युक्रेनको राजधानी किएभमा आक्रमण - Chaitanya News
  • 2026-04-26
  • 04:17:49
  • शनिबार,बैशाख १२, २०८३
  • युक्रेनको राजधानी किएभमा आक्रमण

    युक्रेनको राजधानी किएभमा आक्रमण

    काठमाडौं– इन्डोनेसियाको बालीमा चलिरहेको जी–२० सम्मेलनमा सहभागी विश्वका शीर्ष नेताहरूले युक्रेनमा रुसी आक्रमणबारे निन्दा गरिरहँदा मस्कोले किएभमा क्षेप्यास्त्र आक्रमण गरेको छ।

    युक्रेनको राजधानी किएभमा क्रुज क्षेप्यास्त्र प्रहार भएको अपुष्ट विवरण बीबीसीले उल्लेख गरेको छ। आक्रमणबाट किएभमा एक जनाको ज्यान गएको छ भने कम्तीमा दुईवटा आवासीय भवनमा क्षति पुगेको छ। रुसले युक्रेनका अरु केहि सहरमा समेत क्षेप्यास्त्र आक्रमण गरेको छ।

    जी–२० सम्मेलनमा भने धेरैजसो देशले युद्धलाई लिएर रुसको निन्दा गरेका छन्। सम्मेलनमा रुसको प्रतिनिधित्व गरेका विदेशमन्त्री सेर्गेइ लाभ्रोभ बाली छाडेसँगै आक्रमण भएको खबरमा उल्लेख छ। सम्मेलनमा उनले पश्चिमा देशहरूले ‘राजनीतिकरण’ को प्रयास गरेको टिप्पणी गरेका छन।

    युक्रेन युद्धमा भएको क्षतिको खर्च रुसले तिर्नुपर्ने अन्तर्राष्ट्रिय आह्वानलाई मस्कोले अस्वीकार गरेको छ। हिजोदेखि सुरु भएको सम्मेलन आज सकिँदैछ।