुनिक कालको आरम्भ भएको मानिन्छ । ईसाको १४५० यता पूर्वीय दर्शनमा आधुनिक काल भित्रिएको भन्ने विद्वान्हरूको धारणा रहेको पाइन्छ । यस कालमा शङ्गर स्वामीको ‘सर्वसिद्धान्त संग्रह, राजा राम मोहन रायको ‘ब्रह्म समाज आदि ग्रन्थको रचना भएको पाइन्छ । स्वामी विवेकानन्दले सार्वभौम धर्ममाथि जोड दिएको पाइन्छ भने माहत्मा गान्धीले भद्र सत्याग्रहबाट देशमा शान्ति, भ्रातृत्व र सद्भावको स्थापना हुन् कुरामा जोड दिएको पाइन्छ । त्यस्तै दयानन्द सरस्वती, भगवान् दास, रामकृष्ण परमहंस, रवीन्द्रनाथ टैगोर, श्री अरविन्द, कृष्णचन्द्र भट्टाचार्य, सर्वपल्ली राधाकृष्णन्, मुहम्मद इकवाल आदि दार्शनिकहरूले मौलिक विचार सहित आधुनिक दर्शनको विकासमा योगदान दिएको पाइन्छ । नेपाली माटोमा गुणनीधि, सन्त शशीधर, ज्ञान दिलदास, जय पृथ्वी बहादुर सिंह, विश्वेश्वर प्रसाद कोइराला, मदन भण्डारी, रुपचन्द्र विष्ट, गोविन्द, भट्ट, षडानन्द अधिकारी, गुरु गोखनाथ, फाल्गुनन्द लिङ्देन, योगमाया न्यौपाने, बालकृष्ण सम, पुष्पलाल, शिवपुरी बाबा, योगी नरहरी नाथ, खप्तडा बाबा, मदनमणी दीक्षित, पुष्पकमल दाहाल प्रचण्ड, योगी विकासानन्द अदिले विभिन्न विचारका माध्यमबाट दर्शनको विकास परिमार्जन र संरक्षण संबद्र्धनमा योगदान थपेको पाइन्छ ।
निष्कर्ष:
पूर्वीय दर्शनको मूल सार भनेकै उत्कृष्ट नागरिक बन्नु, समुन्नत राज्य निर्माण गर्नु हो ।सत्य र अहिंसाको भावना मर्दै गएको शान्ति र सद्भावको अवस्था कमजोर रहेको अपराधका नयाँ नयाँ शृंखला बढ्दै गएको जाति, धर्म एवं क्षेत्रिय सम्प्रदाय जस्ता विषयमा राजनीतिकरण हुने गरेको हिंसा, हत्या, बलात्कार, यौनदुर्व्यवहार जस्ता घटना बढ्दै गएको भ्रष्टाचार मौलाएको नैतिकता, एवं लोकतान्त्रिक मूल्य मान्यतामा ह्रास आएको मानवीयता दिनप्रतिदिन दयनीय बन्दै गएको विकृति, विसंगति एवं सामाजिक विचलन बढ्दै गएको अवस्थामा पूर्वीय दर्शन र सभ्यताबाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । पूर्वीय दर्शन र सभ्यताबाट पाठ सिकेर दयनिय अवस्थामा रहेको नैतिकता र सादाचारयुक्त कार्यसंस्कृति अभाव रहेको राष्ट्रिय एकता, भ्रातृत्व, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको सम्मानमा एकरुपता कायम हुने अवस्था कमजोर रहेको अवस्थामा मानविय मूल्यहरु आत्मसाथ गर्दै आफु र समाजप्रति इमान्दार बनाउन सक्ने देखिन्छ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन।)