सफल प्रशासकसँग चैतन्य संवाद : लोकसेवामा कसरी सफलता हासिल गर्ने ? - Chaitanya News
  • 2026-05-24
  • 20:49:55
  • आइतबार,जेठ १०, २०८३
  • सफल प्रशासकसँग चैतन्य संवाद : लोकसेवामा कसरी सफलता हासिल गर्ने ?

    सफल प्रशासकसँग चैतन्य संवाद : लोकसेवामा कसरी सफलता हासिल गर्ने ?

    सरकारी सेवा, अझ त्यसमा पनि निजामती सेवामा प्रवेश गर्ने प्रत्येक कर्मचारीको सपना हुन्छ। तर, यस्तो अवसर बिरलै कर्मचारीले पाउँछन्। खिम प्रकाश बुढा निजामती सेवाका तिनै बिरलै कर्मचारीमध्ये एक हुन्, जसले शिक्षक पेशाबाट सुरु गरेर आफ्नो सरकारी सेवामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटडको प्रशासन सेवा पद सह–विभागीय प्रबन्धक,तह, नौ मा सिफारीस भइ नियुक्ति तथा पदास्थापन व्यापार प्रवर्धन विभाग, प्रधान कार्यलय काठमाडौमा पुग्ने अवसर प्राप्त गरे ।

    २०८१ मंसीर १६ (आइतबार) सरकारी सेवा प्रवेश गरेका बुढाको यो यात्रा सामान्य थिएन। कर्णाली प्रदेशको दुर्गम जिल्ला रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१ सिस्ने हिमालको काखमा वि. स. २०४५ मंसिर ५ गते पिता विरभान बुढा र माता शीतली बुढाको काखबाट उनको जन्म भएको हो। बुढा पहिले शिक्षक पेशामा थिए। यसले उनलाई दुर्गम बुझ्ने अवसर प्रदान गर्‍यो। । उनलाई त्यत्तिमै चित्त बुझेन। निजामति सेवामा प्रवेश गर्ने रहर जाग्यो। त्यही रहरले अहिले उनी सरकारी सेवामा छन्। आज उनको जीवनको पेरिफेरीमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले संवाद गरेकी छन्।

    1.  तपाईं निजामति सेवाको जिम्मेवार तह सह–विभागीय प्रबन्धक पदमामा नाम निकाल्न सफल हुनुभयो, यो सफलतालाई कसरी लिनुहुन्छ ?

    म सहविभागीय प्रबन्धकको जिम्मेवार पदमा सिफारीस हुन पाउँदा एकदमै खुसी छु। कर्णाली प्रदेशको दुर्गम जिज्ला रुकुम पश्चिको आठबिसकोट नगरपालिका–१ सिस्ने हिमालको काखमा जन्मिएँ। शिक्षक पेसा अंगाल्दै दु:ख कष्ट गरेर बाँचिरहेको थिए। यही संघर्षको  मैदानको दौरानमा सह–विभागीय प्रबन्धकको जिम्मेवारीसम्म आइपुग्नु म आफैँका लागि पनि गौरवको कुरा हो।

    2. शिक्षक पेशामा रहँदै लोकसेवा विभिन्न परीक्षामा सहभागी भएर यो सफलता हासिल गर्नुभयो, लोकसेवा तयारी गरिरहनु भएका विद्यार्थीका लागि के भन्न चाहनु हुन्छ ?

    लोकसेवा तयारी गर्न सबैभन्दा पहिला परिश्रम, मेहनत, इमान्दारीता, लगनशीलता र धैर्यता हुनुपर्छ। संघीयता पश्चात पछिल्लो समय दरबन्दी बढेका छन्। संघीय सरकारका अलवा प्रदेश तथा स्थानीय स्तरमै पनि थुप्रै दरबन्दी सिर्जना गरिएका छन्। पूराना कर्मचारीले मात्रै सबै सार्वजनिक सेवा प्रवाह धान्न सम्भव छैन। युवाका लागि लोकसेवाको तयारी गरेर विभिन्न तहमा नाम निकाल्न सक्ने अहिले राम्रो अवसर छ। त्यसैले लोकसेवा तयारी गरेर सरकारी सेवामा प्रवेश गरी राष्ट्रसेवामा लाग्न म युवालाई अनुरोध गर्दछु।

    कुनै सोर्सफोर्स, पावर विना आफ्नो क्षमताले नाम निकाल्न सकिने भएकाले लोकसेवा तयारी गर्नु उपयुक्त हुन्छ। विभिन्न सामाग्रीको अध्ययन गर्नुपर्ने हुन्छ। अहिले लोकसेवाप्रति युवाहरूको उत्साहजनक आकर्षण देखिएको छ। लोकसेवामा नाम निकाल्न निकै गाह्रो हुने गलत बुझाइ छ। परीक्षार्थीमा कसरी पढ्ने र के पढ्ने भन्ने अन्यौंलता पनि पाइन्छ। परीक्षार्थीले यस्ता कुरा मनमा खेलाउनु नै हुँदैन। एक–दुई पटक असफल हुँदैमा आत्तिनु हुँदैन। असफलता नै सफलताको कडि हो। म पनि धेरै पटक असफल भएको हुँ। तर, हार मानिनँ। निरन्तरको सघर्षले आज मलाई सफलता दिलाएको छ। यही एउटा सफलताको उदाहरण हो।

    नेपालमा नै तलब, सुबिधा लिएर जनताको सेवा गर्ने अवसर दिने नै लोकसेवाले हो। नेपालमै रहेर राष्ट्र सेवा गर्ने सोच भएका युवाहरूलाई म लोकसेवा तयारी गर्न सुझाव दिन्छु। राजनीतिक अस्थिरताका कारण विभिन्न क्षेत्रमा नातावाद, कृपावाद,लगायत सोर्सफोर्सले बढी नै काम गरिरहेको अवस्थामा लोकसेवामा मात्रै क्षमताले काम गर्छ। त्यसैले अहिलेको अवस्थामा युवाले लोकसेवा तयारी गर्नु नै सबैभन्दा उत्तम विकल्प हो। लोकसेवामा सीमित पाठ्य पुस्तक मात्रै पढेर हुँदैन। सम्बन्धित पदको पाठ्यक्रम बमोजिमको विश्लेषणात्मक, संश्लेषणात्मक ज्ञानको आवश्यकता पर्दछ। त्यसका लागि बजारमा पाइने किताबमा मात्रै सीमित नभएर सम्बन्धित विषयक्षेत्रको विषयगत मन्त्रालय, संवैधानिक आयोग जस्तै महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोगका वार्षिक प्रतिवेदन, समीक्षा, राष्ट्र बैंकको मौद्रिक नीति, समितिका प्रतिवेदन, सम्बन्धित विषय विज्ञका पत्रपत्रिकामा प्रकाशित लेखहरु लगायत विभिन्न सन्दर्भ सामग्रीको पाठ्यक्रमले उल्लेख गरेका विषयमा समीक्षात्मक ढंगले पढ्ने र लेख्ने गरी तयारी गर्नुपर्छ। मिल्दो टपिकको आर्टिकल जस्तै लोकसेवा आयोग पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली, प्रशासनविद् भिमदेव भट्टलगायत पूर्वअवकाश प्राप्त सचिवको आर्टिकल पढ्ने बानीको विकास गनुपर्छ। आत्मविश्वासका साथ पढ्नुपर्छ।

    3. पढाईंको सुरुवात कसरी गर्दा सहज हुन्छ ?

    लोकसेवाको तयारी गर्दा सुरुवात देखि नै सकारात्मक सोच र दृष्टिकोणका साथ उपस्थित हुनु उपयुक्त हुन्छ। म गर्न सक्छु भन्ने भावना अन्तर्मनबाट आउनुपर्छ। आधिकारिक र खोजमूलक सामग्री अध्ययनमा विशेष जोड दिनुपर्छ। विज्ञसँगको छलफल, सहकर्मीसँगको सामूहिक अध्ययन र निरन्तरको अभ्यास नै लोकसेवामा सफलता पाउने मन्त्रहरू हुन्। रुचिलाग्ने विषयबाट सुरुवात गर्नु राम्रो हुन्छ। विस्तारै पढ्ने लेख्ने बानिको विकास हुन्छ। सहायक पद, शाखा अधिकृत, उपसचिव, सहसचिव जुन पदमा आवेदन दिन्छौ सम्बन्धित पदको लागि लोकसेवा आयोगले निर्धारण गरेको पाठ्यक्रमसँग सम्बन्धित बजारमा पाइने पाठ्यपुस्तकहरू, विभिन्न आयोग वा मन्त्रालयका वार्षिक प्रतिवेदनहरू, पत्रपत्रिकाहरूमा प्रकाशितलेख रचनाहरू, राष्ट्रिय वा अन्तराष्ट्रियअभ्यासहरू आदिको समिक्षात्मक ढंगले पढ्नु राम्रो हुन्छ। पढाई र लेखाइ दुवैलाई संगसंगै निरन्तर रुपमा अगाडि बढाउनु पर्छ । पढाईलाई विचमा छोड्यौं भने पढाई बिग्रीन्छ। पढाईमा निरन्तरता र लगनशीलता आवश्यक हुन्छ, सफलताका लागि धैर्यता गर्न सक्नु पर्छ। लेखन शुद्ध र सफा लेखन सिपको पनि आवश्यकता पर्दछ।

    4. पुस्तकको छनोट कसरी गर्ने ?

    बजारमा लोक सेवा तयारीका लागि भनेर विभिन्न लेखकका अनेक पुस्तक उपलब्ध छन्। पुस्तक छनोटमा पनि उत्तिकै दुविधा हुनसक्छ। त्यसका लागि सर्वप्रथम लेखकको योग्यता, पृष्ठभूमि र अनुभवलाई ध्यान दिनुपर्ने हुन्छ। जुन विषयको पुस्तक हो, सोही विषयसँग सम्बन्धित योग्यता र अनुभव भएका लेखक भए पुस्तक बढी विश्वसनीय हुनसक्छ।

    दोस्रो, लेखकले विषयसँग सम्बन्धित कति सन्दर्भ सामग्री अध्ययन गरेर पुस्तक लेखेको छ भन्ने कुरालाई ख्याल गर्नुपर्छ। यो थाहा पाउन पुस्तकको अन्त्यमा राखिएको सन्दर्भ सामग्रीको सूची हेर्नु पर्छ।

    तेस्रो, विषयवस्तुको प्रस्तुति कत्तिको सान्दर्भिक, गहन र सरल छ, सरसर्ती हेर्नु पर्दछ।

    चौथो, विषयवस्तुको अद्यावधिकतालाई ध्यान दिनुपर्छ। पुस्तकको पछिल्लो संस्करण भर्खरै भएको छ र पुस्तकमा प्रयोग भएका तथ्यांकहरू अद्यावधिक छन् भने राम्रो हुन्छ। कतिपय पुस्तकले संस्करण मिति हालसालैको राखेका भए पनि विषयवस्तु र तथ्यांकहरू अद्यावधिक नगरेका पनि हुन सक्छन्।

    5. दिमागमा बस्ने गरि पढ्नका लागि उपयुक्त समय कुन हुन सक्छ ?

    २४ सै घण्टा पढेर सफलता प्राप्त हुन्छ कि भन्ने धेरै विद्यार्थीहरूको सोच हुन्छ तर त्यो गलत हो। हामीले राम्रोसँग ध्यान दिएर पढ्यौं भने दिनमा २–४ घण्टा मात्रै पढ्दा पनि हुन्छ। मैले चाहीँ साझ– बिहान २–२ घण्टा पढ्ने गरेको थिए। पढ्नको लागि यहि फिक्स समय भन्ने त हुदैन। आफ्नो फुर्सद कतिवेला हुन्छ त्यो अनुसार पनि हुन्छ। लोकसेवा तयारी गर्ने कतिपयले जागिर गर्ने र दिउँसो कार्यालय जानुपर्ने भएकाले बिहानको फ्रेस मुडमा पढ्नु नै उपयुक्त हुन्छ। कार्यालयमा कामगर्दा प्राप्त अनुभवजन्य ज्ञान लाई पनि परीक्षामा काम लाग्छ ।

    6. पढेको कुरा कसरी सम्झने ?
    पढ्ने बेला घोक्ने भन्दा पनि बुझेर पढ्ने, दोहोर्याएर पढ्ने र पढेको विषयवस्तुलाई बुँदागत रुपमा डायरीमा टिपेर पढ्दा राम्रो हुन्छ। पढेको विषय वस्तुमा रुचि लगाएर पढ्नु पर्छ। पढ्दा सम्बन्धित विषयवस्तुका सन्दर्भ सामग्री अध्ययन गर्दा सारसंक्षेपमा बुझेर बुँदागत टिपोट गरी पढाइ र लेखाइलाई संगठित बनाउनुपर्दछ। जुन पदको लागि प्रतिस्पर्धा गर्ने हो त्यो पदको भूमिकामा आफुलाई राखेर र सम्झेर पढ्दा पढेको कुरा राम्रो सँग लामो समय सम्झन सकिन्छ।

    7. अरु भन्दा भिन्न र उत्तर लेखनी राम्रो कसरी गर्ने ?
    परीक्षमा लेख्दा पहिला त प्रश्नले भन्न खोजेको कुरा के हो ? त्यो जुझेर मात्रै उत्तर लेख्नुपर्ने हुन्छ। अर्को कलेज वा विद्यालयमा अपनाइएको लेखाइ शैली र ढाचाभन्दा प्रतिस्पर्धा परीक्षामा लेख्ने ढाँचा, शैली र संरचना केही फरक हुनसक्छ। लेखाइ अक्षरको अभिव्यक्ति मात्र होइन, भावना, विचार र तथ्यहरू अपनत्व हुने किसिमबाट प्रस्तुत गर्नु परीक्षाको लेखाई हो।

    लेखाइको संरचना हुन्छ, शैली हुन्छ र खास पदले सम्पादन गर्नुपर्ने जिम्मेवारीका आधारमा त्यो लेखाइ संक्षिप्त, विश्लेषणत्मक र विवेचनात्मक हुने गर्दछ। जे होस लेख्दा ज्ञान (जानकारी), तथ्य र अनुभवका आधारमा लेखिनु पर्दछ। परीक्षामा अनावश्यक कुराहरू नलेखेर प्रश्नले मागेको कुराहरू मात्रै लेख्ने, सके सम्म उत्तरलाई छोटो र बुझिने गरेर स्पष्ट लेख्नु पर्दछ। प्रश्नको अंकभार अनुसार पनि लेखाई छोटो वा लामो हुन सक्छ। प्रश्न बुझेर मात्रै उत्तर लेख्नु पर्दछ। हतार गर्नु हुँदैन, आत्तिनु हुँदैन। प्रश्नको सुरुवातमा भुमिका वा पृष्ठभुमी दिएको भएमा प्रश्न पढ्दा मुख्य विषय अन्डरलाईन गर्ने, प्रश्नको खण्ड नछुट्याएको भए छुट्याउने गर्नु राम्रो हुन्छ। प्रश्न पढेर राम्रो सँग बुझेर माईन्ड म्याप वा फ्रेमवर्क दिमागमा छिटो बनाएर अनि लेख्दा राम्रो हुन्छ।

    8. लिखित परीक्षामा कस्तो लेखन शैली अपनाउँदा राम्रो नम्बर प्राप्त गर्न सकिन्छ ?

    परीक्षामा सोधिने प्रश्न संख्या, ति प्रश्नहरूको अंकभार र जम्मा समयलाई आधार बनाएर एउटा प्रश्नको उत्तर लेख्ने समय निर्धारण गर्ने। आफूले धेरै जानेको प्रश्न आएको भए पनि तोकिएको समयभन्दा धेरै नलेद्यने। प्रश्नपत्र आफ्नो हातमा परेपछि एकचोटि ध्यान दिएर राम्रोसँग पढ्ने भनिन्छ– प्रश्न राम्ररी बुझ्नु भनेको ५० प्रतिशत हल गर्नु बराबर हो। त्यसैले लेख्न नहतारिनुहोस्। आफूलाई सजिलो लागेको प्रश्नको हल सबैभन्दा पहिला गर्ने। र, प्राथमिकताक्रम अनुसार सजिला प्रश्न पहिले र गाह्रो प्रश्न अन्त्यमा हल गर्ने । किनकी गाह्रो प्रश्न नै पहिला गर्न थालियो भने उत्तर राम्रो हुँदैन र राम्ररी जानेको अन्य प्रश्न पनि बिग्रन्छ। नजानेको भनेर कुनै पनि प्रश्न नछोड्नुहोस्। केही कुरा भए पनि लेख्नुहोस्। थोरै भए पनि नम्बर आउँछ। प्रश्नलाई मुख्यरूपमा तीन खण्डमा विभाजन गर्ने। पहिलो खण्डमा परिचय दिने, परिचय छोटो तर दमदार दिने। दोस्रोमा प्रश्नले खोजेको उत्तरको व्याख्या र विश्लेषण गर्नुहोस्। प्रश्न जोडिएर एकभन्दा बढी प्रश्न सोधेर आएको खण्डमा दोस्रो खण्डलाई विभिन्न उपखण्डहरूमा विभाजन गरी लेख्ने। र, अन्तिम खण्डमा निष्कर्ष लेख्नुहोस्। निष्कर्षलाई चोटिलो र दमदार बनाउने। ३ घण्टाको समय हुन्छ त्यो समयलाई व्यवस्थापन गरेर छोटो अनि सबैले बुझ्ने सरल उत्तर लेख्नु पर्दछ। कठिन नबुझिने वाक्य गठन गर्नु हुँदैन।

    9. बुँदागत वा विश्लेषणात्मक कुन उत्तर राम्रो मानिन्छ ?

    परिक्षामा दुवै हावश्यक पर्दछ। बुँदागत भित्र पनि विश्लेषणात्मक र संश्लेषणात्मक ढंगले नै लेख्नुपर्छ। अर्थ नै नलाग्ने धेरै छोटो वाक्य पनि लेख्नु हुँदैन। वाक्य औपचारिक भाषामा अर्थपुर्ण, सरल ढंगबाट लेख्दा उपयुक्त हुन्छ। आवश्यकता अनुसार उदाहरण, तथ्य तथ्याङ्क वा तर्कले पुष्टि गर्ने गरि लेख्नु राम्रो हुन्छ। सैद्धान्तिक र व्यवहारिक सम्बन्धित कामको अनुभवजन्य ज्ञानलाई व्यवस्थित ढंगबाट उत्तर लेख्दा उपयुक्त हुन्छ।

    10. समय व्यवस्थापन कसरी गर्न सकिन्छ ?
    समय सबैको लागि त्यही २४ घण्टाको बनेको हुन्छ। त्यसबाट आफुले समय निकाल्ने हो। लामो समयसम्म एकै ठाउँमा बसेर अध्ययन गर्न प्राय कठिन नै हुन्छ। यस्तो खालको पढाइ सफल अनि प्रभावकारी नहुन सक्छ। त्यसैले निश्चित समयसम्म प्रभावकारी तरिकाले पढ्ने अनि फेरी छोटो–छोटो ब्रेक लिनु प्रभावकारी मानिन्छ। हरेक ४०–५० मिनेटको बीचमा ब्रेक लिनु राम्रो हुन्छ। निश्चित समयसम्म अध्ययन गर्दा त्यस्तो खालको अध्ययनले विषयवस्तुमा केन्द्रीत गर्न सहज हुन्छ।

    अर्को परिक्षामा एउटा प्रश्नलाई जति समय दिएको हुन्छ त्यो समय भित्र नै त्यसको उत्तर लेखि सक्नु पर्ने हुन्छ । एउटा प्रश्नको समय अर्को प्रश्नमा दिँदा समय व्यवस्थापन गर्न गाह्रो हुन्छ। र एउटा प्रश्नको समय अर्को प्रश्नमा दिए त्यसले सफल भन्दा पनि असफल हुन सक्ने सम्भावना बढाउँछ।

    11. कतिपयलाई आफ्नो अक्षर राम्रो नभएकोमा तनाव हुन्छ भने कतिपयले राम्रो अक्षर भएकै कारण नम्बर राम्रो पाउने विश्वास पनि गरिरहेका हुन्छन्। अक्षर र शुद्धाशुद्धिले नतिजामा फरक पार्छ कि पार्दैन ?

    शुद्धाशुद्धि, अक्षर मात्रै राम्रो भएर त हुँदैन् विषयवस्तु पनि लेखेको हुनुपर्यो। प्रश्नले मागेको विषयवस्तुलाई सिलशिलेवार ढंगबाट भाषिक शुद्धता सहित राम्रो अक्षर बनाएर संगठित तवरबाट लेख्दा उत्कृष्ट हुन्छ। यसले राम्रो नतिजा दिन्छ। लोकसेवाले पनि भाषिक शुद्धतालाई उत्तरपुस्तिका परीक्षणको आधारमा राखेको छ। परीक्षामा लेख्दा खेरि लोकसेवाको नियम भित्र लेख्नुपर्छ। लेख्दा धेरै केरमेट गर्नु हुँदैन त्यसले गर्दा प्रश्नको सहि उत्तर दिएको भएपनि नम्बर काटिने सम्भावना हुन्छ।

    12. अन्त्यमा लोकसेवा तयारी गरिरहनु भएका विद्यार्थीलाई के भन्न चाहनु हुन्छ ?

    अहिले लोकसेवाप्रति युवाहरूको उत्साहजनक आकर्षण देखिएको छ। युवाहरूले लोकसेवा भनेको निकै गाह्रो हुन्छ, निकै अप्ठ्यारो हुन्छ। यो कसरी पढ्ने ? केका लागि पढ्ने ? यसमा करियर कस्तो हुन्छ ? जस्ता कुराहरू धेरै युवाहरूले आफ्नो मनमा खेलाएका हुन्छन्। तर यसमा युवाहरूले डराउनु पर्दैन। धेरै कुराहरू मनमा खेलाउनु पर्दैन। नेपालमा नै तलब सुबिधा लिएर जनताको सेवा गर्ने अवसर दिने नै लोकसेवाले हो। अविचलित पाइलाहरूले नै गन्तव्यमा पुर्‍याउँछन्। चाँडै हार मान्नु हुँदैन। हामीले प्रक्रियामा ध्यान केन्द्रित गर्नुपर्छ नतिजामा ध्यान दिनुहुँदैन्। प्रक्रिया सहि भयो भने नतिजा पनि सहि हुन्छ। यदि प्रक्रियामा नै त्रुटी भयो भने नतिजा पनि सहि हुँदैन्। आफुलाई मन पर्ने र सहज लाग्ने विषयबाट सुरु गरेर जटिल विषयमा प्रवेश गर्नुपर्छ। अध्ययन तालिका बनाएर पढ्दा राम्रो हुन्छ। आफ्नो ध्यान भड्काउने कुरालाई छेउमा राख्नु हुँदैन। आफैँमा अनुशासित हुँनुपर्छ। यो सबै समय हो समयसँगै सबैकुरा राम्रो हुन्छ तर मेहनत गर्न चाहीँ छोड्नु हुँदैन। नियमपुर्वक महेनत गर्यौ भने सफल अवश्य भइन्छ।