२७ महिनामा १२१ प्रतिशत बढ्यो बैंकहरूको नउठेको ब्याज - Chaitanya News
  • 2026-06-29
  • 21:03:34
  • सोमबार,आषाढ १५, २०८३
  • २७ महिनामा १२१ प्रतिशत बढ्यो बैंकहरूको नउठेको ब्याज

    २७ महिनामा १२१ प्रतिशत बढ्यो बैंकहरूको नउठेको ब्याज

    काठमाडौं– नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष (आव्) २०८०–८१ को असोज मसान्तसम्मको तथ्यांक अनुसार बैंकहरूले परिपक्व भएर उठाउन नसकेको ब्याज करिब १ खर्ब ३६ अर्ब पुगेको छ

    तथ्यांक अनुसार असोज २०८१ सम्म बैंकहरूको उठ्न नसकेको बक्यौता ब्याज १ खर्ब ३५ अर्ब ८३ करोड २१ लाख रुपैयाँ छ। असोज २०८० मा १ खर्ब २० अर्ब ३८ करोड ९४ लाख थियो। यो भनेको एक वर्षमा १२.८ प्रतिशत बढी हो।

    आर्थिक वर्ष अन्तिम त्रैमासमा बैंकहरूले कर्जा असुलीमा जोड दिने भएकाले असार मसान्तमा उक्त रकम केही घटेको देखिन्छ। असार २०८१ मा बैंकहरूले उठाउनुपर्ने बक्यौता ब्याज रकम १ खर्ब १९ अर्ब ५८ करोड ८६ लाख थियो। पछिल्लो तीन महिनामै उक्त रकम १६ अर्बभन्दा धेरैले बढेको छ।

    असार २०७९ मा यस्तो बक्यौता ब्याज ६१ अर्ब ३५ करोडमात्र थियो। पछिल्लो २७ महिनामा १२१.४० प्रतिशतले बढेको छ।

    नेपाल फाइनान्सियल एकाउन्टिङ स्ट्यान्डर्ड अनुसार ‘एक्रुअल’ आधारमा वित्तीय विवरण तयार गर्नुपर्ने हुन्छ। बैंकहरूले पाकेको ब्याजलाई आम्दानी मानेर नाफा नोक्सानको स्थिति आकलन गर्छन्।

    तर, ब्याज उठेको छैन भने राष्ट्र बैंकको व्यवस्था अनुसार त्यस्तो रकमबाट बैंकहरूले आयकर तिर्ने र कर्मचारी बोनसका लागि छुट्याए बाँकी रकम नियामकीय जगेडा कोषमा छुट्याउनुपर्ने हुन्छ।

    चालु आवदेख भने राष्ट्र बैंकले आयकर तिर्ने र कर्मचारी बोनसका साथै साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा छुट्याएको रकम समेत कटाएर नियामकीय जगेडा कोषमा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ।

    बैंकहरूले एक्रुअल आधारमा वित्तीय विवरण तयार गर्दा नउठेको ब्याजलाई पनि आम्दानी जनाउनुपर्ने हुन्छ। त्यस्तो ब्याज गत असोजसम्म १ खर्ब ३५ अर्ब ८३ करोड पुगेको छ। असार २०८० मा यस्तो रकम ९९ अर्ब थियो। उठ्न नसकेको ब्याजसँगै बैंकहरूको गैरबैंकिङ सम्पत्ति समेत सोही गतिमा बढेको छ।

    असोज मसान्तमा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३७ अर्ब पुगेको एक बैंकरले बताए। गत असार मसान्तमा करिब ३० अर्ब रहेकोमा तीन महिनामा अझै बढेको छ। बैंकहरूले लिलाम गरेको धितो बिक्री नभएर सकारेको सम्पत्ति र उठ्न नसकेको ब्याज उच्च दरमा बढिरहेको छ। जसले बैंकहरूलाई वासलतमा मात्रै प्रभाव परेको छैन, पूँजीकोषमा समेत दबाब बढ्दै गएको छ।

    बैंकहरूको उठ्न नसकेको ब्याज असार २०७९ को तुलनामा असार २०८० मा ६२।७ प्रतिशतले बढेको थियो। जसले पछिल्ला दिनमा वाणिज्य बैंकहरूको लाभांश क्षमता कमजोर बन्दै गएको देखाउँछ।

    चार वाणिज्य बैंक सञ्चित नोक्सानीमा छन् भने गत वर्ष र चालु आव पनि करिब आधा वाणिज्य बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्था छ।

    यसअघि बैंकहरूले उठ्न नसकेको ब्याजबाट कर र कर्मचारी बोनसका लागि रकम छुट्याएपछि करिब ६३ प्रतिशत नियामकीय जगेडा कोषमा छुट्याउनुपर्ने हुन्छ।

    अब साधारण जगेडा कोष र सीएसआर कोषको समेत रकम कटाएर नउठेको ब्याजको करिब ५० प्रतिशत नियामकीय जगेडा कोषमा छुट्याउनुपर्ने व्यवस्था भएको छ।

    यस्तै गैरबैंकिङ सम्पत्ति बुक गर्दा पनि उठ्न बाँकी ब्याज नदेखिए आयकर र कर्मचारी बोनसका साथै साधारण जगेडा कोष र सीएसआर कोषमा समेत छुट्याएर बाँकी करिब ५० प्रतिशत नै नियामकीय जगेडामा छुट्याउनुपर्छ। यसरी उठ्न नसकेको ब्याज पछि असुल हुँदा सेयरधनीलाई लाभांश बाँड्न पाइन्छ भने गैरबैंकिङ सम्पत्ति बुक गर्दा त्यसलाई बिक्री गरेपछि त्यसबाट लाभांश बाँड्ने गरी नियामकीय जगेडा कोषबाट सञ्चित नाफामा सार्न सकिन्छ।

    बैंकहरूले ब्याज उठाउन नसक्दा खुद कर्जा विस्तार न्यून भए पनि बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी ५३ खर्ब ३८ अर्ब ४५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

    असार २०८१ मा ५१ खर्ब ९३ अर्ब ५६ करोड रहेको बैंक तथा वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी पछिल्लो तीन महिनामा करिब २.७९ प्रतिशतले बढेको हो। उठ्न बाँकी ब्याज बक्यौतामा भएको वृद्धिले उक्त वृद्धिदर थप बढाएको छ।

    उठ्न बाँकी ब्याज समेत निजी क्षेत्रमाथिको दाबी ५३ खर्ब ३८ अर्ब नाघ्दै गर्दा साँवा मात्रै करिब ५२ खर्ब ३ अर्ब पुगेको छ। जसमध्ये गैरबैंकिङ संस्थागत ऋणीलाई ३३ खर्ब २८ अर्ब ७६ करोड र व्यक्तिगत ऋणीलाई १८ खर्ब ७३ अर्ब ८५ करोड कर्जा लगानी रहेको छ।

    बढ्दो निष्क्रिय कर्जाले बैंकहरूको असुल हुन नसकेको ब्याज बक्यौता मात्रै बढेको छैन । सोही गतिमा कर्जा नोक्सानी व्यवस्था पनि बढेको छ।

    असार २०७९ तुलनामा असोज २०८१ मा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात २३७.४० प्रतिशतले वृद्धि भएको देखिन्छ। असार २०७९ मा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा अनुपात १.३१ प्रतिशतमात्र थियो। पछिल्लो २७ महिनामा ३.११ प्रतिशत बिन्दुले वृद्धि भई ४.४२ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

    निष्क्रिय कर्जामा भएको वृद्धि अनुपातमा कर्जा नोक्सानी व्यवस्था भने बढेको छै्रन। असार २०७९ मा निष्क्रिय कर्जाका लागि १ खर्ब १० अर्ब ३० करोड कर्जा नोक्सानी व्यवस्था गरेको थियो। असोज २०८१ मा उक्त रकम बढेर २ खर्ब ४२ अर्ब ७७ करोड पुगेको छ।

    त्यस्तै असोज २०८१ मा वाणिज्य बैंकमा मात्र उठ्न नसकेको ब्याज रकम १ खर्ब १२ अर्ब ८२ करोड पुगेको छ। वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ४.२८ प्रतिशत पुग्दा कर्जा नोक्सानी व्यवस्था २ खर्ब ११ अर्ब ७१ करोड पुगेको छ।

    विकास बैंकहरूको उठ्न नसकेको ब्याज बक्यौता १० अर्ब ८९ करोड पुगेको छ। विकास बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ४.३७ प्रतिशत र कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम २१ अर्ब ४७ करोड पुगेको छ।

    फाइनान्स कम्पनीको उठ्न नसकेको ब्याज बक्यौता करिब १२ अर्ब १३ करोड पुगेको छ। उनीहरूको औसत निष्क्रिय कर्जा अनुपात १०.८४ प्रतिशत र कर्जा नोक्सानी व्यवस्थाको रकम ९ अर्ब ५९ करोड पुगेको छ।

    बैंक तथा वित्तीय संस्थाको उठ्न नसकेको ब्याज बक्यौता:

    २०८१ असोज: १ खर्ब ३५ अर्ब ८३ करोड
    २०८१ असार : १ खर्ब १९ अर्ब ५९ करोड
    २०८० असार : ९९ अर्ब ७९ करोड
    २०७९ असार:  ६१ अर्ब ३५ करोड

    बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा अनुपात:

    २०८१ असोज :  ४.४२ प्रतिशत
    २०८१ असार : ३.८६ प्रतिशत
    २०८० असार :  २.५८ प्रतिशत
    २०७९ असार :  १.३१ प्रतिशत

    बैंकहरूले सम्भावित कर्जा नोक्सानीमा गरेको व्यवस्था:

    २०८१ असोज :  २ खर्ब ४२ अर्ब ७७ करोड
    २०८१ असार : २ खर्ब ३० अर्ब १ करोड
    २०८० असार :  १ खर्ब ६८ अर्ब १२ करोड
    २०७९ असार :  १ खर्ब १० अर्ब ३० करोड