‘काँग्रेस सबै पुस्तालाई जोड्ने राष्ट्रिय शक्ति बन्नुपर्छ’ : सभापति थापा - Chaitanya News
  • 2026-07-19
  • 16:40:28
  • आइतबार,साउन ०३, २०८३
  • ‘काँग्रेस सबै पुस्तालाई जोड्ने राष्ट्रिय शक्ति बन्नुपर्छ’ : सभापति थापा

    ‘काँग्रेस सबै पुस्तालाई जोड्ने राष्ट्रिय शक्ति बन्नुपर्छ’ : सभापति थापा

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताएका छन्।

    आज (आइतबार) ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताएका हुन्।

    सभापति थापाले भने, ‘म भन्दा अघिका दुई पुस्तादेखि लिएर पछिल्ला दुई पुस्तासम्मका साथीहरू नेपाली काँग्रेसमा सक्रिय हुनुहुन्छ। राष्ट्रिय शक्ति भएको नेपाली काँग्रेसले सबै जाति, भाषा, समुदाय र पुस्तालाई जोड्ने साझा शक्ति बन्नुपर्छ। यसका लागि नयाँ पुस्तालाई केवल प्रतीकात्मक रूपमा होइन, अर्थपूर्ण रूपमा पार्टीमा सहभागी गराउनुपर्छ। उनीहरूको विचार, अपेक्षा र दृष्टिकोणलाई सम्मानपूर्वक सुन्नुपर्छ, किनकि बदलिँदो समयसँगै उनीहरूको सोच र राजनीतिक अपेक्षा पनि फरक छन्। आज समाजमा पुस्ताबीचको दूरी बढ्दै गएको देखिन्छ। ६०–६५ वर्षभन्दा माथिका मानिसलाई नै पछाडि पार्नुपर्ने सोच विकसित हुनु स्वस्थ लोकतान्त्रिक संस्कृतिका लागि उचित होइन । नेपाली काँग्रेसले यस्तो विभाजनकारी सोचभन्दा माथि उठेर सबै पुस्ताबीच सहकार्य र विश्वासको वातावरण बनाउनुपर्छ। हामी सबै एउटै पहिचान बोकेका हुँदैनौँस् हाम्रो समाज बहु आयामिक पहिचानले बनेको छ। त्यसैले विभाजन होइन, एकता र समावेशितालाई प्राथमिकता दिनु नै हाम्रो जिम्मेवारी हो।’

    सभापति थापाले अब काँग्रेसले ‘सबै पुस्ता बराबर हुन्’ भन्ने मान्यतालाई पार्टीभित्र र समाजमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए।