लोकसेवा तयारी गरेर नेपालमा नै बसेर जनताको सेवा गर्ने अहिले राम्रो अवसर छ : घनश्याम भुसाल - Chaitanya News
  • 2026-05-23
  • 16:36:02
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा तयारी गरेर नेपालमा नै बसेर जनताको सेवा गर्ने अहिले राम्रो अवसर छ : घनश्याम भुसाल

    लोकसेवा तयारी गरेर नेपालमा नै बसेर जनताको सेवा गर्ने अहिले राम्रो अवसर छ : घनश्याम भुसाल

    चैतन्य खबरले उपसचिवमा सिफारीस भएका उपसचिवहरुँग अन्तर्वार्ताको सेसन सुरु गरेको छ । निजामती सेवाका विभिन्न तह पार गर्दै उपसचिवसम्म आईपुग्दा कति कठीनाईहरु भोग्नुपरेको थियो ? कसरी तयारी गर्नु भएको थियो ? र कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ ? भन्ने विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले आज उपसचिव घनश्याम भुसालसँग गरेको संवादको सम्पादित अंश:

    1.तपाँई निजामति सेवाको जिम्मेवार तह उपसचिवमा नाम निकाल्न सफल हुनु भएको छ, यो सफलतालाई कसरी लिनसहुन्छ ?
    लामो समयको सर्घष पछि भएको सफलता सानै भए पनि हरेक व्यक्तिलाई खुसी अनुभूति हुन्छ । म पनि धेरै नै खुसी छु । निजामति सेवामा प्रवेश गरिसकेपछि बृद्धि पदको निरन्तरता हो । मान्छेहरु माथिल्लो तहमा रुचि राख्छन् । मैले पनि त्यहि रुचि राखेको थिए र आज सफल पनि भएको छु । सँगासँगै जिम्मेवारी पनि थपिएको महशुस गररेको छु । जति जति माथिल्लो पदमा पुगिन्छ उति उति जिम्मेवारी पनि बढ्दै जान्छ । एउटा पहाड उक्लिएपछिको अर्को त्यो भन्दा अग्लो पहाडतर्फ हिँड्दै गरेको भान भइरहेको छ ।

    2. तपाँई लोकसेवाका विभिन्न तह पार गर्दै उपसचिव भइसक्नुभयो, लोकसेवा तयारी गरिरहनुभएका परिक्षार्थीलाई सफलता प्राप्तीका लागि के गर्नु पर्छ भन्ने सन्देश दिनुहुन्छ ? र कसरी तयारी गर्दा लोकसेवामा नाम निकाल्न सकिन्छ होला ?
    लोकसेवा फरक तरिकाको अध्ययन लेखनको विधा हो । कुनै सोर्सफोर्स पावर विना आफ्नो क्षमताले नाम निकाल्न सकिने क्षेत्र भनेकै लोकसेवा हो । त्यसैले युवा साथिहरुले विदेशिएर पराईको मुरुभूमिमा भाडा माझ्नु भन्दा नेपालमा नै बसेर लोकसेवाको तयारी गर्दा उपयुक्त हुन्छ । संघीयता पश्चात पछिल्लो समय दरबन्दी बढेको छन्। संघीय सरकारका अलवा स्थानीय स्थरमै पनि थुप्रै दरबन्दीहरु छन् । प्रदेश स्थरमा स्थापना भएका कार्यलयमा पनि दरबन्दी छ । पुरानो कर्मचारीले मात्रै सबै स्थान धान्न सम्भव छैन । युवा साथिहरुलो लोकसेवा तयारी गरेर विभिन्न तहमा नाम निकाल्न सक्ने अहिले राम्रो अवसर छ । तयारी गर्दा चाहीँ निरन्तर अभ्यास गर्न जरुरी छ । प्रश्नले मागेको कुरा मात्रै बुझीने गरेर लेख्यो भने सफलता हासील गर्न सकिन्छ । लोकसेवामा चाहीँ मेहेनत धेरै नै गर्नु पर्छ । अल्छि मान्नु हुँदैन । पढ्दा खेरि सकारात्मक सोच बनाएर पढ्नु पर्छ । पढ्नेबेला अन्त ध्यान नदिएर पढेको कुरा राम्रोसँग बुझिने गरेर पढ्नु पर्छ । उपसचिव जस्तो माथिल्ल ो तहहरुमा सिमित पाठ्य पुस्तक मात्रै पढेर हुँदैन । सम्बन्धित पदको पाठ्यक्रम बमोजिमको विश्लेषणात्मक, संश्लेषणात्मक ज्ञानको पनि आवश्यकता पर्दछ । त्यसका लागि बजारमा पाइने किताब मात्रै सिमित नभएर सम्बन्धित विषयक्षेत्रको विषयगत मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयो, लोकसेवा आयोग आदिका वार्षिक प्रतिवेदनहरु, समिक्षाहरु, राष्ट्र बैंकका मौद्रिक नीति, समितिका प्रतिवेदनहरु, सम्बन्धित विषय विज्ञहरुका पत्रपत्रिकामा प्रकाशित लेखहरु लगायत विभिन्न सन्दर्भ सामाग्रीको पाठ्यक्रमले उल्लेख गरेका विषयमा समिक्षात्मक ढंगले पढ्ने र लेख्ने गरी तयारी गर्नु पर्दछ । मिल्दो टपिकको आर्टिकलहरु, जस्तै पूर्व अवकाश प्राप्त सचिव ज्यूहरुको आर्टिकलहरु पढ्ने बानिको विकास गर्नु पर्दछ । आत्मविश्वासका साथ पढ्नु पर्दछ । पहिलो पटकमा त कोहि सफल होला कोहि असफल होला तर निरन्तर असफलपछि सफलता अवश्य मिल्नेछ । निरन्तर अभ्यास गरिरर्यो भने लोकसेवामा सफलता निश्चित छ ।

    3. पढाईको सुरुवात कसरी गर्दा सहज हुन्छ ?
    मैले पढाईको सुरुवात गर्दा विशेष गरि लोकसेवा आयोगले सिफारीस गररेको काठ्यक्रमलाई आधार माने र त्यो सँग सम्बन्धित बजारमा पाईने किताबहरु, विभिन्न प्रशिक्षकका सामाग्रीहरु र पत्रपत्रिकाहरुबाट प्राप्त समाचार, ति सँग सम्बन्धित खोजमुलक तथ्यहरु,लेख रचनाहरु र गुगोलबाट पनि सम्बन्धित विषयहरुलाई खोज्ने र ति कुरालाई आफ्नै तरिकाले छोटोमा मा टिपोट गर्ने र त्यसैलाई आधार बनाएर पढ्ने, लेख्ने गरेको थिए । र पढाईको सुरुवात गर्दा सजिलो र रुचिलाग्ने विषयबाट सुरुवात गर्नु राम्रो हुन्छ । पढाई र लेखाई दुवैलाई सँगासँगै निरन्तर रुपमा अगाडि बढाउनु पर्छ । पढाईलाई बिचमा नै छोड्यौं भने बिग्रीन्छ । पढाईमा निरन्तरता र लगनशीलता आवश्यक हुन्छ, सफलताका लागि धैर्यता गर्नु सक्नु पर्छ ।

    4. पुस्तकको छनोट कसरी गर्ने ?
    लोकसेवाको प्रश्नहरु अलि विशेष दायारा भित्र रहेर बनाउने भएकाले यहिँ क्षेत्रभित्र रहेर र यि किताबमात्रै पढ्ने भन्ने त हुँदैन । तर पनि लोकसेवाले तोकेको पाठ्यक्रमलाई आधार बनाएर त्यो सँग सम्बन्धित बजारमा पाइने पुस्तकहरु, विभिन्न इन्च्यूचटहरुबाट प्रकाशन हुने किताबहरु र विभिन्न आदरणीय लेखकहरुका आर्टिकलहरु, लेख रचनाहरु , उनिहरुले बोलेका अन्तर्वाताहरु ति समग्रलाई आफुले बुझ्ने तरिकाले टिपोट गर्ने र पढ्ने बानिको विकास गर्ने । आफुलाई सजिलो लाग्ने पुस्तकबाट सुरु गर्ने, सुरुमा नै अप्ठेरो ढंगबाट पढ्नु हुँदैन् । पुस्तक छनोट गर्दा आफुले जे तयारी गरिरहेका छौं त्यहिँ क्षेत्रको पुस्तक छनोट गर्नुपर्छ । माथिल्लो तहको पढाईका लागि एक–दुई पुस्तक मात्रै पढेर सम्भव हुँदैन् त्यसका लागि बजारमा पाईने अधिकांस पाठ्यपुस्तकहरुलाई संकलन गरेर आफ्नो ढंगले त्यसलाई पढ्ने, लेख्ने र बुझ्ने बानीको विकास गर्नुपर्छ ।

    5. दिमागमा बस्ने गरि पढ्नका लागि उपयुक्त समय कुन हुन सक्छ ?
    साथिहरुको पढ्ने समय सोधदा चाहिँ फरक फरक बताउँछन । तर बिहानको फे्रस समय अध्यन गर्दा राम्रो हुन्छ, छिटो बुझिने र दिमागमा बस्छ भन्ने अन्तराट्रिय खोजविज्ञहरुले भनेका छन् । तर म चाहिँ साझँ ढिलासम्म बसेर अध्ययन गथ्ये र बिहान चाहीँ गर्दैन थिए ।

    6. पढेको कुरा कसरी सम्झने ?
    पढ्ने बेला घोक्ने भन्दा पनि बुझेर पढ्ने, दाहोर्याएर पढ्ने र पढेको विषयबस्तुलाई बुँदागत रुपमा टिपेर पढ्दा राम्रो हुन्छ । पढेको विषयबस्तुमा रुचि लगाएर पढ्नु पर्छ । पढ्दा सम्बन्धित विषयबस्तुका सन्दर्भ सामाग्री अध्ययन गर्दा सारसंक्षेपमा बुझेर बुँदागत टिपोट गरि पढाई र लेखाइलाई संगठित बनाउनु पर्दछ । जुन पदको लागि प्रतिस्पर्धा गर्ने हो त्यो पदको भूमिकामा आफुलाई राखेर सम्झेर पढ्दा पढेको कुरा राम्रोसँग लामो समय सम्झन सकिन्छ ।

    7. अरु भन्दा भिन्न र उत्त्र लेखनी राम्रो कसरी गर्ने ?
    सबैभन्दा पहिला त आफ्नो क्षमताको विकास गर्न जरुरी छ । अर्को भनेको प्रश्नले मागेको उत्तर मात्रै लेख्नु पर्छ । अनावश्यक कुरा थपेर उत्तरलाई लामो बनाउनु हुँदैन । जुन प्रश्नलाई जति समय दिएको छ त्यति नै समयमा त्यसको उत्तर लेखिसक्नुपर्छ । प्रश्न बुझेर मात्रै उत्तर लेख्नु पर्छ । हतार गर्नु हुँदैन । आत्तिनु हुँदैन । प्रश्नको सुरुवातमा भूमिका वा पृष्ठभूमि दिएको भएमा प्रश्न पढ्दा मुख्य विषय अन्डरलाईन गर्ने, प्रश्नको खण्ड नछुट्याएको भए छुट्याउने गर्नु राम्रो हुन्छ

    8.लिखित परिक्षामा कस्तो लेखनशैली अपनाउँदा राम्रो नम्बर प्राप्त गर्न सकिन्छ ?
    एउटै प्रश्नका पनि विभिन्न खण्ड वा पुच्छ्रे प्रश्न हुन्छन ति सबै खण्डको शिर्षक हालेर सिलसिलेवार ढंगबाट कुनै पनि खण्ड नछुट्ने गरि उत्तर लेख्नु पर्दछ । प्रश्नका सबै खण्डहरू बिच अन्तरआबद्धता हुँदा अझै राम्रो हुन्छ । अन्त्यमा सकारात्मक भाव सहितको सारसंक्षेप सहितको १–२ लाइन वयेफर्वाड् वाक्य लेखेर उत्तरको निचोड वा निश्कर्ष लेख्दा राम्रो हुन्छ । लिखित परिक्षामा छोटो पृष्ठभूमि, बिचको भागमा प्रश्नले मागेको विषयबस्तु र अन्तिममा राम्रो हुनेगरि निषकर्ष लेख्दा राम्रो हुन्छ ।

    9. बुँदागत वा विश्लेषणात्मक कुन उत्तर राम्रो मानिन्छ ?
    धेरै जसो बुँदागत र केहीँ विश्लेषणात्मक हुँदा राम्रो हुन्छ होला । लेखाई छिटो छरिटो पनि हुन्छ । यसो गर्दा समय व्यवस्थापन गर्न पनि सजिलो हुन्छ । अर्थ नै नलाग्ने धेरै छोटो वाक्य पनि लेख्नु हुँदैन । वाक्य अफिसियल भाषामा अर्थपुर्ण, सरल ढंगबाट लेख्दा उपयुक्त हुन्छ । आवश्यकता अनुसार उदाहरण, तथ्य तथ्याङ्क वा तर्कले पुष्टि गर्ने गरि लेख्नु राम्रो हुन्छ ।

    10. समय व्यवस्थापन कसरी गर्न सकिन्छ ?
    समय व्यवस्थापन गर्नको लागि हामीले पुर्व परीक्षाहरु ९प्री टेस्टहरु० पनि दिनुपर्ने हुन्छ । यसले अन्तिम परीक्षामा हुने कमीकमजोरीलाई केलायर सुधार गर्ने अवसर दिन्छ । पुर्व परीक्षा वा क्लासहरु लिँदा फाईदा हुन्छ । राम्रोसँग पढेर बुझेर परीक्षामा सहभागी हुनुपर्छ । एउटा प्रश्नलाई जति समय दिएको हुन्छ त्यो समय भित्र नै त्यसको उत्तर लेखिसक्नु पर्ने हुन्छ, एउटा प्रश्नको समय अर्को प्रश्नमा दिँदा समय व्यवस्थापन गर्न गाह्रो हुन्छ । र एउटा प्रश्नको समय अर्को प्रश्नमा दिए त्यसले सफल भन्दा पनि असफल हुँनसक्ने सम्भावना बढाउँछ ।

    11. कतिपयलाई आफ्नो अक्षर राम्रो नभएकोमा तनाव हुन्छ भने, कतिपयले राम्रो अक्षर भएकै कारण नम्बर राम्रो पाउने विश्वास पनि गरिरहेका हुन्छन् अक्षर र शुद्धाशुद्धिले नतिजामा फरक पार्छ कि पार्दैन ?
    फरक त पार्छ नै । अक्षर राम्रो भए केही न केही कुरामा प्राथमिकता त पाउँछ नै तर पनि शुद्धाशुद्धि, अक्षर मात्रै राम्रो भएर हुँदैन् विषयवस्तु पनि लेखेको हुनुपर्यो । प्रश्नले मागेको विषयवस्तुलाई सिलशिलेवार ढंगबाट भाषिक शुद्धता सहित राम्रो अक्षर बनाएर संगठित तवरबाट लेख्दा उत्कृष्ट हुन्छ । यसले राम्रो नतिजा दिन्छ । लोकसेवाले पनि भाषिक शुद्धतालाई उत्तरपुस्तिका परीक्षणको आधारमा राखेको छ । परीक्षामा लेख्दा खेरि लोकसेवाको नियम भित्र लेख्नुपर्छ । लेख्दा धेरै केरमेट गर्नु हुँदैन त्यसले गर्दा प्रश्नको सहि उत्तर दिएको भएपनि नम्बर काटिने सम्भावना हुन्छ ।

    12. लोकसेवा तयारी गरिरहनु भएका विद्द्यार्थीलाई के भन्न चाँहानु हुन्छ ?
    अहिले स्थानीय सरकारहरू देशभरि ७५३ वटा भइसकेपछि पहिलाको तुलनामा कर्मचारीको माग बढेको देखिन्छ। बीचमा लोकसेवा तयारी गर्ने युवाहरूको मनोवल खस्किएको थियो। सिमित सिट हुन्थे। पछिल्लो समय दरबन्दी बढेका छन्। स्थानीय स्तरमै पनि थुप्रै दरबन्दि छन्। प्रदेश स्तरमा स्थापना भएका कार्यलयमा पनि दरबन्दी छ। पुरानो कर्मचारीलेमात्रै सबै संस्था धान्न सम्भव छैन। त्यसैले अहिले लोकसेवा तयारी गरेर नेपालमै बसेर जनताको सेवा गर्ने राम्रो अवसर छ । स्थानीय तहले आफ्नै पहलमा पनि केहि कर्मचारी राख्नु पर्ने आवश्यक छ। लोकसेवा पास गर्न कितावी ज्ञान त चाहिन्छ नै त्यसका अलावा अतिरिक्त ज्ञानको पनि आवश्यकता पर्छ। आत्मविश्वासका साथ पढ्नुपर्छ। पहिलो पटकमा नै त कोहि सफल हुन सक्छ कोही असफल हुन सक्छ, तर निरन्तर असफलतापछि अवश्य पनि एक पटक सफलता हाँसिल गर्न सकिन्छ। एक दुई पटकको असफलतामा निराश भएर हार मान्नु हुँदैन। असफलताले मानिसलाई परिपक्व बनाउँछ।